अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मेर्जबिच बढेको कूटनीतिक तिक्तताको असर सैन्य रणनीतिमा देखिएको छ। पेन्टागनले शुक्रबार औपचारिक घोषणा गर्दै जर्मनीमा तैनाथ अमेरिकी सेनामध्ये ५,००० सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ।
यो निर्णयलाई राष्ट्रपति ट्रम्प र चान्सलर मेर्जबीच इरानसँगको जारी युद्धलाई लिएर उत्पन्न विवादको परिणामका रूपमा हेरिएको छ। केही दिनअघि चान्सलर मेर्जले सार्वजनिक रूपमा टिप्पणी गर्दै इरानको नेतृत्वले अमेरिकालाई “अपमानित” गरिरहेको र वासिङ्टनसँग युद्धको स्पष्ट रणनीति नभएको बताएका थिए।
केही महिनायता अमेरिका र इरानबिच जारी सैन्य द्वन्द्वलाई लिएर ट्रम्प प्रशासन र युरोपेली सहयोगीहरूबिच मतभेद देखिएको छ। राष्ट्रपति ट्रम्पले नेटो सहयोगी राष्ट्रहरूले इरानविरुद्धको अभियानमा पर्याप्त सहयोग नगरेको भन्दै पटक-पटक असन्तुष्टि जनाउँदै आएका थिए।
यसै साता चान्सलर मेर्जले वासिङ्टनको आलोचना गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका थिए। ट्रम्पले मेर्जलाई “इरानको आणविक खतरालाई नजरअन्दाज गरेको” र “आफ्नै देशको अर्थतन्त्र र आप्रवासन समस्या समाधान गर्न असफल भएको” आरोप लगाएका थिए।
जर्मनीमा हाल करिब ३५,००० अमेरिकी सैनिकहरू कार्यरत छन्, जुन युरोपका अन्य कुनै पनि देशको तुलनामा बढी हो। पेन्टागनका अनुसार, आगामी ६ देखि १२ महिनाभित्र फिर्ता गरिने ५,००० सैनिकहरूमध्ये एक ब्रिगेड कम्ब्याट टोली पनि समावेश छ। साथै, यसअघि जर्मनीमा तैनाथ गर्ने योजना रहेको लामो दूरीको फायर्स बटालियनको तैनाथ पनि रद्द गरिएको छ।
यस निर्णयले युरोपेली सुरक्षा संरचना र नेटो गठबन्धनमाथि प्रश्न खडा गरेको छ। धेरै विश्लेषकहरूले यो कदमले रुस र अन्य क्षेत्रीय शक्तिहरूलाई फाइदा पुग्न सक्ने र ट्रम्पको “अमेरिका फर्स्ट” नीतिले लामो समयदेखिको सुरक्षा साझेदारी कमजोर बनाउन सक्ने भनी चिन्ता व्यक्त गरेका छन्।
पेन्टागनका प्रवक्ता सेन पार्नेलले यो निर्णयलाई “युरोपमा सैन्य उपस्थितिको गहन समीक्षा” र “क्षेत्रीय आवश्यकता” सँग जोडेका छन्। यद्यपि, अमेरिकी रक्षा अधिकारीहरूले यो कदमलाई ट्रम्प प्रशासनको युरोपलाई आफ्नै सुरक्षाको जिम्मेवारी लिन दबाब दिने रणनीतिको हिस्साका रूपमा व्याख्या गरेका छन्।
जर्मन सरकारले भने यो निर्णयलाई दुई देशबिचको गहिरो रणनीतिक सम्बन्धमा देखिएको ‘अस्वस्थकर मोड’ का रूपमा लिएको छ। यद्यपि, दुवै पक्षले कूटनीतिक च्यानलहरू खुला राख्ने बताएका छन्, तर राष्ट्रपति ट्रम्पको कडा शैली र चान्सलर मेर्जको जवाफी अडानले आगामी दिनमा थप तनाव बढ्ने सम्भावना देखिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- ट्रम्प र सीबिच बेइजिङ वार्ता सम्पन्न, सम्बन्ध सुधारको दाबी तर ठुला सम्झौता भने ओझेलमा
- फिफा विश्वकप: अमेरिकाद्वारा १५ हजार डलरको भिसा धरौटी खारेज
- डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि बेइजिङमा
- सीसँग युक्रेन युद्ध अन्त्यको विषय उठाउन ट्रम्पलाई जेलेन्स्कीको आग्रह
- फ्रान्सेली राष्ट्रपति म्याक्रोनद्वारा २७ अर्ब डलरको अफ्रिकामा लगानी योजनाको घोषणा
- इजरायली ‘सेटलर्स’ र संस्थाहरूमाथि युरोपेली सङ्घको प्रतिबन्ध
- मध्यपूर्वमा शक्ति सन्तुलन मिलाउन अमेरिकाद्वारा खाडी राष्ट्रहरूलाई अर्बौँ डलरको हतियार बिक्री
- वायु ऊर्जामा चीनको वर्चस्व: विश्वव्यापी बजार कब्जा गर्ने रणनीति
- मध्यपूर्वको युद्ध लम्बिए विश्व अर्थतन्त्रमा संकट बढ्ने
- भारत विधानसभा निर्वाचन: पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक जित, तमिलनाडुमा नयाँ शक्तिको उदय