इंग्लिस प्रिमियर लिगको उपाधि होड उत्कर्षमा

प्रिमियर लिग उपाधिका लागि दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल बिच चलिरहेको प्रतिश्पर्धा उत्कर्षमा छ।प्रिमियर लिगमा ३० राउण्डको खेलको समाप्तीमा सिटी ७३ अंक सहित पहिलो स्थानमा छ भने मात्र १ कम अंक सहित लिभरपुल दोस्रो स्थानमा छ।उपाधिको दौडमा अन्य कुनै क्लब यी दुई टोलीको आसपाससम्म देखापरेका छैनन् र त्यसको कुनै सम्भावना पनि छैन।२०१७–१८ को सिजनपछि प्रिमियर लिगमा कसैको वर्चश्व छ त केबल यी दुई टोलीको मात्र छ।

ब्यस्त तालिकाका बिच यी दुई टोली आगामी आइतवार प्रिमियर लिगको खेलमा आपसमा भिड्दैछन्।लिग उपाधिसम्म पुग्न अझ लामै यात्रा पार गर्नुपर्ने भए पनि उपाधि जित्नका लागि सो खेल निर्णायक साबित हुनसक्ने कुरामा भने दुवै टोलीका प्रशिक्षकलाई कुनै द्वविधा छैन।

अप्रिल १० मा लिभरपुलले सिटीको होम ग्राउण्ड इत्तेहाद स्टेडियममा गएर खेल्दैछ।घरेलू मैदानमा खेल्दा केही फाइदा पुग्नसक्ने भए पनि लिभरपुलजस्तो प्रतिद्वन्द्विका अगाडि त्यस्ता तर्कहरूले कुनै अर्थ नराख्ने सिटीका कोच पेप ग्वार्डिओलाको स्पष्ट धारणा छ।

ग्वार्डिओलाको टोली आइतबार जसरी पनि लिभरपुलविरुद्ध जित्ने, नसके कम्तीमा पनि उसलाई बराबरीमा रोक्न बलियो रणनीति बनाएर मैदान प्रवेश गर्नेछ।लिभरपुलविरुद्धको खेल जितिहाले पनि बाँकी सातैवटा खेल जित्नसके मात्र प्रिमियर लिगको उपाधि सिटीको हुन सक्छ भनेर ग्वार्डिओलाले बारम्बार आफ्ना खेलाडीलाई भनेका छन्।

यता लिभरपुलको लक्ष्य त्यो खेलमा जसरी पनि ३ अंक हात पार्नु रहेको प्रशिक्षक क्लोपले स्पष्ट पारेका छन्।प्रिमियर लिग जित्ने हो भने सिटिलाई हराउनुको विकल्प नरहेको क्लोपले आफ्ना खेलाडीलाई बताएका छन्।यी दुई टोली बिचको सिजनको पहिलो खेल २–२ गोलको बराबरीमा समाप्त भएको थियो।

यो खेल अघि दुवै टोलीले मंगलवार राति च्याम्पियन्स लिगको क्वार्टरफाइनल अन्तर्गत आ–आफ्नो खेल खेल्दैछन्।पहिलो लेगको खेलमा लिभरपुलले बेनफिका भ्रमण गर्नेछ भने सिटीले एट्लेटिकोको सामना गर्नेछ।दोस्रो लेगका खेलहरू अप्रिल १४ मा हुनेछन्।

त्यसको दुई दिनपछि अप्रिल १६ मा लण्डनको वेम्बले स्टेडियममा यी दुई टोली फेरि एकपटक आमने–सामने हुनेछन्, एफए कपको सेमिफाइनल खेल्नका लागि।

छोटो समयमा लगातार रूपमा महत्वपूर्ण खेलहरू खेल्नुपर्ने हुनाले यी दुवै टिमलाई खेलाडी संयोजन गर्ने कुरामा समस्या पर्न सक्छ।तर प्रिमियर लिगको सो खेलमा दुवै टोलीले आफ्ना उत्कृष्ट खेलाडीहरू नै मैदानमा उतार्ने विश्लेषण गरिएको छ।

दुवै टोलीले यो सिजन प्रिमियर लिगमा र अन्य प्रतियोगिताहरूमा समेत गरेको प्रदर्शनलाई हेर्ने हो भने आइतवारको खेलमा कसले बाजी मार्ला भन्ने अनुमान गर्न गाह्रो हुन्छ।दुवै टोली अहिले उत्कृष्ट लयमा छन्।

प्रिमियर लिगको शीर्ष गोलकर्तामा लिभरपुलका मोहमद सलाह २० गोलसहित अग्रस्थानमा, १४ गोलसहित डिएगो जोटा दोस्रो स्थानमा र १२ गोलसहित साडियो माने तेस्रो स्थानमा छन्।त्यस्तै जारी सिजनमा धेरै असिस्ट प्रदान गर्ने खेलाडीको शीर्ष तीन स्थानमा पनि लिभरपुलकै खेलाडीको वर्चश्व छ।

जारी सिजन प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने क्लब पनि लिभरपुल नै हो।उसले ३० खेलमा ७७ गोल गरिसकेको छ भने सिटी ७० गोल गर्न सफल भएको छ।गोलअन्तरमा पनि सिटीभन्दा लिभरपुल केही अगाडि छ।त्यसैले लिभरपुलले सिटीलाई कडा चुनौति दिने अनुमान गर्न गाह्रो छैन।

यता साविक विजेता म्यानचेस्टर सिटी पछिल्लो पाँच वर्षमा चौथोपटक प्रिमियर लिगको उपाधि आफ्नो नाम गराउने धूनमा छ र त्यसका लागि पेप ग्वार्डिओलाको टोली पूर्ण रूपमा सक्षम पनि छ।अवुधावीको शाही परिवारको लगानी रहेको क्लबमा पैसाको कुनै दुःख नभएका कारण क्लबले एक–से–एक खेलाडी भित्र्याएर जम्मा पारेर राखेको छ।यो प्रिमियर लिगमा मात्र सिटीका १६ फरक–फरक खेलाडीले गोल गरिसकेका छन्।

सिटीविरुद्ध लिभरपुलका मोहमद सलाह, साडियो माने, गोलकिपर एलिसन बेकर अनि डिफेन्डर भर्जिल भान डाइकको खेल महत्वपूर्ण हुनसक्नेछ।त्यस्तै सिटीको ड्रेसिङरुम केभिन डिर्बुएना, रहिम स्टर्लिंङ, रियाद महरेज, फिल फोडेन, बर्नार्डो सिल्भा, ग्राबियल जिसस, इके गुन्डोगान, ज्याक ग्रिलिश, इडेरसन आदि थुप्रै स्टार खेलाडीहरूले भरिएको छ जसले कुनै पनि बेला गोल गरेर खेलको नतिजा नै बदल्न सक्ने क्षमता राख्छन्।

सिटी र लिभरपुल बिचको लिग उपाधिका लागि निर्णायक बन्न सक्ने यो खेल निकै रोमाञ्चक हुने विश्वास गरिएको छ।प्रिमियर लिगको यो सिजनको सबैभन्दा महत्वपूर्ण खेलमा सबैको नजर रहनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
इंग्लिस प्रिमियर लिगको उपाधि होड उत्कर्षमा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link