सहरका भन्दा गाउँका सरकारले जिते जनताको मन  

 

गाउँपालिकाले आफ्नो सिमित बजेट र स्रोतसाधनबाट पनि कोरोना नियन्त्रणलगायतमा प्रभावकारी भुमिका निर्वाह गरेर जनताको मन जितेका छन्।

आइएनएस प्रतिनिधि

काठमाडौंकोरोना नियन्त्रणमा संघीय सरकारले नै प्रभावकारी बन्न नसकिरहेको बेला विकट क्षेत्रमा स्थानीय सरकारको भुमिका भने प्रभावकारी देखिएको छ। कोरोना रोकथाममा गाउँका स्थानीय सरकारले चालेका कदम सहरका सरकारको भन्दा जिम्मेवारपूर्ण छ। संघीय प्रणाली जनताप्रति जवाफदेही भएर काम गर्ने हो भने आमजनताले प्रभावकारी सेवा पाउन सक्छन् भन्ने उदाहरण बनेका छन्, ललितपुरका तीन दुर्गम गाउँपालिका।

उपत्यका जोडिएको जिल्ला ललितपुरको ग्रामिण क्षेत्रमा पर्ने बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाले सिमित बजेट र स्रोतसाधनमा कोरोना नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गरे। उपत्यका नजिकैको कर्णालीका भनेर चिनिने यी पालिकाले कोरोना रोकथाम र नियन्त्रणमा गरेको भुमिका सराहनीय छ।

कोन्ज्योसोम गाउँपालिकाले घरघरमै पुगेर वृद्धवृद्धाको उपचार गर्ने व्यवस्था मिलायो। कोरोनाबाट गम्भीर भएर उपचार गर्नुपरेका विरामीको खर्च व्यहोर्यो। त्यस्तै, लक्षण देखिएका विरामीलाई मात्रै पिसिआर परीक्षण गरी पालिकाबाट हुने खर्च नियन्त्रण गरेको छ। गाउँका विपन्न वर्ग पहिचान गरी करिब ७ सय बढी घरधुरीलाई कोरोनो महामारीभर खान पुग्ने राहत दिएको पालिकाका अध्यक्ष गोपीलाल सिनताङले जानकारी दिए। उनले सरकारले दिएको बजेट अपुग हुने देखिएपछि जतनले खर्च भइरहेको बताए। ‘हामीले चाहिले ठाउँमा मात्रै खर्च गरेका छौं, अनावश्यक ठाउँमा खर्च गरेका छैनौं,’ उनले भने। उनले महामारीको बेला केयौं श्रमिक तथा युवाहरु बेरोजगार बनेपछि ती बेरोजगारलाई रोजगार सिर्जना गरेको बताए। घरका कोही काम गर्न सक्ने छन् भने पालिकाले कृषि तथा पूनर्निर्मार्ण कार्यमा लगाएर ज्याला दिँदै आएको छ। पालिकाले  कोरोना अवधिभर ५२ लाख ५५ हजार खर्च गरेको छ। उक्त बजेट केन्द्र प्रदेशको अनुदानबाट समेत प्राप्त भएको अध्यक्ष सिनताङले बताए। अन्य केही राहत रकम र सामग्री व्यक्ति तथा संस्थाले पनि प्रदान गरेका थिए। त्यस्तै, १० शेय्याका अस्पताल निर्माण योजना पनि अघि सारिएको छ। शंखु र दलचोकी पनि ५÷५ बेडको अस्पताल निर्माण गर्न लागि अध्यक्ष सिनताङको भनाई छ।

बागमती गाउपालिकाले पनि कोरोना संक्रमणका बेला हुने जथाभावी खर्च रोकथाम गरेको छ। कोरोना कोषमा जम्मा भएको ५८ लाखमध्ये पालिकाले ३० लाख मात्रै बजेट खर्च गरेको छ। त्यसमध्ये २० लाखको खाद्यान्न वितरण गर्‍यो। यसबाहेक ग्रामिण क्षेत्रमा उपचार नपाएकालाई गाउँपालिकाका अध्यक्ष वीर वहादुर लोप्चनले आफ्नै गाडिमा उपचार गराउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए। आफू त्यहीको रैथाने भएको र गाउँले पीडामा सहकार्य गरेको अध्यक्ष लोप्चनले बताए। उनले भने, ‘मैले यस्तो बेलामा पनि फाइला लिनतर्फ ध्यान दिएभने गाउँलेले सराप्थे, कोरोना अवधिमा एम्बुलेन्स समेत नपाएपछि मैले आफ्नै गाडिमा दौडाएँ, अझै पनि केही गम्भीर रोगका विरामी छन् भने हामीले उपचारमा सहयोग गरेका छौं, खर्च नहुनेलाई राजधानीका अस्पतालमा पुर्‍याएर उपचार गर्ने वातावरण मिलाइदिएका छौं।’ उनका अनुसार पालिकाले अस्पताल निर्माण योजना पनि अघि सारेको छ। १५ शैय्याको उक्त अस्पताल एक वर्षभित्र निर्माण भइसक्ने छ।

रोजगारकै भरमा चलेका परिवारले लकडाउनको बेला रोजगार गुमाउँदा भोकै बस्नुपर्ने अवस्था आएपछि उनीहरुलाई खान पुग्ने खाद्यान्न घरघरमै पुर्‍याइदिएको उनको भनाई छ। कोरोना महामारीको बेला बागमती गाउँपालिकामा सञ्चालित स्वास्थ्य चौकीमा सबैखाले सामान्य रोगको उपचार हुने व्यवस्था मिलाएपछि स्थानीयले सहजता महसुस गरे। स्थानीय कृष्ण सञ्जेलले कोरोना महामारीको बेलामा मात्रै नभएर अन्य समयमा पनि दक्षिण ललितपुर क्षेत्रबाट सहरसम्म पुग्न कठिनाई हुने गरेको बताए। उनले भने, ‘बर्खाको बेलामासदरमुकाम जान सकिँदैन, विरामी बोक्न हेलिकप्टर ल्याउनुपर्ने अवस्था छ, त्यसकारण यस क्षेत्रमा व्यवस्थित सडक चाहिन्छ।’

महांकाल गाउँपालिकाले कोरोना अस्पताल निर्माण गरेको छ। संक्रमणपछि गम्भीर भएर अस्पताल भर्ना भएकाहरुको उपचार खर्च व्यहोर्दै आएको छ। त्यस्तै, आयुर्वेदिक अस्पताल पनि निर्माणाधीन अवस्थामा रहेको पालिकाका उपाध्यक्ष कमला तामाङले जानकारी दिइन्। ‘हामीकहाँ संक्रमण दर कम छ, कोही गम्भीर भएर उपचार गर्न गएका उपचार खर्च पनि पालिकाले नै व्यहोरेको छ,’ उनले भनिन्, ‘हालसम्म १ करोड बजेट खर्च भएको छ कोरोना यिन्त्रणमा।’ पालिकामा कोरोना अवधिभर कार्यालयमा सबैखाले काम सहज तरिकाले सञ्चालन नभएकाले उक्त अवधिका कर्मचारीले पनि भत्ता नलिएको उपाध्यक्ष तामाङको भनाई छ।

वत्तिमुनीको अध्यारो झै

ललितपुर जिल्लालाई सुगम र विकसित जिल्लाको रुपमा हेरिन्छ। तर, यहाँको झन्डै आधाभन्दा बढी हिस्सा विकटतामा जकडिएको छ। ४० प्रतिशत भुभाग अति विकसित ठाउँमा रुपमा परेपछि ६० प्रतिशत भुभाग भने कणालीभन्दा पनि विकट छ। विकास निर्माणका काम निम्छरो हुँदा दक्षिण ललितपुरका जनताले विकटमै जीवन बिताइरहेका छन्। स्थानीय सरकार नहुदो हो भने दक्षिण ललितपुरका जनता भोक मर्ने थिए, बर्षाको बेला सडक भत्किएर सहरसँग सम्बन्ध टुट्छ, त्यस्तो बेलामा स्थानीय सरकार नै काम लागेको छ,’ प्युटारमा युवा नेता कृष्ण बलले भने। उनका अनुसार बाटोको सहज व्यवस्था तथा अन्य सहरी सुविधा पुग्न नसकेका कारण दक्षिण ललितपुर उपत्यका नजिक पर्ने भएतापनि विकटतामै सिमित छ। प्युटार, ठूलादुर्लुङ र कालेश्वर क्षेत्रका गाउँमा अझै मोटरबाटो पुग्न सकेको छैन।

सहरका स्थानीय सरकारले पनि सिकुन

विकट क्षेत्रमा अवसिथत गाउँपालिकालेहरुले कोरोना नियन्त्रणमा खेलेको प्रभावकारी भुमिकालाई सहरका स्थानीय सहरसँग दाज्दा सहरकै स्थानीय तह चुकेको र गम्भीर नभएको देखिन्छ। कोरोना महामारीकै बेला काठमाडौं महानगपालिकाले विपन्न बर्गलाई व्यवस्थापन गर्न सकेन। उल्टै असहयोग गरेकै भन्दै विरोध पनि भयो। ललितपुर महानगरपालिकाले पनि कोरोना नियन्त्रणको लागि प्रभावकारी भुमिका निभाउन सकेन। कोरोना नियन्त्रणमा ४ करोड खर्च गर्दा पनि महानगरपालिका क्षेत्रमा संक्रमण फैलनेक्रम बढी छ। त्यस्तै, काठमाडौं र ललितपुर महानगरपालिकाले क्वारेन्टीन र आइसोलेसन निर्माण तथा कोरोना संक्रमण भएर गम्भीर बनेका विरामीको उपचारमा प्रभावकारी भुमिका खेलेका छैनन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा जनसंख्या बढी भएका कारण व्यवस्थापनमा समस्या हुने गरेको बताए। उनले भने, ‘हामीले नगरेका होइनौं, यतिका खर्च भैसक्यो, अझै पनि संक्रमण फैलँदो छ, आफू सचेत भएर बस्नु अहिलेको लागि उत्तम उपाय हो।’ उनले कोरोना नियन्त्रणमा महानगरले ५ करोड बढी खर्च गरिसकेको बताए। हाल ललितपुर र काठमाडौं महानगरपालिकाले बनाएका १० वटा भन्दा बढी स्थानका क्वारेन्टीन खाली छन्। स्थानीय तहको क्वारेन्टीन र उपचार प्रणाली राम्रो नभएको भन्दै संक्रमितहरु घरमै बस्ने गरेका छन्।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link