‘म्यानचेष्टर युनाइटेड विरुद्ध लिभरपुलको खेल’

इंग्लिश प्रिमियर लिगअन्तर्गत गत आइतबार सम्पन्न म्यानचेस्टर युनाइटेड र लिभरपुल बीचको खेल अहिले चर्चामा छ।त्यो चर्चाका पछाडि केही सुखद पक्ष छन् त केही दुःखद।एकातिर त्यो खेल भावना र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण बन्न पुगेको छ भने अर्कोतिर त्यही खेलले खेलभावना माथि ठूलो आघात पुर्‍याएको छ।

लिभरपुलको गृहमैदान एनफिल्डमा खेलिएको सो खेलमा घरेलु टोलीले म्यानचेष्टर युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको थियो।अघिल्लो खेलमा बर्नलीविरुद्ध ह्याट्रिक गरेका म्यानचेष्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो लिभरपुलविरुद्धको खेलमा अनुपस्थित थिए।

त्यस खेलको ठीक अघिल्लो दिन रोनाल्डोको नवजात शिशुको दुःखद निधन भएका कारण उनी आफ्नो परिवारको साथमा थिए।उनकी पत्नीले जन्म दिएका जुम्ल्याहा सन्तानमध्ये छोराको जन्मने बित्तिकै निधन भएको र छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सो खेलको सातौँ मिनेटमा एनफिल्डको भरिभराउ रंगशालामा उपस्थित दर्शकहरूले एक मिनेटसम्म ताली बजाउँदै पुत्रशोकमा परेका रोनाल्डो र उनको परिवारप्रति एक्येवद्धता दर्शाएका थिए।त्यो दृश्यलाई संसारभरका सञ्चार माध्यमहरूले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेका थिए।खेलको नतिजा जसको पक्षमा गए पनि खेलभावनाको जीत भएको भन्दै यो घटनाको दुनियाँभर प्रशंसा भएको थियो।

खेलपछि क्रिस्टियानो रोनाल्डोले आफ्नो इन्स्टाग्राममा लिभरपुलका समर्थकहरूले आफू र आफ्नो परिवारप्रति दर्शाएको त्यो सद्भावको भिडियो समेत पोष्ट गरेर सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।’लिभरपुल समर्थकहरूले म र मेरो परिवारप्रति दर्शाएको सद्भाव र समर्थनलाई म कहिल्यै बिर्सने छैन’, रोनाल्डोले भिडियोसँगै लेखेका थिए।

म्यानचेष्टर युनाइटेड लिभरपुलको हातबाट पराजित भएको भोलिपल्ट म्यानचेष्टरका क्याप्टेन ह्यारी मग्वेरलाई ज्यान मार्ने धम्की प्राप्त भएको समाचार बाहिरिएपछि पुनः त्यही खेल चर्चामा आएको छ।मग्वेरलाई इमेलमार्फत उनको घरमा बम प्रहार गरिदिने धम्की प्राप्त भएको थियो।

प्रहरीलाई यो घटनाको सूचना दिएपछि मग्वेरको चेशायरको विल्मस्लोस्थित निवासमा तालिमप्राप्त कुकुरसमेत परिचालित गरी खोजतलाश गरिएको थियो।तर उनको घरबाट त्यस्तो शंकास्पद वस्तुहरू केही फेला नपरेको प्रहरीले बताएको छ।

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको प्रदर्शन खासै सन्तोषजनक हुन सकेको छैन।लिगको शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य लिएको म्यानचेष्टरलाई त्यो लक्ष्य हासिल गर्न पनि गाह्रो हुने देखिएको छ।त्यसमाथि टिमका क्याप्टेन मग्वेरको प्रदर्शनलाई लिएर केही समययता टोलीका समर्थकहरूले नै उनको आलोचना गरिरहेका थिए।लिभरपुलसँगको हारले म्यानचेष्टरको च्याम्पियन्स लिगमा छनोट हुने अभियानमा ठूलो धक्का लागेपछि मग्वेरलाई यस्तो धम्की प्राप्त भएको हो।

लिभरपुलसँग पराजित भएलगत्तै म्यानचेस्टर युनाइटेडले टिमको जिम्मेवारी डच क्लब अयाक्सका म्यानेजर एरिक टेन ह्यागलाई दिइएको घोषणा गरेको छ।यो सिजनको अन्त्यसम्म राल्फ राङ्गनिकले नै टोलीलाई सम्हाल्ने क्लबले बताएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
‘म्यानचेष्टर युनाइटेड विरुद्ध लिभरपुलको खेल’
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link