आजबाट क्रिकेटको महाकुम्भ सुरु, को हुन् जितका बलिया दाबेदार?

आशुतोष अधिकारी

गुजरात सहरको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेलसँगै क्रिकेटको महाकुम्भ अर्थात् विश्वकप क्रिकेट प्रतियोगिताको तेह्रौँ संस्करण आजबाट भारतमा सुरु हुँदै छ। भारतका १० भिन्न–भिन्न सहरमा रहेका १० अलग–अलग रंगशालामा अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म आयोजना हुने ४८ खेलले तेह्रौँ विश्वकप क्रिकेटको विजेताको छिनाफानो गर्नेछ। १२ वर्षपछि भारतीय भूमिमा फर्किएको क्रिकेटको सर्वोच्च प्रतियोगिताको उपाधिका लागि १० टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा आयोजक भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहेको छ। इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) को एसोसिएट्स मेम्बरबाट केवल नेदरल्यान्ड्स मात्र विश्वकपमा छनौट हुन सफल भएको छ भने दुईपटकको विजेता वेस्ट इन्डिज यसपटकको प्रतियोगितामा स्थान बनाउनसमेत असफल भएको छ।

सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन नगरी राउन्ड रोविनका आधारमा पहिलो चरणका खेलहरू सञ्चालन हुनेछन्। समूह चरणमा प्रत्येक टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्दै ९–९ खेल खेल्नेछन्। समूह चरणको अन्त्यमा शीर्ष स्थानमा आउने चार टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। नोभेम्बर १५ र १६ का दिन मुम्बईको वानखेडे र कलकत्ताको इडेन गार्डेन क्रिकेट मैदानमा सेमीफाइनलका दुई खेलहरू आयोजना गरिनेछन् भने फाइनल खेल नोभेम्बर १९ का दिन नरेन्द्र मोदी क्रिकेट मैदान अहमदावादमै हुनेछ।

कुल पुरस्कार राशि १ करोड डलर रहेको विश्वकप क्रिकेटको विजेता टोलीले उपाधिसँगै पुरस्कारस्वरूप नगद ४० लाख डलर हात पार्नेछ भने उपविजेताको भागमा २० लाख डलर पर्नेछ। त्यस्तै सेमीफाइनलमा पुग्ने बाँकी दुई टोलीले समेत जनही ८–८ लाख डलर, समूह चरणको प्रत्येक जितमा विजेता टोलीले थप ४० हजार डलर प्राप्त गर्नेछन्। त्यस्तै, समूह चरण पार गर्न असफल ६ टोलीले पनि १–१ लख डलर प्राप्त गर्ने आइसीसीको आधिकारिक वेवसाइटमा उल्लेख छ।

भारत, अस्ट्रेलिया र इंग्ल्यान्ड नै उपाधिका बलिया दाबेदार

यसपटकको विश्वकप क्रिकेट उपाधिको सबैभन्दा बलियो दाबेदारका रूपमा आयोजक राष्ट्र भारतलाई नै हेरिएको छ। घरेलू भूमिका अतिरिक्त क्रिकेट भनेपछि मरिहत्ते गर्ने घरेलू समर्थकको बलियो साथ त भारतीय टोलीलाई रहने नै छ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भारतको बलियो र अनुभवी ब्याटिङ लाइनअप नै हो। कप्तान रोहित शर्मा र विराट कोहलीजस्ता दिग्गज र अनुभवले खारिएका खेलाडीहरूले भारतीय ब्याटिङको नेतृत्व गर्नेछ, जसलाई मध्यक्रममा श्रेयस ऐयर र केएल राहुलजस्ता भरपर्दा ब्याटर अनि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाजस्ता अलराउण्डरहरूले साथ दिनेछन्।

सबैभन्दा महत्वपूर्ण हतियारका रूपमा यसपटक भारतीय टोलीसँग शुभमन गीलको साथ रहनेछ। उनलाई अहिलेको अवस्थामा भारतीय टोलीको तुरुपको एक्का मान्न सकिन्छ। अहिले शुभमन आफ्नो खेलजीवनकै उच्च लयमा छन्। उनले २०२३ मा मात्रै उनले एउटा दोहोरो शतक (वान डेमा) सहित ६ वटा शतक प्रहार गर्दै १२३० अन्तर्राष्ट्रिय रन पूरा गरिसकेका छन् र यस वर्ष सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीको एक नम्बरमा छन्।

त्यस्तै बलिङतर्फ पनि हाल विश्व वरियताक्रमको पहिलो स्थानमा रहन सफल फास्ट बलर मोहमद सिराजको साथ भारतीय टोलीलाई रहनेछ। फास्ट बलिङमा सिराजलाई जसप्रित बुमराह, मोहमद सामी र शार्दुल ठाकुरले साथ दिनेछन् भने कुलद्दीप यादव र रविचन्द्रन अश्विनको स्पिन आक्रमणले भारतीय बलिङलाई सन्तुलित बनाएको छ। घरेलू मैदान र समर्थकको सहयोगमा आफ्नै घरमा विश्वकपको उपाधि जित्न आतुर देखिएको भारतीय टोली नै अहिलेसम्म प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार देखिएको छ।

भारतपछि उपाधिको अन्य दाबेदारहरूमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई लिन सकिन्छ। पछिल्लोपटक एकदिवसीय विश्वकपको उपाधिसँगै २०२२ मा टी–२० विश्वकपको उपाधिसमेत जितेको इंग्ल्यान्डको टोली उच्च मनोबलका साथ भारत उत्रिएको छ। र यसपटकको अंग्रेज टोली ब्याटिङ, बलिङ र फिल्डिङमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

विश्वकप क्रिकेटमा अस्ट्रेलिया नै एकमात्र यस्तो टोली हो, जसलाई सधैँ उपाधिको दाबेदार मान्न सकिन्छ। पाँचपटक विश्वकपको उपाधि जितिसकेको अस्ट्रेलिया यस प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टोली हो। प्रतियोगिताभन्दा अघि आफ्ना केही प्रमुख खेलाडीले चोट बाकेपछि केही समस्यामा परेको अष्ट्रेलियन टोलीमा अझै पनि गहिराइको कमी भने छैन।

विश्वकपमा इंग्ल्यान्डको प्रदर्शन विशेषगरी कप्तान जोन बेरिस्टो, जोए रुट, जोस बट्लरको ब्याटिङमा निर्भर रहनेछ भने हालै आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्यास फिर्ता लिएर टिममा फर्किएका अलराउन्डर बेन स्टोक्सको उपस्थितिले टोलीलाई अझै बलियो बनाएको छ। त्यसबाहेक डेभिड मालान, लियान लिभिङस्टोन, रोवर्ट विल्ली र क्रिस ओक्सजस्ता युवा खेलाडीले इंग्ल्यान्डको व्याटिङ लाइनअपलाई थप मजवूत बनाएको छ। युवा ब्याटर ह्यारी बु्रक र स्टार बलर जोफ्रा आर्चरबिना भारत आएको अंग्रेज टोलीको बलिङको बागडोर तीव्र गतिका बलर गुस एट्किन्सन, मार्क उड र रेसे टोप्लेको हातमा रहनेछ भने अलराउण्डर मोइन अली र स्पीनर आदिल अन्सारीको स्पीन बलिङ पनि टोलीको लागि निर्णायक बन्न सक्नेछ।

विश्वकप क्रिकेटमा अस्ट्रेलिया नै एकमात्र यस्तो टोली हो, जसलाई सधैँ उपाधिको दाबेदार मान्न सकिन्छ। पाँचपटक विश्वकपको उपाधि जितिसकेको अस्ट्रेलिया यस प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टोली हो। प्रतियोगिताभन्दा अघि आफ्ना केही प्रमुख खेलाडीले चोट बाकेपछि केही समस्यामा परेको अष्ट्रेलियन टोलीमा अझै पनि गहिराइको कमी भने छैन। प्याट कमिन्सको नेतृत्वमा डेविड वार्नर, स्टीव स्मिथ र मिचेल मार्श जस्ता अनुभवी ब्याटर, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, सिन एबोट र क्यामरुन ग्रीनजस्ता धुरन्धर अलराउन्डरले कुनै पनि खेलको नजिता आफ्नो पक्षमा पार्ने क्षमता राख्दछन्।

२०१९ को विश्वकपमा २७ विकेट लिँदै प्रतियोगिताको सर्वोत्कृष्ट बलर बन्न सफल मिचेल स्टार्कको पुनरागमनले अष्ट्रेलियाको टिममा सुनमा सुगन्ध थपेझैँ भएको छ। टोलीको प्रमुख स्पीनर एष्टन एगर घाइते हुँदै विश्वकप खेल्न नसक्ने भएपछि स्पिन आक्रमणको जिम्मेवारी एडम जाम्पाको काँधमा आइपरेको छ भने एकदिवसीय ब्याटिङका विशेषज्ञ अलराउन्डर मानिने ग्लेन म्याक्सवेल चोटमुक्त भएर भारतविरुद्धको आफ्नो पहिलो खेलमा मैदानमा फर्कनेमा टोली आशावादी छ।

पाकिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले दिन सक्छन् झट्का

पाकिस्तान, न्युजिल्यान्ड र दक्षिण अफ्रिका आसन्न विश्वकपका तीन यस्ता टोली हुन् जसले यसपटक उपाधि जितिहाल्छ भनेर दाबी गर्न त सकिँदैन। तर यी टोलीले प्रतियोगिताका कुनै पनि टोलीलाई कुनै पनि समयमा माथ दिन सक्ने सामथ्र्य भने अवश्य राख्दछन्।

पाकिस्तानी टोलीको चर्चा गर्ने हो भने सबैभन्दा पहिले टोलीका कप्तान बाबर आजमकै कुरा गर्नुपर्ने हुन्छ। किनभने पाकिस्तानी टोलीको नतिजामा उनकै प्रदर्शनले निर्णायक भूमिका खेल्ने दाबी गर्न सकिन्छ। पछिल्ला दुई–तीन वर्षभित्र पाकिस्तानी टोलीको प्रदर्शन र नजितालाई विश्लेषण गर्ने हो भने पनि यो दाबी पुष्टि हुन्छ। बाबरको प्रदर्शनसँगै मोहम्मद रिजवान, फखर जमान र इमाम उलहकमाथि पाकिस्तानको ब्याटिङ निर्भर रहनेछ। पाका खेलाडी इफ्तिखार अहमदको आगमनले पाकिस्तानको मध्यक्रमलाई थप मजबुत बनाएको छ। तर पाकिस्तानको प्रमुख हतियार भनेको तीव्र बलिङ आक्रमण नै हो, जुन यसपटक पनि त्यतिकै धारिलो र मजबुत रहेको छ।

फास्र्ट बलर शाहिन शाह अफ्रिदी र ह्यासिर रउफले पछिल्लो समय उत्कृष्ट बलिङ गरेर विपक्षीको खेमामा एउटा अलग्गै प्रकारको आतंक सिर्जना गर्न सफल भएका छन्। अर्का युवा तेज बलर नसीम शाह चोट बोक्दै विश्वकपबाट बाहिरिनु पाकिस्तान लागि दुर्भाग्यपूर्ण भए पनि अफ्रिदी र रउफको जोडीले उत्कृष्ट प्रदर्शन गर्नेमा टोली ढुक्क छ।

पछिल्लो समय लगातार आफ्नो स्तरमा सुधार गर्दै अघि बढिरहेको आइसीसीको सबैभन्दा कान्छो पूर्ण सदस्य अफगानिस्तानलाई कसैले उपाधिको दाबेदार नमाने पनि यसपटकको विश्वकपको ‘डार्क हर्स’ टिमका रूपमा हेरिएको छ। दुई दिन अघिमात्र खेलिएको वार्मअप म्याचमा श्रीलंकाविरुद्ध सनसनीपूर्ण जित निकाल्दै अफगानिस्तानले प्रतियोगितामा केही अप्रत्याशित नजिता निकाल्नसक्ने संकेत दिइसकेको छ।

त्यस्तै २०१९ को फाइनलिस्ट न्युजिल्यान्डले पनि यसपटक अनुभवी खेलाडीहरूलाई समेटेर टिम तयार पारेको छ। यसको नेतृत्व गर्नेछन् टोलीको स्टार ब्याटर केन विलियम्सनले। केन विलियम्सनको ब्याटिङ नै न्युजिल्यान्डको प्रमुख हतियार हो तर यसपटक चयनकर्ताले ६ बाँया हाते ब्याटरलाई टोलीमा स्थान दिएर एउटा नौलो प्रयोग गरेका छन्। बाँयाहाते ब्याटरहरू टम लाथम, डेभोन कनवे, मार्क च्यापम्यान, जिमी निशम, मिचेल शान्टनर र रचिन रविन्द्र कुनै पनि विपक्षी बलरका लागि टाउको दुखाइको विषय बन्ने पक्का छ। बलिङतर्फ दुई अनुभवी फास्र्ट बलर ट्रेन्ट बोल्ट र टिम साउथीको स्विङ र पेसको समिश्रण अनि एस शोदी र सान्टनरको स्पीन बलिङ आक्रमणले न्युजिल्यान्डको टोलीलाई सन्तुलित बनाएको छ।

दक्षिण अफ्रिकालाई विश्वकप इतिहासको अभागी टोलीको संज्ञा दिने गरिन्छ। हुन पनि दक्षिण अफ्रिका पटक–पटक उपाधिको नजिक पुगेर अन्तिम समयमा चुकेका थुप्रै उदाहरण छन्। तर तेम्बा बाभुमाको कप्तानीमा रहेको टोली क्वान्टेन डि कक, रेसे भान डेर डसेन, एडेन माक्र्रम, हेनरिक क्लासन र डेविड मिलरजस्ता अनुभवी र विश्वस्तरको व्याटिङ लाइनअप रहेको छ जसले कुनै पनि समय खेल आफ्नो पक्षमा पार्ने क्षमता राख्दछन्। फास्ट बलरहरू कागिसो रवाडा, एनरिच नोर्त्जे र लुन्जी एनगिडीको सन्तुलित र सटिक फास्र्ट बलिङ र केशव महाराजा र तवरेज साम्शीको स्पीन आक्रमणले न्युजिल्यान्डको टोलीलाई पूर्णता दिएको छ, जसले यसपटकको विश्वकपमा बलियो चुनौती पेस गर्ने निश्चित छ।

‘डार्क हर्स’ बन्न सक्छ अफगानिस्तान

पछिल्लो समय लगातार आफ्नो स्तरमा सुधार गर्दै अघि बढिरहेको आइसीसीको सबैभन्दा कान्छो पूर्ण सदस्य अफगानिस्तानलाई कसैले उपाधिको दाबेदार नमाने पनि यसपटकको विश्वकपको ‘डार्क हर्स’ टिमका रूपमा हेरिएको छ। दुई दिन अघिमात्र खेलिएको वार्मअप म्याचमा श्रीलंकाविरुद्ध सनसनीपूर्ण जित निकाल्दै अफगानिस्तानले प्रतियोगितामा केही अप्रत्याशित नजिता निकाल्नसक्ने संकेत दिइसकेको छ।

अफगानिस्तानको भाग्य भने उसको दुई ओपनिङ जोडी इब्राहिम जर्दान र रमनुल्लाह गुर्वाजको ब्याटिङ अनि रसिद खान र मुजिबुर रहमानको स्पीन बलिङमै निर्भर रहनेछ। टोलीका कप्तान हस्मतुल्लाह शहिदीसँगै मोहम्मद नावीको ब्याटिङ र फास्र्ट बलर फजलहक फारुकीको प्रदर्शन पनि अफगानिस्तानका लागि निर्णायक बन्न सक्छ।

अन्त्यमा, १९९६ को विश्वकप विजेता एवं २००७ र २०११ को फाइनलिस्ट टोली श्रीलंकाले यस संस्करणमा ठूलो चुनौति पेश गर्ने कुरामा धेरैले शंका गरेका छन्। टोलीका दुई अनुभवी ब्याटर कुशल मेन्डिस र कुशल परेराको साथै युवा ब्याटर चरिथ आसालंकाको प्रदर्शनमा श्रीलंकाको ब्याटिङ निर्भर रहेको छ। टोलीको प्रमुख स्पीनर वनिन्दु हसरङ्गाले चोटका कारण विश्वकप गुमाएपछि आएको रिक्ततालाई युवा स्पीन बलर दुनिथ वेल्लालागे पूर्ति गर्ने कुरामा भने टोली ढुक्क देखिन्छ।

महान् लेगस्पीनर मुथ्थैया मुरलिथरनसँग तुलना गर्न थालिएका २० वर्षका यी लेफ्ट आर्म अर्थोडक्स स्पिनरले यसपटकको विश्वकपमा केही चमत्कार गरिहाले भने आश्चर्य नमाने हुन्छ। बाँकी दुई टोली बंगलादेश र नेदरल्यान्डस्का लागि भने यो विश्वकप धेरै सिक्ने र केही मिठा अनुभवहरू सँगाल्ने एउटा राम्रो अवसर मात्र बन्ने पक्कापक्की छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link