भारतविरुद्धको नेपालको बहादुरीपूर्ण ब्याटिङ

–एसिया कप क्रिकेट–

आशुतोष अधिकारी

एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले विश्व क्रिकेटको एउटा ‘पावरहाउस’ मानिने भारतविरुद्ध बहादुरीपूर्ण ब्याटिङ गरेको छ। पहिलोपटक एसिया कप खेलिरहेको नेपाल समूह चरणमा विश्व क्रिकेटका दुई शक्तिशाली राष्ट्र पाकिस्तान र भारतसँगै एकै समूहमा परेको थियो।

समूह चरणको पहिलो खेलमा आइसीसी वानडे वरियताक्रमको पहिलो स्थानमा रहेको पाकिस्तानविरुद्ध आफ्नो औसतभन्दा कम स्तरको ब्याटिङ गर्दै २३८ रनको फराकिलो अन्तरको हार व्यहोरेपछि नेपालले भारतविरुद्ध कस्तो प्रदर्शन गर्नेछ भन्ने कौतुहलता प्रशंसकहरूमाझ व्याप्त थियो।

पछिल्लो समय प्रभावशाली क्रिकेट खेलेर र केही चमत्कारपूर्ण नतिजाहरू आत्मसात् गर्दै विश्वभरको मिडियाको ध्यान आफूतर्फ आकर्षित गर्न सफल नेपालले भारतजस्तो शक्तिशाली टोलीविरुद्ध राम्रो प्रदर्शन गर्नसक्ने कुरामा भने धेरैले संशय प्रकट गरेका पनि थिए। तर भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट खेलको प्रदर्शन गर्दै ४८.२ ओभरमा २३० रनको सम्मानजनक योगफल खडा गर्न सफल भएको छ।

आफ्नो पहिलो खेलमा पाकिस्तानी बलरहरूको तीव्र गतिको आक्रमणलाई झेल्न लगभग असफल भएको नेपालले भारतका फास्र्ट बलरहरूविरुद्ध भने गजबको खेल प्रदर्शन गरे। भारतविरुद्ध केही ब्याट्स्म्यान गलत सर्ट प्रहार गर्दै आउट हुनु नेपाली इनिङको कमजोर पक्ष रहेता पनि समग्रमा नेपाली ब्याट्स्म्यानहरूको प्रदर्शन सम्मानजनक रह्यो। नेपाली खेलाडीहरूले भारतीय बलिङको निडरताका साथ सामना मात्र गरेनन्, शुरुको १० ओभरमा ६.५ को औसतमा र पूरा इनिङभरी ४.५ भन्दा माथिको औसतमा रन बनाउँदै मानसिक रूपमा भारतीय खेलाडीहरू हावी हुन समेत सफल भए।

आक्रामक शुरुवात, पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी

आजको खेलमा भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो। नेपालका ओपनर जोडी कुशल भुर्तेल र आशिफ शेखले भारतको त्यो निर्णयलाई गलत साबित गर्दै नेपाललाई शानदार शुरुवात दिलाए। पावरप्लेको भरपूर फाइदा उठाउँदै नेपालले ९.४ ओभरको खेलसम्म कुनै विकेट नगुमाई आकर्षक ६५ रन बनाएको थियो। त्यसक्रममा भाग्यको पनि भरपूर साथ पाएको नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ्को नमुना प्रस्तुत गर्दै केबल २५ बलमै ३८ रन बनाए। यस क्रममा उनले तीन चौका र दुई सुन्दर छक्का प्रहार गरेका थिए। पहिलो पाँच ओभरभित्रै भारतीय फिल्डरले भुर्तेलको दुई र आशिफको एउटा गरी तीनवटा क्याच छुटाएपछि उनीहरूले त्यसको भरपूर फाइदा उठाउँदै नेपाललाई सोचेजस्तो शुरुवात दिलाउन सफल भए।

पहिलो ओभरको अन्तिम बलमा श्रेयस एैयरले स्लीपमा भुर्तेलको क्याच मिस गर्न पुगेका थिए भने लगत्तै अर्को बलमा कप्तान विराट कोहलीले आशिफको सजिलो क्याच फुत्काएका थिए। पाँचौ ओभरमा समेत इशान किशनले विकेट पछाडि क्याच छोडेर जीवनदान दिएपछि भुर्तेलले आक्रामक रूप धारण गर्न पुगेका थिए। भुर्तेलले ५.३ ओभरमा मोहमद सिराजलाई स्क्वायर लेगमा र ९.५ ओभरमा शार्दुल ठाकुरलाई सर्ट फाइन लेगमा दुई विशाल छक्का प्रहार गरेका थिए। १५२ को औसतमा रन बनाएका भुर्तेलले त्यसको लगत्तै अर्को बलमा विकेट पछाडि क्याचआउट भएका थिए। आशिफ शेखले भने बडो समझदारीपूर्वक खेल्दै नेपालको मोर्चा सम्हालेका थिए।

आशिफको किर्तिमानी अर्धशतक

खेलको २९.५ ओभरमा आउट हुनुअघि आशिफ शेखले ९७ बलको सामना गर्दै ५८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए। आशिफको यो इनिङले उनलाई भारतविरुद्ध अर्धशतक बनाउने पहिलो भाग्यमानी नेपाली खेलाडी बनायो। यसका साथसाथै आशिफले नेपालका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडीको किर्तिमान समेत आफ्नो नाम गराए। यसअघि कप्तान रोहित पौडेल र आशिफकै नाममा संयुक्तरूपमा ९–९ अर्धशतकको किर्तिमान रहेको थियो भने सात अर्धशतकसहित कुशल भुर्तेल यो सूचीको तेस्रो स्थानमा छन्।

आशिफले सुझबुझपूर्ण ढंगले ब्याटिङ गर्दै नेपालको अग्रपंक्ति सम्हालेका थिए। मैदानको चारैतिर प्रहार गरेका उनले आठ चौका प्रहार गरे। पहिलो विकेटका लागि भुर्तेलसँग मिलेर ६५ रनको साझेदारी गरेका आशिफलाई भुर्तेल आउट भएपछि अर्को इन्डबाट दरिलो साथ मिल्न सकेन। ३०औँ ओभरको अन्तिम बलमा आउट हुनुअघि आशिफले दोस्रो विकेटका लागि भीम सार्कीसँग १२ रनको, तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग १६ रन र चौथो विकेटका लागि कुशल मल्लसँग केबल ८ रनको साझेदारी निभाएका थिए भने पाँचौ विकेटका लागि गुलशन झासँग ३१ रनको महत्वपूर्ण साझेदारी पूरा गर्न सफल भए।

नेपालको बहादुरीपूर्ण ब्याटिङ

मध्यक्रममा नियमित रूपमा विकेट गुमाएर केही दबावमा आएको नेपाली इनिङलाई तल्लो क्रमका ब्याट्स्म्यानहरूले सम्हालेका थिए। नेपालका ओपनर भुर्तेल आउट भएपछि नेपालले नियमित रूपमा चार विकेट गुमाउन पुग्यो। दोस्रो नम्बरका भीम सार्की सात रनमा, त्यसपछि कप्तान रोहित पौडेल ५ रनमा र कुशल मल्ल केबल २ रनमा आउट भएपछि नेपालको नियन्त्रणमा रहेको खेल भारतको पक्षमा ढल्किएको थियो।

तर छैठौँ नम्बरमा ब्याटिङका लागि आएका हार्ड हिटर गुलसन झा र आठौँ नम्बरका सोमपाल कामीले भारतका विश्वस्तरीय बलरहरूको फास्ट र स्पीन बलिङ आक्रमणको डटेर सामना गर्दै सातौँ विकेटका लागि खेलका दोस्रो अर्धशतकीय साझेदारी पूरा गरेपछि नेपाल २०० रनको आँकडा पार गर्न सफल भएका थिए। नेपालका लागि दोस्रो ठूलो स्कोर बनाउने क्रममा अलराउण्डर सोमपाल कामीले ४८ रनको महत्वपूर्ण पारी खेलेका थिए। ५६ बलको सामना गरेका उनले एउटा चौका र दुई विशाल छक्का प्रहार गरे। त्यस्तै गुलशनले ३५ बलमा तीन चौकाको सहयोगमा २३ रन र ऐरीले २५ बलमा तीनवटै चौकासहित २९ रन बनाए। खेलको अन्त्यमा सोमपाल र सन्दिप लामिछानेले नवौँ विकेटका लागि ३७ बलमा ३४ रनको अर्को महत्वपूर्ण साझेदरी गरे।
भारतका लागि तीव्र गतिका बलर मोहम्मद सिराज केही महँगो साबित भए पनि खेलको अन्त्यमा उनी तीन विकेट लिन सफल भए भने स्पीनर रविन्द्र जडेजाले पनि तीनै विकेट आफ्नो नाम गराए। त्यस्तै मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दूल ठाकुरको नाममा १–१ विकेट रह्यो।

खेलमा वर्षा वाधक

श्रीलंकाको क्याण्डीस्थित पाल्लेकेले क्रिकेट मैदानमा नेपाली इनिङ पटक–पटक वर्षाबाट प्रभावित बन्न पुगेको थियो। खेलको ३०औ र ३४औँ ओभरमा हल्का वर्षा भएर खेल रोकिने अवस्थामा पुगेर पनि सुचारु भएको थियो। तर ३७.५ ओभरमा भने नेपाल ८ विकेटको क्षतिमा १७८ रनको अवस्थामा पानी परेर आधा घण्टाभन्दा बढी समय खेल रोकिएर मात्र सुचारु भएको थियो।

ताजा स्थितिमा भारतले २.१ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएको अवस्थामा पुनः एकपटक वर्षाका कारण खेल अवरुद्ध बन्न पुगेको छ। खेल वर्षाले अवरुद्ध भए नेपाललाई घाटा लाग्नेछ। भारत र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए। यस्तो अवस्थामा आजको खेल पनि रद्द हुन गयो भने भारत सेमीफाइनलमा प्रवेश गर्नेछ भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। तर यदि खेल सुचारु भएर नेपालले भारतलाई पराजित गर्न सफल भएको खण्डमा भने भारत प्रतियोगिताबाट बाहिरिने र अन्तिम चारमा नेपालको स्थान सुरक्षित हुनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link