नेपाल कहिले स्वतन्त्र हुने होला ?

आदित्यमान श्रेष्ठ

भन्नलाई त नेपाल एक स्वतन्त्र देश हो। दक्षिण एसियाको सबभन्दा पुरानो देश पनि हो। तर किन यो कहिले स्वतन्त्र हुने होला भन्ने प्रश्न उठ्छ ? एउटा स्वतन्त्र देश स्वतन्त्र नै रहे कस्तो हुने होला भनेर कल्पना गरेर बस्नुपर्ने अवस्था आयो।

प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल चलाउने चाबी नेपालीको हातमा छैन, अरुकै हाथमा छ भनेर प्रधानमन्त्री भएकै बेला भनेका थिए। अहिले आएर पर्यटनमन्त्री सुदन किरातीले पनि त्यस्तै कुरा बोलेका छन्। उनी त अझ पनि मन्त्री नै छन्। नेपालका पर्यवेक्षकहरूले पनि नेपालमा विदेशी चलखेल धेरै बढ्यो भनेर दिनरात गुनासो गरिरहेका छन्।

नेपालमा भए गरेका कामकारबाही, कानुन, संविधान आदि सबै विदेशीले बनाएका हुन् भनेर स्वदेशी–विदेशी दुवैले भन्ने गरेका छन्। नपत्याउनु पनि कसरी ? पत्यार लाग्ने मानिस नै यस कुराको साक्षी बक्छन्।

नेपालमा प्रजातन्त्र आएको नै ७० वर्ष अगाडि हो। त्योभन्दा अगाडि राणा शासन थियो। राणाहरूले जनतालाई निरक्षर अनपढ राखे पनि राष्ट्रलाई जोगाउने काम गरेका थिए भनेर उनीहरूको तारिफ गरेको सुनिन्छ। तर प्रजातन्त्रको दृष्टिकोणबाट उनीहरू निकै निरंकुश थिए। कति मानिसको हत्या पनि गरेका थिए। प्रजातन्त्र त आयो तर नेपालको तहसनहस हुन पनि थाल्यो। प्रजातन्त्र आएको ७० वर्षमा यसो फर्केर हेर्दा नेपालका नदीनाला सबै भारतलाई बुझाइयो। अब ढुंगा, माटो, गिट्टी पनि बेहिसाब बिक्रीवितरण हुन लाग्यो। यो प्रक्रिया रोकिएको छैन र रोकिने संकेत पनि देखिँदैन। त्यसको कारण पनि प्रष्ट छ। एकातिर विदेशीको स्वार्थ पूरा हुने अर्कोतिर पैसा आउने।

प्रजातन्त्र आएपछि नेपालको मन्त्रीमण्डलमा एक जना विदेशी पनि बस्न लागे। उसलाई निकाल्न पनि महेन्द्रराजाले कति कोसिस गर्नुपर्यो। त्यो देख्दा लाग्छ नेपाललाई स्वतन्त्र मुलुक बनाउनु साह्रै गाह्रो काम रहेछ।

हुन त नेपालका राजाले विदेशीको नेपालमा भएको चलखेल रुचाउँदैनथे। तर उनीहरूले पनि नेपाललाई एक स्वतन्त्र राष्ट्रका रुपमा विकास गर्न सकेनन्। अथवा भनूँ, उनीहरूले गद्दी र श्रीपेच बचाउन र उनैको संवृद्धि गर्न धेरै मन गरे। नेपाललाई कसरी एक स्वतन्त्र र स्वावलम्बी देशका रूपमा विकास गर्ने भन्नेतिर ध्यान दिएनन्। त्यसपछिका शासक त विदेशीका दलाल भनेर नै चिनिन्छन्। उनीहरू भएगरेका परम्परा र गतिविधि सबै भत्काउँछौं भनेर नै आए। सबै कुरा भत्काउन त सकेनन्। तर उनीहरू सत्तामा पुगे। पुगेर पनि आफ्नो इच्छाअनुसार केही गर्न सकेनन्। संसदीय व्यवस्थालाई मानेर बस्नुपर्यो। त्यही व्यवस्था हुन्न भन्थे कुनै दिन। आज त्यही व्यवस्था नभई भएन र त्यसैलाई बलियो बनाउने कुरा गर्छन्। के पत्याउने के नपत्याउने ? सत्तामा बसिराख्न उनीहरू विदेशीले जे भने पनि खुरुखुरु मान्ने गर्छन्। जे–जे गर भन्छन् त्यही मात्र गर्न थाले।

एउटाले एमसिसी पास गर भन्यो। केही जानकार जनताले विरोध त गरे। विरोधैविरोधबीच पास गराइछाडे। अर्कोले भन्यो नागरिकताको विधेयक पास गर र हाम्रो मानिसलाई नागरिकता वितरण गर। सोे पनि गरिछाडे। अब प्रजातन्त्रकै सिद्धान्तअनुसार कुनै दिन नेपाल स्वतन्त्र राख्ने कि कुनै विदेशी देशमा मिसिने भनेर भन्ने छन्।

त्यस दिन नेपालमा नेपालीभन्दा विदेशी धेरै हुने छन्। अब स्वतन्त्र भएर के गर्ने अर्को देशमा गाभ्ने भन्ने छन्। त्यसदिन विदेशमा गाभ्ने मानिसको बाहुल्य हुने छ। नेपाली हेरेको हेर्यै हुनेछन्। अहिलेका सरकारी क्रियाकलाप हेर्दा ढिलोचाँडो यस्तो दिन नआउनला भन्न सकिन्न।

नेपाललाई एक स्वतन्त्र मुलुक बनाउन आफ्नो भूभाग कस्तो छ, कति छ, कसरी यसको विकास गर्न सकिन्छ भनेर सोच्नुपर्ने हुन्छ। यतातिर कसैको ध्यान गएजस्तो लाग्दैन। भारतमा बिजेपीको सरकार आएपछि मात्र को भारतीय हो को होइन भनेर हेर्न थालियो। सिमाना भनेको खुला राख्न हुन्न भनेर भारतीय नेता नै भन्न थाले। उनीहरूकै कुरा सुने मात्रै पनि नेपालको भलो हुने थियो।

एकातिर खुला सिमाना राख्दा सरकारी कर भनेजस्तो नउठ्ने, अर्कातिर चोरीडकैती गर्नेले यसको फाइदा उठाउने, कुनै चीजको मूल्य एउटा देशमा बढ्यो या घट्यो भने अवैध निकासी पैठारी बढ्ने, आतंकवादीले खुला सिमानाको फाइदा उठाउने। त्यति हुँदा पनि खुला सिमाना राखेकोमा विशेष सम्बन्ध भएको तारिफ गर्ने काम ढकोसला गरिन्छ।

कोरोना चर्केको बेला सबै सिमाना नियन्त्रित थियो। कोही मानिस पनि छिर्न सक्दैनथे। उही हालत नेपालमा माओवादी युद्ध हुँदा पनि थियो। त्यतिबेला मानिस स्वतन्त्र रुपले आउजाउ गर्न पाउँदैनथे। आफ्नो जिल्ला अधिकारीको परिचयको कागज देखाएर मात्र छिर्न पाउँथे।

आखिर नियन्त्रण त भएको रहेछ। सुगौली सन्धिमा सिमाना खुला राख्नुपर्छ भनेर कतै लेखिएको छैन। न त विसं १९५० नेपाल भारतको सन्धीमा यो कुरा लेखिएको छ। नेपाल र भारत देशका जनता एकअर्काको मुलुकमा बिनारोकटोक जानआउन पाउने छन् भनेर लेखिएको छ। यसबाट पनि को नेपाली हो को भारतीय हो भनेर छुट्याउन सकिन्छ। यो त भारतले पनि चाहेको कुरा हो।

आसाममा एक लाख नेपाली गैरकाननी रूपमा छन् भनेर भनियो। तर उनीहरूलाई फिर्ता पठाइएन। नेपालका नेपालीले गर्दा भारतीय नेपालीले पाउनुपर्ने सुविधा पनि पाएनन् भनेर गुनासो गरिन्छ। तर यसको समाधान गर्ने दिशातिर कुनै कदम उठाइएन। आज नेपालीहरू संसारभर फैलिँदा पनि भारतमा रहेका नेपालीको छिनोफानो हुन सकेको छैन। यसको एउटै कारण हो नेपाललाई एक स्वतन्त्र देश बनाउन नखोज्नु र विकास हुन नदिनु।

नेपालीहरूले बाहिर गएर दुःख त पाएकै छन्। तर भारतमा बसेका नेपालीले के साँच्चै दुःख पाएका हुन् कि नेपालीको नाउँमा भारतीय नेपालीहरूले दुःख पाएका हुन् भनेर पनि छुट्याउन सकेको अवस्था छैन। के यस्तो अवस्था आउनु नेपालको कमजोरी होइन ? नेपाललाई एक स्वतन्त्र देश राम्ररी हेर्न चाहनेले दुःख पाए पनि सुख पाए पनि नेपाली भनेर छुट्टिनु पर्छ सधैं अरुको पुच्छर भएर बाँच्ने हो भने त अर्कै कुरा भइहाल्यो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्यमान श्रेष्ठ का अन्य पोस्टहरु:
नेपाल कहिले स्वतन्त्र हुने होला ?
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link