नेपाली क्रिकेटको एसियाड यात्रा टुंगियो

आशुतोष अधिकारी

चीनको हाङझाउमा जारी १९औँ एसियन गेम्समा नेपाली क्रिकेट टोलीको शानदार यात्रा क्वार्टर फाइनलमा आएर टुङ्गिएको छ।

मङ्गलबार सम्पन्न क्वार्टर फाइनलमा स्वर्ण पदकको प्रमुख दाबेदार भारतविरुद्ध प्रभावशाली खेले पनि  २३ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणमा मंगोलियाविरुद्ध कीर्तिमान नै कीर्तिमानले भरिएको जित र मालदिभ्सविरुद्ध पनि सहज विजय हात पारेपछि नेपाली समर्थकहरूले क्रिकेटबाट पदकको ठुलो आशा गरेका थिए। तर इन्डियन प्रिमियम लिग (आइपिएल) खेलिसकेका अनुभवी खेलाडीहरूले भरिएको भारतीय युवा टोलीका अगाडि नेपालको केही जोड चलेन। यद्यपि आफूभन्दा निकै बलियो टोलीविरुद्ध नेपाली युवा खेलाडीहरूको प्रदर्शन भने गर्व गर्न योग्य रह्यो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरको खेलमा २०२–४ को स्कोर बनायो। दुई दिनपछि आफ्नै भूमिमा सुरु हुन गइरहेको एक दिवसीय विश्वकप क्रिकेटका कारण भारतले दोस्रो रोजाइका खेलाडीहरूलाई एसियाड टोलीमा सहभागी गराएको थियो। तर भारतको दोस्रो रोजाइको टोली नै आइपिएल स्टारहरूले भरिएको छ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान यसश्वी जयसवालले आक्रामक ब्याटिङ गर्दै शतक पूरा गरे। आइपिएल टोली राजस्थान रोयल्सका लागि समेत एक नम्बरमा ब्याटिङ गर्ने जयसवालले आक्रामक खेलको प्रदर्शन गर्दै ४९ बलमा १०० रन बनाए। आइपिएल सिजन २०२३ मा १४ खेलमा ६२५ रन बनाउँदै राजस्थान रोयल्सको लागि सबैभन्दा धेरै रन बनाएका जयसवालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० शतक पूरा गर्ने क्रममा ८ चौका र ७ छक्का प्रहार गरे। उनी खेलको सत्रौँ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा अविनाश बोहराको हातबाट क्याच आउट भए।

त्यस्तै २०१८ बाट चेन्नई सुपर किंग्सबाट आइपिएल खेलिरहेका ऋतुराज गायकवाडले २३ बलमा २५ रन, चेन्नइकै लागि खेल्ने अर्का खेलाडी शिवम् दुबेले १९ बलमा २५ रन र कलकत्ता नाइट राइडर्सका रिन्कु सिंहले १५ बलमै ३७ रन बनाए पछि मात्र भारत २ सय रनको आँकडा पार गर्न सफल भएको थियो। २०१८ देखि कलकत्ता नाइट राइडर्सका लागि खेलिरहेका रिन्कु सिंह त्यही खेलाडी हुन जसले २०२३ को आइपिएल सिजनमा गुजरात टाइटन्सविरुद्ध खेलको अन्तिम ओभरमा लगातार पाँच वटा छक्का प्रहार गर्दै २९ रनको लक्ष्य पूरा गरेर सनसनी मच्चाएका थिए। खेलको अन्तिमतिर रिन्कुले धुवाँदार ब्याटिङ गर्दै २ चौका र ४ छक्का हानेपछि मात्र भारत सम्मानजनक स्थितिमा पुगेको थियो। नेपालका लागि दीपेन्द्रसिंहले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिए।

जवाफमा २०३ रनको लक्ष्य पछ्याएको नेपालले बहादुरीपूर्वक पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७९ रन बनाए पनि जितसम्म पुग्न भने सफल भएन। नेपालका लागि ओपनर कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १० रन मात्र बनाउन सके। अघिल्ला दुई खेलमै जमेका कुशल मल्लले २२ बलको सामना गर्दै २–२ चौका र छक्का सहित आकर्षक २९ रन बनाए पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्नबाट भने उनी चुने। मल्ललाई रवि विस्नोइले रिन्कु सिंहको हातबाट क्याच आउट गराए। तर अघिल्ला दुई खेलमै अर्ध शतक प्रहार गर्न सफल नेपाली कप्तान रोहित पौडेल भारतविरुद्ध भने असफल रहे। उनलाई पनि रवि विस्नोईले ३ रनमा एलबीडब्लयु आउट पारे।

मध्य क्रममा दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै मात्र २० बलमा ४५ रनको साझेदारी गरेपछि एक समय खेलमा नेपालको पकड बलियो बनेको थियो। तर १४.२ ओभरमा ३२ रन बनाउँदै ऐरी आउट भएपछि खेल पुनः भारतको पक्षमा ढल्किन पुग्यो। मात्र १५ बलको सामना गरेका ऐरीले ४ वटा छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोराले पनि आक्रामक खेलको नमुना पेस गर्दै १२ बलमै २९ रन प्रहार गरे। यस क्रममा जोराले ३ छक्का र १ चौका हाने।

नेपाली इनिङको अन्त्यतिर करन केसीले १३ बलमा २ छक्का र १ चौकाको सहयोगमा १८ रन बनाए पनि नेपालको हार टार्न त्यो पर्याप्त रहेन। भारतका लागि रवि विस्नोई र अवेश खान समान ३–३ विकेट हात पारे भने अर्शदीप सिंहको नाममा २ र साइ किशोरको नाममा एक विकेट रह्यो।

भारतसँग २३ रनको हार भोग्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ, तर समग्रमा नेपाली क्रिकेटको एसियाड भ्रमण सफल र उपलव्धिले भरिपूर्ण रह्यो। पहिलो दुई खेलमा कमजोर प्रतिद्वन्द्वी विरुद्ध सहज जित हात पारेको नेपालले बलियो टोली भारतविरुद्ध पनि त्यति नै दमदार प्रदर्शन दोहर्‍यायो। गत महिना सम्पन्न एसिया कपमा भारतको पहिलो रोजाइका खेलाडीविरुद्ध समेत उत्कृष्ट ब्याटिङ गरेर वाह वाही कमाएको नेपालले आइपिएल स्टारहरूले भरिएको यो भारतीय टिमलाई टी–२० खेलमा समेत कडा चुनौती दिन सफल रह्यो।

भारतीय बलिङ आक्रमणको बहादुरीपूर्वक सामना गरेको नेपाली खेलाडीहरूले आफ्नो इनिङमा भारतको तुलनामा बढी छक्का प्रहार गरे। खेलमा भारतका खेलाडीहरूले कुल १२ छक्का प्रहार गरेका थिए भने नेपालको तर्फबाट १४वटा छक्का प्रहार भएको थियो। मंगोलियाविरुद्धको खेलमा टी–२० क्रिकेटको सात विश्व किर्तिमान आफ्नो नाम गराएर विश्वव्यापी चर्चा कमाएको नेपालले प्रतियोगितामा खेलिएका तीन खेलमा गरेर कुल ५१ छक्का प्रहार गरे।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link