अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिबिसीविरुद्ध १ अर्बदेखि ५ अर्ब डलरसम्मको मानहानिको मुद्दा दायर गर्ने घोषणा गरेका छन्। तर यो मिडियासँगको उनको पहिलो कानुनी भिडन्त होइन।
बिबिसीले प्रसारण गरेको प्यानोरोमा वृत्तचित्रमा ट्रम्पको सन् २०२१ को भाषणलाई गरिएको सम्पादनप्रति ट्रम्प असन्तुष्ट छन्। उनका कानुनी सल्लाहकारहरूले बिबिसीले “झुटो, बदनाम गर्ने, अपमानजनक र उत्तेजना” अभिव्यक्ति प्रयोग गरेको दाबी गरेका छन्।
यस घटनापछि बिबिसीका अध्यक्ष समिर शाहले “गलत निर्णय” भएको भन्दै माफी मागेका छन्, जबकि महानिर्देशक टिम डेभी र बिबिसीकी कार्यकारी प्रमुख देबोराह टर्नेस दुवैले पदत्याग गरेका छन्।
तर ट्रम्पले माफी पर्याप्त नभएको बताउँदै, बिबिसीलाई अदालतसम्म लैजाने “कर्तव्य” महसुस गरेको बताएका छन्।
ट्रम्पको मुद्दामा कानुनी आधार छ?
मिडिया कानुन विशेषज्ञ जर्ज फ्रीमनका अनुसार ट्रम्पलाई नोक्सानी प्रमाणित गर्न निकै कठिन पर्न सक्छ। उनले भने, “ट्रम्पले मागेका तीन मध्ये दुई कुरा त पाएको मानिन्छ—बिबिसीले खराब सम्पादन स्वीकार गर्यो, कार्यक्रमसमेत हटाइएको छ। तेस्रो माग भने एक अर्ब डलर, जुन हास्यास्पद दाबी हो।” फ्रीमनका अनुसार ट्रम्पले यो मुद्दामा हार्ने सम्भावना बढी छ, किनकि “कार्यक्रम प्रसारित भएको केही हप्तामै ट्रम्प राष्ट्रपति चुनिए—त्यसैले वास्तविक नोक्सानी कहाँ छ?” उनका अनुसार ट्रम्पले प्रायः धम्कीपूर्ण कानुनी पत्र पठाउने गर्छन्—कहिलेकाहीँ मुद्दा हाल्छन्, कहिलेकाहीँ गर्दैनन्।
अघिल्ला कानुनी लडाइँहरू
ट्रम्प विरुद्ध सिएनएन

ट्रम्पका वकिलमध्ये एक आलेहान्द्रो ब्रितोले बीबीसीलाई पठाएको पत्र
ट्रम्पले सिएनएन विरुद्ध चार सय पचहत्तर मिलियन डलरको मानहानि मुद्दा दायर गरेका थिए। सिएनएनले ट्रम्पको २०२० चुनावबारेका दाबीहरूलाई “ठुलो झुट” भनेर उल्लेख गरेको थियो, जुन अभिव्यक्ति हिट्लरले ‘माइन केम्पफ’ मा प्रयोग गरेको थियो। तर अमेरिकी सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्दै उक्त शब्दले “ट्रम्पले यहुदीहरूमाथि नरसंहारको वकालत गर्छन्” भन्ने अर्थ नबुझिने बताए।
न्यूयोर्क टाइम्स र वाशिङटन पोस्ट
ट्रम्पको २०२० को चुनावी अभियानले यी दुई पत्रिकाविरुद्ध रुससँगको सम्बन्धबारेका विचार–लेखलाई लिएर मुद्दा दायर गरेको थियो। दुवै मुद्दा क्रमशः २०२१ र २०२३ मा खारेज भए।
हालका मुद्दाहरूमा ट्रम्पको सफलता
एबिसिसँग सम्झौता
२०२४ मा ट्रम्पले एबिसि र पत्रकार जर्ज स्टेफानोपोलोस विरुद्ध मानहानि मुद्दा दायर गरे। पत्रकारले ट्रम्पलाई “बलात्कारको दोषी” भनिएको जस्तो उल्लेख गरेका थिए, तर उनी नागरिक मुद्दामा यौन दुर्व्यवहार र मानहानिको दोषी मात्र ठहरिएका थिए। सुरुमा विशेषज्ञहरूले ट्रम्पले जित्ने विश्वास गरेनन्, तर एबिसि डीजनीले अन्ततः १५ मिलियन डलर र थप १ मिलियन डलर कानुनी खर्च तिरेर मुद्दा मिलायो।
सिबिएस सँगको ठुलो विवाद
सिबिएसले सिक्सटि मिनट्समा प्रसारण गरेको कमला हैरिसको अन्तर्वार्ता “भ्रामक तरिकाले सम्पादित” गरिएको आरोप लगाउँदै ट्रम्पले २० अर्ब डलरको क्षतिपूर्ति माग गरेका थिए। कानुनी विशेषज्ञहरूले यसलाई “राजनीतिक दबाबको खतरनाक प्रयास” भने पनि अन्ततः १६ मिलियन डलर तिरेर विवाद टुङ्ग्यायो।
मेटा सँगको सम्झौता

फेसबुक र इन्स्टाग्रामबाट निलम्बन गरिएको भन्दै ट्रम्पले दायर गरेको मुद्दा पनि अन्ततः २५ मिलियन डलरमा मिलापत्र भयो।
मर्डोक र वॉल स्ट्रिट जर्नलसँगको भिडन्त
ट्रम्पले हालै रुपर्ट मर्डोक र वाल स्ट्रिट जर्नलका मालिक डावो जोन्स विरुद्ध १० अर्ब डलरको मुद्दा दायर गरेका छन्। सन् २००३ मा वाल स्ट्रिट जर्नलले ट्रम्पले जेफ्री एप्स्टिनको जन्मदिनका लागि “अश्लील शैलीको नोट” लेखेको दाबी गरेको थियो। ट्रम्प यो नोट “नक्कली” भएको बताउँछन्, तर डावो जोन्सले आफ्ना रिपोर्टिङ प्रक्रियामा “पूर्ण विश्वास” रहेको जनाएको छ।
किन बढ्दै छन् ट्रम्पका कानुनी मुद्दाहरू?
ट्रम्पले मिडियाविरुद्ध धम्की र मुद्दा दायर गर्ने इतिहास पुरानै हो— सन् १९७९ मै उनले भिलेज भोइस का एक पत्रकारलाई मुद्दा हाल्ने धम्की दिएका थिए, सन् १९८४ मा सिकागो ट्रीब्युन विरुद्ध मुद्दा दायर गरेका थिए, जुन अन्ततः “विचार/मत” भएको भन्दै खारेज भयो। तर पछिल्ला वर्षमा मुद्दा दायर गर्ने दर क्षतिपूर्ति माग्ने रकम दुवै बढेका छन्।
मिडिया विश्लेषक पल फार्हीका अनुसार, “राष्ट्रपति भएपछि ट्रम्पको प्रभाव अत्यधिक बढेको छ। डीजनी, मेटा, प्यारामाउन्ट जस्ता कम्पनीहरूले चुनावपछि सम्झौता गर्नुलाई संयोग मात्र मान्न सकिन्न।”
ट्रम्पका मिडियाविरुद्धका कानुनी लडाइँहरू पुरानै हुन्, तर पछिल्ला वर्षमा यी मुद्दाहरू ठुलो राजनीतिक रणनीतिमा परिवर्तित भएका देखिन्छन्। बिबिसीविरुद्धको नयाँ मुद्दा पनि त्यही लहरकै अर्को कडी हो—ट्रम्पले यसलाई कति टाढासम्म लैजाने छन् भन्नेचाहिँ अझै स्पष्ट छैन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- भेनेजुएला कसले चलाउने र अब के हुन्छ?
- अमेरिकाले मदुरोलाई न्यु योर्क ल्यायो : ट्रम्प भन्छन्, ‘अमेरिकाले भेनेजुएला चलाउनेछ’
- अमेरिकाको भेनेजुएलामाथि आक्रमण : मदुरो पक्राउ, विभिन्न देशहरू बाट मिश्रित प्रतिक्रिया
- इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्छ : ट्रम्पको चेतावनी
- जापानलाई उछिन्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र
- स्विजरल्यान्डको स्की रिसोर्ट बारमा आगलागी: ४० जनाको मृत्यु, ११५ घाइते
- डिजिटल युगले डेनमार्कको हुलाक सेवालाई ऐतिहासिक अन्त्य
- ट्रम्प र नेतन्याहुबिच फ्लोरिडाको मार-ए-लागोमा भेट, मध्यपूर्व मुद्दामा छलफल
- टेक अर्बपतिहरू र युरोपमा बढिरहेको चरम दक्षिणपन्थको सम्बन्ध
- ट्रम्प र जेलेन्स्कीबिच फ्लोरिडामा भेटवार्ता : युक्रेन–रुस शान्ति प्रक्रियामा प्रगति तर केहि मुद्दा बाँकी