तपाईंको प्रश्न, डाक्टरको उत्तर : निःसन्तान दम्पती टेस्ट ट्युब बेबीबाट यसरी बन्न सक्छन् बा–आमा

यही साउन ४ गते स्वतन्त्र समाचार सेवा (आइएनएस) मा हामीले ‘निःसन्तान दम्पतीलाई वरदान बनेको प्रसूतिगृह, कम खर्चमा टेस्ट ट्युब बेबी’ शीर्षकमा समाचार प्रकाशित गरेका थियौँ। उक्त समाचारलाई लिएर धेरै जनाले चासो देखाउनुभयो। हामीलाई प्रत्यक्ष म्यासेज, कमेन्ट गरेर निःसन्तानसम्बन्धी सेवा, शुल्कलगायतका विविध विषयमा कैयौँ प्रश्नहरू सोध्नुभयो।

यसैलाई मध्येनजर गर्दै यसपटक तपाईंहरूकै जिज्ञासा र प्रश्नलाई परोपकारी प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई राखेका छौँ। अधिकांश प्रश्न एकै  खालका भएकाले ती सबैको प्रतिनिधित्व हुने गरी प्रश्न छनौट गरिएको छ।

हामीले निःसन्तानसम्बन्धी गरेको समाचारप्रति धेरैले चासो देखाउनुभयो। थुप्रै प्रतिक्रिया आए। ती प्रश्नमध्ये केही प्रतिनिधि प्रश्न तपाईंलाई राख्नेछौं। एउटा प्रश्न थियो–टेस्टट्युब बेबी र आइभिएफ सेवा कमाउने धन्दा मात्र हो ? के भन्नुहुन्छ यसबारे?

हामी सबै बिरामीलाई टेस्ट ट्युब बेबीका लागी रिफर गर्दैनौँ। सकेसम्म ८० प्रतिशत बिरामीलाई सामान्य उपचार, जीवनशैली परिवर्तन, खानपिनको व्यवस्थापन, शारीरिक व्यायाम तथा शारीरिक सम्बन्ध राख्ने पद्धतिबारे ज्ञान दिने गरेका छौँ।

बाँकी १० प्रतिशत बिरामीलाई सामान्य उपचार आइयुआइ सेवा दिन्छौँ। आइयुआई भनेको श्रीमान्को स्वस्थ शुक्रकीटलाई तयारी गरेर महिलाको पाठेघरमा हाल्ने प्रविधि हो। यो त्यति महँगो हुँदैन। बाँकी ५ देखि १० प्रतिशत बिरामीलाई मात्र आइभिएफ सेवा चाहिन्छ। यति थोरै बिरामीलाई आइभिएफ सेवा दिँदा यसलाई कमाउने धन्दा भन्न मिल्दैन।

यदि कसैले आइयुआइ सेवाबाट हुने बिरामीलाई जानाजान आइभिएफ गर्न दुःख दिने र बिरामीलाई आर्थिक भार थपिदिएका छन् भने मात्र त्यस्तो अवस्थामा कमाउने धन्दा भन्न सकिन्छ। तर सरकारी अस्पतालमा कमाउनेभन्दा पनि जनतामाझ सेवासम्बन्धी बढी चासो राखिन्छ।

आइभिएफ सेवा कति प्रतिशत सफल हुन्छ ? प्रसूति गृहमा कति प्रतिशत सफल भएका छन् ?

विश्वव्यापी रूपमा हेर्ने हो भने आइभिएफ ल्याबमा ३० देखि ३५ प्रतिशत सम्म सफल हुन्छ। १०० जनालाई आइभिएफ गर्दा ३० देखि ३५ जना सफल हुन्छन्। प्रसूतिगृहमा हालसम्म २० देखि २५ प्रतिशत सक्सेस रेट छ। आगमी दिनमा अझै व्यवस्थित गरी अन्तर्राष्ट्रियस्तरको आइभिएफ ल्याब बनाएर सक्सेस रेट वृद्धि गर्नेछौँ।

आइभिएफ सेवा प्राइभेटम (निजी अस्पताल) मा गर्दा पनि हुन्छ नि ! सरकारी अस्पतालमै किन गर्नुपर्ने ?

इच्छाअनुसार जहाँ गर्दा पनि हुन्छ। तर आफ्नो आर्थिक अवस्था अनुसार गर्नुपर्ने हुन्छ। सरकारी अस्पतालमा सेवाशुल्क कम र उस्तै खालको सेवा बाहिर प्राइभेटभन्दा सस्तो हुने हुँदा त्यति धेरै आर्थिक भार पर्दैन।

समाचार पढेर एक जनाले दुईपटकसम्म मिसक्यारेज भइसक्यो, बच्चा बस्दै बसेन। के यसको उपचार सम्भव छ भन्नुभएको छ। के भन्नुहुन्छ तपाईं?

अवश्य सम्भव छ। धेरैजसो महिलामा हर्मनको कमी, थाइराइड, डाइबिटिज तथा अन्य समस्या पनि हुन्छ। समस्या यकिन गरेर उपचार पद्धति अपनाउँदा ९९ प्रतिशत महिलाले बच्चा जन्माउन सक्छन्।

के ५० वर्षको उमेरमा टेस्ट ट्युब बेबी सम्भव छ ?

५० वर्षको उमेरका महिलालाई असम्भव नै छ भन्न हुँदैन। यत्ति हो कि सम्भावना अलिक कम हुन्छ। महिलाको महिनावारी रोकिएपछि अन्डाको क्षमता ह्रास भएर जान्छ। त्यस्तो अवस्थामा आफ्नै अन्डाबाट सम्भव नहुन सक्छ। डोनर एगबाट लिएर श्रीमान्को शुक्रकीटलाई फर्टिलाइज गराएर पाठेघरमा राखेर भने गर्न सकिन्छ। तर महिनावारी सुकेको महिलाको पाठेघरमा राखिसकेपछि पनि बच्चा खेर जाने सम्भावना धेरै हुन्छ। विश्वव्यापी रूपमा हेर्दा पनि यसको सक्सेस रेट भने कम नै छ। केही ल्याबले केही प्रतिशत सफल गराएका छन् तर हामीकहाँ अलिक जटिल नै हुन्छ।

आइभिएफको शुल्क घटाउनुपर्यो, गरिबको पहुँचभन्दा बढी भयो भन्ने पनि प्रतिक्रिया आएको छ नि !

हो, आइभिएफ सेवा अलिक महँगो नै छ। घटाउन पनि जरुरी छ। तर यसको औषधि उपचारका क्रममा लगाउने इन्जेक्सनहरूले गर्दा महँगो हुन गएको हो। कसरी सस्तो सुलभ बनाउने भन्ने क्रममा एउटा इन्स्युरेन्स प्याकेजमा राख्ने। अर्को आइभिएफ गरेका बिरामीलाई नेपाल सरकारले केही अनुदान दिने हो भने सस्तो पनि पर्छ। क्यान्सरका बिरामीलाई झैं सरकारले आइभिएफ सेवा लिनेलाई केही राहत दिने हो भने सबैको पहुँचमा पुग्छ भन्ठानेर यसबारे छलफल गर्दैछौँ। छिटै समाधान पनि निस्कने नै छ।

एक जनाको बच्चा नबसेको १५ वर्ष भएछ। यसको के समाधान हुन सक्ला ?

अवश्य पनि सकिन्छ। यसका लागि पहिले बिरामीलाई भेटेर चेकजाँच गर्नुपर्छ। यसअघि गरिएका जाँच तथा रिपोर्टहरू हेर्नुपर्ने हुन्छ। श्रीमान श्रीमतीको अवस्था हेरेर पनि के कस्तो उपचार दिने भन्ने राय दिन सक्छौँ। तर निराश भएर बसेर समस्याको समाधान भने हुँदैन। छिटोभन्दा छिटो उपचार गराउन आउँदा राम्रो र सम्भव हुन्छ।

बच्चा जन्माउने चाहना भएको तर पैसा नभएको पनि प्रक्रिया आएको छ। यसमा डाक्टर साब के भन्नुहुन्छ ?

तपाईंको सामान्य तरिकाबाट पनि उपचार हुन सक्छ। धेरै अवस्था आइभिएफमा जानै नपर्ने खालका हुन्छन्। सामान्य तथा न्यून प्रविधिबाट पनि हुन सक्ने भएकाले पहिला सरकारी अस्पतालमा आएर जाँच गराएमा सामान्य खर्चबाट पनि हुन सक्छ।

आइभिएफको औषधि कति समय खानुपर्छ। यसको कुनै निश्चित समय हुन्छ ?

औषधिमा सामान्यतया भिटामिनहरू दुईदेखि तीन महिनासम्म दिन्छौँ। तर अन्य औषधिको टाइम निश्चित हुँदैन। उपचारका क्रममा हप्ता, १० दिन या १५ दिन पनि लाग्न सक्छ। सबैको लामो समय उपचार हुँदैन। धेरै खर्चिलो र महँगो औषधि पनि खान सल्लाह दिँदैनौँ। किनकि कतिपय अवस्थामा उपचार गर्न खर्च नहुने अवस्था पनि हुनसक्छ। धेरैजसो जिल्लाका अस्पतालले बच्चा नबसेको अवस्थामा चाहिनेभन्दा बढी सप्लिमेन्ट्री फुडको सूची झुन्डाइदिन्छन्। तर घरमा बनाएको ताजा तरकारी, दूध–दहीको सेवनले पनि शारीरिक फुर्ती पैदा गर्ने हुँदा यस्ता कुरामा ख्याल गर्नुपर्छ।

आइभिएफ सेवाका लागि कहाँ र कुन डाक्टरसँग सम्पर्क गर्न सकिन्छ?

आइभिएफ सेवाका लागि प्रसूतिगृहको निःसन्तान ओपिडिमा सम्पर्क गर्न सकिन्छ। निःसन्तान ओपिडी सेवा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुन्छ। सकेसम्म बिहान आएर जँचाएमा छिटो सेवा दिन सकिन्छ।

के अब सन्तान जन्माउन पुरुषको खाँचो पर्दैन ?

पुरुषको अवश्य खाँचो पर्छ। किनभने पुरुषको वीर्य नभईकन बच्चा बन्दैन। नेपालमा अझै पनि डोनरको त्यति राम्रो कानुन नबनेका कारण पुरुष अर्थात् श्रीमान को शुक्रकीट नै आवश्यक पर्छ।

प्रसूतिगृहमा प्रभावकारी सेवा दिन कर्मचारीको भूमिका कस्तो छ ?

हामीले आइभिएफ सेवा दिन छुट्टै काउन्टरको व्यवस्था गरेका छौँ। विशेषज्ञ कर्मचारीको रेखदेखमा उपचार गरिने हुँदा प्रभावकारी र राम्रो भूमिका रहेको मान्न सकिन्छ।

आइभिएफ सेवा कति वर्षदेखि कति वर्षसम्मका महिलाका लागि उपयोगी हुन्छ ?

विवाहित महिला १८ वर्षदेखि ४० वर्षसम्मका महिलालाई यो सेवा दिन सकिन्छ। यदि ४० वर्षभन्दा बढी भएका महिलाको अन्डाको अवस्था राम्रो र पुरुषको शुक्रकीट स्वस्थ रहेमा पनि सेवा दिन सकिन्छ।

सन्तान राख्न कति खर्च लाग्छ ?

सामान्य उपचार गर्न त्यति खर्च लाग्दैन। आइयुआई गर्दा ६ हजार लाग्छ भने आइभिएफ गर्दा २ लाख रुपैयाँ लाग्छ।

आइभिएफमा लागेको खर्च घटाउन सकिन्छ ?

सकेसम्म घटाउने कोसिस गरिराखेका छौँ। यसमा लाग्ने इक्युमेन्ट महँगो छ। यस्तै एउटा इन्जेक्सनकै ८–१० हजार पर्छ। यी सुई एउटा बिरामीलाई १० देखि १२ पटकसम्म लगाउनुपर्छ त्यसैले एकदेखि डेढ लाखसम्म सुईमै खर्च हुन्छ। नेपालमा हामीले अलि ठूला होलसेलबाट यस्ता सुई धेरै ल्याउन सकेमा शुल्क पनि घटाउन सकिन्छ। मुख्यतया सरकारले अझै सब्सिटाइज गरिदिए झनै घटाउन सकिन्छ।

निःसन्तानसम्बन्धी सेवा लिन चाहनेलाई परोपकारी प्रसूतिगृह अस्पताल काठमाडौँ थापाथली मा छ। यो सरकारी अस्पताल हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रूपेश आचार्य का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link