भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ। जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ। सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ।
गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताउनुभयो।
उहाँका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। विपद्का समयमा पोषिलो खानेकुरा खान नपाएकाले पनि कुपोषणको जोखिम बढेको उहाँको भनाइ छ।
उक्त शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई सेवा दिइएको खनालले जानकारी दिनुभयो। उहाँका अनुसार सेवा लिनेमा पुरुष नौ सय ४४, महिला छ हजार तीन सय ५५ महिला छन्।
संयोजक खनालले चार हजार एक सय नौ पाठेघरको मुखको क्यान्सरको जाँच गरिएकामा एक सय छ जनामा क्यान्सरको सुरुआती अवस्था पत्ता लागेको जानकारी दिनुभयो। पाँच सय ४५ महिलालाई गर्भपतन सेवा उपलब्ध गराएको थियो। भूकम्पपछि महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको उहाँले बताउनुभयो।
भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा, एचआइभीबारे सचेतना अभिवृद्धि गर्न, अनिच्छुक गर्भधारण घटाउन सङ्घ कार्यक्रम गरेको संयोजक खनालले बताउनुभयो। कार्यक्रम जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुसे गाउँपालिकाका साथै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो ।
प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, सन्तुलित खानाको अभावले यहाँका महिला र बालबालिकामा कुपोषणको जोखिम बढेको कार्यक्रम संयोजक खनालको भनाइ छ। उहाँका अनुसार जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा कुपोषणको समस्या सबैभन्दा बढी पाइएको छ।
त्यस्तै प्रभावित जिल्लामा अनिच्छुक गर्भधारणको समस्या पनि बढ्दै गएकाले सुरक्षित परिवार नियोजनका बारेमा जनचेतना जगाउनुपर्ने खनालले बताउनुभयो। नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पालिकामा अझै लगानी बढाएर प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो। “उत्पादनशील क्षेत्रमा घरटहरा निर्माण भएका छन्। खाद्यान्नको पनि समस्या भएकाले स्वास्थ्य समस्या देखिएको हो”, उहाँले भन्नुभयो।
बारेकोट गाउँपालिकामा स्वास्थ्य, खाद्यान्नको समस्या रहेको भन्दै साझेदार निकायले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो। आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले विपद्का समयमा सबैले एकजुट भएर काममा लाग्नुपर्नेमा जोड दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
- रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल २०२५ उपाधि
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
