नेपाली क्रिकेटका नौ तथ्य

आशुतोष अधिकारी

नेपालमा क्रिकेट खेललाई परिचित गराउने श्रेय राणा प्रधानमन्त्री चन्द्रशमशेरका कान्छा सुपुत्र मदनशमशेर जवरालाई दिने गरिएको छ। आजभन्दा एक शताव्दी पहिले अर्थात् सन् १९२० को दशकको सुरूताका मदनशमशेरले नै नेपालमा पहिलोपटक क्रिकेट खेलेको इतिहासमा उल्लेख छ। तर त्यो समयमा क्रिकेट शासकवर्ग र केही सम्भ्रान्त परिवारभित्रै सीमित थियो। त्यसपछिका कैयौँ दशकसम्म नेपाली क्रिकेट खेल तिनै शासक र सम्भ्रान्त वर्गको परिधिबाट बाहिर आउन सकेन। नेपालमा क्रिकेट खेल्ने त्यही वर्गले सन् १९४६ मा नेपाल क्रिकेट एशोसिएसनको स्थापना गरेका थिए जसलाई नेपालको पहिलो आधिकारिक खेलकुद संस्था समेत हो। सन् १९६१ मा राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट एशोसिएसनलाई आधिकारिक मान्यता प्रदान गरेको थियो। नेपालको क्रिकेट खेलको विकासक्रमसँगै सन् १९८८ मा नेपालले विश्व क्रिकेट परिषद् (आइसीसी)को सम्बद्धता हासिल गरेको थियो भने सन् १९९० मा आएर एशियाली क्रिकेट परिषद् (एसीसी) को एशोसिएट सदस्यता प्राप्त गरेको थियो। ९० को दशकबाट आम नेपाली माझ समेत क्रिकेट खेलको लोकप्रियतासँग क्रिकेट गतिविधि पनि बढ्दै गएपछि १९९४ मा आइसीसीले नेपाललाई आफ्नो आधिकारिक सदस्यता प्रदान गरेको हो।

नेपालले सन् १९९६ मा मलेशियामा आयोजना गरिएको एसीसी ट्रफीमा सहभागी भएर अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो। त्यसपछिको तीन दशकभन्दा लामो अवधिमा नेपाली क्रिकेटले तय गरेको यात्रा र त्यसक्रममा नेपाली क्रिकेटसँग जोडिएका केही रोचक तथ्यहरूका बारेमा यहाँ चर्चा गरिएको छ।

  • नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल

सन् १९९६ मा मलेशियाको क्वालालाम्पुरमा सम्पन्न एसीसी ट्रफीमा सहभागिता जनाउँदै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो। उत्तम कर्माचार्यको नेतृत्वमा रहेको नेपालीमा पवन अग्रवाल, मनिषसिंह पाण्डे, विनोद दास, राजु खड्का, एलबी क्षेत्री, मुसर्रफ इजहार लगायतका खेलाडीहरू समावेश थिए। टोलीले बंगलादेशविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। सो खेलमा बंगलादेशले पहिले व्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा २१३ रनको स्कोर खडा गरेको थियो। जवाफमा ३९.२ ओभरमा ५ विकेटको क्षतिमा ९० रनको स्थितिमा वर्षाले खेल अवरुद्ध गरेपछि रनरेटका आधारमा बंगलादेश विजयी घोषित भएको थियो। ६ राष्ट्र सम्मिलित सो प्रतियोगितामा नेपालले जापानलाई ८ विकेटले र बु्रनाइलाई ६४ रनले पराजित गर्दै चौथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको थियो। बु्रनाइविरुद्ध पवन अग्रवालले बनाएको ८० रन नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको पहिलो अर्धशतक थियो।

सन् १९९६ यता नेपालले सन् २०१४ को टी–२० विश्वकप सहित एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइसकेको छ। यसमध्ये विश्वकप छनौट, वल्र्ड क्रिकेट डिभिजन लिग, आइसीसी अन्तरमहादेशीय कप, आइसीसी च्याम्पियनशीप, एसीसी च्याम्यिनशीप, एसीसी ट्रफी, एसीसी कप क्वालिफायर, एशिया कप प्रमुख रहेका छन्।

  • एकदिवशीय खेलमा मान्यता

२०१८ मा अन्तर्राष्ट्रिय एकदिवशीय खेलको मान्यता पाएको नेपालले त्यसयता १६ वान डे खेल खेलेको छ जसमध्ये ९ खेलमा जीत हासिल गरेको छ भने ७ खेलमा पराजय भोगेको छ। २०१९ मा युएईविरुद्ध बनाएको २५५ रनको स्कोर नेपालले वान डेमा खडा गरेको अहिलेसम्मको उच्च स्कोर हो भने युएईविरुद्ध २०१९ मा बनाएको ३६ रनको स्कोर अहिलेसम्मकै न्यून स्कोर हो। त्यस्तै नेपालले अहिलेसम्म ४७ अन्तर्राष्ट्रिय टी–२० खेलेको छ जसमध्ये २५ खेलमा जीत हात पारेको छ भने २१ खेलमा पराजय। एउटा खेल बराबरीमा समाप्त भएको थियो।

  • एक हजार रन कटाउने पारस

नेपालका तर्फबाट अन्तराष्ट्रिय क्रिकेटमा एक हजार रन कटाउने एक मात्र व्याट्सम्यान पूर्वकप्तान पारस खड्का हुन्। उनले एकदिवशीय र टी–२० क्रिकेटमा गरेर कुल १११४ रन बनाएका छन्। त्यस्तै वान डे क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर सन्दिप लामिछाने (४२ विकेट) हुन्। ट्वान्टी–ट्वान्टी क्रिकेटमा ६२ विकेट लिएका लामिछाने टी–२० फम्र्याटमा पनि सबैभन्दा बढी विकेट लिने नेपाली बलर हुन्।

  • महबुब आलमको १० विकेटको पारी

क्रिकेटको इनिङमा एउटै बलरले १० विकट लिनु अति नै दुर्लभ मानिन्छ। निक्कै लामो क्रिकेटको इतिहासमा अहिलेसम्म यस्तो उपलव्धि इंग्ल्याण्डका जिम लेकर, भारतका रवि शास्त्री र न्युजिल्याण्डका एजाज पटेलले मात्र हासिल गरेका छन्, त्यो पनि पाँच दिनसम्म चल्ने टेष्ट क्रिकेटमा। ५० ओभरको खेलमा त्यो अद्भूत किर्तिमान कायम गर्ने महबुब आलम विश्वका एकमात्र बलर हुन्। तान्जानियामा आयोजना गरिएको वल्र्ड क्रिकेट लिग डिभिजन–३ अन्तर्गत मोजाम्बिक विरुद्धको खेलमा आलम एक्लैले विपक्षी सबै खेलाडीलाई पेवेलियन फर्काएका थिए। २३९ रनको लक्ष्य पछ्याउने क्रममा मोजाम्बिक टोली महबुबको द्यातक बलिङको सामु घुँडा टेक्दै १९ रनमा अलआउट भएको थियो।

  • म्यानमारलाई १० रनमा अलआउट

मलेशियामा आयोजना गरिएको २००६ को एसीसी कपमा नेपालले म्यानमारलाई केवल १० रनमा अलआउट गरेको थियो जुन अन्तर्राष्ट्रिय स्तरको एकदिवशीय खेलमा हालसम्मकै न्यून स्कोर हो। यस क्रममा महबुब आलमले ७ र विनोद दासले ३ विकेट लिएका थिए। त्यो खेलमा म्यानमारका ६ खेलाडीले रनको खाता नै खोल्न सकेनन् भने बाँकी पाँच व्याट्सम्यानहरूले समान १–१ रन मात्र बनाउन सकेका थिए।

  • दुई बलमा लक्ष्य

सोही खेलमा नेपाली टोली अर्को विश्व किर्तिमान कायम गर्न सफल भएको थियो। ११ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीले केवल २ बलमा त्यो पूरा गरेको थियो। ओपनरद्वय ज्ञानेन्द्र मल्ल र महेश क्षेत्री दुवैले १–१ बलको सामना गरेर समान ३–३ रन बनाएका थिए भने म्यानमारको बलरले पाँचवटा बल वाइड फ्याँकेका थिए। यो रेकर्ड पनि हालसम्म कुनै पनि टोलीले तोड्न सकेको छैन।

  • विश्वकपको प्ले च्याम्पियनशीप जित्ने एक्लो एशोसिएट राष्ट्र:

सन् २००८ को यु–१९ विश्वकपमा नेपालले अद्भूत प्रदर्शन गर्दै प्लेट च्याम्पियनशीपको उपाधि आफ्नो नाम गरेको थियो। यस्तो उपलव्धि आजसम्म कुनै पनि एशोसियट राष्ट्रले हासिल गर्न सकेका छैनन्। फाइनलमा नेपालले टेस्ट खेल्ने बलियो टोली न्युजिल्याण्डमाथि १ विकेटको सनसनीपूर्ण दर्ता गराएको थियो। त्यसक्रममा नेपालका भेट्रान स्पीनर बसन्त रेग्मीले अविश्वसनीय पारी खेल्दै ७४ बलमा ६६ रन बनाएका थिए भने विपक्षी टोलीका ३ महत्वपूर्ण खेलाडीलाई आफ्नो शिकार बनाउँदै ‘म्यान अफ दी म्याच’ चुनिएका थिए।

  • सोमपाल कामीको ४० रनको इनिङ

सन् २०१९ मा सोमपाल कामीले हङकङविरुद्ध बनाएको ४० रन टी–२० क्रिकेटमा कुनै पनि १० नम्वरका व्याट्सम्यानले बनाएको उच्च व्यक्तिगत स्कोर हो। नेपालका आठजना खेलाडीले दोहोरो अंकमा रन स्कोर गर्न असफल भएको सो खेलमा सोमपाल अन्तिम ब्याट्सम्यानका रूपमा मैदान प्रवेश गर्दै ३१ बलको सामना गरेर अविजित ४० रन बनाएपछि मात्र नेपालले ७२ रनको सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो।

  • कुशल भुर्तेलको लगातार तीन अर्धशतक

गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने अवसर पाएका व्याट्सम्यान कुशल भुर्तेलले आफूले खेलेको पहिलो तीन टी–२० खेलमा अर्धशतक प्रहार गर्दै नयाँ विश्वकिर्तिमान कायम गर्न सफल भएका छन्। २०२१ को अप्रिल महिनामा नेपालमै आयोजना गरिएको मलेशिया, नेदरल्याण्ड र नेपाल सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कुशलले मलेशियाविरुद्ध ६२ रन, दोस्रो खेलमा नेदरल्याण्ड विरुद्ध  ६१ रन र तेस्रो खेलमा नेदरल्याण्ड विरुद्ध पुनः ६२ रनको पारी खेलेर किर्तिमान कायम गर्न सफल भएका थिए। सो प्रतियोगिताको पाँच खेलमा भुर्तेलले ६९.५० को औसत र २४ चौका र १६ छक्कासहित २७८ रन बनाएका थिए। नेदरल्याण्डविरुद्धको फाइनल खेलमा समेत उनले ७७ रनको शानदार पारी खेलेका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link