अमेरिकाविरुद्ध रोमाञ्चक बराबरी

आशुतोष अधिकारी

क्रिकेटलाई त्यसै अनिश्चितताको खेल भनिएको होइन, गए राति सम्पन्न नेपाल र अमेरिकाबीचका खेलले यो भनाईलाई थप पुष्टी गरेको छ।आइसीसी वर्ल्डकप लिग २ अन्तर्गत शनिवार राती भएको खेलमा जितको एकदमै नजिक पुगिसकेको अमेरिकी टोलीलाई रोमाञ्चक बराबरीमा रोक्दै एक अंक खोस्न नेपाल सफल भएको छ।

अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमै ओमानसँग पराजित भएर दबावमा आएको नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।पहिलो खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पनि पूरा गर्न नसकेको नेपालले अमेरिकाविरुद्ध सन्तोषजनक ब्याटिङ गर्दै ४९.४ ओभरमा २७४ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

चोटका कारण ओमानविरुद्धको खेल गुमाएका नेपालका प्रारम्भिक जोडी कुशल भुर्तेल र आशिफ शेखले टोलीमा पुनरागमन गर्दै नेपाललाई राम्रो शुरूवात दिलाएका थिए।भुर्तेल र शेखको जोडीले पहिलो विकेटका लागि ११.५ ओभरमा ५६ रनको साझेदारी गरेका थिए।आफ्नो स्वाभाविक लयमा नदेखिएका भुर्तेलले ३८ बलमा १९ रन बनाउँदै आउट भएका थिए।तर अर्का ओपनर आशिफ (६१ रन), त्यसपछि ब्याटिङ गर्न आएका देव खनाल (५४ रन) र कप्तान रोहित पौडेल (६२ रन) तीनै जनाले अर्धशतकीय पारी खेल्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए।

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका आदिल अन्सारीले २४ बलको सामना गर्दै ३ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाएपछि नेपालले २५० रनको आँकडा पार गरेको थियो।तर त्यसभन्दा पछाडिका दिपेन्द्रसिंह ऐरी १ रनमा, आरिफ शेख ८ रनमा र करन केसी शुन्यमा आउट भएपछि नेपाल ४९.४ ओभरमा २७४ बनाउँदै अलआउट हुन पुगेको थियो।

२७५ रनको लक्ष्य पछ्याएको अमेरिकाका प्रारम्भिक ब्याट्स्म्यान स्टीभन टेलरले ११३ रन बनाउँदै अमेरिकालाई सहज जीततर्फ अग्रसर गराएका थिए।१२४ बलको सामना गर्दै ११ चौका र ३ छक्काको सहयोगमा शतक पूरा गरेका टेलरले टोलीका कप्तान मोनाङ्क पटेलसंग तेस्रो विकेटका लागि २०० रनको साझेदारी गरेपछि अमेरिकाले २७४ रनको लक्ष्य सहजै पूरा गर्ने अनुमान गरिएको थियो।पटेलले ११५ बलको सामना गर्दै ४ चौका र २ छक्को सहयोगमा ८५ रनको ठोस पारी खेले।

आदिलको निर्णायक ओभर

नेपालको बलिङ स्पेल ४९ ओभरसम्म आइपुग्दा समेत अमेरिकी खेलाडीहरू बिना दबाब आरामका साथ ब्याटिङ गरिरहेका थिए र जीतको एकदमै नजिक देखिएका थिए।खेलमा जित हात पार्न अमेरिकालाई अन्तिम ओभरमा मात्र ६ रन आवश्यक थियो भने उसँग ६ विकेट सुरक्षित थियो।अन्तिम ओभर बल फ्याँक्ने जिम्मेवारी पाएका आदिल अन्सारीले पहिलो तीन बलमा ३ रन खर्चन पुगे भने चौथो बल नोबल घोषित भएपछि अमेरिकाले एक अतिरिक्त रन प्राप्त गर्‍यो।आदिलको चौथो बलमा समेत राहुल जरिवालाले एक रन लिएपछि अमेरिका र नेपालको स्कोर बराबरी भएको थियो।

अन्तिम दुई बलमा जीतका लागि केबल एक रन आवश्यक भएको स्थितिमा अमेरिकाको जीत निश्चित देखिएको थियो।तर अन्तिम ओभरको पाँचौ बलमा २७ रन बनाएर खेलिरहेका अमेरिकाका एरोन जोन्सलाई कप्तान रोहित पौडेलको हातबाट क्याचआउट गराएपछि सनसनीपूर्ण ढङ्गबाट खेलमा पूनरागमन गर्न नेपाल सफल भएको थियो।पूरा खेल अवधिभरि एकपटक पनि ‘ब्याकफुट’ मा नपरेको अमेरिका खेलको अन्तिम बलमा भने पूर्णरूपमा दबावमा पर्नगयो।

इनिङको अन्तिम बलमा एक रन लिने प्रयास गरेका राहुल जरिवालालाई दिपेन्द्रसिंह ऐरी र करण केसीले मिलेर रनआउट गर्न सफल भएपछि लगभग हारिसकेको खेललाई बराबरीमा अन्त्य गर्न नेपाल सफल भएको थियो।आदिल अन्सारीले ९ ओभर बलिङ गर्दै तीन महत्वपूर्ण अमेरिकी विकेट आफ्नो नाम गराए, उनको यही प्रदर्शनका आधारमा उनलाई खेलको ‘म्यान अफ दि म्याच’ चुनियो।

सुधारिएको प्रदर्शन, फर्किएको आत्मविश्वास

श्रृंखलाको पहिलो खेलमै ओमानसँग पराजित हुँदै अंकतालिकको पाँचौँ स्थानबाट एक स्थान तल झर्न पुगेपछि नेपाली टोली दबावमा थियो।अमेरिकाविरुद्धको बराबरीले नेपाललाई फेरि तालिकाको पाँचौ स्थानमा उकालेको छ।ओमानविरुद्ध असफल देखिएको ब्याटिङ पक्षलाई सुधार गर्दै अमेरिकाविरुद्ध नेपालका तीन खेलाडी अर्धशतक पूरा गर्न सफल हुनु नेपालका लागि सुखद पक्ष रह्यो।बलियो देखिएको टोलीविरुद्ध २७४ रनको योगफल तयार पार्दै नेपालले आफ्नो गुमेको आत्मविश्वास समेत फिर्ता ल्याएको थियो।श्रृंखलाका दुई खेलमा ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेका दुई भरपर्दा अलराउण्डर दिपेन्द्रसिंह ऐरी र करण केसी समेत आगामी खेलहरूमा लयमा आउने हो भने यसपटक नेपालको ब्याटिङ लाइनअप बलियो देखिएको छ।

तर अमेरिकाविरुद्धको खेलमा नेपालको बलिङको स्तर भने औसत रह्यो।नेपाली बलरले न त उचित समयमा अमेरिकाको विकेट नै ढाल्न सके, न विपक्षी ब्याट्स्म्यानहरू माथि कुनै किसिमको दबाव नै बनाउन सके।खेलमा एक विकेट लिएका सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ३७ रन खर्चिएर किफयती बलिङ गरे भने करण केसीले ९ ओभर बलिङ गर्दै ४२ रन खर्चिन पुगे।अन्य कुनै बलरले उल्लेखनीय प्रदर्शन गर्न नसक्नु नेपालका लागि थप चिन्ताको विषय बनेको छ।नेपाली बलरहरूले अमेरिकालाई ११ वाइडसहित १८ अतिरिक्त रन उपहारस्वरूप दिनु पनि नेपालले जित्न नसक्नुको अर्को एउटा प्रमुख कारण बन्न पुग्यो।

तर अन्त्यमा अमेरिकाको घाँटीबाट आफूले लगभग गुमाइसकेको एक अंक खोस्न सफल हुनु नेपालका लागि सुखद पक्ष रह्यो।बलियो टोली अमेरिकाविरुद्धको यो बराबरीले नेपाली खेलाडीको आत्मविश्वास बढेको र यसले आगामी दुई खेलमा नेपालको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने आशा गर्न सकिन्छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
अमेरिकाविरुद्ध रोमाञ्चक बराबरी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link