फिफाको विवादित निजी लगानी योजनाविरुद्ध युइएफए आक्रामक, बहिष्कार गर्ने चेतावनी

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ल्याएको विवादित निजी लगानी योजनाविरुद्ध युरोपेली फुटबल महासङ्घ (युइएफए) ले आक्रामक अडान लिएको छ। 

युइएफएका ५५ सदस्य राष्ट्रहरूले फिफाका प्रतियोगिताहरू निजी लगानीकर्तालाई बेच्ने प्रयास जारी रहे विश्वकपसहित फिफाका सम्पूर्ण प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिएका छन्।

युरोपियन फुटबलको यो पछिल्लो निर्णयपछि विश्व फुटबलमा युरोपेली सुपर लिगपछिको सबैभन्दा ठुलो सङ्कट उत्पन्न भएको खेल विश्लेषकहरूले बताएका छन्। उत्तर तथा मध्य अमेरिकाको फुटबल प्रशासकीय निकाय ‘कन्काकाफ’ले पनि आफ्ना ४१ सदस्य राष्ट्रहरूले इन्फान्टिनोको यो प्रस्ताव सर्वसम्मतिले अस्वीकार गरेको जनाएको छ।

के हो इन्फान्टिनोको विवादित योजना?

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना मुख्य प्रतियोगिताहरू—पुरुष तथा महिला विश्वकप र क्लब विश्वकप—सञ्चालनका लागि फिफा फरवार्ड इन्टरप्राइज नामको व्यावसायिक सहायक कम्पनी स्थापना गर्ने योजना अघि सारेका छन्।

फिफाले आफ्नो व्यावसायिक सहायक कम्पनी फिफा फरवार्ड इन्टरप्राइजको मूल्याङ्कन करिब २० अर्ब अमेरिकी डलर (लगभग २६ खर्ब ५० अर्ब नेपाली रुपैयाँ) गर्दै त्यसको २० प्रतिशत सेयर (करिब ४.२ अर्ब डलर) बाह्य निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने तयारी गरेको छ। यस लगानी समूहको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरका भाइ जोसुवा कुश्नरको भेन्चर क्यापिटल फर्म ट्राइभ इटर्नलले गर्ने बताइएको छ। यस प्रस्तावलाई स्वीकृत गराउन फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २११ सदस्य राष्ट्रहरूलाई पत्र लेख्दै समर्थन गरेमा उनीहरूले पाउने विकास बजेट दोब्बर बनाउने र प्रत्येक राष्ट्रलाई सुरुमा २० मिलियन डलरका साथै पछि थप रकम उपलब्ध गराउने वित्तीय प्रलोभन देखाएका छन्, जसका लागि उनले आगामी सेप्टेम्बर १९ सम्मको कडा समय सीमा तोकेका छन्।

“विश्वकप बिक्रीका लागि होइन”: युइएफएको कडा आक्रोश

युइएफएका अध्यक्ष अलेक्ज्याण्डर सेफेरिनको अध्यक्षतामा बसेको भर्चुअल आपतकालीन बैठकपछि जारी गरिएको विज्ञप्तिमा फिफाको यो कदमलाई “डर धम्की र जबरजस्तीको राजनीति” को संज्ञा दिइएको छ।

विश्वकप कुनै व्यापारिक वा लगानीको वस्तु होइन। यो पुस्तौँदेखि खेलाडी, राष्ट्रिय टोली र विश्वभरका समर्थकहरूले निर्माण गरेको फुटबलको ऐतिहासिक विरासत हो। यसको कुनै पनि अंश निजी लगानीकर्तालाई सुम्पन सकिँदैन। फिफा विश्वकप बिक्रीका लागि होइन।”युइएफएको आधिकारिक विज्ञप्ति

युइएफएले फिफामाथि फुटबलको संरक्षकका रूपमा आफ्नो कर्तव्यबाट विमुख भएको र सरोकारवालाहरूसँग कुनै परामर्श नगरी गोप्य रूपमा यत्रो ठुलो निर्णय लाद्न खोजेको आरोप लगाएको छ। यदि फिफाले यो प्रस्ताव पूर्ण रूपमा फिर्ता नलिएमा र भविष्यमा यस्ता कदम नचाल्ने प्रतिबद्धता नजनाएमा युरोपका कुनै पनि राष्ट्रिय टोली फिफाका प्रतियोगितामा सहभागी नहुने युइएफएले स्पष्ट पारेको छ।

यो अडान कायम रहेमा आगामी सेप्टेम्बर ५ देखि पोल्यान्डमा सुरु हुन लागेको महिला यु-२० विश्वकपमै यसको पहिलो असर देखिन सक्नेछ।

क-कसले गरे समर्थन र विरोध?

फिफाको यस विवादित प्रस्तावको विरुद्धमा विभिन्न फुटबल सङ्घ तथा सरकारहरूले कडा प्रतिक्रिया दिएका छन्। इङ्गल्यान्डको फुटबल एसोसिएसनकी अध्यक्ष डेबी हेविट र कार्यकारी प्रमुख मार्क बुलिङ्गमले युइएफएको बैठकमा फिफाको कदमको कडा प्रतिवाद गर्दै स्कटल्यान्डसँगै युइएफएको पक्षमा उभिने घोषणा गरेका छन्। बेलायती सरकारकी संस्कृति मन्त्री लिसा नान्डीले पनि युइएफएको निर्णयको स्वागत गर्दै फुटबल अरबपति लगानीकर्ताको नभई फ्यानहरूको भएको र यसको रक्षाका लागि बलियो कदम चाल्ने समय आएको बताएकी छन्।

त्यसै गरी, उत्तर अमेरिकाको कन्काकाफले उचित परामर्शविना छोटो समय सीमा तोकेर रकम उठाउन खोज्नु अपारदर्शी भएको भन्दै आफ्ना ४१ सदस्य राष्ट्रहरूका तर्फबाट यस प्रस्तावलाई अस्वीकार गरेको छ। यस्तै गरी एसियाली फुटबल महासङ्घले निर्णय प्रक्रियामा आफूहरूलाई समावेश नगरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ भने अफ्रिकी फुटबल महासङ्घले पनि यसबारे समीक्षा गर्न आपतकालीन बैठक बोलाएको छ।

युरोपबिनाको विश्वकप सम्भव छ?

विश्व फुटबलको वास्तविक शक्ति र व्यावसायिक आकर्षण युरोपमै केन्द्रित छ। हालै सम्पन्न पुरुष विश्वकपका अन्तिम आठ टोलीमध्ये विजेता स्पेनसहित छ वटा टोली युरोपका थिए। इतिहास हेर्ने हो भने हालसम्म भएका २३ वटा पुरुष विश्वकपमध्ये १३ वटा उपाधि युरोपेली राष्ट्रहरूले जितेका छन् भने बाँकी १० वटा दक्षिण अमेरिकी देशहरूले जितेका छन्।

यदि युरोपका फ्रान्स, इङ्गल्यान्ड, स्पेन, जर्मनी, पोर्चुगल जस्ता शीर्ष टोलीहरूले विश्वकप बहिष्कार गरेमा प्रसारण अधिकार, प्रायोजक र टिकट बिक्रीबाट फिफाले सङ्कलन गर्ने ठुलो राजस्व धरापमा पर्नेछ। विश्लेषकहरूका अनुसार युरोपबिनाको विश्वकप व्यावसायिक र खेलकुद दुवै दृष्टिकोणले अर्थहीन हुनेछ।

इन्फान्टिनोको दोस्रो प्रयास र सङ्कटमा अध्यक्ष पद

जियानी इन्फान्टिनोले फिफाको सम्पत्ति निजी क्षेत्रलाई बेच्न खोजेको यो पहिलो पटक भने होइन। सन् २०१८ मा पनि उनले जापानी कम्पनी सफ्टबैंकसँग २५ अर्ब डलरको गोप्य सम्झौता गरी नयाँ प्रतियोगिताहरू सञ्चालन गर्ने प्रस्ताव ल्याएका थिए। तर, युइएफएको चर्को विरोधका कारण उक्त योजना तुहिएको थियो।

अहिले फेरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारसँग जोडिएको ट्राइभ इटर्नल फर्ममार्फत बहु-अर्ब डलरको सम्झौता अघि बढाउन खोजेपछि इन्फान्टिनोको नियतमाथि प्रश्न उठाइएको छ।

मार्क्स २०२७ मा हुने फिफा अध्यक्षको निर्वाचनका लागि आगामी नोभेम्बर १८ सम्म उम्मेदवारी दर्ता गर्ने समय रहेको छ। यसअघि बिना कुनै प्रतिस्पर्धा चौथो कार्यकालका लागि सजिलै निर्वाचित हुने अनुमान गरिएका ५४ वर्षीय इन्फान्टिनोका लागि यो विवादले ठुलो राजनीतिक सङ्कट निम्त्याएको छ।

अब के होला?

फिफालाई यो प्रस्ताव पारित गराउन २११ सदस्यमध्ये १०६ भोटको आवश्यकता पर्छ। तर, युइएफए (५५) र कन्काकाफ (४१) का ९६ सदस्यहरू नै यसको विपक्षमा उभिएकाले इन्फान्टिनोलाई बहुमत पुर्‍याउन कठिन हुनेछ।

फुटबल सङ्घका पूर्व अधिकारीहरूका अनुसार फिफा र युइएफए दुवै एक-अर्काबिना अस्तित्वमा रहन नसक्ने भएकाले अन्त्यमा इन्फान्टिनोले नै आफ्नो कदमबाट पछि हट्नुपर्ने परिस्थिति सिर्जना भएको छ। यद्यपि, सेप्टेम्बर १९ को समय सीमा नजिकिँदै गर्दा फिफा र युरोपेली फुटबल निकायबिचको यो भिडन्तले विश्व फुटबलको भविष्य कुन दिशामा जाने भन्ने चासो बढाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link