लोकप्रिय खेल क्रिकेट बारे १० रोचक तथ्यहरू

के तपाईँलाई थाहा छ, अहिले पाँच दिने फर्म्याटमा खेलिने टेष्ट क्रिकेट सन् १९७० भन्दा अगाडिसम्म ६ दिनको हुने गर्दथ्यो।सन् १९८३ को विश्वकपसम्म एकदिवशीय खेलको इनिङ ६०६० ओभरको हुन्थ्यो।त्यस्तै ८०को दशकको उत्तरार्धसम्म पनि एक ओभरमा ६ होइन ८ बल फ्याँकिन्थ्यो ।

श्रीलंकाका मार्वन अट्टापटु वानडे क्रिकेटमा सबैभन्दा बढीपटक रनआउन हुने खेलाडी हुन्।उनी २५७ वान डे इनिङमा ४१ पटक रनआउट भएका छन्।त्यस्तै वानडे इतिहासमा सबैभन्दा धेरै ‘डक आउट’ हुने क्रिकेटरको किर्तिमान पनि श्रीलंकाली खेलाडीकै नाममा छ।सनथ जयसूर्याले श्रीलंकाका लागि खेलेको ४४५ म्याचमा जयसूर्याले ३८ पटक रनको खाता नै खोल्न सकेका थिएनन् जुन एउटा किर्तिमान नै हो।

यो लेखमा हामीले क्रिकेट खेलसँग सम्बन्धित यस्तैयस्तै १० रोचक तथ्यहरू प्रस्तुत गरेका छौँ।

१. क्रिकेट खेलको विकास सोह्रौँ शताब्दीको अन्त्यतिरै दक्षिणपूर्वी बेलायतमा भएको मानिँदै आएको छ।दुई देशका बिच अनौपचारिक रूपमा खेलिएको पहिलो खेल भने सन् १८४४ मा अमेरिका र क्यानडाबिच अमेरिकाको सेन्ट जर्ज क्रिकेट क्लबको मैदानमा खेलिएको खेललाई मानिन्छ।टेस्ट क्रिकेटको पहिलो आधिकारिक खेल सन् १८७७ मा इंग्ल्याण्ड र अष्ट्रलियाका बिच मेलवर्न क्रिकेट ग्राउण्ड (एमसीजी) मा खेलिएको थियो।त्यसयता अहिलेसम्मको अवधिमा १३ राष्ट्रले २ हजारभन्दा बढी टेष्ट म्याच खेलिसकेका छन्।

२) अष्ट्रेलियाका सर डन ब्राडम्यामलाई टेष्ट क्रिकेटको सर्वकालीन महान खेलाडी मानिन्छ।ब्राडम्यानले आफ्नो टेस्ट क्रिकेट क्यारिअरमा ८० खेल खेल्दै ९९.९४ को औसतमा ६६९६ रन बनाएका थिए।यसक्रममा उनले २९ शतक बनाएका थिए जसमा १२ दोहोरो शतक र तीन तेहेरो शतक समावेश छन्।

सर डन ब्राडम्यानले आफ्नो लामो खेलजीवनमा टेस्ट क्रिकेट र पहिलो तथा दोस्रो श्रेणी गरी ६६९ खेल खेल्दै ९० भन्दा माथिको औसतमा २११ शतक सहित ५० हजार भन्दा बढी रन बनाएको विकिपिडियामा उल्लेख छ।

३) टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने किर्तिमान भने भारतका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा छ।उनले २०० खेलको ३२९ इनिङमा ४९ शतक सहित १८४२६ रन बनाएका छन्।४३६ एकदिवशीय खेलमा ५१ शतक समेत बनाएका तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक बनाउने संसारका एकमात्र ब्याट्सम्यान पनि हुन्।

४) टेस्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक रन बनाउने किर्तिमान वेष्टइन्डिजका ब्रायन लाराको नाममा छ।२००३÷०४ को सिजनमा उनले इंग्ल्याण्डविरुद्ध अविजित ४०० रन बनाउँदै उच्च व्यक्तिगत रनका साथै एकै इनिङमा ४ सय रनको आँकडालाई छुने दुर्लभ किर्तिमान कायम गराएका थिए।सन् १९९३÷९४ मा उनले इंग्ल्याण्डविरुद्ध बनाएको ३७५ रनको किर्तिमान १० वर्षपछि अष्ट्रेलियाका म्याथ्यु हेडेनले ३८० रन बनाउँदै तोडेका थिए जसलाई एक वर्ष बित्न नपाउँदै लाराले पुनः आफ्नो नाम गराएका थिए।

५) टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी श्रीलंकाका मुथैया मुरलीधरण हुन्।उनले १३३ म्याचमा २२.७२ को औसतमा ८०० विकेट आफ्नो नाम गराएका छन्।दोस्रो नम्बरमा अष्ट्रेलियाका लेग स्पीनर शेन वार्न छन् जसले १४५ खेलमा २५.४१ को औसतमा ७०८ विकेट लिन सफल भएका थिए।तेस्रो नम्वरमा १६९ म्याचमा ६४० विकेट लिएका इंग्ल्याण्डका जेम्स एण्डरसन पर्दछन्।

६) अहिलेसम्म केवल तीन खेलाडी टेस्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिन सफल भएका छन्।अष्ट्रेलियाका जिम लेकरले इंग्ल्याण्डविरुद्ध १९५६ मा, भारतका अनिल कुम्बलेले १९८८÷८९ मा पाकिस्तान विरुद्ध र न्युजिल्याण्डका इजाज पटेलले २०२१ मा भारतविरुद्ध एक इनिङका सबै विकेट आफ्नो नाम गराएका थिए।

एउटै म्याचमा धेरै विकेट लिने खेलाडीमा पनि अष्ट्रेलियाका जिम लेकरकै नाउँ आउँछ।उनले म्याचको पहिलो इनिङमा ९ विकेट गरी एकै खेलमा १९ विकेटको किर्तिमान कायम गरेका थिए जसलाई ६५ वर्षभन्दा लामो अवधिमा पनि कसैले तोड्न सकेको छैन।

७) एकदिवशीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा पनि सचिन तेन्दुलकरकै नाम पहिलो नम्बरमा आउँछ।उनले ४५२ इनिङमा ५१ शतकसहित १८४२६ बनाउन सफल भएका थिए।४०४ इनिङमा १४२३४ रन बनाएका श्रीलंकाका कुमार संगकारा दोस्रो नम्वरमा पर्छन्।

एकदिवशीय म्याचमा उच्च व्यक्तिगत स्कोरको रेकर्ड भने भारतका रोहित शर्माको नाममा छ।उनले २०१४ मा श्रीलंका विरुद्ध २६४ रनको पारी खेलेका थिए जुन एकदिवशीय खेलको उच्च व्यक्तिगत स्कोर हो।एकदिवशीय म्याचमा उनले तीनवटा दोहोरो शतक बनाइसकेका छन्।अहिलेसम्म उनीबाहेक अन्य पाँच खेलाडीले पनि वानडेमा दोहोरो शतक प्रहार गरेका छन्।२०१५ मा न्यूजिल्याण्डका मार्टिन गप्टीलले वेष्टइन्डिज विरुद्ध २३७, विरेन्द्र सेहवागले २०११ मा वेष्टइन्डिज विरुद्ध २१७, क्रिस गेलले २०१५ मा जिम्बाब्वे विरुद्ध २१५, २०१८ मा पाकिस्तानका फखर जमानले जिम्बाब्वेविरुद्ध २१० र २०१० मा सचिन तेन्दुलकरले दक्षिण अफ्रिका विरुद्ध २०० रन बनाउन सफल भएका थिए।

८) अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने किर्तिमान वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको नाममा छ।उनले वानडे, टेष्ट र टी२० क्रिकेटमा गरेर ५५३ छक्का प्रहार गरेको रेकर्ड छ।त्यस्तै दोस्रो नम्बरमा ४७६ छक्का सहित पाकिस्तानका शाहिद अफ्रिदी र ४६१ छक्का सहित भारतका रोहित शर्मा तेस्रो नम्बर आउँछन्।

वानडे क्रिकेटमा सबैभन्दा धेरै छक्काको किर्तिमान भने शाहिद अफ्रिदीको नाममा छ।उनले ३९८ वानडे इनिङमा ३५१ छक्का प्रहार गरेका थिए।

९) वानडे म्याचमा सबैभन्दा ठूलो स्कोर बनाउने रेकर्ड इंग्ल्याण्डको नाममा छ।उसले १९ जून २०१८ का दिन अष्ट्रेलियाविरुद्ध ५० ओभरमा ४८१ रन बनाएर यो किर्तिमान राखेको थियो।

एउटै खेलको दुई इनिङमा बनेको धेरै रनको किर्तिमान २००६ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको खेलमा बनेको थियो जहाँ दुई टोलीले गरेर कुल ८७२ रन बनाएका थिए।अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै बनाएको ४३४ रनलाई पिछा गरेको दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ४३८ रन बनाउन सफल भएको थियो।यो खेललाई इतिहासकै रोमाञ्चक वान डे म्याच समेत घोषणा गरिएको थियो।

एक दिवशीय क्रिकेटमा सबैभन्दा कम योगफलमा अलआउट हुने खराव किर्तिमान जिम्बाब्वेको नाउँमा छ।२००४ मा श्रीलंकाविरुद्ध १८ ओभर खेल्दै ज्म्बिाब्वे केबल ३५ रनमा अलआउट भएको थियो।

१०) सन् १९९७ मा भारतविरुद्ध कोलम्बोमा खेलिएको टेस्ट म्याचको पहिलो इनिङमा श्रीलंकाले ९५२ रन बनाएको थियो।टेस्ट क्रिकेटको एकै इनिङमा बनेको यो सबैभन्दा उच्च योगफल हो।एउटा टेस्ट इनिङमा ९०० रनको आँकडा पार गर्ने अर्को एकमात्र टोली इंग्ल्याण्ड हो।इंग्ल्याण्डले सन् १९३८ मा अष्ट्रेलियाविरुद्ध खेलिएको टेस्टको पहिलो इनिङमा ९०२ रनको योगफल खडा गरेका थिए।

टेस्ट म्याचमा सबैभन्दा कम स्कोरमा अलआउट हुने किर्तिमान न्युजिल्याण्डको नाममा छ।सन् १९५५ मा इंग्ल्याण्डविरुद्ध खेलिएको खेलमा न्युजिल्याण्ड केवल २८ रनमा अलआउट भएको थियो।

टी२० क्रिकेटमा सबैभन्दा ठूलो योगफल तयार पार्ने रेकर्ड अफगानिस्तानको नाममा छ।अफगानिस्तानले २०१९ मा आयरल्याण्डविरुद्ध २० ओभरमा ३ विकेटको क्षतिमा २७८ रन बनाउँदै त्यो किर्तिमान कायम गरेको थियो।२०१९ मा नै चेक रिपब्लिक विरुद्धको खेलमा टर्की केबल २१ रनमा अलआउट भएको थियो जुन टी२० इन्टरनेशनलको अहिलेसम्मको कम स्कोर हो।४ विकेटको नोक्सानीमा २७८ नै बनाएको चेक रिपब्लिकले टर्कीविरुद्ध हात पारेको २५७ रनको जीत टी२० इतिहासकै सबैभन्दा फराकिलो अन्तरको विजय हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
लोकप्रिय खेल क्रिकेट बारे १० रोचक तथ्यहरू
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link