पृथ्वीराजमार्गको वैकल्पिक बुद्धसिंह मार्ग: ट्रयाक खनेको तीस वर्षसम्म “निकास र विकासविहिन”

  • नेताको चुनावी भाषणमा कालोपत्र बनेको बुद्धसिंह मार्ग हिउँदमा धुलो, बर्खामा हिलोको सास्ती,
  • पृथ्वीराजमार्गको वैकल्पिक र तनहुँको कछार क्षेत्रका बासिन्दाको ‘लाइफलाइन’ बुद्धसिंह मार्ग सधैँ उपेक्षामा

नारायण खड्का

पृथ्वीराजमार्गमा संकट आएपछि त्यसको वैकल्पिक सडकको याद धेरैलाई आउँछ अनि कुरा हुन्छ पोखरा–चितवन जोड्ने छोटो सडक बुद्धसिंह मार्गको। तर कुरै मात्र गरेर त यो सडक नबन्ने रहेछ। गफै मात्र बढी गर्ने नेता र कर्मचारीहरूबाट दिक्क भएका स्थानीय बासिन्दा त्यसैले त भन्छन्, “यीनले काम नपर्दासम्म न सहिद बुद्धसिंह राना सम्झन्छन् न उनको नाममा बनाइएको यो बाटोलाई।”

वि. स. २०१८ सालमा प्रजातान्त्रिक आन्दोलनका क्रममा भरतपुरमा सहिद हुनुभएका भानु नगरपालिका- ५ बरभञ्ज्याङका बुद्धसिंह रानाको स्मरणमा नामाकरण गरिएको हो बुद्धसिंह मार्ग । खासमा पृथ्वीराजमार्गको मुग्लिन–चितवन खण्ड अन्तर्गत घुमाउनेघाटमा जोडिने बुद्धसिंह मार्ग पृथ्वीराजमार्गकै दमौली खण्डमा कताबाट जोडिने भन्ने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन। स्थानीय उपभोक्ताहरूको सक्रियतामा २०४८ सालमा सदरमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँचसँग जोड्ने उद्देश्यका साथ सडकको ट्रयाक खनिएको थियो। सडक खनेको यति लामो समय बितिसक्दा न त सडकको स्तरोन्नति हुन सकेको छ, न त राजमार्गसँग जोड्ने निकासै पहिचान हुन सकेको छ।

मोटर मार्गलाई पृथ्वीराजमार्गसँग जोड्नका लागि व्यास नगरपालिकाको बेलबासबाट ट्रयाकको पहिचान हुन नसकेको मोटरबाटो उपभोक्ता समितिका पूर्व अध्यक्ष विश्व बास्तोला बताउनुहुन्छ। उहाँले भन्नुभयो, स्थानीय सरकारले निर्माण गरेको ३० फुटे बाटोमा यो मार्ग सुचारु भएपछि सवारी साधनको चाप थेग्न नसक्ने अवस्था छ, त्यसैले कुन विकल्पबाट बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गको दमौली खण्डमा जोड्ने भन्ने विषय अझै अन्यौलमा छ।‘ 

बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गसँग कुन बाटोबाट जोड्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरू बीच धेरै पटक छलफल भयो तर यो विषय अझै टुङ्गोमा पुग्न सकेको छैन‘, पूर्वअध्यक्ष बास्तोलाले भन्नुहुन्छ, ‘बेलबासबाट बुल्दी खोलाको किनारैकिनार कराङ्काठ स्थित बसपार्कबाट राजमार्गसँग जोड्ने, छाब्दी खोलाको किनारैकिनार हुँदै भादगाउँ– गल्भुवेसीबाट राजमार्गसँग जोड्ने, जिरोटारको मोटरवेल पुल –बिसघरे–दमौली हुँदै राजमार्गसँग जोड्ने लगायतका विकल्पका विषयमा छलफल भएपनि त्यो टुङ्गोमा पुगेको छैन।’

अहिले सञ्चालनमा रहेको बीसघरे हुँदै दमौली बजार मार्ग, भादगाउँ हुँदै अमरपुरी मार्ग र भादगाउँ– गल्भुबेसी मार्गले घुमाउनेघाटमा पुल निर्माण पश्चात यातायातका साधन सञ्चालनको संख्या वृद्धि भएमा थेग्न नसक्ने अवस्था छ। ३० फुटे यी मार्गको दायाँबायाँ आवासीय भवनहरू निर्माण भइसकेका र स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायले बुद्धसिंह मार्गको निकासका लागि समयमै आवश्यक जग्गा संरक्षण गर्न नसक्दा अहिले समस्या खडा भएको छ। यो विषयलाई समयमै टुङ्गोमा पुर्‍याएर सडकको स्तरोन्नतिमा ध्यान दिन नसके भविष्यमा झन समस्या खडा हुने देखिन्छ।

उपभोक्ता समितिले करिब तीन दशक अघि बनाएको बाटो भएको र सो समयमा यो विषय प्रति ध्यान नपुग्दा अहिले समस्या देखिएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो। ‘यो मार्ग प्रदेश सरकारको जिम्मामा छ र प्रदेश सरकारले नै आवश्यक बजेट विनियोजन गरी सडकको स्तरोन्नतिको काम अगाडि बढाएको छ’, नगरप्रमुख न्यौपाने भन्नुहुन्छ, ‘प्रदेश सरकारले बहुवर्षीय योजनामा राखी करिब ४६ करोड रुपैयाँमा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको र आगामी आर्थिक वर्षका लागि करिब ५ करोड रुपैयाँ बराबरको बजेट समेत विनियोजन भएको अवस्था छ।’

बुद्धसिंह मार्गलाई पृथ्वीरजामार्गको मुग्लिन–चितवन खण्डको घुमाउनेमा जोड्नका लागि घुमाउने घाटमा निर्माण गर्दै गरिएको पक्की पुल। तस्बिर : नारायण खड्का/तनहुँ

यस्तै, बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गसँग जोड्नका लागि दुई वटा विकल्प देखिएको र सोही अनुसार रेखाङ्कन समेत भएको नगरप्रमुख न्यौपानेले बताउनुभयो। नगरप्रमुख न्यौपाने भन्नुहुन्छ, ‘आदिकवि भानुभक्त क्याम्पसको तल बुल्दीखोलाको किनारैकिनार करङ्काठस्थित बस पार्कसम्म एउटा र अर्को क्याम्पस तल बुल्दीखोला माथि निर्माण गरिएको मोटरवेल पुल हुँदै देउराली नगरको बाटो छ। यी दुई बाटोलाई तयार गरी एकतर्फी रुपमा आउँजाउँ गर्ने गरी बुद्धसिंह मार्गलाई राजमार्गसँग जोड्ने बाहेक अर्को विकल्प देखिएको छैन।’

यस्तै, सडकको ट्रयाक खनेको ३१ वर्ष बितसक्दा यो मार्गले निकास नभेटिनुका साथै विकास पनि हुन सकेको छैन। यो मार्गलाई तनहुँको कछार क्षेत्रका बासिन्दाको ‘लाइफलाइन’ का रुपमा पनि लिइन्छ। चुनावका समयमा राजनीतिक दलका नेताहरूको भाषणमा कालोपत्र भइसकेको यो मार्गका उपभोक्ताहरू हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती झेल्दै आएका छन्। कालोपत्रे सडकमा सहजरूपमा यात्रा गरी सदरमुकाम तथा अन्यत्र जाने सपना कहिले पुरा हुन्छ यसै भन्न सक्ने अवस्था छैन।

जिल्लाका दुर्गम कोटा, बैदी, छिपछिपे र धरमपानी, मास्दीघाट, नाल्दीपुल लगायतका गाउँबस्तिका बासिन्दालाई सडकसञ्जालसँग जोड्ने लक्ष्यका साथ साविकका गाउँविकास समिति र स्थानीय जनताको सक्रियतामा दमौलीदेखि घुमाउनेघाटसम्म कच्ची सडक बिस्तार गरिएको थियो। ट्रयाक खोल्दाको सुरुको अवस्था भन्दा पनि यो सडकको अवस्था अहिले थप दयानीय बन्दै गएको छ।

पोखरा–डुम्रे–आँवुखैरेनी–मुग्लिङ हुँदै नारायणगढ पुग्नुभन्दा दमौलीबाट बुद्धसिंहमार्ग हुँदै घुमाउनेघाट हुँदै नारायणगढ पुग्न करिब २३ किलोमिटर दुरी छोटो पर्छ। गण्डकी प्रदेशलाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरी र पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा समेत लिइने बुद्धसिंह मार्गको स्तरोन्नतिमा सरोकारवाला निकायले ध्यान नदिदा स्थानीयले धेरै सास्ती खेप्नुपरेको बुद्धसिंह मार्ग उपभोक्ता समितिका संस्थापक अध्यक्ष यामबहादुर आलेले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सडक नभएको ठाउँमा सडक आयो खुसी त लागेको छ तर यो सडक कालोपत्रे नहुँदा हिउँदमा धुलो र बर्षायममा हिलोको साँस्ति खेप्दै आउनुपरेको छ।’

२०४८ सालमा बेलबासबाट मादीको किनारैकिनार हिडेँर नेपाली कांग्रेसले सराङघाटमा आयोजना गरेको आमसभामा सहभागी भएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘त्यो समयमा यस क्षेत्रमा मोटरबाटो थिएन। त्यसपछि स्थानीय दाजुभाइको सहयोगमा मादीको किनारैकिनार बाटो खन्ने छलफल गरी कोदालो, गैँची, बेल्चा जस्ता घरेलु औजार प्रयोग गरी सडकको ट्रयाक खोलेका थियौं।’ बहुदल आएपछि तत्कालीन यातायात मन्त्री मार्सलजुलुम शाक्यको पालामा बुद्धसिंह मार्गका लागि ५० लाख रुपैयाँ बजेट आएको आलेले बताउनुभयो। उहाँका अनुसार स्थानीयकै लागत सहभागितामा बेलबासबाट ९ किलोमिटर पर सुडेसम्म मोटरमार्ग खनिएको थियो। २०५९ सालमा यस मार्गमा पहिलो पटक जिप चलाइएको थियो। अहिले ३२ किलोमिटर दुरीको मोटरमार्ग बनेको छ।

मोटरमार्ग खोलिएको लामो समयसम्म पनि सडकको स्तरोन्नति गर्नतर्फ सरोकारवाला निकायको ध्यान नदिएको संस्थापक अध्यक्ष आलेको आरोप छ। ‘राजनीतिक दलका कार्यक्रममा नेताहरूले सडकको स्तरोन्नति र तराईलाई छोटो दूरीबाट जोड्ने भन्दै मिठा भाषण गर्छन् तर व्यवहारमा त्यो हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘नेताहरूको भाषण र चुनावको समयमा भोटबैङ्कको रुपमा मात्र प्रयोग भएको जस्तो देखिन्छ। यो बाटोको चाँडैनै स्तरोन्नति होला भन्ने आश पनि छैन। कर्मचारी र नेताकै मिलेमतोमा काम रोक्किएको छ।’

निर्वाचनका समयमा राजनीतिक दलका नेताहरूले सडक कालोपत्रे गरी ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरणमा टेवा पुर्‍याउने, सहज यातायातको व्यवस्था मिलाउने, गाउँबासीको आर्थिक उन्नति वृद्धि गर्ने जस्ता झुटो आश्वासन बाँढ्छन्’, बन्दिपुर गाउँपालिका –३ नाल्दीपुलकी आशकुमारी गुरुङले भन्नुहुन्छ, ‘सडक कालोपत्रे गरी विकासलाई गाउँ भित्र्याउँछौ भन्ने नेताको भाषण, भाषणमै सीमित भएको छ।’

हिउँदमा मुस्किलले आधा दर्जन यात्रुबाहक सवारी साधन चल्छन् तर, गन्तव्यमा नपुगुन्जेलसम्म यात्रा त्रासपूर्ण हुने स्थानीय बताउँछन्। सडकको स्तरोन्नति र पहिरो रोकथामको काम नहुँदा सडकका किनारमा बसेका केही बस्ती गत वर्षको पहिरोले समेत बगाएर सेतीमा पुर्‍याएको थियो। वर्षायाम सुरु भएसँगै यस क्षेत्रमा पहिरोको जोखिम छ।

यस मार्गमा व्यास नगरपालिका, बन्दिपुर, आँबुखैरेनी, देवघाट र ऋषिङ गरी पाँच पालिका जोडिएका छन्। बुद्धसिंह मार्ग संघ अन्तर्गत हुँदा व्यास–बुद्धसिंह मार्ग निर्माणका लागि ७५ करोड रुपैयाँको स्टमेट गरिएको सडक डिभिजन कार्यालय दमौलीले बताएको छ। ०७२/०७३ सालसम्म बुद्धसिंह मार्ग करिव ७ किलोमिटर कालोपत्रे भएको छ। उक्त मार्गमा ठेक्का नम्बर ९०/०७१/७२ अनुसार कान्छाराम कन्स्ट्रक्सन, काठमाडौंलाई ७ करोड ३३ लाख १० हजार १४२ रुपैयाँ र ठेक्का नम्बर ९१/०७१/७२ अनुसार सोही कन्सट्रक्सनलाई ४ करोड ३१ लाख ५४ हजार २९६ रुपैयाँ भुक्तानी दिइएको छ।

बुद्धसिंह मार्ग।

मुलुक सङ्घीयतामा गएसँगै यो सडक प्रदेश सरकार मातहत छ। तर, प्रदेश सरकारले यो बाटोलाई आवश्यक बजेट व्यवस्थापन गर्न नसकेको र राजनीतिक दलका नेताहरूले पनि यो बाटोलाई भाषणमा मात्र सीमित राखेको उपभोक्ता समितिका संस्थापक अध्यक्ष आले बताउनुहुन्छ। मार्ग प्रदेश अन्तरगत गएसँगै आर्थिक वर्ष ०७८/७९ मा प्रदेशबाट ४ करोड १३ लाख र सङ्घबाट ६ करोड रुपैयाँ बजेट बिनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले बताउनुभयो। मिश्रका अनुसार दमौलीदेखि सुडेसम्मको १० किलोमिटर कालोपत्रेका लागि गत जेठ ५ गते टेन्डरको सूचना आव्हान गरिएको छ। इन्जिनियर धनमाया मिश्रले भन्नुभयो, ‘सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का लगाइएको हो, काम प्रक्रियामै छ।’

आँबुखैरेनी गाउँपालिका खण्डको लाब्दी खोलामा पुल निर्माण कार्य थालिएको ८ वर्ष बितेको छ तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन्। यस्तै, बुद्धसिंह मोटर मार्गलाई मुग्लिङ– नारायणगढ सडकसँग जोड्न घुमाउने घाटमा पक्की पुल निर्माण कार्य अगाडि बढाइएको छ। तर त्यो पुलको निर्माण कार्य पनि अगाडि बढ्न सकेको छैन। करिव १५ वर्षदेखि पुल निर्माणका विषयमा चर्चा चलेपनि अझै काम पुरा हुन सकेको छैन। घुमाउनेको पुलसँगै ढाँडखोला, बखरखोला र भूतखोलामा गरी अन्य ३ वटा खोलामा ठूला पुल निर्माण गर्नुपर्ने हुन्छ। पुल निर्माणका लागि डिपिआर तयार गरिएपनि निर्माण प्रक्रियामा भने गएको छैन।

घुमाउने घाटमा पुल निर्माणका लागि आर्थिक वर्ष २०७० असार २८ गते हेटौंडाको मृत सञ्जीवनी कम्पनीसँग आर्थिक वर्ष २०७८ चैत्र ३० गतेसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ९ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर कल्याण खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, ‘पुल सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय बितिसक्दापनि जम्मा ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ।’

गत वर्षको बढिले निर्माणाधीन पुलमा असर पुग्यो साथै निर्माण कम्पनीले पुलको डिजाइन परिवर्तन गरिदिँदा पुल निर्माण सम्पन्न हुन सकेन’, उहाँले भन्नुभयो, ‘अहिले पुननिर्माणको काम रोक्किएको छ।’ हालसम्म निर्माण कम्पनीलाई २ करोड ८३ लाख रुपैयाँ भुक्तानी दिइएको कार्यालयले जनाएको छ। कम्पनीले घुमाउनेमा १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल आधुनिक ‘आर्क’ डिजाइनमा बनाउने जिम्मा लिएको थियो।

यस्तै, गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिंह मार्ग कालोपत्र गर्न लागिएका छ। दमौलीदेखि सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। कार्यालयका अधिकृत दधिराज पौडेलका अनुसार उक्त सडकखण्डमा कालोपत्रका लागि टेण्डर निकालिएको र प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ।

बुद्धसिंह मार्गमा यातायात सञ्चालन सुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्तीहरू अहिले बजार बनेका छन्। यो सडक अन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङघाट हो। बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक ६/७ वटा बस र उत्तिकै संख्यामा जीपहरू चल्ने गर्छन्। उक्त सवारी साधन आँबुखैरनी गाउँपालिका–६ को घुमाउनेसम्म पुगेर पुन: दमौलीतर्फ नै फर्कन्छन्। घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन्। मोटरसाइकल भने डोर्‍याएर मुग्लिङ– नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ।

  • नारायण तनहुँ दमौलीबाट प्रकाशित हुने भन्ज्याङ दैनिकका सम्पादक हुनुहुन्छ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
पृथ्वीराजमार्गको वैकल्पिक बुद्धसिंह मार्ग: ट्रयाक खनेको तीस वर्षसम्म “निकास र विकासविहिन”
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link