एउटा सरकारी कार्यालयमा काम गर्ने कार्यालय प्रमुखमा आफ्नो कार्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने भावना जागृत भएपछि मुहार फेरिन सक्छ भन्ने उदाहरण पनि बनेको छ अहिले– वनस्पति अनुसन्धान केन्द्र मकवानपुर। यसो हुनुको श्रेय २१ महिना अगाडि कार्यालयको प्रमुख भएर आउनुभएका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीलाई जान्छ।
वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीकै कारण स्थापनाकालदेखि नै ओझेलमा परेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुर अहिले चर्चाको केन्द्र बन्न थालेको छ।
नेपालमा विद्यमान जडीबुटीहरूको पहिचान, संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा वनस्पति फाँटको रूपमा थालनी भएको थियो। यसलाई वि.सं. २०१६ मा नेपालमा वनस्पति विविधताको पहिचान, अध्ययन, सदुपयोग, प्रविधि विकास तथा प्रवद्र्धन गर्ने मूल उद्देश्य लिई वनस्पति विभागको रूपमा विकास गरियो। विभागले लिएको उद्देश्य र लक्ष्य हासिल गर्न वि.सं. २०१९ सालमा मकवानपुर जिल्लाको पदमपोखरीको वृन्दावनमा र २०२२ सालमा दामन र टिष्टुङमा गरी ३ वटा वनस्पति उद्यानहरूको स्थापना गरियो। वि.सं. २०५६ सालमा विभागको सांगठिक पुनरसंरचना भई जिल्ला वनस्पति कार्यालय, मकवानपुर बनाइएको थियो। पछि वि.सं. २०७५ मा पुन: सांगठिक पुनसंरचना गरियो। यसअनुसार साविकको जिल्ला वनस्पति कार्यालयको नाम परिमार्जन भई वनस्पति अनुसन्धान केन्द्र मकवानपुर बन्यो। हाल वृन्दावन, दामन र टिष्टुङ वनस्पति उद्यानहरूसमेत यसै अनुसन्धान केन्द्र अन्तर्गत रहेका छन्।
वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गतका ३ वटा वनस्पति उद्यानहरूमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिहरूको वंशाणु स्रोत संरक्षित छन्। जिल्ला भित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, संकलन गरी पहिचान गर्ने र वनस्पतिहरूको हर्वेरियम नमुना संरक्षित गर्ने कार्य गर्दै आइरहेको छ। ‘अध्ययन अनुसन्धानका क्षेत्रमा यस केन्द्रले स्थापना कालदेखि नै विभिन्न जडीबुटी तथा आर्थिक महत्वका वनस्पतिहरूको अध्ययन गरी खेती प्रविधि विकास गरेको छ’, कार्यालय प्रमुख पराजुली भन्नुहुन्छ– ‘कृषकहरूलाई तालिम मार्फत प्रविधि हस्तान्तरण गर्ने कार्य पनि केन्द्रले गर्दै आइरहेको छ।’ त्यसैगरी विभिन्न आदिवासी तथा जनजातिहरूले प्रयोग गर्दै आइरहेका वनस्पतिहरूको अभिलेखिकरण गर्दै वनस्पति प्रयोग र संरक्षणबारे सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। विरूवा उत्पादन गरी वितरण गर्ने, विभिन्न सामग्रीहरू प्रकाशन गरी वितरण गर्ने, पर्यावरणीय सौन्दर्य बढाइ पर्यापर्यटन अभिवृद्धि गर्ने र आर्थिक विकासमा टेवा पुर्याई गरीबी न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ प्राविधिक तथा विविध सेवा पुर्याउँदै आएको छ।
केन्द्रले वनस्पति सम्पदाहरूको विस्तृत सर्वेक्षण, संकलन तथा पहिचान गर्ने वनस्पतिहरूको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीहरू सम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिहरूको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीहरूको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन (एथ्नो बोटानिकल स्टडी), अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोग सम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने, जडीबुटीहरूको विरूवा उत्पादन तथा वितरण गर्ने, जडीबुटी संरक्षण, खेती तथा प्रशोधनका बारेमा तालिम तथा सेवा प्रदान गर्नेलगायतका उद्देश्य यो कार्यालयको रहेको छ।
यस कार्यालयले अहिले जडीबुटीको गुणस्तरीय विरूवा उत्पादन गर्ने, जडीबुटी खेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने, जडीबुटी प्रजातिका वासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने, जडीबुटीहरू सम्बन्धी सूचना तथा नमूना प्रदर्शन गर्ने, जडीबुटी खेतीप्रति कृषकलाई अभिप्ररित गर्ने, महत्वपूर्ण जडीबुटीहरू सम्बन्धी समयसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्ने, वनस्पतिहरूको सर्वेक्षण गरी दुर्लभ, लोपोन्मुख तथा संकटापूर्ण अवस्थाका वनस्पति संरक्षण गर्ने कार्य गरिरहेको छ।
यसैगरी वनस्पतिहरूको वंशाणु स्रोतको संरक्षण गर्ने, शोभनीय फूलविरूवा उत्पादन गरी उद्यानलाई मनोरम र रमणीय स्थलको रूपमा विकास गर्दै पर्यापर्यटनमा अभिवृद्वि गर्ने, उद्यान परिसरमा आउने विद्यार्थीहरू, अवलोकनकर्ता, पेशाकर्मी तथा सोधकर्ताहरूलाई वनस्पति तथा उद्यानको महत्वबारे शिक्षा दिने, स्वदेशी शोभनीय फूल विरूवा अध्ययन, अनुसन्धान गर्ने काम पनि कार्यालयले गरिरहेको छ।
कार्यालय प्रमुख पराजुली भोटे लहरा भेटिनुलाई महत्वपूर्ण काम भएको सम्झनुहुन्छ। उहाँ जुन दिन वनस्पति अनुसन्धान केन्द्र मकवानपुरमा हाजिर हुनुभयो त्यही दिनदेखि ‘भोटे लहरा’ को संरक्षण गर्नतर्फ लाग्नुभयो। मकवानपुरमा धेरै वर्ष पहिले भोटे लहरा पाइएको रे ! तर हाल चाहिँ सो वनस्पति मकवानपुरमा भेटिएको छैन भन्ने उहाँले सुन्नुभएको थियो। यसअघि मकवानपुरमा थियो भनेपछि कहिंकतै छ कि भन्ने आशा उहाँको मनमा थियो। खोजी गरेर फेला पार्न सकियो भने त राम्रो हुन्छ भन्ने उहाँलाई लागि नै रह्यो।
कार्यालयमा आएपछि नयाँ के गर्ने त भन्ने विषय नै त्यही भोटे लहरा खोज्ने काम बन्न पुग्यो। सामाजिक सञ्जाल तथा समाजमा यसको विषयमा उहाँले खोजिरहनुभयो। सो वनस्पति धेरै वर्ष पहिले वृन्दावन वनस्पति उद्यान क्षेत्र आसपासमा थियो भन्ने जानकारी पाए पनि भेटिएको थिएन। दुर्लभ वनस्पति जसले पहिले फेला पार्न सक्छ उसलाई व्यक्तिगतरूपमा पुरस्कार दिने भनेर पराजुलीले घोषणा पनि गर्नुभयो।
वि.स २०७८ साल वैशाख १४ गते मकवानपुरको बकैया गाउँपालिकाको वडा नं ११ मा पर्ने ठिंगन क्षेत्रमा सिमात पुलनिर पुगेपछि गाडी रोकेर करिब दुई सय मिटर दूरीमा खोजी गर्दै गर्दा ठ्याक्कै भोटे लहराको झुप्पामा कार्यालय प्रमुख पराजुलीको आँखा पुग्यो।
के हो त भोटे लहरा ? यो सङ्कटापन्न सूचीमा रहेको वनस्पति हो।। दम खोकीमा यसको फल उपयोगी हुने अध्ययनहरूले देखाएका छन्। यसको लोक्ता बन्दुकको झोला बनाउन उपयोग हुने गरेको छ।
यसको सबै भन्दा ठूलो महत्त्व भनेको त नेपालमा यसको प्राकृतिक उपलब्धता सुनिश्चित गर्नु नै हो। निटेसी परिवारमा पर्ने निटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनहरूले देखाएका छन्। जसमध्ये नेपालमा पाइने प्रजाति निटमोन्टेनम हो। सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि), २०७३ को पक्ष राष्ट्र भएको कारण यसको कार्यान्वयनको लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण ऐन २०७३ र नियमावली २०७६ ल्याएको छ। साइटिस महासन्धिमा रहेका तीन वटा अनुसूची मध्ये भोटे लहरा अनुसूची ३ मा पर्दछ।
भोटे लहराको अहिलेको प्राकृतिक उपलब्धता भने केवल सङ्खुवासभा, तनहुँ र मकवानपुरमा मात्र रहेको कुरा पछिल्ला वानस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट थाहा पाइएको छ। सबैभन्दा पछिल्लोपटक यसको प्राकृतिक उपलब्धता भनेको मकवानपुरमा रहेको छ। भोटे लहरा ढिलो बढ्ने सदाबहार वनस्पति हो। भाले र पोथी बिरूवा अलग–अलग हुने भएको कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरूवाहरू विस्तार नभएको हुन सक्छ।
चीन, भारत, म्यानमार, थाइल्याण्ड कम्बोडिया जस्ता मुलुकहरूमा पनि यो वनस्पति पाइन्छ। धेरै वर्ष पहिले मकवानपुर जिल्लाबाट सङ्कलन भए पनि लामो अवधिसम्म यस वनस्पतिको प्राकृतिक अवस्थामा फेला नपर्नुले यो वनस्पति नेपालबाटै हरायो कि भन्ने आशङ्का गरिएको थियो । कार्यालय प्रमुख पराजुलीले वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले अहिले यसको प्रजनन विधिको अध्ययन कार्यलाईसमेत एक साथ अगाडि बढाउँदै लगेको जानकारी दिनुभयो।
वरिष्ठ वैज्ञानिक पराजुलीले सर्वप्रथम यस कार्यालयलाई स्थानीय वासिन्दा मैत्री बनाउने कोशिस गरेको बताउनुभयो। उहाँले संघीय कार्यालय भए पनि प्रदेश सरकार, स्थानीय तह, स्थानीय टोल विकास संस्थाहरूसँग समन्वय र सहकार्य गरिरहेको पनि उहाँले बताउनुभयो।
पराजुलीको कामका कारण उहाँलाई विभागले सम्मानित गरिसकेको छ। यी सबै उपलब्धि टीम वर्कका कारण प्राप्त भएको उहाँ बताउनुहुन्छ। अहिले यो केन्द्रमा ४० कर्मचारी उहाँका मातहतमा कार्यरत छन्।
यस्तै उद्यानलाई स्थानीय र अवलोकनकर्तासँग नाता गाँसियोस् भन्ने अभिप्रायले सेरेमोनियल प्लान्टेसन प्लटको अवधारणा विकास गरेकोमा हालसम्म ६७ जना व्यक्तित्वहरूले विरूवा रोपण गर्नुभएको छ। सेरेमोनियलको प्रावधान हाल वन नियमावलीमा सम्मानित वृक्षारोपण भई आएको छ। यो प्रावधान वृन्दावन वनस्पति उद्यान र पर्वतीय वनस्पति उद्यान दामन कार्यान्वयनमा आएको छ। सिँचाइको सुविधा कम भएकाले वृन्दावन वनस्पति उद्यानमा सिञ्चाइको व्यवस्थापनको लागि प्रदेश सरकारसँग कार्यक्रम समन्वय भएको छ। वृन्दावन वनस्पति उद्यानमा सिसिटिभी क्यामेरा जडान भएको छ। लौठसल्ला, सर्पगन्धा, साइकस, सुनाखरी, रूख उन्यू जस्ता अन्य दुर्लभ वनस्पतिहरूको अध्ययन अनुसन्धान तथा संरक्षण व्यवस्थापनका कार्यहरू भएका छन्। नेपालभरका विभिन्न विधाका विद्यार्थीहरूको लागि शैक्षिक गन्तव्य बनिरहेको पराजुलीको भनाइ छ।
यसैगरी यस केन्द्रमा उन्युको विषयमा पनि थप अध्ययन भैरहेका छन्। यसलाई निष्कर्षमा पुर्याउन केन्द्रका वैज्ञानिक अधिकृत चन्द्रकला ठाकुर खटिनुभएको छ। पाँच प्रजातिमा उपलब्ध उन्युहरू मध्ये तीन प्रकारका भने खान प्रयोग भैरहेका छन्। यसलाई सहजरूपमा उत्पादन गर्नलाई केन्द्रले अनुसन्धान गरिरहेको पनि ठाकुरले बताउनुभयो। अनुसन्धान पश्चात् कृषकहरूलाई उत्पादनका लागि सहज हुने उहाँको भनाइ छ। उन्यु प्रजातिको काली निगुरोको कृत्रिम खेती (आर्टिफिसियल प्रोपोगेसन) प्रविधि हालसम्म नेपालमा अध्ययन भएका छैन तर वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले आ. व. २०७७।७८ मा कृत्रिम वातावरणमा ल्यावमा उपयुक्त तापक्रम, प्रकाश, तथा पानीको प्रबन्ध गरी काली निगुरोको विरूवा उमार्न सफलता प्राप्त गरेको जानकारी पनि उहाँले दिनुभयो। यसैगरी मेन्था, चिराइतो र धसिङ्ग्रेको पनि भेराइटीसम्बन्धी अध्ययन कार्य पनि सुरू गरिएको वैज्ञानिक अधिकृत चन्द्रकला ठाकुरले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
- बिमाको पैसा नपाउँदा हेटौंडाको आँखा अस्पताललाई समस्या
- ऐतिहासिक रौनक ब्युँताउँदै भीमफेदी गाउँपालिका
- मकवानपुर १(क): पूर्व सांसद र पूर्व गाविस अध्यक्ष बीचको रोचक भिडन्त
- कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा
- मकवानपुर २: गुरुचेलाको भिडन्त
- सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना र दिपकसँग भिडदै
- हेटौडाको मत्स्य प्रवर्द्धन केन्द्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै
- हेटौडामा बढे डेङ्गु संक्रमित; मेयर साब मलेसियामा
- जब अभिभावक तथा शिक्षक नै आफू “भाइरल” हुन बालबालिकाको दुरुपयोग गर्छन्
- हाम्रा गाउँ मर्दै गएका हुन्?