लगातार दोस्रोपटक इटाली विश्वकपबाट बाहिर

आशुतोष अधिकारी

युरोपियन च्याम्पियन र चारपटकको विश्वकप विजेता इटाली लगातार दोस्रोपटक विश्वकप फुटवल प्रतियोगितामा छनौट हुन असफल भएको छ। गए राति सम्पन्न विश्वकप छनौटको प्लेअफ खेलमा नर्थ मेसेडोनियाको हातबाट १–० ले पराजित भएसँगै इटालीको विश्वकप २०२२ को यात्रा छनौट चरणमै टुङ्गिएको हो। इटाली २०१८ को विश्वकपमा पनि छनौट हुन सकेको थिए।

फुटबलको महाशक्ति राष्ट्रका रूपमा परिचित इटालीमा फुटबललाई एउटा संस्कारका रूपमा लिइन्छ।  फुटबल खेललाई त्यस देशको अर्थतन्त्रको मात्र नभई त्यहाँको सामाजिक जीवनको समेत एक अभिन्न अङ्ग मानिन्छ। विश्वकपमा इटालीको लगातारको असफलतालाई ऐतिहासिक दुःखद घटनाको रूपमा विश्लेषण गरिएको छ। केहीले यसलाई इटालीयन फुटबलको विनाशका रूपमा हेरेका छन् भने फुटबल समर्थकहरूले भने यो नतिजाबाट निराश भएको प्रतिक्रिया दिएका छन्।

अहिले फिफा विश्व वरियताक्रममा इटाली छैठौँ नम्वरमा छ भने मेसेडोनिया ६७औँ स्थानमा। नर्थ मेसेडोनियाविरुद्धको खेलमा इटालीले आक्रामक खेल खेलेर ३२ पटक विपक्षीको पोष्टमा आक्रमण गरेको थियो , ती ३२ मध्ये १२ सर्ट टार्गेटमा हाने पनि इटाली गोल गर्न भने असफल रह्यो। तर त्यसको विपरीत कमजोर मानिएको मेसेडोनियाले इटालीको पोष्टमा मुश्किलले ५ पटक प्रहार गरेको थियो। ९० मिनेटको खेलमा दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेलमा अतिरिक्त ६ मिनेट थपिएको थियो। अतिरिक्त समयको दोस्रो मिनेटमा नर्थ मेसेडोनियाका अलेक्जेन्डर ट्राज्कोभ्स्कीले गोल गर्दै आफ्नो टिमलाई ऐतिहासिक सफलताको नजिक पु¥याए भने इटालीलाई विश्वकप बाहिर।

युइएफएले तेस्रो दर्जामा राखेको नर्थ मेसेडोनियाले फुटबलमा अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो सफलता भनेको २०२१ को यूरोपियन च्याम्पियनशीपमा छनौट हुनु हो। तर पछिल्लो एक–डेढ वर्षमा उसले उच्चस्तरको खेल प्रदर्शन गर्दै आइरहेको छ। विश्वकप छनौटमा समूहविजेता जर्मनीलाई समेत २–१ ले स्तव्ध बनाएको मेसेडोनियाले समूह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको थियो।

यता इटालीले आफ्नो गुहमैदानमा खेलिएका विश्वकप छनौटका खेलहरूमा अहिलेसम्म हार व्यहोरेको थिएन। अहिलेसम्म विश्वकप छनौट अन्तर्गत घरमै खेलिएका ५५ खेलहरूमध्ये इटालीले ४४ मा जित हासिल गरेको थियो भने बाँकी खेल बराबरीमा टुङ्गिएको थियो। त्यसक्रममा उसले विपक्षीविरुद्ध १३१ गोल गरेको थियो भने ३२ खेलमा क्लीनचीट राख्दै २४ गोलमात्र खाएको थियो।

अब मेसेडोनियाले विश्वकपमा स्थान बनाउनका लागि अन्तिम प्लेअफमा पोर्चुगलको सामना गर्नेछ। गएराति सम्पन्न युरोपियन प्लेअफका अन्य खेलहरूमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गरेको छ भने वेल्सले अष्ट्रियालाई २–१ गोलअन्तरले हराउन सफल भयो। त्यस्तै स्वीडेनले चेक रिपब्लिकलाई १–० को झिनो अन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम चरणको यात्रामा एक कदम अगाडि बढेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
लगातार दोस्रोपटक इटाली विश्वकपबाट बाहिर
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link