धमाधम बनिरहेको छ विश्वकपमा स्कोर र ब्याटिङ रेकर्ड 

आशुतोष अधिकारी

करिब एक दशक अघिसम्म पनि कुनै वान डे क्रिकेट म्याचमा पहिले ब्याटिङ गर्ने टोलीले ३०० रन आसपासको स्कोर खडा गर्‍यो भने त्यो टोलीको जीत लगभग सुनिश्चित जस्तै हुन्थ्यो। अझ ५० ओभरको खेलमा त ३५० को आँकडालाई पार गर्नु भनेको त दुर्लभ नै हुन्थ्यो। खेलको दोस्रो इनिङमा २७०–२८० भन्दा बढी रनको लक्ष्यलाई सफलतापूर्वक पार गर्नु कुनै पनि टोलीका लागि फलामको चिउरा चपाएसरह गाह्रो काम हुने गर्दथ्यो केही वर्ष अगाडिसम्म पनि। तर पछिल्ला ८–१० वर्षको अवधिमा यो खेलमा यति धेरै परिवर्तन आएको छ कि अहिले ५० ओभरको खेलमा कुनै टोलीले ४०० रनको स्कोर पार गर्दा समेत त्यसलाई सामान्य रूपमा लिन थालिएको छ।

पछिल्ला वर्षहरूमा सीमित ओभरको क्रिकेटमा ठुला–ठुला योगफलहरू तयार हुने क्रम लगातार बढिरहेको छ भने खेलाडीहरूले एकपछि अर्को शतक र अर्ध शतक प्रहार गर्दै विभिन्न ब्याटिङ रेकर्डहरू बनाउने क्रम पनि तीव्र बन्दै गएको छ। यो तथ्यको उदाहरणका रूपमा आसन्न विश्वकप क्रिकेटलाई लिन सकिन्छ। विश्वकप क्रिकेट २०२३ का अहिलेसम्म खेलिएका केबल ८ खेलमै विश्वकप इतिहासकै ठुलो योगफल, छिटो शतक, ठुलो लक्ष्यलाई सफलतापूर्वक पूरा गरेका आदि धेरै ब्याटिङ रेकर्ड बनिसकेका छन् भने प्रत्येक दिन जसो नयाँ–नयाँ रेकर्ड बन्ने क्रम चलिरहेको छ।

भारतमा जारी विश्वकप क्रिकेटमा मङ्गलवारसम्म सम्पन्न समूह चरणका आठ खेलका ६ इनिङमा ३०० भन्दा बढीको स्कोर बनिसकेको छ जसमध्ये एउटा स्कोर ३५० भन्दा माथिको छ भने अर्को एउटा ४०० भन्दा पनि माथिको। यी ८ खेलमध्ये एउटामा ७५० भन्दा बढी रन र अर्को एउटामा ६९० भन्दा बढी रन बनेको छ। विश्वकपमा हालसम्म खेलिएका केबल ८ खेलमै १० शतक र २१ अर्ध शतक बनिसकेका छन् भने एकै खेलमा ४ वटा र एकै इनिङमा ३ वटासम्म शतक बनेका छन्। अक्टोबर ७ मा दिल्लीमा सम्पन्न श्रीलङ्का विरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाका तीन खेलाडीले एकै इनिङमा शतक पूरा गर्दै ४२८ रनको विशाल योगफल खडा गरे। त्यसअघि प्रतियोगिताको उद्घाटन खेलमै इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य पूरा गर्ने क्रममा न्युजिल्याण्डका दुई खेलाडीले शतक ठोकेका थिए। यस क्रमलाई निरन्तरता दिँदै मङ्गलवार पाकिस्तान र श्रीलङ्काबिचको खेलमा समेत दुवै टोलीका २–२ खेलाडीले शतक प्रहार गरेका छन्।

३४४ रन बनाएर पनि पराजित श्रीलङ्का सङ्कटमा

चार वटा शतक र कुल ६८९ रन बनेको रोमाञ्चक खेलमा श्रीलङ्काले ३४४ रनको विशाल योगफल तयार पारेर पनि त्यसको रक्षा गर्न सकेन। पहिलो खेलमा दक्षिण अफ्रिकाको हातबाट माथ खाएको श्रीलङ्का आफ्नो दोस्रो खेलमा समेत पाकिस्तानद्वारा ६ विकेटले पराजित भएपछि टोली सङ्कटमा परेको छ। पहिलो खेल नै हारेपछि श्रीलङ्काका लागि विश्वकपमा आफ्नो दाबा बनाई राख्नका लागि पनि पाकिस्तानविरुद्धको खेल जित्नै पर्ने दबाब थियो। मङ्गलवार आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै श्रीलङ्का ५० ओभरमा ३४४ रनको बलियो स्कोर तयार पार्न सफल पनि भयो। श्रीलङ्काका भेट्रान ब्याटर कुशल मेन्डिसले १२२ रन र सदिरा समिरविक्रमाले १०८ रनको शतकमय पारी खेलेपछि टोली चुनौतीपूर्ण स्कोर खडा गर्न सफल भएको थियो। मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्काको सहयोगमा १२२ बनाए र यस क्रममा केवल ६५ रनमै शतक पूरा गर्दै विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान आफ्नो नाम गराए। यसअघि यो रेकर्ड कुमार संगाकाराको नाममा थियो जसले २०१५ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध ७० बलमै शतक ठोकेका थिए।

जवाफमा आफ्ना दुई खेलाडीले शतक पूरा गरेपछि पाकिस्तान ४८.२ ओभरमै ३४५ रनको लक्ष्यसम्म पुग्दै नयाँ इतिहास समेत रच्न सफल भयो। ३४४ रनको लक्ष्य पार गर्दै पाकिस्तानले विश्वकपमा सबैभन्दा धेरै रन पछ्याएर खेल जित्ने कीर्तिमान आफ्नो नाम गरायो। यसअघि यस्तो कीर्तिमान आयरल्यान्डको थियो जसले २०११ को विश्वकपमा इंग्ल्याण्डले दिएको ३२८ रनको लक्ष्य सफलतापूर्वक पछ्याउँदै यस्तो कीर्तिमान आफ्नो बनाएको थियो। पाकिस्तानका ओपनिङ ब्याटर अब्दुल्लाह शफिकले १०३ बलमा १० चौका र ३ छक्काको सहयोगमा ११३ रन बनाए भने र चौथो नम्बरका मोहम्मद रिजवानले १३१ रनको अविजित पारी खेल्दै टोलीलाई जीतसम्म डोर्‍याएका थिए। १२१ बलको सामना गरेका रिजवानले ८ चौका र ३ छक्का प्रहार गरे।

विश्वकप इतिहासमै अहिलेसम्म श्रीलङ्काले पाकिस्तानलाई हराउन सकेको छैन। विश्वकपमा यो श्रीलङ्कामाथि पाकिस्तानको आठौँ जीत हो। यो विश्वकपमा लगातार दोस्रो खेलमा जीत हात पार्दै पाकिस्तानले अन्तिम चारमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ भने लगातार दोस्रो खेल हारेको श्रीलङ्काको लागि अबको यात्रा कठिन बन्न पुगेको छ।

इंग्ल्याण्ड–बङ्गलादेश

मङ्गलवार नै सम्पन्न पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड बङ्गलादेशमाथि १३७ रनको फराकिलो विजय हासिल गर्दै प्रतियोगितामा पहिलो जीतको स्वाद चाख्न सफल भयो। पहिलो खेलमा न्युजिल्याण्डसँग एकोहोरो हार व्यहोरेको इंग्ल्याण्डले मङ्गलवार भने शानदार ब्याटिङ र बलिङको नमुना पेस गर्‍यो। खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ३६४–९ को विशाल योगफल बनायो। टोलीका लागि डेभिड मालानले १०७ बलमै १४० रनको धुवाँदार इनिङ खेले भने पूर्व कप्तान जो रुटले पनि आकर्षक ८२ रन बनाए। प्रत्युत्तरमा अङ्ग्रेजी टोलीका फास्ट बलर रेसे टोप्लेले १० ओभरमा ४३ दिएर ४ विकेट लिँदै बङ्गलादेशको माथिल्लो क्रम ध्वस्त बनाएपछि बंङ्गलादेशी टोली ४८.२ ओभरमा २२७ रनमै सीमित हुन पुग्यो। बङ्गलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए भने मुश्फिकर रहिमले ५१ रन बनाए।

बुधवारको खेलमा आयोजक भारतले अरुण जेट्ली क्रिकेट स्टेडियम दिल्लीमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link