दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनीमा हेल्पर पदका कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत रहनुभएको छ । दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ ।
विसं २०६६ देखि अस्पतालमा करारमा कार्यरत कौशिलाले हालसम्म दर्जनौँ शव चिरफार गरिसकेको बताउनुभयो । “वर्षमा ४० देखि ५० शव आउँछन्”, उहाँले भन्नुभयोे, “कालगतिले वा कुनै घटना दुर्घटनाले युवा तथा बालबालिकाको मृत्यु हुँदा आउने शव चिरफार गर्न हुने पीडा शब्दले व्यक्त गर्न सक्दिन ।”
उहाँ चिकित्सकको आग्रहअनुसार शव चिर्ने, भिसेरा निकाल्ने र शव सिलाउने काम गर्दै आउनुभएको छ । प्रक्रियाअनुसार शव शवपरीक्षण गर्दा प्रहरी, चिकित्सक र हेल्परको शवगृहमा उपस्थिति रहन्छ । “हेल्परमा काम सुरु गरेको वर्षदिन जति काम हेर्दै सिकेँ,” उहाँले भन्नुभयो, “बाँकी डेढ दशकयता शव चिर्न आफैँ सक्रिय छु ।”
विसं २०२२ मा दोधारा चाँदनीमा बसोबास गर्दै आएका कौशिलाका पति कृष्णप्रसाद शर्मा गाउँमा सामान्य ठेला व्यापार गर्नुहुन्छ । “शवको काममा लाग्दा सुरुमा केही दिन खाना खाने मनसमेत लाग्थेन”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमका अरू अस्पतालमा महिला शवको काममा लागेको मलाई जानकारी छैन । ”
केही समयअघि नगरपालिकाले उहाँलाई एक कार्यक्रमबीच पुरस्कृत गरेको थियो । प्राथमिक तहको अध्ययन मात्रै गरेकी कौशिला शवगृहको काममा भने दख्खल कर्मचारी मानिनुहुन्छ । “पहिले गोरु गाडामा शव आउने र गाडामै राखेर शवपरीक्षणको काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “सात वर्षदेखि पोष्टमार्टम घर बनेकाले सहज भयो ।” जागिर सुरु गर्दा रु दुई हजार पाँच सय मासिक तलबमा काम गरेको बताउने उहाँको हालको तलब रु १९ हजार छ ।
लामो समय शवगृहमा काम गरेको अनुभव बटुलेकी कौशिलालाई घर परिवारले विश्राम लिन भने पनि अस्पतालमा उक्त काम गर्ने कर्मचारीको अभावले छाड्न नसकेको उहाँको भनाइ छ । शवपरीक्षणपछि प्रतिशवको रु पाँच सय भत्ता आउने गरेको सुने पनि आफूले भने अहिलेसम्म नपाएको उहाँको दुखेसो छ । उहाँले शवपरीक्षणको काम पनि एक प्रकारको समाज सेवाका रुपमा आफूले लिने गरेको बताउनुभयो । “जन्मपछिको मृत्यु सत्य हो”, उहाँले भन्नुभयो, “मृत शरीर अस्पतालमा आउँदा त्यसको व्यवस्थापन र प्रक्रियागत काम सक्नु मेरो जिम्मेवारी हो ।”
दोधारा चाँदनी अस्पतालका प्रमुख डा जयानन्दनप्रसाद साह चिकित्सकले दिएको काम हेल्पर कौशिलाले सहज रुपमा गर्ने गरेको बताउनुभयो । “कागजात सङ्कलनदेखि शव चिरफारसम्मको काममा उहाँ सक्रिय हुनुहुन्छ”, डा साहले भन्नुभयो, “महिलालाई शवको चिरफारको काममा देखेर म पनि सुरुमा चकित परे ।” उहाँले शव देखेर डराउने समाजमा महिला भएर पनि हिम्मतका साथ सडेगलेको अवस्थामा आएका शव पनि परीक्षणमा सहज रुपले उहाँ खटिने गरेको बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चितवनबाट देखिएको गणेश हिमाल
- नेपालमा होटल क्षेत्रमा मात्रै साढे पाँच खर्ब स्थायी लगानी
- सन् २०२४ – साढे ११ लाख पर्यटक नेपाल भित्रिए
- झापाको टिमाई झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य
- अमेरिकाको न्यू अर्लिन्सको घटनामा मर्नेको संख्या १५ पुग्यो –
- सन् २०२५ को स्वागतमा विश्वभर गरिएका आतिशबाजीका केहि झलकहरु
- सन् २०२५ को सुरुवात
- ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
- खेर गएको पातपतिङ्गरबाट गाउँपालिकाले जैविक मल उत्पादन गर्दै
- मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु