दुर्व्यसनको दलदलमा युवा

दुर्गा रानामगर

गत जेठ २५ गते लागू औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा नागढुङ्गामा तीनजना युवालाई लागू पदार्थसहित पक्राउ गरेको थियो । त्यसैको भोलिपल्ट २६ गते पनि प्रहरी टोलीले पोखरा नयाँबजारमा तीन जना व्यक्तिलाई लागू पदार्थसहित समात्यो । कास्की प्रहरीले यस वर्ष २०७८/७९ को जेठ मसान्तसम्म मात्र २ सय २३ वटा लागू औषध सेवन, पटके तथा कारोबारको मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा ३ सय ९ जना पुरुष र महिला १३ जना रहेका छन् । अघिल्लो आर्थिक वर्षमा जम्मा १ सय ४९ मुद्दा दायर भएको थियो ।

नेपाल सरकार गृह मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा वि.सं. २०७६ मा गरेको सर्वेक्षणमा नेपालभर १ लाख ३० हजार ४ सय २४ जना लागू औषध प्रयोगकर्ता रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । जसमा पुरुष १ लाख २१ हजार ६ सय ९२ (९३.३ प्रतिशत) र महिला ८ हजार ७ सय ३२ (६.७ प्रतिशत) रहेका थिए । यो सर्वेक्षण प्रतिवेदनले लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको बताएको थियो । नेपालमा वि.सं. २०६३ मा गरिएको सर्वेक्षणमा लागू औषध प्रयोगकर्ताको संख्या ४६ हजार ३ सय ९ थियो । त्यो सख्या वि.सं. २०६९ मा आइपुग्दा ९१ हजार ५ सय ३४ पुगेको थियो ।

प्रतिवेदन अनुसार सबैभन्दा धेरै लागू औषध प्रयोगकर्ता बाग्मती प्रदेशमा रहेका छन् । यस्तै ८ हजार ९ सय ५६ जना लागू औषध प्रयोगकर्ता रहेको गण्डकी प्रदेश पाँचौ स्थानमा छ । लागू औषध दुर्व्यसन न्यूनीकरणको क्षेत्रमा कार्यरत संघसंस्थाहरूका अनुसार कोभिड–१९ पछि यो संख्या झन् बढेको छ । लागू पदार्थ दुर्व्यसनको दलदलमा फस्ने युवाहरूको सङख्या बढ्दो छ।

साथी संगतले दुर्व्यसनमा युवा

युवामाझ लोकप्रिय पोखराका गायक तथा र्‍यापर आशिष राना ‘लाउरे’ गत पुस १४ गते लागू औषध ब्राउन सुगरसहित पक्राउ पर्नुभएको थियो । ५६ दिन प्रहरीको हिरासतमा बसेर तारेखमा कारागरबाट निस्कनुभयो । साथीको लहलहैमा नै उहाँले लागूऔषधको स्वाद लिनुभयो । र त्यसपछि झण्डै १० वर्षसम्म लागू औषधको दुर्व्यसनमा रहनुभयो । लाउरेले भन्नुभयो– “हरेकपल्ट ड्रग यूज गर्दा अब छोड्छु भन्ने नै लाग्थ्यो तर सकिन । साथीसंगत त्यस्तै किसिमको भएपछि छोड्न सकिदो रहेनछ ।” अहिले प्रहरीसँगको सहकार्यमा लागू औषध दुर्व्यसनी विरुद्धको जनचेतनामूलक कार्यक्रममा उहाँ सरिक हुनुहुन्छ । र्‍यापर रानाको अग्रसरता र कास्की प्रहरीसँगको सहकार्यमा आउँदो २६ जुनमा रहेको लागू औषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘आई डेयर, नो ड्रग्स’ भन्ने नारासहित पोखरामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएकोे छ ।

लागू औषध दुर्व्यसन न्यूनीकरणको क्षेत्रमा रहेको संस्था रिकभरिङ नेपाल गण्डकी प्रदेशका संयोजक विकास बरुवालले विशेषत: १३, १४ वर्षको उमेरमै खराब साथीको संगतमा पर्दा किशोरअवस्थामा नै लागू औषध प्रयोगको दुर्व्यसनमा फस्ने गरेको बताउनुभयो । चुरोट, गाँजाबाट सुरु हुँदै औषधिजन्य लागू औषध ‘हार्ड ड्रग्स’ तर्फ लाग्ने गरेको बरुवालले बताउनुभयो। नेपाल सरकारको २०७६ को प्रतिवेदनले नै ९६ प्रतिशतले साथीको माध्यमबाट लागू औषध प्रयोग गर्न सिकेको तथ्यांक छ र त्यसमा ६७.७ प्रतिशतले साथीसंगीबाट नै लागू औषध प्राप्त गर्ने (किन्ने) बताएका थिए ।

नौलो घुम्ती नेपाल उपचार केन्द्रका संयोजक ओम गुरुङले साथीसँगीको दबाब नै लागू औषध दुर्व्यसनको मुख्य कारण रहेको बताउनुभयो । यससँगै मनोरञ्जनका लागि, मानसिक तनाव, उत्सुकताका कारण पनि युवा वर्ग लागू औषधको प्रयोग गर्ने बताउनुभयो । “बाहिरी रूपमा यी कारणहरू भए पनि भित्री रूपमा पारिवारिक विखण्डन नै मुख्य कारण हो” पूर्व लागू औषध प्रयोगकर्ता समेत रहनुभएको गुरुङले भन्नुभयो– “परिवारमा पर्याप्त रूपमा माया, हेरचाह नहुने, आमाबाबासँगै नभएको अथवा कलह हुने ठाउँहरूमा रहेका अधिकांश युवा त्यसबाट बाहिर निस्कन दुर्व्यसनतर्फ लाग्ने गर्छन् ।” पोखरा घर हुनुभएको गुरुङले १२ वर्षसम्म लागू औषध प्रयोग गर्नुभयो । पुनस्र्थापना केन्द्र पुगेर दुर्व्यसनबाट छुट्न उहाँलाई ६ वर्ष लाग्यो । गुरुङ भन्नुहुन्छ– “परिवारको साथ मिल्यो भने दुर्व्यसनबाट छिटो बाहिर निस्कन सकिन्छ तर घरसमाजको साथ नमिल्दा धेरैजना उपचार केन्द्रमा बसे  पनि पुन: लागू औषध प्रयोग गर्न थाल्छन् ।”

स्लिम बन्न लागू औषधको प्रयोग

पुरुष लागू पदार्थ प्रयोगकर्तासँगै महिला लागू पदार्थ प्रयोगकर्ताको संख्या पनि वर्षेनी बढेको नै छ । महिला लागू औषध प्रयोगकर्ता साथीसंगत, मनोरञ्जन, उत्सुकता, तनाव भुलाउनलगायतका कारणसँगै अर्को कारण दुब्लाउन र राम्री बन्नका लागि पनि लागू औषधको प्रयोग गर्ने गरेका छन् । विशेषगरी स्लिपिङ ट्याब्लेट, गाँजालगायतको लागू औषध प्रयोग गर्दा भोक नलाग्ने अनि दुब्लाइन्छ भन्ने भ्रम र अफवाहका कारण महिला विशेषगरी किशोरीहरूले लागू औषध प्रयोग गर्ने ट्रेन्ड रहेको छ ।


लागू औषध प्रयोग गर्ने किशोरीहरू घर छाडेर साथीसँग बस्नुपर्ने अवस्था पनि रहेको छ । जसले गर्दा महिला लागू औषध प्रयोगकर्तापछि जीवन निर्वाहको लागि यौन कर्ममा पनि लाग्ने गरेको कार्यक्रम अधिकृत बस्नेतले बताउनुभयो । उहाँले पहिले कुनै एक जक्सनमा बसेर लागू औषध सेवन गर्नेहरू अहिले सामाजिक सञ्जालका कारण लागू औषध सजिलोगरी पाउन थालेपछि घरमै बसेर प्रयोग गर्ने गरेको बताउनुभयो ।


असल छिमेकी नेपालको नवजीवन लागू औषध तथा रक्सी प्रयोगकर्ता महिलाहरूका लागि उपचार तथा पुनस्र्थापना केन्द्रकी कार्यक्रम अधिकृत प्रतिमा बस्नेतले भन्नुभयो– “उपचार केन्द्रमा आउने भर्खरका किशोरी तथा युवा महिलामा लागू औषधले स्लिम भइन्छ र राम्री देखिन्छ भन्ने भ्रम छ । जसले गर्दा उहाँहरू त्यसैका लागि पनि प्रयोग गर्ने गर्छन् । जसलेपछि दुर्व्यसनको रूप लिने गर्दछ ।” बस्नेतका अनुसार महिला लागू औषध प्रयोगकर्ताले समाजमा पुनस्र्थापना हुन झन् संघर्ष गर्नुपर्ने बताउनुभयो । “घरमा एउटा छोरीले लागू औषध लिएको थाहा पाएपछि अभिभावकले इज्जत जाने डरले लुकाएर राख्ने, उपचारमा नलैजाने, शारीरिक तथा मानसिक हिसां गर्ने गरेको थुप्रै उदाहरण छन् ।” लागू औषध प्रयोग गर्ने किशोरीहरू घर छाडेर साथीसँग बस्नुपर्ने अवस्था पनि रहेको छ । जसले गर्दा महिला लागू औषध प्रयोगकर्तापछि जीवन निर्वाहको लागि यौन कर्ममा पनि लाग्ने गरेको कार्यक्रम अधिकृत बस्नेतले बताउनुभयो । उहाँले पहिले कुनै एक जक्सनमा बसेर लागू औषध सेवन गर्नेहरू अहिले सामाजिक सञ्जालका कारण लागू औषध सजिलोगरी पाउन थालेपछि घरमै बसेर प्रयोग गर्ने गरेको बताउनुभयो ।

उपचार केन्द्रमा हालसम्म २ सय ८ जना महिलाले सेवा लिएका छन् । यस्तै कास्कीमा हाल १५ वटा पुनस्र्थापना केन्द्र रहेका छन् ।

डिप्रेसनदेखि एचआईभीसम्म

लागू पदार्थ अन्तरगत गाँजा, चरेस, भाङ, अफिम, हेरोइन, डाइजापाम, मेथाडोन, नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन, नोर्फिन, कोडिन, फेन्सीडिल, कोरेक्सलगायतका रहेका छन् । लागू औषधको प्रयोगले शारीरिक मानसिक, पारिवारिक तथा सामाजिक असर पर्दछ । लागू औषध प्रयोग गर्दाको सिरिन्ज साटासाट गर्दा एचआईभी/एड्स, हेपाटाईटिस, यौनजन्य रोगहरू पनि सर्दछ । यसका साथै डिप्रेसन, आत्महत्यातर्फ प्रेरित हुने, एकोहोरोपन हुन थाल्ने, परिवारमा असमझदारी बढ्ने, अन्य अपराधतर्फ उन्मुख हुने पनि गर्दछ । नेपाल सरकारको २०७६ को प्रतिवेदनले लागू पदार्थ प्रयोगकर्ताहरूमा १५ प्रतिशतलाई हेपाटाइटिस, यौनजन्य रोग २.५ प्रतिशत, एचआईभी/एड्स ३.५ प्रतिशत, कुपोषण १.३ प्रतिशत, क्षयरोग ४.० प्रतिशतलाई रहेको देखाएको थियो ।

लागू औषध दुर्व्यसन मुक्त बनाउने अभियानमा कास्की प्रहरी

कास्की प्रहरीले कास्कीलाई लागू औषध दुर्व्यसन मुक्त बनाउने अभियान सञ्चालन गरिरहेको छ । जसका लागि विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा जनचेतामूलक कार्यक्रमको आयोजना गरिएको छ । र्‍यापर आशिष राना पक्राउ परेपछि उहाँलाई काउन्सेलिङ गरेका कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले भन्नुभयो– “लागू औषध दुर्व्यसनबाट बाहिर ल्याउन काउन्सेलिङको आवश्यकता हुन्छ । आशिष रानाको घटनामा हामीले उहाँलाई धेरै सम्झाएका थियौ, युवा वर्ग नै बढी लागू औषध दुर्व्यसनमा रहेकाले उहाँले नै यसरी अभियान लिएर जाँदा प्रभावकारी बन्नेछ ।” लागू औषध विरुद्धको अभियानएन्टी ड्रग क्याम्पेन गरिरहेको कास्की प्रहरीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, साइकल र्‍यालीलगायतका कार्यक्रमको आयोजना गरेको छ ।

हाल नेपालमा लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार लागू औषध सेवन तथा कारोबारको प्रकृति हेरेर एक महिना देखि १५ वर्षसम्मको कैद सजाय र दुई हजारदेखि २० लाखसम्मको रकम जरिवानाको दण्ड सजायको व्यवस्था रहेको छ ।

आवरण चित्रः अमेरिकी कलाकार रायन स्लोजको पेन्टिङ

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
दुर्व्यसनको दलदलमा युवा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link