दक्षिण अफ्रिकाको जीतमा कीर्तिमान नै कीर्तिमान  

आशुतोष अधिकारी

श्रीलंकाविरुद्ध ७५० भन्दा धेरै रन, ३ शतक र ३ वटै अर्ध शतक बनेको खेलमा श्रीलंका विरुद्ध कीर्तिमान नै कीर्तिमानले भरिएको रोमाञ्चक खेलमा जितेर दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को सुखद सुरुवात गरेको छ। श्रीलंकाविरुद्ध १०२ रनको फराकिलो जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकी टोलीले विश्वकपका केही अविश्वसनीय ब्याटिङ रेकर्डहरू आफ्नो नाम गराउन सफल भयो। सबैभन्दा पहिला दक्षिण अफ्रिकाले ४२८ को विशाल स्कोर खडा गर्दै विश्वकप इतिहासकै उच्च योगफलको कीर्तिमान आफ्नो नाम बनायो। यसअघि २०१५ विश्वकपमा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको अस्ट्रेलियाको नाममा यो कीर्तिमान कायम थियो।

विश्वकप इतिहासकै उच्च योगफल तयार गर्ने क्रममा दक्षिण अफ्रिकाका तीन ब्याटरले शतक पूरा गरेका थिए जुन अफ्रिकी टोलीले खेलमा बनाएको दोस्रो कीर्तिमान थियो। विश्वकप खेलको एउटै इनिङमा तीन वटा शतक प्रहार गर्ने पहिलो टोली बनेको द. अफ्रिकाले यसअघि पनि एक दिवसीय क्रिकेटमा दुई–दुई पटक यस्तै प्रदर्शन दोहोर्‍याएको थियो। सन् २०१५ भारत र वेष्टइन्डिज विरुद्ध खेलिएका फरक–फरक खेलमा दक्षिण अफ्रिकाका तीन–तीन ब्याटरले शतक प्रहार गरेका थिए। यस्तै खाले उपलब्धि हासिल गर्ने अर्को एक मात्र टोली इंग्ल्याण्ड रहेको छ जसले सन् २०२२ मा नेदरल्याण्डस्‌ विरुद्ध एक दिवसीय खेलकै उच्च स्कोरका रूपमा ४९८ रन बनाउँदा उसका तीन खेलाडीले १०० रनको आँकडा पार गरेका थिए।
दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाका लागि ओपनर क्वान्टेन डि कुक, रासी भान डेर बसेन र एइडेन माक्ररमले शतक पूरा गरेका थिए। आफ्नो करिअरको १८औँ वान डे शतक पूरा गर्ने क्रममा डि ककले ८४ बलमा १०० रन बनाए। पहिलो विश्वकप शतक प्रहार गरेका डि ककले १०८ रन बनाएका भान डेर बसेनसँग मिलेर दोस्रो विकेटका लागि २०४ रनको महत्त्वपूर्ण साझेदारी गरे। डि ककले ८३ बलमै शतक पूरा गर्ने क्रममा १२ चौका र ३ छक्का प्रहार गरे भने ११० बलको सामना गरेका भान डेर बसेनले १३ चौका र २ छक्का हाने। तर दक्षिण अफ्रिकी इनिङका असली नायक भने एइडेन माक्ररम रहे जसले केबल ४९ बलमा शतक पूरा गर्दै विश्वकपको अर्को महत्त्वपूर्ण रेकर्ड आफ्नो नाम गराए। सन् २०११ को विश्वकपमा आयरल्यान्डका केभिन ओब्राइनले इंग्ल्याण्ड विरुद्ध ५० बलमा १०० रन ठोक्दै बनाएको सबैभन्दा तीव्र गतिको विश्वकप शतकको कीर्तिमान माक्ररमले आफ्नो नाम गराए।
श्रीलंका विरुद्ध ४ सय रनको आँकडा पार गर्दै दक्षिण अफ्रिका विश्वकपको खेलमा तीन पटक ४ सयको आँकडा पार गर्ने पहिलो र एक मात्र टोली बन्न समेत सफल भयो। दक्षिण अफ्रिकाले यसअघि २०१५ को विश्वकपमा आयरल्यान्डविरुद्ध ४११ रन र वेष्टइन्डिज विरुद्ध ४०८ रनको योगफल तयार गरेको थियो। त्यस्तै यही खेलबाट विश्वकपमा विपक्षी चार बलरविरुद्ध ८० भन्दा बढी रन प्रहार गर्ने अर्को कीर्तिमान पनि अफ्रिकी टोलीको नाम भएको छ।
जवाफमा ४२९ रनको असम्भव झैँ लाग्ने लक्ष्य लिएर मैदानमा उत्रिएको श्रीलंकाली टोली ४४.५ ओभरभित्रै ३२६ रनमा अल आउट हुन पुगेपछि दक्षिण अफ्रिकाले १०२ रनको सहज जित आफ्नो पक्षमा पारेको थियो। श्रीलंकाका तीन खेलाडीले आक्रामक ब्याटिङ गर्दै अर्ध शतक प्रहार गरे पनि टोलीको फराकिलो हार टार्न त्यो पर्याप्त रहेन। श्रीलंकाका लागि कुशल मेन्डिसले ४२ बलमा ४ चौका र ८ छक्काको सहयोगमा ७६ रन बनाए भने चरित आसलंकाले ६५ बलमा ८ चौका र ४ छक्का सहित ७९ रनको पारी खेले। टोलीका लागि कप्तान दसुन सानाकाले ६२ बलमा ६८ रन बनाए जसमा ६ चौका र ३ छक्का सामेल छ।
दक्षिण अफ्रिकालाई सहज जित दिलाउने क्रममा गेराल्ड कोएत्जीले ३ तथा कागिसो रवाडा, केशव महाराजा र मार्को जेसनले २–२ विकेट लिए भने लुन्जी एनगिडीको नाममा १ विकेट रह्यो। ४९ बलमा शतक पूरा गरेका माक्ररम खेलको म्यान अफ दी म्याच चुनिए।
अफगानिस्तानविरुद्ध बङ्गलादेशको सहज जित
मेहिदी हसन मिराज बल र ब्याट दुवैमा चम्किएपछि शनिवार सम्पन्न पहिलो खेलमा अफगानिस्तानमाथि ६ विकेटको सहज विजय हात पार्दै बङ्गलादेशले विश्वकप २०१९ को शुभारम्भ सुखद बनायो। हिमाञ्चल प्रदेशको धर्मशालास्थित क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको बङ्गलादेशले अफगानिस्तानलाई ३७.२ ओभरभित्रै १५६ रनमा अल आउट गरेको थियो। अफगानिस्तानका लागि प्रारम्भिक ब्याटर रमनुल्लाह गुर्वाजले सर्वाधिक ४७ रन बनाए भने एब्राहिम जर्दान र अज्मतुल्लाह ओम राजीले समान २२–२२ रन तथा रहमत शाह र कप्तान हस्मतुल्लाह शहिदीले समान १८–१८ रन बनाए। त्यसबाहेक अन्य कुनै अफगानी खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। अफगानी टोलीलाई सस्तैमा समेट्ने क्रममा मेहिदी हसन मिराज र शकिव अल हसनले ३–३ विकेट लिए भने शरिफुल इस्लामले २ विकेट लिए।
प्रत्युत्तरमा १५७ रनको झिनो लक्ष्य पछ्याएको बङ्गलादेशले ३४.४ ओभरभित्रै ४ विकेटको क्षतिमा १५८ रन बनाउँदै सहजै जित्यो। बङ्गलादेशको   टोलीका लागि मेहिदी हसन मिराजले ५७ रन र नजमुल होसेन सान्टोले ५९ रनको अर्ध शतकीय पारी खेले। यी दुईले तेस्रो विकेटका लागि ९७ रनको महत्त्वपूर्ण साझेदारी निभाउँदै टोलीलाई जितको नजिक पुर्‍याए। खेलमा अलराउण्डर प्रदर्शन गरेका मेहिदी हसन मिराज म्यान अफ दि म्याच चुनिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link