ट्राइनेशन टी–२० सिरिज २०२२: नेपालको विजयी शुरुवात

काठमाडौँको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजबाट शुरू भएको तीन देश सम्मिलित टी–२० प्रतियोगितामा नेपालले विजयी शुरूवात गरेको छ।चिरपरिचित प्रतिद्वन्द्वी पपुवान्युगिनी (पीएनजी) लाई रोमाञ्चक खेलमा १५ रनको झिनो अन्तरले पराजित गर्दै नेपाली टोलीले प्रतियोगितामा सुखद शुरूवात गर्‍यो।
पपुवान्युगिनीले टस जितेर ब्याट्स्म्यानहरूलाई सहयोग गर्ने पिचमा नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।नेपालले २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १८३ रनको सम्मानजनक योगफल बनायो।नेपालका लागि आशिफ शेख र रोहित पौडेलले दोस्रो विकेटका लागि ८० रनको ठोस साझेदारी पूरा गरे।आसिफले ३५ बलको सामना गर्दै ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाए भने रोहितले २६ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए।त्यसअघि ओपनर कुशल भुर्तेलले १० बलमा २० रन बनाउँदै नेपाललाई आक्रामक शुरुवात दिलाएका थिए।एघारौँ बलमा भुर्तेल दुर्भाग्यपूर्ण तरिकाले रनआउट भए।
नेपालका लागि आसिफ शेखले २२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाए भने खेलको अन्त्यतिर करन केसीले दुई छक्काको सहयोगमा १४ रनको योगदान दिएपछि नेपाल १८३ रनको चुनौतिपूर्ण स्कोर तयार पारेको थियो।पीएनजीका अलेइ नाओ, चाड सोपर र चाल्र्स अमिनिले समान दुई–दुई विकेट हात पारे।
१८४ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको पीएनजीले पावरप्लेमा राम्रो गतिमा रन बनाए पनि विकेट गुमाउने सिलसिलालाई रोक्न नसक्दा हारको सामना गर्नुपर्यो।करण केसीले खेलको दोस्रो ओभरको दोस्रो बलमा पीएनजीका ओपनर टोनी उरालाई ५ रनको व्यक्तिगत स्कोरमा आउट पार्दै नेपाललाई पहिलो सफलता दिलाए।१० बलमा २१ रन बनाएका अर्का ओपनर लेगा साइकालाई सोमपाल कामीले खेलको तेस्रो ओभरमा आउट पारे।
खेलको छैठौँ ओभरमा फर्ममा रहेका ब्याट्सम्यान चाल्र्स अमिनीलाई अविनाश बोहराले बोल्ड गर्दै नेपाललाई खेलमा फर्काए।आफ्नो पहिलो ओभरको अन्तिम बलमा कप्तान सन्दिप लामिछानेले पीएनजीका कप्तान असाद भालालाई करण केसीको हातबाट क्याचआउट गराए भने आफ्नो अर्को ओभरमा सेट ब्याट्सम्यान सेसे बाउलाई पनि उनले एलबीडब्ल्यूको धरापमा पारे।३ चौका र १ छक्काको सहयोगमा २४ बलमा ३३ रन बनाएका सेसेलाई आउट पारेपछि जितको सम्भावना नेपालतर्फ ढल्किएको थियो।
तर खेलको अन्त्यतिर पीएनजीका नर्मन भानाउ र चाड सोपरले आठौँ विकेटका लागि ६७ रनको साझेदारी गर्दै पीएनजीलाई खेलमा फर्काएका थिए।२५ बलमा ५ चौका र ४ छक्काको मद्दतले ५२ रन बनाएका भानाउलाई खेलको १९औँ ओभरमा करण केसीले आउट गरेपछि मात्र पीएनजी विरुद्ध नेपालको अर्को हार टरेको थियो।नेपालका लागि कप्तान लामिछाने र करण केसीले समान ३–३ विकेट हात पारे भने दिपेन्द्रसिंह ऐरीको नाममा २ विकेट रह्यो।
चार ओभरमा २२ रन खर्चिएर ३ विकेट लिएका कप्तान सन्दिप लामिछाने खेलका म्यान अफ दि म्याच घोषित भए।प्रतियोगिता अन्तर्गत भोलि पीएनजी र मलेशियाबिचको खेल हुनेछ भने नेपाल अर्को खेल वुधवार पीएनजीसँग खेल्नेछ।राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिश्पर्धा गर्नेछन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
ट्राइनेशन टी–२० सिरिज २०२२: नेपालको विजयी शुरुवात
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link