मानव तस्करी धन्दामा चिनियाँ गिरोह, कहाँ जोडिन्छ ठगीको साम्राज्य

कृष्ण तिमल्सिना

असार २८ गते नेपाली युवायुवतीलाई आकर्षक रोजगारीका नाममा म्यानमार पुर्याएर अनलाइन ठगीमा लगाउने गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परे। थाइल्यान्डमा आकर्षक रोजगारीमा लगाइदिने भन्दै म्यानमार पुर्याएकी नेपाली युवती गिरोहले भने जति फिरौती बुझाएर नेपाल फर्किएपछि ४२ वर्षीय चिनियाँ नागरिक लियाङ जुन पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनी सन् २०१८ देखि लगातार नेपाल आएको देखिन्छ। कहिले विद्यार्थी त कहिले पर्यटक र बिजनेस भिसामा नेपाल बस्दै आएका ती चिनियाँले नेपाली युवायुवतीलाई आकर्षक प्रलोभन देखाएर म्यानमार लैजाने गरेको पुष्टि भसकेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार चिनियाँहरूले अनलाइनमार्फत गरिरहेकोे ठगी धन्दाको यो अर्को स्वरूप हो। नेपाल फर्किएलगत्तै प्रहरीको सम्पर्कमा पुगेकी एक युवतीले, थाइल्यान्ड लाने भनी झुक्याई धेरै नेपाली तथा भारतीयलाई जबर्जस्ती म्यानमार पुर्याइएको र त्यहाँ बन्धक बनाएर अनलाइनमार्फत उनीहरूका आफन्तबाट रकम असुल्ने गरेको बताएपछि प्रहरीले अनलाइन स्क्यामिङ गराएको अभियोगमा चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं बिजेश्वरी बस्ने जोहन्सन नाम बताउने चिनियाँ नागरिक लियाङ जुलाई पक्राउ गरेको हो। यो घटनापछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा उजुरी दिनेको संख्या बढेको छ।

चिनियाँ मानव तस्करले काठमाडौंबाहेक विभिन्न नाकाबाट नेपाली युवायुवतीलाई दक्षिणपूर्वी एसियाका लाओस, थाइल्यान्ड, म्यान्मारलगायतका देशमा रोजगारी मिलाइदिने प्रलोभन देखाएर अनलाइनमार्फत नै ठगिरहेको भेटिएको छ। मुख्य रूपमा दक्षिणपूर्वी एसियाका लाओस, थाइल्यान्ड, म्यान्मारलगायत चिनियाँ प्रभाव बढी भएका मुलुकमा तस्करले रोजगारीका लागि भन्दै सुरुमा म्यान्मार पुर्याई बन्धक बनाउने गरेको पाइएको हो।

बन्धक बनाएपछि अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाउने, श्रम शोषण गर्ने, शारीरिक तथा मानसिक यातना दिने र पीडित घर फर्किन खोज्दा फिरौती रकम असुल्ने चिनियाँ धन्दा बाहिरिएपछि नेपाल प्रहरीले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। अहिले प्रहरी हिरासतमा पुगेका लियाङले सन् २०१८ यता नेपालमा बसोवास गरी विभिन्न व्यवसायमा लगानी गरेको समेत पाइएको छ।

द्वन्द्वग्रस्त मुलुक म्यानमारमा चिनियाँ समर्थनप्राप्त सैन्य शासन कायम छ। त्यसैले प्रजातन्त्र र मानवाधिकारप्रति अनुदार म्यान्मार सरकार चिनियाँ गिरोहविरुद्ध निर्मम बन्न सक्ने अवस्था छैन। चिनियाँ मानव तस्करले नेपाली युवायुवतीलाई म्यानमारको विद्रोही जातीय सेनाको अधीनस्थ क्षेत्रमा सञ्चालित अवैध साइबर क्याम्पमा लगी बन्धक बनाएर ठगी कार्यमा लगाउने गरेको पाइएको छ।

रोजगारीमा थाइल्यान्ड लैजाने भनी नेपालीलाई काठमाडौबाट म्यान्मार पठाउने जिम्मा लिएका लियाङको गिरोहले म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेको पाइएको छ। केही समयअघिसम्म यस्तै धन्दामा संलग्न सयौं चिनियाँ काठमाडौँ, पोखरालगायतका स्थानबाट पक्राउ परेका थिए।

प्रहरीका अनुसार, अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिटकोइन आदिमा लगानी गर्न लगाई ठगी गर्ने गरेको पाइएको छ। यही गिरोहको मिलोमतोमा थाइल्यान्ड भनी म्यान्मार पठाइएका १० जना अहिले प्रहरीको सम्पर्कमा आएका छन्।

गिरोहको फन्दामा परेर २०७९ साउन ९ गते भिजिट भिसामा थाइल्यान्ड गएकी एक २६ वर्षीया युवती त्यहाँबाट १३ घण्टा गाडी र डुंगाको यात्रा गरेर थाइल्यान्डकै च्याङमाई हुँदै म्यानमारको म्यावडी पुगेकी थिइन्। तिनै युवतीको जाहेरी तथा मौखिक सूचनाका आधारमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको हो। त्यसअघि अनलाइनमार्फत थाइल्यान्डबाटै १३ जनाले जाहेरी दिए पनि धेरै सूचना अस्पष्ट भएकाले अनुसन्धान अलमलमै थियो। बिरामी भएपछि २० हजार थाई भाट फिरौती तिरेर गएको भदौ ६ गते नेपाल आएकी ती युवतीले जाहेरी दिए पनि प्रहरीले थप अनुसन्धान गर्नै सकेन। उनीसँगै एक वर्षअघि म्यानमार गएका ६ जनाको अवस्था अहिले पनि अज्ञात छ।

द्वन्द्वग्रस्त मुलुक म्यानमारमा चिनियाँ समर्थनप्राप्त सैन्य शासन कायम छ। त्यसैले प्रजातन्त्र र मानवाधिकारप्रति अनुदार म्यान्मार सरकार चिनियाँ गिरोहविरुद्ध निर्मम बन्न सक्ने अवस्था छैन। चिनियाँ मानव तस्करले नेपाली युवायुवतीलाई म्यानमारको विद्रोही जातीय सेनाको अधीनस्थ क्षेत्रमा सञ्चालित अवैध साइबर क्याम्पमा लगी बन्धक बनाएर ठगी कार्यमा लगाउने गरेको पाइएको छ। उनीहरू भिजिट भिसामा थाइल्यान्ड हुँदै म्यानमार लगिएका हुन्।

यसअघि प्रहरीले काठमाडौंमा चिनियाँ आपराधिक गिरोहले प्रयोग गरिरहेको ‘लोन एप’ मार्फत चलिरहेको ‘ब्ल्याकमेल’ र असुली धन्दामा संलग्न ठूलो गिरोहलाई पक्रेको थियो। २०७६ पुसमा प्रहरीले १२२ जना साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेपछि चलिरहेको अनुसन्धानकै क्रममा प्रहरीले चिनियाँ गिरोहविरुद्ध थरीथरीका अपरेसन नै चलाइरहेको छ।

अवैध साइबर अखडा चीन, थाइल्यान्ड र म्यानमारको सीमावर्ती क्षेत्रमा फस्टाएको छ। बयानका क्रममा लियाङले ४० जनाभन्दा बढी नेपालीलाई म्यानमार पुर्याएको स्विकारेका छन्। लियाङले नेपालीकै नाममा व्यवसाय दर्ता गरेको गिरोहका एक जना थाइल्यान्डमा र अर्का एक जना म्यानमारको म्यावडीमा रहेको प्रहरीले फेला पारेको छ।

कहाँ जोडिन्छ ठगीको साम्राज्य ?

गएको चैतमा ह्वाट्सएपमा अनलाइनमार्फत बिजेनसमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै चिनियाँ गिरोहले सयौं नेपालीलाई ठगेको पाइएको छ। ह्वाट्सएपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेसन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गिरोहसम्म पुर्याउने सञ्जाल तोडेपछि प्रहरीले नेपालीहरू चिनियाँ गिरोहको निसानामा पर्न थालेको निष्कर्ष निकालेको हो।

अपरेसन टिचर नामक च्यानलमार्फत ‘पैसा हालेपश्चात् सामान अनलाइनबाट बिक्री हुने, त्यसबापत आउने फाइदाको रकम कम्पनीको खातामा रहने र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने’ भन्दै गिरोहले नेपालीबाट लाखौं ठगेको पाइएको थियो। त्यसपछि चिनियाँले म्यान्मारमा नेपालीलाई नै बन्धक बनाएर फिरौती धन्दा चलाएको घटना बाहिरिएको हो।

यसअघि यस्तै ठग गिरोह खोज्ने क्रममा प्रहरीले गए वर्ष असार-साउनमा पोखरा, काठमाडौं र बुटवलमा चिनियाँले चलाएको कल सेन्टरमा छापा मार्दा चिनियाँ लोन एपमार्फत ठगी भइरहेको पत्ता लगाएको थियो। त्यतिबेला पक्राउ परेकै गिरोह अहिले म्यानमार पठाउने गिरोहसँग जोडिएको छ। अवैध साइबर अखडामा चिनियाँहरूसमेत बन्धक बनेको समाचार बाहिरिएपछि गएको वैशाख १९ गते चिनियाँ विदेशमन्त्री चिन काङले म्यानमार पुगेरै समकक्षीसँगको भेटमा सीमावर्ती क्षेत्रमा रहेका अवैध साइबर अखडा बन्द गरिदिन प्रस्ताव गरेका थिए। सीमावर्ती क्षेत्रमा मौलाइरहेको ठगी र मानव तस्करी अन्त्य गर्नुपर्ने विषय उठाउने तत्कालीन विदेशमन्त्री काङ अहिले बर्खास्तीमा परिसकेका छन्।

प्रहरीका अनुसार यो चिनियाँ गिरोहले विभिन्न एसियाली देशका युवायुवतीलाई काठमाडौं–कोलकाता–ब्यांकक–म्यानमार–रंगुन हुँदै म्यावडी लैजाने गरेको छ। यस्तै केही नेपाली काठमाडौं–ब्यांकक हुँदै थाइल्यान्ड र म्यानमारको सीमावर्ती च्याङमाईपारि म्यावडी पुगेर रोकिएका छन् भने केही राम्रो जागिरको लोभमा दुबई हुँदै रंगुन झर्ने र त्यहाँबाट म्यानमारको कचिन प्रान्तको ‘ह्वा’ मा गएर फस्ने गरेको पाइएको छ। यी सबै नाकामा चिनियाँ मानव तस्करको ठूलो गिरोह सक्रिय छ। यो गिरोहले ‘साइबर स्क्यामिङ’ का लागि २०० भन्दा बढी नेपालीलाई म्यानमारको म्यावडी क्षेत्रमा बन्धक बनाएर राखेको अनुमान प्रहरीले गरेको छ। उनीहरू अधिकांश म्यानमार पुगेपछि घरपरिवारसँगको सम्पर्कमा समेत आएका छैनन्।

बेल्जियमको नागरिकका रूपमा नेपाल आएका चिनियाँ मूलका दावाले माओवादी नेताकै संरक्षणमा काभ्रेको नमोबुद्ध–११ बाट २०७४ पुस २० गते निमा तामाङको नाममा वंशजको नेपाली नागरिकतासमेत लिएको भेटिएको छ। चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको भनी गएको वर्ष साउन ११ गते पनि प्रहरीले छापा मारेको काठमाडौंको ठमेलस्थित होटल भियना मञ्जिल श्रेष्ठ र अमला रोकाले घरधनी रत्नमान श्रेष्ठसँग सम्झौता गरी चलाइरहेको चिनियाँ तस्करको अड्डा थियो।

त्यस्तै, ठगी गर्न नसक्ने वा नमान्नेलाई चरम यातना दिने गरेको नेपाल फर्किएका दुई नेपालीले प्रहरीलाई बताएका छन्। उनीहरूले त्यहाँबाट निस्कन लाखौं फिरौतीसमेत बुझाएका छन्। पीडितले दिएको बयानका आधारमा प्रहरीले अहिले मानव तस्करीमा संलग्न चिनियाँ गिरोहको जालो तोड्न खोजिरहेको छ। जुन गिरोह यसअघि नेपाली युवतीलाई नक्कली विवाह गराएर चीन लैजाने र यौन धन्दामा लगाउने कार्यमा सक्रिय थियो। सोही गिरोहको तस्करी रुट अहिले म्यान्मार, थाइल्यान्ड तथा दुबईतिर सोझिएको प्रहरीको अनुमान छ।

माओवादी नेतामाथि ‘दावा’ को दाग

यसअघि प्रहरीले काठमाडौंमा चिनियाँ आपराधिक गिरोहले प्रयोग गरिरहेको ‘लोन एप’ मार्फत चलिरहेको ‘ब्ल्याकमेल’ र असुली धन्दामा संलग्न ठूलो गिरोहलाई पक्रेको थियो। २०७६ पुसमा प्रहरीले १२२ जना साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेपछि चलिरहेको अनुसन्धानकै क्रममा प्रहरीले चिनियाँ गिरोहविरुद्ध थरीथरीका अपरेसन नै चलाइरहेको छ।

यही ठगी गिरोहको नेतृत्व गरिरहेका चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङले यसअघि पटक–पटक राजनीतिक संरक्षणका कारण उन्मुक्ति पाइरहेकामा पछिल्लो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ गते दावालाई पक्राउ गरेपछि अहिले चिनियाँ तस्कर तथा अपराधिक गतिविधिमा जोडिएकाहरूको सम्पर्क राजनीतिक नेतृत्वसम्म जोडिएको जस्तो देखिएको छ। किनकि अहिले ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने ‘एजेन्ट’ ठानिएको छ र उनले माओवादी केन्द्रका नेतासँग उठबस रहेको प्रमाण बाहिरिएका छन्।

बेल्जियमको नागरिकका रूपमा नेपाल आएका चिनियाँ मूलका दावाले माओवादी नेताकै संरक्षणमा काभ्रेको नमोबुद्ध–११ बाट २०७४ पुस २० गते निमा तामाङको नाममा वंशजको नेपाली नागरिकतासमेत लिएको भेटिएको छ। चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको भनी गएको वर्ष साउन ११ गते पनि प्रहरीले छापा मारेको काठमाडौंको ठमेलस्थित होटल भियना मञ्जिल श्रेष्ठ र अमला रोकाले घरधनी रत्नमान श्रेष्ठसँग सम्झौता गरी चलाइरहेको चिनियाँ तस्करको अड्डा थियो। अमला माओवादी उपमहासचिव वर्षमान पुन र ओनसरी घर्तीसँग पारिवारिक सम्बन्ध भएकी व्यक्ति हुन् र उनले गिरोहका सदस्य दावासँग विवाह गरेर तस्करीको शृंखलामा माओवादी नेतालाई जोडेको आशंका गरिएको छ।

यही धन्दा चलिरहेका बेला गते वर्ष चीनको मिनिस्ट्री अफ पब्लिक सेक्युरिटीका निर्देशक वाङ हुवो नेतृत्वको टोली काठमाडौं आएर चिनियाँ तस्करको अखडामा छापा मार्न लगाएको थियो। तर प्रहरी र राजनीतिक पहुँचका कारण गिरोहका मुख्य सञ्चालक चेन सितियान र दावाहरूलाई प्रहरीले पक्रन सकेको थिएन। तत्कालीन उपराष्ट्रपतिदेखि माओवादीका शीर्ष नेता तथा प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनालसँग समेत जोडिएको उक्त गिरोहका मुख्य अभियुक्त रातारात भगाइएका थिए।

यही गिरोहका केही सदस्य अहिले काठमाडौँ, म्यान्मार, हङकङ, दुबईलगायतका स्थानमा बसेर सुनसँगै मानव तस्करीमा सक्रिय भइरहेका बेला दावा पक्राउ परेका छन्। यसको नतिजा के आउँछ त्यो भने हेर्न बाँकी नै छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link