मेलम्ची बाढीको एक वर्ष : २० जना अझै बेपत्ता, पुननिर्माणमा र पुनर्स्थापनामा सरकारको वेवास्ता

२०७८ असार १ गते आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु ठूलो मानवीय र भौतिक क्षति ब्यहोर्नु पर्‍यो। बाढीमा परी मृत्यु भएका पाँचजनाको शव भेटिएको छ २० जना अझै बेपत्ता छन्।

सिन्धुपाल्चोकको भ्रेमाथाङबाट आएको  बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु देखि मेलम्ची नगरपालिकाको बाहुनेपाटी हुँदै सिपाघाटसम्म ठूलो मात्रामा क्षति पुर्‍यायो। अर्बौँको भौतिक संरचना र खेतियोग्य जमिन बगरमा परिणत भयो।

बाढी गएको एक वर्ष पुगेको छ। मेलम्ची र हेलम्बुबासीले पीडा खेपेको यतिको समय बितिसक्दा संघीय सरकारले भने मेलम्चीको पुननिर्माणमा र पुनर्स्थापनामा कुनै चासो दिएको छैन।

सरकार सुरु देखि नै मेलम्ची र हेलम्बुबासीको पीडामा कसरी मलहम लगाउने भन्दा पनि मेलम्चीको पानी काठमाडौं पुर्‍याएर कसरी नाम कमाउने भन्ने दाउमा लाग्यो। फलस्वरुप हालसम्म पनि मेलम्चीका नागरिकले आनन्दको स्वास फेर्न सकेका छैनन्। पुननिर्माण र पुर्नस्थापनाको त परको कुरा।

मेलम्ची खानेपानी आयोजना थिएन भने हेलम्बु गाउँपालिकाको चनौटेमा हालसम्म पनि पुल बन्ने थिएन। हेलम्बुका सागर लामिछाने भन्नुहुन्छ – मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौं पुर्‍याउनका निमित्त मर्मतको लागि आवश्यक सामाग्री लैजाने बाध्य भएर पुल बनाइयो।

नत्र अहिलेपनि हेलम्बुको तिम्बु र चनौटे क्षेत्र सडक सञ्जालबाट टाढा हुने उहाँको तर्क छ। मेलम्ची नगरपालिका हुदैँ पाँचपोखरी थाङ्पाल, इन्द्रावती गाउँपालिका र सदरमुकाम चौतारा जोड्ने पुल आजसम्म किन निर्माण गर्न नसकेको त सरकारले ? लामिछानेको प्रश्न थियो।

बाढी पछि सरकारी बजेट नपाएकोले मेलम्चीबासी आफैले स्थानीय र विभिन्न सहयोगीहरू मार्फत मेलम्चीमा पुरिएका घरहरू र सडकहरू खोतलेर बस्न लायक बनाउनतर्फ लागे। सरोकार समिति नै गठन गरेर मेलम्चीबासीले स्थानीय सरकार र केन्द्रीय सरकारीप्रति आशा मरेको भन्दै आफ्नो घर आफैँ जोगाउ भन्ने अभियानमा लागे।

बाढीले घरमा पुरेको बालुका निकाले, ढुंगा, मुढाहरू पन्छाए। र केही महिनापछि पुरानै अवस्थामा बस्न थाले। तर, बाढीको डरले भने राम्रोसँग अझै पनि रात कटाउन सकेका छैनन्। बाढीले सबै गुमेपछि मेलम्चीका केही स्थानीयले थातथलो नै छोडेर हिँडेँ।

नदीतटीय क्षेत्रका स्थानीयहरू हालसम्म पनि त्रासमै बसिरहेका छन्। मौसमविद्ले यो वर्ष अझै धेरै वर्षा हुने भन्दै विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले मेलम्चीबासी झनै त्रसित बनेका छन्।

हेलम्बु र मेलम्चीका बासिन्दाहरू कतिबेला फेरी बाढी आएर बाँकी भएका भौतिक सम्पत्तिको पनि उठिबास लगाउने हो भन्ने त्रासमा त्राहिमाम छन्।

स्थानीय सरकारले अहिले बाढी बजार क्षेत्रमा नपसोस् भनेर नदीलाई पुरानै अवस्थामा लैजान दिनरात नदीमा स्काभेटर लगाई रहेको छ। मेलम्चीबजारलाई प्राकृतिक विपत्ति तथा अकल्पित क्षतिबाट थोरै भएपनि जोगाउन स्थानीय सरकार लागिरहेको छ। तर, नागरिकको स्थायी पुनर्बासको तथा पुल लगायतका भौतिक निर्माणमा भने नगरपालिका हालसम्म पनि बेखबर छ।

नदी क्षेत्रमा तटबन्धन नलगाउने हो भने कुनै पनि बेला आएको बाढीले मेलम्ची क्षेत्रमा थप क्षति पुर्‍याउन सक्छ। मेलम्चीबजार संरक्षकका लागि न संघीय सरकारले कुनै बजेट विनियोजन गरेको छ, न स्थानीय सरकारले पहलकदमी नै लिएको छ।

बाढीले मेलम्ची नगरपालिकाको मेलम्ची हुँदै सदरमुकाम चौतारा, पाँचपोखरी र इन्द्रावती जाने पक्की पुल बगायो। बर्खा सकिएपछि सडक ह्युम पाइप राखेर सडक सञ्जाल जोडिएको भएपनि वर्षासँगै आएको बाढीको कारण अहिले सो ह्युम पाइप झिकिएको छ।

सडकसञ्जाल टुटेपछि अहिले मेलम्ची नगरपालिका– ९, १० वडा र पाँचपोखरी र इन्द्रावती गाउँपालिकाका स्थानीयले जोखिमपूर्ण यात्रा गुर्नपरेको छ। वैकल्पिक रुपमा रहेको बाहुनेपाटी, सञ्जेलटार बगुवाको बाटो पनि पूर्णरूपमा मर्मत हुन सकेको छैन।

बाढीमा अझै बेपत्ता

बाढीले दुई भारतीय नागरिक एक चिनिँया नागरिकसहित १७ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार – बाढीले बगाएर विभिन्न जिल्लामा पुर्‍याएका दुईजना चिनियाँ नागरिक एकजना भारतीय र दुईजना नेपाली नागरिक गरी पाँचजनाको शव भेटिएको थियो।

बाँकी रहेका २० जनाको अझै अत्तोपत्तो छैन। परिवारले पनि उनीहरू फेला पर्ने आशा मारिसकेका छन्।

बाढीबाट कति क्षति भयो ?

मेलम्ची र हेलम्बु गाउँपालिकाको तथ्यांक अनुसार – बाढीले मेलम्ची नगरपालिका भित्र २४२ र हेलम्बु गाउँपालिकाको ३०८ घर पूर्ण रुपमा क्षति पुर्‍याएको थियो।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार– असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको कार्यालय मेलम्चीमा रहेको ब्लकको १८ वटा भवन, दुईवटा ट्रस्ट, टोयटाको हाइलक्स गाडी सहित विभिन्न मेसिनरी सामाग्रीहरू बाढीले पूर्णरुपमा क्षति पुराएको थियो।

बाढीले ठूलो मात्रामा गेग्रान थुपारेर मेलम्ची खानेपानी आयोजनाको अम्बाथानको प्रमुखद्वार नै पुरेको थियो। खानेपानी मन्त्रालयले काठमाण्डौँमा खानेपानी ल्याउनका लागि ति गेग्रान हटाउनका लागि करिब रू ८० करोड खर्च गरेको छ। स्थानीय बासिन्दा सुरूङ्गको प्रवेशद्वारमा ८० करोडको लागतमा गेग्रान हटाइएको कुरो सुनेर चकित छन्।

त्यस्तै बाढीले मेलम्चीको दुईवटा झोलुंगे पुल र दुईवटा पक्की पुल बगायो। मेलम्ची नगरपालिका ६ स्थित तालामाराङमा रहेको तेर्से माविको एकवटा भवनमा क्षति पुर्‍यायो।

मेलम्ची– ११ मा रहेको बंगुर फर्म, माछा फर्म, भैंसी फर्म दुई वटा गोठ र मेलम्ची ६ मा विभिन्न व्यक्तिका गरी २८ वटा गोठ कटेरा बगाएको थियो।  विभिन्न व्यापार व्यवसाय गरेर बसेका स्थानीयको धेरै व्यवसाय बाढीले तहसनहस बनायो।

त्यस्तै हेलम्बु गाउँपालिकामा रहेका ७ वटा झोलुंगे पुल मध्ये एकवटा बगायो  भने बाँकी छ वटामा क्षति पुर्‍याएको थियो। छ वटा पक्की पुल बाढीले तहसनहस बनायो। आठवटा माछा फर्म र इप्रका हेलम्बु लगायत धेरै घरहरू बाढीले बगायो।

मेलम्चीमा मात्रै व्यक्तिगत १८ सय ८२ रोपनी र सार्वजनिक १२ सय रोपनी गरी तीन हजार ८२ रोपनी जग्गा बाढीले पूर्ण रुपमा क्षति पुराएको थियो। त्यस्तै हेलम्बुमा पनि २१ सय रोपनी खेतियोग्य जमिन बाढीले पूर्ण रुपमा ध्वस्त पारेको थियो।

राहत र खर्च ?

बाढी पछि मेलम्ची र हेलम्बु गाउँपालिकाको स्थानीयलाई राहत स्वरुप विभिन्न पालिका, विभिन्न संघसंस्था र व्यक्तिहरूले आर्थिक सहयोग गरे। हेलम्बु र मेलम्ची नगरपालिकाको बैँक खातामा ती सहयोगी संस्थाहरूले पीडितलाई खाध्यान्न तथा पुनर्वासको लागि भन्दै राहत रकम जम्मा गरिदिए।

राहतस्वरूप हेलम्बु गाउँपालिकाले गत पुष महिनासम्ममा चार करोड ४४ लाख ४१ हजार ९४९ रुपैयाँ  पाएको छ।

गाउँपालिकाका अनुसार – उक्त रकम राहत वितरण तथा सडक मर्मतको लागि खर्च भयो। सडक निर्माणको लागि चाहिने सामाग्री ढुवानी, हल तथा भवनको प्रयोग लगायतको खर्च देखाएर ३८ लाख २३ हजार रुपैयाँ मौज्दात रहेको गाउँपालिकाले जानकारी दिएको छ।

त्यस्तै मेलम्ची नगरपालिकाको राहत कोषमा छ करोड ९४ लाख १५ हजार ६९५ रुपैयाँ जम्मा भएको नगरपालिकाले जानकारी दिएको छ।

जसमध्ये एक सय पीडित घरधुरीलाई १० हजारको दरले राहत वितरण गरको साथै नदी नियन्त्रणको लागि भएको खर्च तथा विभिन्न खर्च गरी छ करोड ३८ लाख १८ हजार ७५७ रुपैयाँ खर्च भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ।

हाल नगरपालिकाले पाँच वटा उपभोक्ता समिति गठन गरेर मेलम्ची बजार क्षेत्रको पाँच ठाउँमा नदी नियन्त्रणका काम भैरहेको जानकारी दिएको हो। प्रति उपभोक्ता समिति ५० लाखको दरले नदी तथा तटीय क्षेत्रको सुरक्षाको लागि उपभोक्ता समिति मार्फत काम भैरहेको नगरपालिकाले जनाएको छ।

पीडितले के पाए ?

मेलम्ची नगरपालिकाले नगरभित्रका वडा नं ६, ७, १०, ११, १२ का पीडित परिवारलाई प्रति परिवार १० हजारको दरले राहत स्वरूपको रकम उपलब्ध गराएको थियो।

त्यस्तै हेलम्बु गाउँपालिकाले खाद्यान्नको लागि भन्दै प्रति पीडित परिवार एक बोरा चामल र एउटा त्रिपाल बाढेको थियो।

पीडित परिवारको स्थायी बासस्थानको लागि हेलम्बु गाउँपालिकाको १० प्रतिशत  प्रदेश तथा संघीय सरकारबाट ९० प्रतिशतको अनुदानमा निर्माण गर्ने तयारी छ।

तस्बिरः आदित्य दाहाल

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्य दाहाल का अन्य पोस्टहरु:
मेलम्ची बाढीको एक वर्ष : २० जना अझै बेपत्ता, पुननिर्माणमा र पुनर्स्थापनामा सरकारको वेवास्ता
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link