बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ ।
नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउनेगरी सरकारले सूचीकृत गरेको बजार हो । यहाँको व्यापारसमेत फस्टाउँदो छ । ढोपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहरका रूपमा रहेको छ ।
चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोतजस्ता कार्यालय यही बजारमा छन् ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय पनि राम्रो चलेका छन् । ढोरपाटन सिकार आरक्ष, ढोरबराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गरेका छन्भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुमतर्फबाट पनि पर्यटक आउने गरेका छन् ।
बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिए। उनले आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको बताए ।
यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेशस्तरीय ५० शय्याको अस्पताल पनि स्थापना गरिएको छभने सामुदायिक क्याम्पसलगायतको सुविधासमेत छ । मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउँदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हीराबहादुर भण्डारीले बुर्तिवाङ–ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने बताए ।
ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय झनै फस्टाउने अपेक्षा गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग
- महाकालीमा बाँध निर्माण नहुँदा जोखिममा बस्ती
- आजबाट च्याम्पियन्स लिगको क्वार्टरफाइनल चरण, रोचक भिडन्त
- ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
- विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले बोरामा हालेर गाडेका थिए शव
- ‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
- जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
- चीनको डिजिटल युआनले विश्व व्यापारमा नयाँ क्रान्ति
- आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
- ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती
