आर्सनलको ‘डाउनफल’, सिटीको नजर ‘तेहरो उपाधि’ माथि

आशुतोष अधिकारी

इंग्लिस क्लब आर्सनलले अन्तिमपटक सन् २००४ मा इंग्लिस प्रिमियर लिग (इपीएल) को उपाधि जितेको थियो। त्यसबेला क्लबका प्रशिक्षक आर्सन वेङ्गर थिए भने क्लबका मुख्य खेलाडीहरूमा थिएरी हेनरी, सोल क्याम्पबेल, कानु, एस्ले कोल, प्याट्रिक भिएरा, सेस फाब्रिगास, रोवर्ट पिरेज, डेनिस वर्गक्याम्प, जेन्स लेम्यान (गोलकिपर) आदि प्रख्यात नाम सामेल थिए। आर्सनलले त्यो सिजन अपराजित रहँदै प्रिमियर लिगको उपाधि जितेको थियो जुन आफैँमा एउटा अभूतपूर्व किर्तिमान थियो। तर त्यो कथा अब पुरानो भइसकेको छ। २००४ पछि प्रिमियर लिगमा आर्सनलको प्रदर्शन बिस्तारै–बिस्तारै खस्कँदै जान थाल्यो। लिग उपाधिको दावेदारिता त परै जाओस्, त्यसपछिका धेरै सिजन शीर्ष चारमा स्थान बनाउन समेत यो क्लब असफल रह्यो। इंग्लिस फुटबलमा ठूला कहलिएका चार फुटबल क्लबहरू म्यानचेष्टर युनाइटेड, लिभरपुल, चेल्सीपछि आउने आर्सनलको नाम अहिले म्यानचेष्टर सिटीले प्रतिश्थापन गरिसकेको छ।
तर २०२२/२३ को सिजनको शुरुमा आर्सनल बेग्लै रूपमा प्रस्तुत भयो। युवा र प्रतिभाशाली खेलाडीहरूको सम्मिश्रणमा प्रशिक्षक मिकेल आर्टेटाको आर्सनलले गजबको फुटबल खेल्यो र शुरुका १० मध्ये ९ खेल जित्दै सिजनको शुरुवात धमाकेदार तरिकाले गर्‍यो। धेरैले अनुमान गरेका पनि थिए– यसपटक आर्सनललाई इंग्लिस प्रिमियर लिग (इपीएल) को उपाधि जित्नबाट कसैले रोक्न सक्ने छैन, म्यानचेष्टर सिटीले पनि। हुन पनि इपीएल सिजन २०२२/२३ को आधा बाटो तय गर्दासम्म आर्सनलले गरेको प्रदर्शनलाई विश्लेषण गर्ने हो भने त्यो दाबीलाई झुठो भन्न कदापि मिल्दैनथ्यो। ३८ चरणसम्म चल्ने लिगको १९औँ खेलसम्म आइपुग्दा पनि आर्सनल १७ जीत, २ बराबरी र १ हार व्यहोर्दै दोस्रो स्थानको सिटीमाथि ८ अंकको फराकिलो अन्तर सहित शीर्ष स्थानमा बलियो पकड बनाएर बसेको थियो।
लिगको पाँचौँ खेलमा म्यानचेष्टर युनाइटेडको हातबाट ३–१ को पराजित भएको आर्सनलले २०औँ चरणमा आएर मात्र सिजनको दोस्रो हारको स्वाद चाख्यो, उसलाई एभर्टनले आफ्नो घरेलू मैदानमा १–० को झिनो अन्तरले पराजित गर्‍यो। यो हारले इपीएल २०२२/२३ मा आर्सनलकोे समाएको उत्कृष्ट लयलाई भङ्ग गरिदियो। त्यसपछिका दुई खेलमध्ये एकमा बराबरी र एकमा पराजय भोगेपछि शीर्ष स्थान माथिको आर्सनलको बलियो पकड केही खुकुलो हुनपुग्यो, यद्यपि लिगको ३० औँ चरणसम्म पनि अंक तालिकामा उसको शीर्षता कायम नै थियो।
लिगको ३१औ खेलमा आर्सनलले लिभरपुलको भ्रमण गर्‍यो भने ३२औ खेलमा वेष्टह्यामको। दुवै खेलमा २–० को अग्रता बनाएर पनि आर्सनलले २–२ को बराबरीमा चित्त बुझाउनु पर्‍यो। अर्को खेलमा आर्सनलले रेलिगेसन जोगाउन संघर्ष गरिरहेको टोली साउथह्याम्पटनसँग ३–३ को बराबरी गर्दै थप अंक बाँड्यो। ३३औँ चरणमा आर्सनलको सामना लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसँग हुँदै थियो जुन खेलमा ४–१ ले विजयी हुँदै सिटीले सिजनमा पहिलोपटक लिगको शीर्ष स्थानमा धावा बोल्यो। पूरा सिजन उत्कृष्ट लयमा देखिएको आर्सनलले भने निर्णायक मोडतिर आएर चिप्लियो र लगातार तीन बराबरी र एक हार खेल्दै लिग उपाधिको होडमा सिटीका सामु आत्मसमर्पण गरिदियो जसलाई आर्सनलको ‘डाउनफल’ भन्न सकिन्छ।
सिटीको नजर ‘तेहरो उपाधि’ माथि
गएको वर्ष पनि एक समय चारवटा उपाधि जित्नसक्ने अवस्थामा रहेको म्यानचेष्टर सिटी सिजनको अन्त्यमा केवल प्रिमियर लिगको उपाधिमै सिमित हुन पुगेको थियो। तर यसपटकको कथा भने बेग्लै हुनसक्छ, सिटीको उत्कृष्ट लय र टिमभित्रको गहिराईलाई हेर्दा उसले यस सिजन तेहरो उपाधि जितेरै देखाउने संकेत दिएको छ।
सिटीले जारी सिजन प्रिमियर लिगका पछिल्ला १५ खेलमा लगातार जित हात पारेको छ। मार्च ४ का दिन आफ्नो ३३औँ खेलमा वेष्टह्यामलाई ३–० ले हराउँदै म्यानचेष्टर सिटीले यो सिजनमा पहिलोपटक आफूलाई अंक तालिकाको शीर्ष स्थानमा उभ्याउन समेत सफल भयो। अर्को खेलमा लिड्स युनाइटेडलाई १–० ले हराउँदै सिटीले आर्सनलमाथि चार अंकको महत्वपूर्ण अग्रता समेत बनाइसकेको छ। सिटीको उत्कृष्ट फर्म र लिगमा बाँकि रहेका चार चरणको खेलमा उसका प्रतिद्वन्द्वी टोलीहरूको अवस्थालाई विश्लेषण गर्ने हो भने पनि सिटीले प्रिमियर लिगको उपाधि रक्षा गर्ने निश्चितप्रायः देखिन्छ। आगामी खेलहरूमा सिटीले क्रमशः बेन्टफोर्ड, ब्राइटन, चेल्सी र एभर्टनविरुद्धको सामना गर्नेछ। यस्तोमा दोस्रो स्थानको आर्सनलले आफ्ना बाँकि सबै खेल जितेको अवस्थामा पनि इपीएलको उपाधि उचाल्नका लागि सिटीलाई केवल ७ अंक पर्याप्त हुने छ।
त्यस्तै म्यानचेष्टर सिटीले आगामी जुन महिनाको ३ तारिखका दिन लण्डनको वेम्बले स्टेडियममा हुने एफए कपको फाइनलमा म्यानचेष्टर युनाइटेडको सामना गर्दैछ। प्रतियोगिताको सेमिफाइनलमा रियाद महरेजको ह्याट्रिकमा सेफिल्ड युनाइटेडलाई ३–० ले हराउँदै सिटीले फाइनलको टिकट काटेको थियो भने ब्राइटनलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै म्यानचेष्टर युनाइटेडले फाइनलमा सिटीसँगको भेट पक्का गरेको थियो। फुटबल खेलका विश्लेषकहरूले पनि आफ्ना प्रमुख खेलाडीहरूको चोटले समस्यामा रहेको युनाइटेडलाई भन्दा उत्कृष्ट लयमा रहेको सिटीलाई नै एफए कपको दावेदारका रूपमा हेरेका छन्।
म्यानचेष्टर सिटीले जित्नसक्ने सम्भावना रहेको अर्को प्रमुख उपाधि च्याम्पियन्स लिग फुटबलको उपाधि हो र उसले जित्न चाहेको सबैभन्दा महत्वपूर्ण उपाधि पनि यही नै हो। सन् २००३ को जुनमा रसियन अर्बपति रोमन इभ्रामोविचले म्यानचेष्टर सिटीको स्वामित्व ग्रहण गरेपछि यो क्लबले युरोपियन च्याम्पियन बन्ने सपना पूरा गर्नका लागि करोडौँ डलर पानीसरी बगाएको छ। यस बीचमा सिटी पटक–पटक आफ्नो उद्देश्यको एकदमै नजिक नपुगेको पनि होइन। २०१८–२०२० मा लगातार तीन क्वार्टरफाइनल खेलेको सिटी २०२०–२१ को फाइनलसम्म पुग्न सफल भएको थियो। फाइनलमा सिटी अर्को इंग्लिस क्लब चेल्सीसँग पराजित हुन पुग्यो। पछिल्लो सिजन पनि सिटीले च्याम्पियन्स लिगमा अन्तिम चारसम्मको यात्रा तय गरेको थियो जहाँबाट ऊ स्पेनिस क्लब रियल म्याड्रिडको हातबाट पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यो सिजनको सेमिफाइनलमा पनि सिटीले प्रतिद्वन्द्वीका रूपमा रियल म्याड्रिडलाई नै पाएको छ। सिटीले अन्तिम १६ मा जर्मनको लायपजिगलाई पहिलो लेगमा १–१ र दोस्रो लेगमा ७–० गरी समग्रमा ८–१ ले पराजित गरेको थियो भने अन्तिम ८ मा अर्को जर्मन क्लब बार्यन म्युनिखलाई पहिलो लेगमा ३–० र दोस्रोमा १–१ गरी समग्रमा ४–१ ले पन्छाउँदै सेमिफाइनल प्रवेश गरेको हो। म्यानचेष्टर सिटीको वर्तमान लयलाई हेरेर यसपटक च्याम्पियन्स लिग फुटबलको सबैभन्दा बलियो दावेदारका रूपमा सिटीलाई नै हेरिएको छ।
गोल मेसिन हालाण्डको आगमनसँगै अजेय देखिएको सिटी
सन् २००९ मा बार्सिलोनालाई एकै सिजन ६ उपाधि दिलाएर सनसनी मच्चाएका स्पेनी प्रशिक्षक पेप ग्वार्डिओला विश्वकै एक उत्कृष्ठ फुटबल प्रशिक्षक मानिन्छन्। बार्सिलोनाबाट २०१३ को सिजनमा जर्मनको बार्यन म्युनिख पुगेका पेपलाई रोमन अब्रामोविचले सन् २०१६ फेबु्रअरी १ मा सिटीलाई युरोपियन च्याम्पियन बनाउने महत्वाकांक्षाका साथ क्लबमा भित्र्याएका थिए। ग्वार्डिओलाले २०१६ मा सिटीको प्रशिक्षण सम्हालेयता क्बलले चारपटक इंग्लिस प्रिमियर लिग, एक एफए कप र चार लिगकपको उपाधि जितिसकेको छ। च्याम्पियन्स लिगको उपाधि नै नजिते पनि प्रतियोगितामा सिटीको प्रदर्शन सन्तोषजनक मान्न सकिन्छ। ग्वार्डिओलाको आगमन पछि म्यानचेष्टर सिटीको पूरा टिम र उसले खेल्ने फुटबलमा क्रमिक सुधार हुँदै अहिले त्यो युरोपकै सबैभन्दा बलियो टोलीमा दरिएको छ।
पेप ग्वार्डिओलाको टिकीटाका नै भन्न नमिले पनि त्यसैमा आधारित आक्रामक रणनीतिको फुटबल र खेलाडीहरूको छनौटका कारण सिटी अहिले युरोपको कुनै पनि टोलीसामु बलियो चुनौति पेश गर्न सक्षम देखिन्छ। सिटीको प्लेइङ सेटमा मात्र होइन बेञ्चमा पनि उत्तिकै गहिराई पाउन सकिन्छ। गोलकिपरका रूपमा इडरसन, डिफेन्डरहरू रुबेन डियास, जोन स्टोन्स्, नथन आका, आइमेरिक लापोर्ता, मिडफिल्डमा इके गुन्डागोन, ज्याक ग्रिलिस, केभिन डे बु्रएना, बनार्डो सिल्भा र फिल फोडेन अनि रियाद महरेज र जुलियन अल्भारेजजस्ता खेलाडीहरूको साथमा सिटी इंग्ल्याण्डमा आफ्नो झण्डा गाड्न सफल भइसकेको थियो। यसै सिजनको शुरुवातमा ग्वार्डिओलाले नर्वेजियन फरवार्ड एर्लिङ हालाण्डलाई बोरुसिया डर्टमन्डबाट सिटीमा अनुवन्ध गरेपछि सिटीको रफ्तारले आकाश छोएको छ। यी २२ वर्षे फरवार्डले प्रिमियर लिगको पहिलो सिजनमै अनेक थरिका किर्तिमान आफ्नो नाम गरिसकेका छन्। सिटी आएको पहिलो सिजनमै लिगका ३१ खेलमा ३५ गोल गर्दै प्रिमियर लिगको एकै सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडीको किर्तिमान आफ्नो नाम गराएका छन्। च्याम्पियन्स लिगका ८ खेलमा १२ गोल गर्दै उनले सिटीका लागि केबल ४५ खेलमा ५१ गोल गरिसकेका छन्। बलियो टोली म्यानचेष्टर सिटी हालाण्डको आगमनपछि झन्–झन् बलियो देखिएको छ, अझ आक्रामक देखिएको छ। खेल विज्ञहरूको विश्लेषण अनुसार जारी सिजनमा सिटीले तेहरो उपाधि उचाल्ने सम्भावना कम भएको छैन, बरु बढ्दै गइरहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link