अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल र युगान्डाबीच धेरै समानता छन्।दुवै टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खरै बामे सरिरहेको टोली मान्न सकिन्छ।युगान्डाको महिला टोलीले सन् २००६ मा र नेपालले २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दापण गरेका थिए।सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आफ्ना सबै सदस्य राष्ट्रको महिला टोलीलाई अन्तर्राष्ट्रिय टी–२० को मान्यता प्रदान गरेपछि मात्र अन्तर्राष्ट्रियस्तरमा दुवै टोलीको यात्रा अगाडि बढेको हो।यद्यपि पछिल्ला वर्षहरूमा युगान्डाको तुलनामा नेपाली महिला क्रिकेट टोलीले धेरै प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पाएको तथ्यांकहरूले देखाउँछ।आइसीसीको पछिल्लो टी–२० वरियताक्रम अनुसार नेपाली महिला टोली १६औँ स्थानमा छ भने युगाण्डा १९ औँ स्थानमा ।
कागजी रूपमा केही बलियो देखिएको नेपाली महिला टोली आफ्नो घरेलू मैदानमा खेलिएको पहिलो टी–२० क्रिकेट प्रतियोगितामा युगान्डासँग पराजित हुन पुगेको छ।पाँच खेलको श्रृंखलामा शुरूका तीन खेलको नजिता आफ्नो पक्षमा पार्दै युगान्डाको टोली ३–० ले श्रृंखला आफ्नो नाम गराउन सफल भएका थिए।बाँकी बचेका दुई खेलमा नेपालले सान्त्वना जित हात पारे पनि घरेलू भूमिमा खेलिएको पहिलो श्रृंखला हात पार्न नेपाल असफल रह्यो।
पाँच टी–२० खेलको यो श्रृंखला नेपालको तुलनामा युगान्डा महिला क्रिकेट टोलीका लागि ज्यादा फलदायी साबित भएको छ भने नेपाली टोलीका लागि यो प्रतियोगिता आफ्नो स्तर परीक्षण गर्ने एउटा अवसरमा मात्र सीमित बनेको छ।प्रतियोगिताले नेपाली महिला टोलीमा रहेका कमीकमजोरीहरू केलाउने एउटा राम्रो अवसर प्रदान गरेको कुरालाई भने नकार्न सकिन्न।
मे १६ मा खेलिएको पहिलो खेलमै नेपाली टोलीको कमजोरी सतहमा आएको थियो।पहिले ब्याटिङ गर्दै युगान्डाले ५ विकेटको क्षतिमा १०२ रन बनाएको थियो।जवाफमा नेपाल पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा केबल ९० रन मात्र बनाउँदै १२ रनले पराजित भएको थियो।पहिलो खेलमा नेपाली बलरहरूको प्रदर्शन औसत भए पनि ब्याटिङमा धेरै कमीकमजोरीहरू देखिएका थिए।खेलाडीहरूका बिच आवश्यक तालमेलको अभावमा शुरूवाती तीन खेलाडी रनआउट हुन पुगेका थिए।नेपाली खेलाडीहरूको ‘रनिङ बिटविन दी विकेट’ दयनीय देखिएको थियो भने खेलाडीहरूको ‘फिटनेस लेबल’ पनि औसतभन्दा कम मान्न सकिन्थ्यो।सो खेलमा इन्दु बर्माले बनाएको १६ रन नेपाली खेलाडीको तर्फबाट बनेको सबैभन्दा ठूलो स्कोर थियो।
मे १७ मा खेलिएको सिरिजको दोस्रो खेलमा नेपाल १ विकेटको झिनो अन्तरले पराजित हुन पुग्यो।पहिले ब्याटिङ गर्दै नेपालले ७ विकेटको नोक्सानीमा १०१ रन मात्र बनाउन सक्यो भने युगान्डाले १०२ रनको लक्ष्य अन्तिम ओभरको पाँचौँ बलमा पार गर्दै श्रृंखलामा २–० को अग्रता बनायो।यो खेलमा पनि नेपाली खेलाडीहरूले त्यस्तै गल्ती दोहर्याएका थिए जुन उनीहरूले पहिलो खेलमा गरेका थिए।अनुभवी खेलाडीद्वय सीता रानामगर र कप्तान रुविना क्षेत्री तालमेलको अभावमा रनआउट हुनु नेपालका लागि दूर्भाग्य साबित भयो।यो खेलले पनि नेपाली टोलीको ब्याटिङको समस्यालाई केही हदसम्म उजागर गरेको थियो।
प्रतियोगितामा २–० ले पछाडि परेको नेपालले तेस्रो खल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने आशमा रहेका नेपाली समर्थक त्यतिखेर झनै निराश बन्न पुगेका थिए जतिखेर नेपाली टोलीले ‘गर या मर’ को स्थितिमा रहेको खेलमा नै सबैभन्दा कमजोर प्रदर्शन गर्न पुगेका थिए।मे १९ मा खेलिएको तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा केबल ९९ रन मात्र बनाउन सक्यो।युगान्डाले प्रत्युत्तरमा १८।२ ओभरमा ४ विकेट गुमाउँदै सजिलै १०० रनको लक्ष्य पूरा गर्दै श्रृंखलामा ३–० को निर्णायक अग्रता लिन सफल भयो।निर्णायक खेलमा नेपाली बलरहरूले युगाण्डामाथि कुनै किसिमको दवाब श्रृजना गर्न असफल हुनु टोलीका लागि चिन्ताको विषय बनेको छ।खेलमा नेपालकी ओपनर ज्योति पाण्डेले ४७ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन।
लगातार तीन खेलमा पराजित हुँदै श्रृंखला गुमाएको नेपालले युगान्डालाई अन्तिम दुई खेलमा क्रमश: १५ रन र ३३ रनले पराजित गर्दै हारको पीडामा केही हदसम्म मल्हम लगाउन सफल भयो।चौथो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै नेपालले सबै विकेटको क्षतिमा ९७ रन बनायो।९७ रनको इनिङमा ८ नेपाली खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।८ ओभरसम्म २ विकेटको क्षतिमा ५० रनको आँकडा पार गरेको नेपाली टोलीले नियमित अन्तरालमा बाँकी ८ विकेट गुमाउँदै १०० रन बनाउन समेत असफल भएको थियो।नेपाली बलर र फिल्डरले सन्तोषजनक प्रदर्शन गर्दै युगान्डालाई ८२ रनमा रोकेपछि नेपालले श्रृंखलामा पहिलो जीतको स्वाद चाखेको थियो।
अन्तिम तथा पाँचौँ खेलमा नेपालले पहिले ब्याटिङ गर्दै प्रतियोगिताकै उच्च योगफलका रूपमा ६ विकेटको नोक्सानीमा १२३ रन बनाउन सफल भयो।यस खेलमा पनि नेपालका चार खेलाडी रनआउटको शिकार भए।नेपालकी ओपनर ज्योति पाण्डेले शानदार ४९ रनको पारी खेल्दै पहिलो विकेटका लागि सीता रानामगरसँग ४७ रनको महत्वपूर्ण साझेदारी निभाइन्।१२४ रनको लक्ष्य पछ्याएको युगान्डाले अन्तिम खेलमा ९० रन मात्र बनाउँदै ३३ रनको हार ब्यहोरे पनि श्रृंखला ३–२ ले आफ्नो पक्षमा पार्न सफल रह्यो।
युगान्डाविरुद्धको टी–२० श्रृंखला नेपाली महिला टोलीमा रहेको कमी–कमजोरीहरूलाई केलाउने राम्रो अवसर बनेको छ।पूरा प्रतियोगितामा युगाण्डाको तुलनामा नेपाली खेलाडीहरूको ‘फिजिकल फिटनेश’ तल्लो स्तरको देखिएको थियो।प्रतियोगिताको पाँच खेलमा नेपाले गुमाएको ४० विकेट मध्ये १२ अवसरमा नेपाली खेलाडी रनआउट हुनुले पनि यो दावीलाई पुष्टी गर्दछ।
नेपाली ब्याटरमा धैर्यताका साथ क्रिजमा टिकेर खेलको अवस्थाअनुसार खेल अगाडि बढाउने क्षमतामाथि पनि प्रश्न गर्ने प्रशस्त ठाउँ देखिएको छ।पाँच खेलमा कुनै पनि खेलाडीले अर्धशतक बनाउन नसक्नु, एउटै अर्धशतकीय साझेदारी समेत हुन नसक्नु र प्राय: सबै खेलमा २ वा ३ जना खेलाडीबाहेक अन्यले दोहोरो अंकमा स्कोर गर्न नसक्नुले नेपाली टोलीको ब्याटिङमा रहेको कमजोरीतर्फ इंगित गरेको छ।
बलिङतर्फ पनि नेपालको प्रदर्शन औसतभन्दा माथि उठ्न नसकेको देखिएको छ।टोलीलाई आवश्यक परेको समयमा ‘ब्रेक थ्रू’ दिन सक्ने बलरको आवश्यकता टड्कारो देखिएको छ।प्रतियोगिताको दोस्रो खेलमा नेपाली बलरले दवाव थेग्न नसक्दा आफ्नो पक्षमा आउन लागिसकेको नतिजा पनि युगाण्डालाई सुम्पिन वाध्य हुनुपरेको थियो।प्रतियोगिताको ५ खेलमा ७ विकेट लिएकी कविता कुँवर बाहेक अन्य कुनै पनि नेपाली बलरको प्रदर्शन ‘आहा १’ भन्न सकिने स्तरको थिएन।चौथो खेलमा नेपालका लागि डेब्यू गरेकी १५ वर्षकी किशोरी हिरन्मयी रोयले त्यो अवसरको पूर्ण सदुपयोग गर्दै दुई खेलमा तीन विकेट लिनु नेपाली टोलीका लागि सुखद पक्ष रह्यो।
समग्रमा भन्नुपर्दा युगान्डा महिला टोलीको नेपाल भ्रमण नेपाली टोलीको कमी–कमजोरी केलाउने र नेपाली महिला क्रिकेटको स्तर मापन गर्ने एउटा राम्रो अवसरमात्र रह्यो भन्दा अतिशय नहोला।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
आशुतोष अधिकारी का अन्य पोस्टहरु:
- धमाधम बनिरहेको छ विश्वकपमा स्कोर र ब्याटिङ रेकर्ड
- लो स्कोरको म्याचमा अस्ट्रेलियालाई जित्यो भारतले
- दक्षिण अफ्रिकाको जीतमा कीर्तिमान नै कीर्तिमान
- नेदरल्याण्डस् विरुद्धको जीतमा पाकिस्तानको औसत प्रदर्शन
- विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुवात
- आजबाट क्रिकेटको महाकुम्भ सुरु, को हुन् जितका बलिया दाबेदार?
- नेपाली क्रिकेटको एसियाड यात्रा टुंगियो
- भारतविरुद्धको नेपालको बहादुरीपूर्ण ब्याटिङ
- परम्परागत कमजोरी: ब्याटिङले फेरि डुबायो
- एउटा महान् गोलरक्षकको बिदाइ