प्लेअफमा पोर्चुगल र पोल्याण्डलाई सफलता

विश्वकप छनौट अन्तर्गत युरोपियन प्लेअफका महत्वपूर्ण खेलहरूमा जित हात पार्दै पोर्चुगल र पोल्याण्डले विश्वकपको फाइनल चरणको यात्रा पक्का गरेका छन्।हिजो राति सम्पन्न खेलमा पोर्चुगलले नर्थ मेसोडोनियालाई र पोल्याण्डले स्वीडेनलाई समान २–० गोलअन्तरले हराउँदै विश्वकप २०२२ को फाइनल चरणमा स्थान सुरक्षित गरेका हुन्।प्लेअफको पहिलो खेलमा इटालीको चुनौतीलाई पार गरेको नर्थ मेसोडोनियाले प्लेअफको निर्णायक खेलमा पोर्चुगलविरुद्ध पनि त्यस्तै आश्चर्यजनक नतिजा ल्याउने पो हो कि भन्ने डर धेरैलाई थियो।त्यो अवस्थामा पाचौँ र अन्तिम विश्वकप खेलेर अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने क्रिस्टियानो रोनाल्डोको सपना अधूरै रहन सक्थ्यो।तर बुनो फर्नान्डेजले खेलको पहिलो र दोस्रो हाफमा एक–एक गर्दै त्यो सम्भावनाको अन्त्य गरिदिए।

यता पोल्याण्डले ३१ वर्षको अन्तरालपछि स्वीडेनमाथि ऐतिहासिक विजय हासिल गर्दै विश्वकपको अन्तिम चरणमा स्थान बनायो।खेलको दोस्रो हाफको शुरूमै रोवर्ट लोवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए भने ७२औँ मिनेटमा पाएट जिलिन्स्कीले गोल गर्दै पोल्यण्डको जित सुनिश्चित गरे। स्वीडेनको यो हारले ४१ वर्षीय स्टार ज्लाटन अब्रामोबिचको अन्तिमपटक विश्वकप खेल्ने सपना भने पूरा हुन सकेन।पोल्याण्डविरुद्ध फिनिसिङमा समस्या देखिए पनि स्वीडेनले आफ्नो टोलीका सर्वाधिक गोलकर्ता अब्रामोबिचलाई खेलको ७९ मिनेटमा मात्र मैदानमा छिराएको थियो।

योसँगै युरोपबाट विश्वकपका लागि छनौट हुने टोलीको संख्या बाह्र पुगेको छ भने यो क्षेत्रबाट अब एउटा टोलीको लागि मात्र स्थान बाँकी छ।रुसी हमलाका कारण युक्रेन र स्कल्याण्डबीचको प्लेअफ खेल हुन सकेको छैन।यस खेलमा विजयी हुने टोलीले वेल्ससँग प्रतिश्पर्धा गर्नेछ।

 

अफ्रिकन छनौटमा सेनेगल सफल, मोहमद सलाहको इजिप्ट बाहिरियो

अफ्रिकन छनौट अन्तर्गत हिजै राति सम्पन्न तेस्रो तथा अन्तिम चरणको खेलहरूले अफ्रिकाबाट विश्कप खेल्ने पाँच टोलीको छिनोफानो गरेको छ।गएराति सम्पन्न दोस्रो लेगका खेलपछि सेनेगल, घाना, क्यामरून, मोरक्को र ट्युनिशिया विश्वकपमा छनौट हुन सफल भएका हुन्।

पहिलो लेगमा १–० ले पछि परेको सेनेगलले दोस्रो लेगमा इजिप्टलाई १–० कै अन्तरले हराएपछि खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो।पहिलो लेगमा सेनेगलका सालेउ सीसले खेलको चौथो मिनेटमा आत्मघाती गोल गरेका थिए भने दोस्रो लेगको चौथो मिनेटमै इजिप्टका हाम्दी फाथीले  आत्मघाती गोल गर्दै खेललाई बराबरीमा पुर्‍याइदिएका थिए।ट्राइबेकरमा इजिप्टका स्टार खेलाडी मोहमद सलाह गोल गर्न असफल रहँदा सेनेगलका स्टार खेलाडी साडियो मानेले निर्णायक गोल गरेका थिए।

तनावपूर्ण खेलपछि इजिप्टको फुटबल एशोसिएसनले आफ्नो टोलीमाथि जातिवादी÷नश्लभेदी टिप्पणी गरिएको, खेलका लागि रंगशाला आउँदै गर्दा राजधानी डकारमा र वार्मअपका क्रममा समेत ढुंगा र पानीको बोतल प्रहार गरिएको र खेलका क्रममा पनि आफ्नो स्टार खेलाडी मोहमद सलाहलाई ‘टार्गेट’ गरिएको आरोप लगाएको छ।पेनाल्टी हान्ने बेलामा समेत सलाहमाथि लगातार रूपमा लेजर–विमको आक्रमण गरिएको इजिप्टको आरोपको फिफाले छानबिन गर्ने भएको छ।

अफ्रिकन छनौटका अन्य खेलहरूमा नाइजेरिया र घाना बिचको खेल एक–एक गोलको बराबरीमा समाप्त भए पनि ‘अवे गोल’ का आधारमा घाना विश्वकपमा छनौट भएको हो।अल्जेरिया विरुद्ध पहिलो लेग १–० गुमाए पनि क्यामरूनले दोस्रो लेगमा २–१ को पुनरागमन जित रच्दै ‘अवे गोल’ कै आधारमा विश्वकपको यात्रा तय गर्‍यो।मोरक्कोले कंगोलाई ४–१ ले हराउँदै समग्रमा ५–२ को जितसहित कतारको यात्रा पक्का गर्दा मालीलाई ट्युनिसिया विरुद्ध पहिलो लेगमा हात पारेको १–० को जित नै पर्याप्त रह्यो।

 

क्यानडा ३६ वर्षपछि विश्वकपमा

परम्परागत रूपमा बलियो मानिएका अमेरिका, मेक्सिको र कोस्टारिका जस्ता राष्ट्रलाई पछि पार्दै क्यानडा नर्थ अमेरिकन जोनबाट विश्वकपमा छनौट हुने पहिलो राष्ट्र बन्न सफल भएको छ।२७ मार्चमा जमैका माथि ४–० को प्रभावशाली जित हात पार्दै क्यानडाले ३६ वर्षपछि पहिलोपटक विश्वकपको अन्तिम चरणमा प्रवेश गर्न सफलता पाएको हो।

आठ राष्ट्र सम्मिलित छनौटको तेह्रौँ चरण पार गर्दा क्यानडा २८ अंक सहित शीर्षस्थानमा छ भने समान २५ अंक भए पनि गोलअन्तरका आधारमा अमेरिका दोस्रो र मेक्सिको तेस्रो स्थानमा छ।२२ अंक सहित कोस्टारिका चौथो स्थानमा छ।अब छनौट चरणको एक–एक खेल मात्र बाँकी रहेको अवस्थामा यो क्षेत्रबाट विश्वकपका लागि अमेरिका र मेक्सिको सोझै छनौट हुने सम्भावना धेरै छ।चौथो स्थानको टोलीले महादेशीय प्लेअफमा भाग्य परीक्षण गर्ने एक अवसर पाउनेछन्।

 

विश्वकपका लागि २७ टिम छनौट

अहिलेसम्म छनौट चरण पार गर्दै २७ देशले विश्वकपको यात्रा पक्का गरिसकेका छन्। दक्षिण कोरिया र इरान पछि गत हप्ता जापान र साउदी अरेबियाले पनि विश्वकप छनौट चरण पार गर्दा ब्राजिल र अर्जेन्टिनापछि इक्वेडर र उरुग्वे विश्वकप खेल्ने तेस्रो र चौथो दक्षिण अमेरिकी राष्ट्र बन्न पुगेका छन् ।

ओशियाना क्षेत्रबाट एउटा टोली मात्र विश्वकपमा छनौट हुनेछ।यो क्षेत्रअन्तर्गत न्युजिल्याण्ड र सोलोमन आइल्याण्ड बिच आज राति हुने खेलले विश्वकपमा विश्वकप खेल्ने २८औँ टोलीको निर्णय गर्नेछ।त्यसबाहेक दक्षिण अमेरिकाबाट दुई र अन्तरमहादेशीय प्लेअफबाट दुई गरी जम्मा चार स्थानका लागि प्रतिश्पर्धा हुन बाँकी छ ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
प्लेअफमा पोर्चुगल र पोल्याण्डलाई सफलता
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link