भारतीय खेलामा रूमलिएको राजनीति

आदित्यमान श्रेष्ठ

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालि प्रधानमन्त्रीको रुपमा धेरै काम गर्ने भनेका छन्। काम गर्न सके र काम गरेको देखाउन सके राम्रै हो। तर तीन महिना सम्म केही गर्न नसकेको सार्वजनिक रुपमा नै मानिसकेका छन्। उनीले जुन व्यवस्था खोजेको हो सो व्यवस्था त ल्याउन सकेनन्। सो कुरा उनी आफैले धेरै पटक प्रष्ट पारेका छन्। उनले खोजेको व्यवस्था निर्वाचित राष्ट्रपति हो। त्यसमा पनि उनले खोजेको एक दलीय शासन हो। जुन संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको विरोधमा उनीले युद्ध शुरु गरेका थिए सोही व्यवस्थामा पसेर काम गर्नु पर्दा उनीलाई ठुलो सकस भएको छ। संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो भनेर उनीले धेरै पटक भनिसकेका छन्।

तर त्यही व्यवस्थालाई अगाल्नु पर्दा उनीलाई कम सास्ती भएको छैन। न काम गर्न पाइन्छ न विकास गर्न पाइन्छ न आफुले खोजेको तरीकाले काम गर्न पाइन्छ। तर उनले धेरै पटक यो व्यवस्थालाई नै कायम गर्नु पर्छ भनेर भनिसकेका छन्। भन्नुको तात्पर्य उनीले कुनै पनि व्यवस्थामा काम गरेको देखाउन खोजेका छन्। तर संसदीय व्यवस्थामा पसे पछि धेरै दायाँ बायाँ हेर्नु पर्ने रहे छ र यो व्यवस्था काम नलाग्ने रै छ भनेर उनले धेरै पटक महसुस गरिसकेको हुनु पर्दछ। काम नभए पनि मामसम्म पाइने रहेछ र यसलाई टिकाई राख्न आफ्नै स्वार्थको लागि पनि आवश्यक परेको रहे छ भनेर सबैले बुझिसकेका छन्।

अब सवाल उठ्छ कसरी नेपाली जनताको प्रिय हुने र निर्वाचन बराबर जित्ने ? त्यसका लागि एक पटक पछाडि फर्केर हेर्नु पर्ने हुन्छ। भारतसित युद्ध गर्नका लागि ट्रेन्च खनेर देखाए। हुन त भारतसित कहिले पनि युद्ध गर्नु परेन तर भारतको डर देखाएकोमा नेपाली जनताले निको मानेका थिए।

यही काम अहिले पनि गर्ने हो भने नेपाली जनताले उनलाई राम्ररी समर्थन गर्न सक्छन्। तर उनले सत्य कुरा बोल्नु पर्दछ। सत्य के हो भनेर नेपाली जनताले थाहा पाईसकेका छन्। पहिलो कुरा माआवादी युद्ध भनेको भारतबाट नै उठाइएको रहेछ। भारतमा भारतीय काँग्रेसको राज हुँदा यो युद्ध शुरु भएको थियो। त्यसपछि १० वर्ष सम्म यो नेपालमा चल्यो। त्यस बखत माओवादी नेताहरू भारतका विभिन्न ठाउँमा सुरक्षित बसेका थिए। यति सम्म कि माओवादी लडाकुहरूलाई तालीम पनि त्यहीं दिइएको थियो। सो कुरा पछि आएर निर्विवाद साबित भयो। यसबारेमा भारतका कतिपय जिम्मेदार मानिसहरूले बोले र माओवादीहरूलाई सत्तामा पुर्‍याएको कुरा गरे। तर माओवादी दल र नेताहरूले यस कुराको खण्डन कहिले पनि गरेनन्। त्यसबाट सिद्ध भयो यो युद्ध भारत कै इच्छा र निर्देशनमा भएको थियो।

यसको साथै एक जना जिम्मेदार भारतीयले भने कि नेपालमा राजतन्त्रको अन्त्य गर्न प्रचण्डलाई प्रेरित गर्न सबभन्दा धेरै समय लागेको थियो। राजतन्त्र कसरी नेपाली रंगमंचबाट गयो भनेर सबैलाई थाहा छ। तर त्यसको भित्री राज विस्तारै खुल्दै गएको हो। यो त अब इतिहास कै कुरा भयो। नेपालमा के के भयो सबै कुरा सबैलाई थाहा छ। तर भित्री भाग अझ बाहिर आउन बाँकी छ।

तेस्रो कुरा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई भारतको दलाल नै भने। उनले भने, ‘मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको के हो ? मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको विदेशी दलाली हो। राष्ट्रियता माथि प्रहार हो। मित्र राष्ट्र चीन विरुद्ध गद्दारी हो। विश्वविद्यालयको नाउँमा अर्थोक नै गर्न खोजिएको हो।’ यो कुराको खण्डन खुद प्रधानमन्त्री दाहालबाट पनि भएको छ। तर भारतीयहरूको हस्तक्षेपलाई कसैले पनि नकार्न सक्दैन। विदेशीको भूमिका बढ्दै गएको सबैले मान्दै भन्दै आएका छन्।

ओली भन्दा एक कदम अगाडि गएर भारतले नेपालमा हस्तक्षेप गरे कै हो भनेर पुष्पकमल दाहाले भनि दिए भने नेपाली जनताले उनको प्रशंसा नगर्ने कुरै उठदैन। उनले बरु भारतले कसरी युद्ध शुरु गराएको थियो र उनी आफैले त्यस कुराको कसरी समर्थन गरेका थिए र नेपालको राजतन्त्र कसरी फालिएको थियो भनेर सबै विवरण नेपाली जनताको अगाडि राखिदिए भने उनका अनुयायीहरू अरु बढने थियो।

हुन पनि अहिले भारतमा भारतीय काँग्रेसको राज पनि छैन। भारतमा अरु केही वर्ष सम्म भारतीय जनता पार्टीकै राज रहने विश्वास गर्न सकिन्छ। त्यसैले होला भारतका प्रधानमन्त्रीको निमन्त्रणा नपाए पनि दाहाल भारतको भ्रमण छिटै जाने भनेर भन्दै छन्। पहिलो पटक प्रधानमन्त्री हुँदा पनि चीनको पहिलो भ्रमणलाई नकार्दै भारतको भ्रमण नै गरेको भनी भनियो।

नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई सुरक्षित राख्न नेपाली जनताको भूमिका बढदै गएको देखिन्छ। यसको स्वतन्त्र अस्तित्वको कुरा गर्दा र यसलाई कसरी बलियो बनाउने भनी कुरा गर्दा भारत या चीन कसैले पनि नकार्न सक्दैन। यही कुरालाई आधार बनाएर नेपाली प्रधानमन्त्रीले कुरा गर्दा छिमेकी देश र अरुले पनि जाति नै मान्ने छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीयहरूले कसरी आफ्नो प्रभाव नेपालमा बढाएका थिए भनेर भन्दा नेपाली जनताले त्यसमा पुरा विश्वास गर्ने छन्। तेति मात्र होइन नेपालले बल्ल एउटा राष्ट्रिय नेता पाएको महसुस गर्ने छन् र त्यही अनुसार समर्थन पनि गर्ने छन्।

के नेपालका प्रधानमन्त्री भएका पुष्पकमल दाहालले यो काम गर्ने छन् ? यसमा भने ठुलै शंका लाग्न सक्छ। किनभने आज सम्म गरेका कुराकानी अनुसार उनीले भारतले गरेका भित्री गतिविधिहरू कहिले खुलाएका छैनन्। तर उनीसित भारतले गरेका सबै भित्री गतिविधिको विवरण छ। यो विवरण नै ठुलै हथियार हुन पनि सक्छ। नेपाली जनताको मन जित्ने तरीका यही हो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्यमान श्रेष्ठ का अन्य पोस्टहरु:
भारतीय खेलामा रूमलिएको राजनीति
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link