चितवन। चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षको हुनुहुन्थ्यो। त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ। कृष्ण अहिले ५० वर्षको हुनुभयो तर कृष्णलाई लाग्छ घटनाको घाउ अझै आलै छ। पीडा जस्तो थियो त्यस्तै छ।
कृष्ण भन्नुहुन्छ– ‘१७ वर्ष भयो घटना सम्झिँदा पनि गाह्रो हुन्छ, छोडौं कसरी छोडौं ? निरन्तर लाग्दा त न्याय पाइएको छैन, छाड्दा आस पनि मर्छ।’
२०६२ साल जेठको २३ गते माडीको बाँदरमुढेमा तत्कालीन विद्राही नेकपा माओवादीले यात्रुबाहक बसमा विद्युतीय बम विष्फोट गराएको थियो। विद्युतीय बम विस्फोटबाट ४२ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए। घाइते ३ जनाको उपचारका क्रममा ज्यान गएको थियो। ज्यान गुमाउने मध्ये ३ जना नेपाली सेना पनि थिए।
सर्वसाधारणको ज्यान लिने गरी गरिएको उक्त घटनालाई मानवताविरोधी घटनाको रूपमा सर्वत्र आलोचना गरिँदै आएको छ।
आफ्नै उमेरका साथीहरूले समाजमा प्रगति गरिसके तर आफू भने बाँदरमुढे भन्दै न्यायको लागि दौडिरहनुपर्दा घाइतेहरूलाई थप पीडाको महसुस भइरहेको छ।
समय बित्दै जाँदा राज्यले भने घटना बिर्सिंदै गएको अनुभूति बाँदरमुढेका घाइतेहरूले गरिरहेका छन्। उनीहरू भन्छन्– ‘दोषी पहिचान गरी कारबाही नगरिएसम्म हामीले न्याय पाउँदैनौं।
हाम्रो न्यायलाई राज्यले अनिर्णयको बन्दी बनायो, कृष्ण भन्नुहुन्छ– ‘हामी पीडितहरूलाई राज्यले मतलब गरेन।’
कृष्णका अनुसार घटनाका घाइतेहरू समय बित्दै जाँदा झन् समस्यामा परेका छन्। घाइतेमध्ये अहिले १० जना हाराहारी ढाड, टाउको लगायतका गम्भीर खालको समस्यासँग जुधिरहेका छन्।
कृष्णको पनि सोही एम्बुसमा परेर दुबै खुट्टा, ढाड र छातीको करङ भाँच्चिएको थियो। लामो समयसम्म राम्रो उपचार नपाएर बैशाखी टेकेरै हिँड्नुपर्यो। ७ वर्षअघि देब्रे खुट्टामा स्टिल राखिएको छ। पलेंटी कसेर बस्न मिल्दैन। लामो बाटो हिँड्न मिल्दैन।
यमकला चुवाइँ पनि बाँदरमुढे घटनाकै घाइते हुनुहुन्छ। एम्बुसमा पर्दा यमकला ९ महिनाको गर्भवती हुनुहुन्थ्यो। आँखामा बमको छर्रा लाग्यो। खुट्टा भाँच्चिए। घटना लगत्तै हेलिकोप्टरबाट काठमाडौं लगेर उपचार गराएका कारण यमकला बाँच्नुभयो। उहाँको गर्भमा रहेको बच्चा पनि बाँच्यो।
सोही घटनाको कारण आमा र बच्चा दीर्घकालीन समस्या लिएर बाँचिरहनुभएको छ। यमकलाले घाइते अवस्थामै छोरी अञ्जनालाई जन्म दिनुभयो। छोरी अञ्जनाको मुटुले लामो समयसम्म राम्रोसँग काम गरेन। जन्मिएको ५ महिना त अस्पतालमै राख्नुपर्यो।
‘छोरी अहिले पनि सुस्त हुनुहुन्छ। हत्तपत्त कुरा बुझ्नुहुन्न। औषधी नियमित खुवाउनुपर्छ।’ यमकला भन्नुहुन्छ– ‘मेरो त दिन बित्दै जाँदा समस्या थपिँदै गएको छ।’
समय बित्दै जाँदा शरीरमा समस्या झन् थपिँदै गएको यमकला बताउनुहुन्छ। यमकलाका अनुसार महिनाको ३ हजार हाराहारीको खर्चले आमाछोरीको औषधिको खर्च पुग्नेमा अहिले बढेर पाँच/सात हजारसम्म पुगेको छ।
अहिले घाइते र मृतकका परिवार सबैको एउटै माग छ, राज्यले दोषी पहिचान गरोस् र उनीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कानून अनुसारको सजाय सुनिश्चित गरोस्।
राज्यले दिएको केही रकम यमकला, कृष्ण र अरु केही घाइतेहरूले पाएका छन् तर, पटक पटक धाएर दिने केही रकमले जीवका कसरी चल्छ ?
विष्णुमाया विक सोही घटनाकी घाइते हुनुहुन्छ। १४ महिने छोरी सुस्मितासहित उहाँ दुर्घटनामा पर्नुभएको थियो। उहाँको दाहिने खुट्टा भाँचिनुका साथै टाउकोमा पनि चोट लागेको थियो। सानी छोरीको खुट्टामा चोट लागेको थियो।
छोरी र श्रीमती घाइते देखेपछि श्रीमान् चन्द्रबहादुरले मानसिक सन्तुलन नै गुमाउनुभयो। विष्णुमायाको शरीर घाइते भएकाले दैनिक कामकाज गर्नसमेत कठिन हुन्छ।
उहाँ– शरीर दुखेर काम गर्न सक्नुहुन्न, बाँचेर पनि मरेको जस्तो जिन्दगी छ। राज्यले कहिले हेर्छ हामीलाई ?’ उहाँले सीमित रूपमा दिने नगद भन्दा पनि जीवन निर्वाह हुने सहयोग राज्यबाट हुनुपर्ने माग गर्नुभयो।
यमकला, कृष्ण, विष्णुमाया सबै भन्नुहुन्छ– ‘राज्यले हामीलाई जीविकोपार्जनको लागि सहयोग गरेन।
अहिले घाइते र मृतकका परिवार सबैको एउटै माग छ, राज्यले दोषी पहिचान गरोस् र उनीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कानून अनुसारको सजाय सुनिश्चित गरोस्।
आफ्नै उमेरका साथीहरूले समाजमा प्रगति गरिसके तर आफू भने बाँदरमुढे भन्दै न्यायको लागि दौडिरहनुपर्दा घाइतेहरूलाई थप पीडाको महसुस भइरहेको छ।
अधिकारी भन्नुहुन्छ– ‘दिन बित्दै जाँदा आफ्नो पीडा बल्झिँदै गएको छ अरुले सँधै बाँदरमुढे घटना भजाएर खान्छ भन्ने आरोप लगाउँछन्। राज्यले १७ वर्षको पीडादायी जीवनको क्षतिपूर्ति र मानवता विरोधी अपराध गर्नेलाई कारबाही गरिदिए फेरि बाँदरमुढे भन्दै भौंतारिनु नै पर्दैन नि।’
आज घटनाको १७ वर्ष बित्दा घटनाका घाइते र मृतकका परिवारले माडीको बाँदरमुढे खोलाका किनारमा बनाइएको बाँदरमुढे स्तम्भमा मृतकको स्मृति र घाइतेको स्वास्थ्य लाभको कामना गरी सभा गर्दैछन्।
घटनापछि शान्ति सम्झौता हुँदै तत्कालीन नेकपा माओवादी राज्यको शक्तिको रूपमा आइसकेको छ। अधिकांश घाइते र पीडित माडीकै छन्। माडी नगरपालिका नै यसअघि माओवादीकै मेयर थिए तर पटक पटक घाइते र मृतकका परिवारलाई अल्झाउने काम माओवादीबाटै भएको उनीहरूको भनाइ छ।
प्रतिनिधिसभा सदस्यको उमेदवार हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडित केही परिवारसँग लिखित ३ बुँदे सहमति पनि गर्नुभएको थियो। मतदाता प्रभावित गर्न गरिएको सो सहमति अर्को निर्वाचन आउन लाग्दा समेत कार्यान्वयनमा नआउँदा भने घटनाका घाइते झन् निराश भएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
- चितवन: वर्षदिनमा दोब्बर बढ्यो अपराध
- पुरुषको हातमा महिलाको भोट
- चितवन ३ : मतदाताको अलमल, एमालेको भोट तान्ने रणनीतिमा उम्मेदवार
- शहरका ठालुहरूलाई सेवक आपूर्ति गर्ने बस्तीको कथा
- नवलपुर १ : डा.शशांकलाई कांग्रेसी भोट जोगाउने चुनौती
- दबाबमा चितवन कांग्रेस: ससाना असन्तुष्टि पनि सतहमा आउँदै
- अलबिदा मैयाँ दिदी
- चितवन: प्रत्यक्ष उम्मेदवारीमा महिलालाई नपत्याइएको जिल्ला
- आमाको संघर्ष: घारो तिरेको समाज र हामी हिँडेको बाटो
- बाह्र वर्षसम्म जग्गा पाउन नसकेको विश्वविद्यालय