लो स्कोरको म्याचमा अस्ट्रेलियालाई जित्यो भारतले 

आशुतोष अधिकारी

क्रिकेटलाई अनिश्चितता भरिएको खेल पनि भन्ने गरिन्छ र यो भनाई त्यसै चलेको भने पक्कै होइन। यो खेलले कुन बेला कस्तो मोड लिन्छ र कहाँ कसरी खेलको पासा पल्टन्छ भनेर कसैले भन्न सक्दैनन्। विश्वकप क्रिकेट २०२३ अन्तर्गत आइतबार चेन्नईको एम चिन्दाम्बरम स्टेडियममा सम्पन्न भारत र अस्ट्रेलिया बीचको खेलले माथिको भनाइलाई धेरै हदसम्म पुष्टि गरिदियो। प्रतियोगिताकै प्रमुख दाबेदार मानिएका दुई टोलीहरू आमनेसामने हुँदा एउटा रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको मजा लिन पाइने आङ्कलन धेरै खेलप्रेमीहरूले गरेका थिए। तर विश्वकप क्रिकेटका दुई हेभीवेट टोलीबिचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक भन्दा बढी नाटकीय रह्यो। सुरुदेखि अन्त्यसम्म खेलमा विभिन्न नाटकीय मोडहरू र उतारचढाव आए जसले खेललाई केही रोमाञ्चक पनि बनाइदियो। प्रतियोगिताको आ–आफ्नो पहिलो खेल खेलिरहेका दुई टोलीबिचको भिडन्तमा अन्ततः बाजी मार्न भने भारत सफल रह्यो। विश्वकप इतिहासकै सबैभन्दा सफल टोली अस्ट्रेलियामाथि ७ विकेटको जीत रच्दै आयोजक भारत विश्वकप २०२३ को धमाकादार सुरुवात गर्न समेत सफल रह्यो।
खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियाली ब्याटिङ लाइन अप भारतीय स्पिन आक्रमणको अगाडि ज्यादै फिका देखियो। टोली ४९.३ ओभरमा केबल १९९ रन बनाउँदै अलआउट भयो। जवाफमा २०० रनको सामान्य लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको स्टार ब्याट्स्म्यानहरूले भरिएको भारतीय टोलीले आफ्नो इनिङको प्रारम्भमै केही अकल्पनीय स्थितिको सामना गर्नु प¥यो। खेलको दोस्रो ओभरभित्रै टोलीको स्कोर २ रनको स्थितिमा आफ्ना ३ टप अर्डर ब्याटरलाई शून्यमा गुमाएपछि एक समय भारत गहिरो सङ्कटमा फसिसकेको थियो। तर भारतीय टोलीमाथि आइपरेको सङ्कटलाई मोचन गर्दै टोलीका नायक विराट कोहलीले केएल राहुलसँग मिलेर भारतलाई जीतको नजिकसम्म डोर्‍याए।
भारतीय स्पिनका सामु धरमराएको अस्ट्रेलिया
डेभिड वार्नर, मिचेल मार्स, स्टीव स्मीथ र ग्लेन म्याक्सवेलजस्ता अनुभवले खारिएका स्टार खेलाडीहरूले सुसज्जित अस्ट्रेलियन टोलीले खेलमा भारतीय बलिङ आक्रमणलाई कडा चुनौती दिने अनुमान गरिएको थियो। तर भारतीय स्पिनरहरूका सामु अस्ट्रेलिया निरीह झैँ देखियो। खेलमा भारतका फास्ट बलर जसप्रित बुमराहले २.२ ओभरमै ओपनर मिचेल मार्सलाई शून्यमा आउट गर्दै भारतलाई सुरुवाती सफलता दिलाएका थिए। त्यसयता अर्का ओपनर डेभिड वार्नरले पूर्व कप्तान स्टीव स्मीथसँग मिलेर दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए। १६.२ ओभरमा ७४ रनको स्थितिमा वार्नर ४१ रन बनाउँदै कुलद्विप यादवको बलमा आउट भएपछि भने अस्ट्रेलियाको ब्याटिङले नाटकीय पतनको सिकार हुन पुग्यो। भारतका तीन स्पिनरहरू कुलद्विप यादव, रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले ३० ओभर बलिङ गर्दै अस्ट्रेलियाको मध्य क्रमलाई ध्वस्त पारे र आपसमा ६ विकेट बाँडे। जडेजाले ३, यादवले २ र अश्विनले १ विकेट लिएपछि अस्ट्रेलिया ४९.३ ओभरभित्रै केबल १९९ रन बनाउँदै अलआउट हुन पुग्यो।
अस्ट्रेलियाका लागि स्टीव स्मीथले सर्वाधिक ४६ रन बनाए भने मिचेल स्टार्कले २८, मार नस लबुसाग्नेले २७ र ग्लेन म्याक्सवेल तथा क्यामरुन ग्रीनले समान १५–१५ रनको योगदान दिए। भारतका लागि बुमराहले पनि २ विकेट लिए भने हार्दिक पाण्ड्या र मोहम्मद सिराजको नाममा १–१ विकेट रह्यो।
भारतको जीतमा कोहली र राहुलको नायकत्व
२०० रनको झिनो लक्ष्य पछ्याएको भारतीय टोलीलाई त्यति बेला ठुलो झट्का लाग्यो जति बेला टोलीका कप्तान रोहित शर्मासहित उसका दुवै प्रारम्भिक जोडी शून्य रनमा पेवेलियन फर्किए। खेलको पहिलो ओभरमै मिचेल स्टार्कले ओपनर ईशान किसनलाई आफ्नो सिकार बनाए। स्टार्कको चौथो बलमा किसन गोल्डेन डक आउट हुन पुगे। लगत्तै अर्को ओभरमा जोस हेजलउडले कप्तान रोहित शर्मालाई एलबीडब्लयु आउट गरेपछि भारत २ ओभरमा २ विकेटको नोक्सानीमा २ रनको दयनीय अवस्थामा पुग्यो। तर भारतको सङ्कट त्यतिमै रोकिएन, सोही ओभरको अन्तिम बलमा चौथो नम्बरमा ब्याटिङ गर्न आएका श्रेयस ऐयरलाई पनि हेजलउडले डक आउट पारेपछि भारत दुई ओभरको समाप्तिमा ३–२ को सङ्कटग्रस्त स्थितिमा आइपुग्यो। यसरी भारतको शीर्ष क्रमका चारमध्ये तीन ब्याट्सम्यान शून्यमा पहिलो पटक आउट भएका थिए। त्यसपछि आएका केएल राहुलसँग मिलेर भारतका स्टार खेलाडी एवम् पूर्व कप्तान विराट कोहलीले चौथो विकेटका लागि १६५ रनको शानदार पारी खेले र टोलीलाई जीततर्फ डोर्‍याए। यी दुईको जोडीले ३५ ओभरभन्दा बढी समय क्रिजमा टिकेर भारतको स्कोर बोर्डलाई १६७–३ को सुरक्षित अवस्थासम्म ल्याइपुर्‍याए।
खेलको ३८औ ओभरमा विराट कोहली ८५ रन बनाउँदै हेजलउडकै बलमा क्याच आउट हुन पुगे। ११६ बलको सामना गरेका कोहलीले ६ चौका प्रहार गरे। कोहली आउट भएपछि जीतको औपचारिकता केएल राहुलले पूरा गरे। केएल राहुलले ११५ बलमा ८ चौका र २ छक्काको सहयोगमा नकआउट ९७ रन बनाउँदै भारतको जीत सुनिश्चित गरे। टोलीलाई जित दिलाउन निर्णायक भूमिका खेलेका केएल राहुललाई नै खेलको म्यान अफ दी म्याच अवार्ड प्रदान गरियो।
सोमवारको खेल न्युजिल्याण्ड र नेदरल्याण्डस्‌का बिच हिमाञ्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा हुनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link