फुटबलमा ‘इन्टरनेशनल ब्रेक’

आशुतोष अधिकारी

अबको एक हप्ता फुटबलप्रेमीहरूको ध्यान केही महत्वपूर्ण अन्तर्राष्ट्रिय स्पर्धाहरूमा केन्द्रित रहने छ। यसका लागि विश्वका प्रमुख फुटबल लिगहरूले ‘इन्टरनेशनल ब्रेक’ लिइसकेका छन्। यो ब्रेकमा विश्वकप छनौटका केही महत्वपूर्ण खेलहरू सञ्चालन हुनेछन्। जसमध्ये युरोपियन छनौट अन्तर्गत नर्थ मेसेडोनियाविरुद्ध चारपटकको विश्वकप विजेता इटालीको खेल र टर्कीविरुद्ध क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको खेलमाथि सबैको नजर रहनेछ।

युरोपका ११ टोलीहरू छनौट चरण पार गरेर यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलको अन्तिम चरणका लागि छनौट भइसकेका छन्। यस अवस्थामा अब फुटबलको त्यो महाकुम्भमा युरोपियन टिमका लागि तीनवटा स्थान मात्र बाँकी छ। र, त्यो तीन स्थानका लागि ६ टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्दैछन्। त्यसमध्ये २४ मार्चका दिन इटाली र पोर्चुगलले आ–आफ्नो खेल जितेमा प्लेअफको निर्णायक खेलमा यी दुई टोली आमने–सामने हुनेछन्। यस्तो अवस्थामा फुटबलका यी दुई पावरहाउसमध्ये एउटाको विश्वकप सम्भावना समाप्त हुनसक्नेछ।

युरोपियन प्लेअफका अन्य खेलहरूमा २४ तारिखकै दिन वेल्सले अष्ट्रियाको सामना गर्नेछ भने स्वीडेनले चेक रिपब्लिकको। १२ पटक विश्वकप खेलिसकेको स्वीडेन र ८ पटक खेलिसकेको चेक टोलीको खेलमाथि पनि धेरैको नजर हुनेमा शंका छैन। युक्रेनमाथि सैनिक कारवाही गरेका कारण फिफा र युइएफएबाट प्रतिवन्धमा परेपछि रसिया प्लेअफ खेल्नबाट वञ्चित भएको छ। उसको प्रतिद्वन्द्वी पोल्याण्डले स्वतः वाकओभर पाएर अन्तिम प्लेअफका लागि स्थान बनाइसकेको छ भने त्यही कारवाहीका कारण युक्रेन र स्कटल्याण्ड बिचको प्लेअफ म्याच हाललाई स्थगित गरिएको फिफाले जानकारी गराएको छ।

त्यस्तै अफ्रिका महादेशबाट पाँच स्थानका लागि १० राष्ट्रले विश्वकप छनौटको अन्तिम चरणका लागि यसै हप्ता प्रतिश्पर्धा गर्दैछन्। छनौटको तेस्रो तथा अन्तिम चरणको पहिले लेग अन्तर्गत २५ मार्चका दिन कंगो गणतन्त्रले मोरक्को विरुद्ध, मालीले ट्युनिशियाविरुद्ध र क्यामरुनले अल्जेरियाविरुद्ध प्रतिश्पर्धा गर्नेछन् भने २६ तारिखमा घानाले नाइजेरियाविरुद्ध खेल्नेछ। २६ तारिखकै दिन इंग्लिश क्लव लिवरपुलका स्ट्राइकरद्वय मोहम्मद सलाह नेतृत्वको इजिप्ट र सडियो मानेले नेतृत्व गरेको सेनेगल बिचको खेल अफ्रिकन छनौटको केन्द्रमा रहनेछ। सेनेगल र इजिप्टमध्ये एउटा टोलीमात्र विश्वकपमा छनौट हुने भएकाले यो खेललाई यी दुई खेलाडीको अग्नीपरीक्षाका रूपमा समेत हेरिएको छ। विश्वकप २०२२ का लागि छनौट हुने पाँच अफ्रिकन टोलीको निर्णय भने मार्च २९ र ३० मा हुने दोस्रो लेगका खेलहरूले गर्नेछ।

एशिया महादेशबाट अहिलेसम्म दक्षिण कोरिया र इरानले विश्वकप २०२२ को अन्तिम चरणमा स्थान बनाउन सफल भइसकेका छन्। आयोजक राष्ट्रका रूपमा कतारको विश्वकप सहभागिता सुनिश्चित भइसकेको अवस्थामा अव केबल दुई स्थानका लागि यूएई, लेवनान, इराक, सिरिया, साउदी अरेविया, जापान, चीन, अष्ट्रेलिया, ओमान र भियतनाम प्रतिश्पर्धा गर्दैछन्। एशियन क्वालिफायर अन्तर्गत मार्च २४ का दिन हुने जापानविरुद्ध अष्ट्रेलिया र चीनविरुद्ध साउदी अरेवियाको खेल निर्णायक सावित हुन सक्नेछ। २४ मार्चकै दिन दक्षिण कोरियाले इरानविरुद्ध, लेवनानले ओमान विरुद्ध, भियतनामले सिरिया विरुद्ध र युएईले इराकविरुद्ध प्रतिश्पर्धा गर्दैछन्। मार्च २९ का दिन हुने अन्तिम चरणका खेलहरूले विश्वकप खेल्ने बाँकी दुई एशियन टिमको फैसला गर्नेछ।

दक्षिण अमेरिकी क्षेत्रबाट ब्राजिल र अर्जेन्टिना यसअघि नै विश्वकपमा छनौट भइसकेका छन्। १० राष्ट्र सम्मिलित छनौट चरणको शीर्ष दुई स्थानमा रहेर यी दुई टोलीले विश्वकपको टिकट पक्का गरेका हुन्। तेस्रो स्थानको इक्वेडरले प्लेअफका लागि स्थान सुरक्षित गरिसकेको अवस्थामा अब क्रमशः चौथोदखि सातौँस्थानसम्म रहन सफल उरुग्वे, पेरु, चिली र कोलम्बियाले प्लेअफमा स्थान बनाउनका लागि यसै साता प्रतिश्पर्धा गर्दैछन्।

मार्च २४ मा हुने १७औँ चरणका छनौट खेलहरूमा उरुग्वेले पेरुविरुद्ध, कोलम्बियाले बोलिभिया विरुद्ध, ब्राजिलले चिली विरुद्ध र पाराग्वेले इक्वेडरविरुद्ध खेल्नेछ भने २५ मार्चमा अर्जेन्टिना र भेनेजुएला बिच प्रतिश्पर्धा हुनेछ। त्यस्तै २९ मार्चमा हुने १८ औँ चरणका खेलहरूमा पेरुविरुद्ध पाराग्वे, भेनेजुएलाविरुद्ध कोलम्बिया, बोलिभियाविरुद्ध ब्राजिल, चिलीविरुद्ध उरुग्वे र अर्जेन्टिनाविरुद्ध इक्वेडर भिड्दैछन्। यी दुई चरणका खेलहरूले दक्षिण अमेरिकी प्लेअफमा पुग्ने टोलीको फैसला गर्नेछ।

त्यस्तै उत्तर अमेरिकी र क्यारेवियन क्षेत्र अन्तर्गत विश्वकप छनौटका केही महत्वपूर्ण खेलहरू यसै साता खेलिनेछन्। आठ राष्ट्र सम्मिलित उत्तर अमेरिकाकी छनौट चरणको अंक तालिकामा २५ अंकसहित क्यानडा पहिलो स्थानमा छ भने समान २१–२१ अंक भए पनि गोलअन्तरका आधारमा अमेरिका दोस्रो र मेक्सिको तेस्रो स्थानमा छ। मार्च २५ मा हुने अमेरिका र मेक्सिकोबिचको खेल र मार्च २८ मा हुने अमेरिका र पानामा अनि सोही दिन खेलिने मेक्सिको र होण्डुरसबिचको खेलले यो समूहमा निर्णायक हुनेछन्। यस समूहबाट अहिलेसम्म कुनै पनि टोली विश्वकपका लागि छनौट भइसकेका छैनन्।

नेपालले पनि यसै साता थाइल्याण्डसँग एक मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसका लागि नेपाली टोली थाइल्याण्डतर्फ प्रस्थान गरिसकेको छ। एएफसी कपको तयारीमा व्यस्त भएका कारण मच्छिन्द्र क्लवमा आवद्ध विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, सुनिल बल, मनिष डाँगी, सुजल श्रेष्ठ लगायतका राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरू थाइल्याण्ड भ्रमणका लागि उपलब्ध छैनन्। नेपालले भोलि थाइल्याण्डको राष्ट्रिय टोलीसँग खेल्नेछ भने चैत्र १३ गते चोङ्बुरी एफसीसँग अर्को एउटा मैत्रीपूर्ण खेल खेल्नेछ। दुवै खेल चोङ्बुरी रंगशालामा हुनेछन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
फुटबलमा ‘इन्टरनेशनल ब्रेक’
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link