अलविदा शेन वार्न !

आशुतोष अधिकारी

विश्व क्रिकेट इतिहासकै सर्वाधिक लोकप्रिय लेगस्पीनर शेन वार्न अब हामीमाझ छैनन्। गत विहीवारको रात ५२ वर्षीय वार्नको थाइल्याण्डस्थित आफ्नै निवासमा हुदयघातका कारण निधन भएको उनको व्यवस्थापकीय टोलीले जानकारी गराएपछि विश्व क्रिकेट जगत् शोकमा डुबेको छ।

विश्व क्रिकेट जगतमा एउटा लेगस्पीनरका रूपमा शेन वार्नको नाम अग्रस्थानमा आउँछ। सन् ७० र ८० को दशकमा विश्व क्रिकेटमा वेष्टइन्डिजका तीव्र गतिका बलरहरूको दवदवा कायम भएको समयमा वार्नले टेस्ट क्रिकेटमा स्पीन बलिङलाई आक्रमणको प्रमुख हतियारका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निभाएका थिए। वेष्टइन्डिजले जस्तै ९० को दशकमा विश्व क्रिकेटमा एकछत्र राज गरेको अष्ट्रेलियन क्रिकेट टोलीको स्पीन आक्रमणको जिम्मेवारी वार्नकै काँधमा थियो।

सन् १९९३ को एसेज श्रृंखलाअन्तर्गत इंग्ल्याण्डको लर्डस् क्रिकेट मैदानमा वार्नले लिएको माइकल गेटिङको विकेटलाई ‘बल अफ दी सेन्चुरी’ को उपाधि दिइएको थियो। दायाँ हाते व्याट्सम्यान गेटिङविरुद्ध लेग स्टम्पभन्दा धेरै बाहिर फ्याँकिएको त्यो बल झण्डै ९० डिग्रीको कोणमा टर्न भएर गेटिङको ब्याट र प्याडका बीचबाट छिरेर अफ स्टम्प उडाउन सफल भएको थियो। र त्यही विकेट शेन वार्नको खेल जीवनको ‘टर्निङ प्वाइन्ट’ सावित भएको थियो।

शेन वार्नले आफ्नो खेलजीवनमा १ सय ४५ टेस्ट म्याचको २ सय ७३ इनिङमा ७ सय ८ विकेट हासिल गरेका थिए। टेस्ट क्रिकेटमा श्रीलंकाका मुथैया मुरलीथरन (८०० विकेट) मात्र विकेट संख्याका आधारमा वार्नभन्दा अगाडि छन्। त्यस्तै एकदिवसीय क्रिकेटमा वार्नले १ सय ९४ खेलमा २ सय ९३ विकेट लिएका छन्। बलिङका साथै व्याटिङमा पनि विशेष दख्खल राख्ने वार्नले टेस्ट क्रिकेटमा ३ हजार भन्दा बढी र एकदिवसीय क्रिकेटमा हजारभन्दा बढी रन बनाएका छन्। अन्तराष्ट्रिय र पहिलो श्रेणीको क्रिकेटमा गरेर २ हजार भन्दा बढी विकेट लिने विश्वका केही भाग्यमानी क्रिकेटरहरूमा वार्नको नाम पनि आउँछ। उनले आफ्नो चम्किलो क्रिकेट करिअरमा अष्ट्रेलियन राष्ट्रिय टोलीका तर्फबाट, इंग्ल्याण्डको काउन्टी क्रिकेटमा ह्याम्पसायरका तर्फबाट, अष्ट्रेलियाको प्रथम श्रेणीमा भिक्टोरिया क्रिकेट टिमका तर्फबाट र आइपीएलमा राजस्थान रोयल्सका तर्फबाट खेलेका थिए र ती सबै टिममा उनको जर्सीको नम्बर २३ थियो।

शेन वार्नको खेल जीवन जति सफल थियो, त्यति नै विवादास्पद पनि रहेको थियो। उनी लागू औषधको कूलतमा पनि फसेका थिए आफ्नो खेलजीवनकै क्रममा। डोपिङ टेस्टमा असफल भएपछि सन् २००३ मा उनलाई विश्व क्रिकेट परिषद्ले एक वर्षको प्रतिवन्ध समेत लगाएको थियो। एक वर्षको प्रतिवन्धपछि पनि वार्न सफलतापूर्वक अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न सफल भएका थिए। त्यसबाहेक पनि उनी कहिले आफ्नो लागूपदार्थको कुलतका कारण त कहिले खेल मैदानमै धुम्रपान गरेर, अनि कहिले सेक्स टेप अनि कहिले रक्सी खाएर झैझगडा गरेका कारण चर्चामा आइरहन्थे। आफ्नो खेलजीवनकै क्रममा वार्न म्याच फिक्सिङ र अन्य यौनहिंसासम्वन्धी काण्डमा समेत मुछिएका थिए।

उनले अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै सन् १९९९ को विश्वकप क्रिकेटको उपाधि जितेका थिए। एशेज श्रृंखलामा मात्र उनको नाममा १ सय ९५ विकेटको किर्तिमान कायम छ। सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पछि शेन वार्न २०१३ सम्म विभिन्न फ्रेन्चाइज क्रिकेट लिगहरूमा समावेश भए। त्यसपछि हालसम्म उनी क्रिकेट कमेन्टेटर र विश्लेषका रूपमा विभिन्न संस्थाहरूमा आवद्ध थिए।

अहिले रसियाले युक्रेनमाथि गरेको सैन्य कारवाहीलाई लिएर पनि केही दिन अघि मात्र शेन वार्नले ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए। उनले युक्रेनको पक्ष लिँदै रसियाले गरेको सैन्य कारवाही पूर्ण रुपमा गलत बताएका थिए। उनले ट्वीट गर्दै रसियाको सो कदमलाई गलत, अकारण र अनुचित बताउँदै युक्रेनको समर्थन गरेका थिए।

आफ्नो स्पीनको जादुबाट संसारलाई मोहित पार्न सफल एक महान क्रिकेटरप्रति हार्दिक श्रद्धाञ्जलि, अलविदा शेन वार्न !

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link