बाल यौनदुराचारीहरू सलबलाएको पोखरा

दुर्गा रानामगर

विदेशी पेडोफाइलहरूका लागि हब बनेको छ- नेपाल। पेडोफाइल अर्थात् ससाना बालबालिकाहरूप्रति यौन चाहना हुने व्यक्ति हुन्। पेडोफाइल पुरुष र महिला दुवै हुन सक्छन्। सबै पेडोफाइल यौन दुराचारी हुन्छन् भन्ने हुँदैनन् कतिले यस चाहनालाई दबाएर, काउन्सिलिङ गर्छन् भने कतिले आफ्नो चाहना पूरा गर्न लागि पर्छन् र बालबालिकालाई यौन शोषण गर्छन्।

युरोप तथा अमेरिकामा कडा कानुन भएकाले पनि यस्ता पेडोफाइलहरू नेपाल, भारत जस्तो मुलुकमा आफ्नो चाहना पूरा गर्न आउँछन्। भनिन्छ नेपाल पेडोफाइलहरूका लागि स्वर्ग हो रे। विदेशी पर्यटकको भेषमा नेपाल घुम्ने उद्देश्यले होइन कानुन बलियो छैन, भाग्न सकिन्छ र सुरक्षित हुन्छ भन्ने सोचले बालकहरूमाथि यौन शोषण गर्न उनीहरू आउँछन्। त्यसमा पनि नेपालको मुख्य पर्यटकीय शहरमा जहाँ पर्यटकको बढी आवातजावत छ त्यस्ता ठाउँमा विदेशी पेडोफाइल हुने सम्भावना बढ्छ। पोखरा पनि तिनै मध्येको एक हो। कास्की प्रहरीले सूचनाको आधारमा बेलाबेलामा लेकसाइड र पोखरा आसपासबाट विदेशी यौन दुराचारीहरूलाई पक्रिएको छ।

पैंतालीस वर्षका क्यानेडियन नागरिक रोबर्ट किन्कले सन् २०२० को फेब्रुअरीमा नेपाल आएका थिए। नेपाल आए लगत्तै पोखरा लेकसाइडको एउटा होमस्टेमा बसे। गत वर्ष २०७८ को कात्तिक ६ गते होमस्टेबाट उनलाई ३ जना बालकसहित प्रहरीले पक्राउ गर्‍यो। किन्कलेको शंकास्पद व्यवहार बारे कास्की प्रहरीले पहिल्यै सूचना पाएको थियो। त्यसै सूचनालाई आधार मानेर प्रहरीले किन्कले माथि निगरानी गरिरहेको थियो। त्यसै आधारमा पक्राउ परेको दिन प्रहरी होमस्टेको कोठामा पुग्दा खाटमा रहेको ल्यापटपमा अश्लिल नग्न भिडियो हेरिरहेको र ३ जना बालकलाई कोठामा रहेको ट्वाइलेटमा थुनिएको अवस्थामा उनलाई भेटिएको थियो। किन्कलेलाई २ महिना अगाडि बालकहरूले चौरमा फुटबल खेल्न लागेको बेला भेटेका थिए। त्यसपछि किन्कले बालकहरू भएको ठाउँमा खेल्न थालेका थिए। बालकहरूसँग फेवातालमा पौडी खेल्ने र चकलेट, बिस्कुट खाना दिएर प्रलोभनमा पार्न थालेका थिए। पौडी खेल्ने क्रममा किन्कलेले बालकहरूलाई मोबाइलबाट नग्न भिडियो देखाएर यौनजन्य क्रियाकलाप पनि गरेका थिए। उनको कोठामा बालकहरू आउजाउ गर्न थालेपछि प्रहरीकोमा सूचना पुगेको थियो।

नेपालमा यसरी विदेशी आएर बालकहरूलाई यौन शोषण गरेका हजारौं घटना मध्य यो एक हो। विदेशीबाट यौन शोषण भएका घटना कति बाहिर आउँछन्, कति आउँदैनन्।

बालबालिकाको क्षेत्रमा चर्चित नाम हो पिटर डलग्लिस। संयुक्त राष्ट्रसंघलगायतका संस्थादेखि सडक बालबालिका तथा बालश्रमको क्षेत्रमा पिटरले काम गर्नुभएका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँको एक सम्मानित नाम थियो। नेपालमा पनि लामो समय बालबालिकाको क्षेत्रमा काम गरेको पिटर गत २०७६ सालमा काभ्रेको एक घरबाट दुई जना बालकसहित समातिएका थिए। उसले बालकहरूलाई यौन शोषण गरेको रहेछ। बालबालिकाको पक्षमा वकालत गरेका व्यक्ति नै बाल यौन दुराचारी निस्किएपछि त्यस घटनाले नेपालमा बालबालिका सुरक्षाको अवस्था चित्रण गरेको थियो।

गत २०७७ चैत्रमा पनि पोखरा सेदीबाट ६७ वर्षका अमेरिकन नागरिक माइकल नोरम्यान टेलर पक्राउ परे। तेस्रो पटक नेपाल आउनुभएका माइकल लेकसाइड नजिकैको सेदीको होमस्टेमा बस्दै आएको थियो। उहाँले आर्थिक अवस्था कमजोर भएका बालकहरूलाई लेकसाइडमा घुमाउने, खाजा खुवाउने गरी आफूतिर आकर्षित गर्न थालेका हुन।। त्यसपछि फेवाताल किनारामा एकान्त ठाउँमा लगि ४ जना बालकहरूलाई यौनजन्य क्रियाकलाप गर्थे। आफ्नो कोठामा लगेर पनि उसले बालकहरूलाई यौन शोषण गर्थे। परिवारको सूचनाको आधारमा माइकललाई कोठाबाट प्रहरीले पक्राउ गरेको थियो।

विदेशी मात्र नभएर बालकहरूलाई गरेको यौन शोषणका घटना बाहिर आएपछि गत असार १० गते कास्कीको लाहाचोकबाट विद्यालयका सञ्चालक रामचन्द्र शाही पक्राउ परे । धेरै वर्षदेखि नै बालकहरूलाई जर्बजस्ती यौनजन्य क्रियाकलाप गर्दै आएको भन्दा लिखित उजुरी ४ जना बालकले दिएका थिए। अहिले शाही कास्की प्रहरीको थुनामा छन्।

नेपालमा यस वर्ष २ सय ८१ जना बाल यौन दुरुपयोगको घटनामा पक्राउ परेका छन्। यस्तै ३६ जना अप्राकृतिक मैथुनको घटनामा समातिएका छन्। कास्कीमा यस आर्थिक वर्षको जेठसम्म बाल यौन दुरुपयोगमा १३ जना, गत ७७/७८ मा १६ जना र ७६/७७ मा १० जना पक्राउ परेका थिए। कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बालबालिकामाथि हुने यौन शोषणको घटना प्राथमिकतामा रहको बताउनुभयो। उहाँले बालबालिकालाई राम्रो र नराम्रो छुवाईका बारेमा अभिभावक तथा शिक्षकले सिकाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो– “बालबालिकालाई राम्रो नराम्रो छुवाईका बारेमा थाहा हुने हो भने यस्ता व्यक्तिहरूबाट बालबालिका बच्न पनि सक्छन्।

बालबालिकाको क्षेत्रमा काम गरिरहेका अभियन्ता भन्छन्विदेशी भन्ने बित्तिकै राम्रा हुन्छन्, सहयोग गर्छन् भन्ने विश्वास हुन्छ र सोहीका आधारमा उनीहरूलाई बालक र उसको परिवारलाई प्रलोभनमा राखी यौन शोषण गर्छन्। यसरी आएका विदेशी पेडोफाइलहरूले नेपालीका सम्पूर्ण चाडपर्वको मौका र जन्मदिनलगायतको अवसरमा परिवारलाई सामान किनिदिने, बालकलाई सहयोग गर्ने गर्छन्। यस्तै बालबालिका जमघट हुने ठाउँमा पुग्छन्। एक अभियन्ताले भन्नुभयो– “स्वीमिङ पुल, प्ले ग्राउण्ड, बाल गृह, स्कुलका छेउछाउ जहाँ बालबालिका हुन्छन् त्यही ठाउँमा आफ्ना लागि शिकार गर्न निस्कन्छन्। बालबालिकालाई लोभ देखाएर समय बिताउन थाल्छन् र मौका पाउने बित्तिकै यौन शोषण गरिहाल्छन्।उहाँले कतिपय बालकलाई त्यस्ता विदेशीले ट्रेकिङमा समेत लैजाने गरेको र शहरबाट टाढा लगेपछि त्यस्ता ठाउँमा कसैले थाहा नपाउने भएकाले बालकलाई यौनशोषण गर्न सजिलो वातावरण बन्ने बताउनुभयो। उहाँले बालबालिकालाई यस्ता पेडोफाइलबाट बचाउनका लागि अभिभावक नै सचेत बन्नुपर्ने आवश्यकता औल्याउनुभयो। अभियन्तले भन्नुभयो– “आफ्ना बच्चा हरेक क्षण कहाँ छन्, कोसँग हिँडिरहेका छन्, कस्तो अवस्थामा छन् भन्ने विषयमा अभिभावकलाई थाहा हुनुपर्‍यो। त्यस्ता गतिविधि बारे शंका भए प्रहरीलाई खबर गर्नुपर्छ  र अहिलेदेखि नै आफ्ना बच्चालाई राम्रो र नराम्रो छुवाईका बारेमा अभिभावकले सिकाउनुपर्छ।

होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले लेकसाइडमा रहेको ७ सय बढी होटल मध्ये ४ सय मात्र एशोसिएनको सदस्य होटल रहेको बताउँदै यी होटलमा त्यस्ता किसिमका गतिविधि हुने बारे सचेत गराइरहेको बताउनुभयो। उहाँले यस्ता गतिविधि भएमा प्रहरीलाई खबर गर्न आफ्ना सदस्य होटलहरूलाई बेलाबेलामा कडाइका साथ भनिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– “यस्ता गतिविधिहरू हाम्रा सदस्य नभएका होटलमा नै हुने गरेका छन्। पर्यटकलाई राख्न सकिने स्ट्याण्डर्ड पुगेमा लेकसाइडका अरु होटललाई पनि हाम्रो एशोसिएसन भित्र ल्याएर काम गर्ने तयारी गरिरहेका छौं।

बालबालिकको क्षेत्रमा पोखरामा काम गरिरहनुभएका बाल अधिकारकर्मी केशव पौडेलले बालबालिका रहेको ठाउँमा नियमित निगरानी हुनुपर्ने बताउनुभयो। उहाँले बाल गृह, विद्यालय लगायतका ठाउँमा सरकारी पक्षबाट बालबालिकाको अवस्था कस्तो छ भनेर नियमित निरीक्षणमात्र गर्ने हो भने यस्ता घटना केही हदसम्म नियन्त्रण गर्न सकिने बताउनुभयो। पौडेलले भन्नुभयो– “जहाँ बालबालिका छन् त्यहाँ समस्या आउँछन् र त्यसको अवस्थाका बारेमा नियमित निरीक्षण गर्नुपर्छ तर हाम्रो कास्कीको हकमा त्यो छैन। घटना भएपछि मात्र त्यहाँ पुग्ने गरिएको छ।

अधिकारकर्मी पौडेलले भन्नुभएको जस्तै कास्कीमा बाल संरक्षणका लागि सरकारी तथा गैरसरकारी संघसंस्था छन् तर बेलाबखतमा निरीक्षण गर्ने र घटना भइहाले तुरुन्तै काम गरिहाल्ने संयन्त्र भने कमजोर छ। बालबालिकाको संरक्षणको क्षेत्रमा नै काम गरिरहेकाहरूलाई कास्की लाहाचोकको घटना बारे नै थाहा नै नभएको अवस्था पनि थियो। बाल यौन दुरुपयोगको घटना भएकाले प्रहरीले अनुसन्धान गरेको छ भनेर तर्किने पनि थिए। बालबालिका र बाल संरक्षणको विषयसँग जोडिएको संवेदनशील विषयमा प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता कास्की जिल्लामा रहेको छ।

पोखरा महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख निर्मला शर्माले बाल यौन दुरुपयोगको घटना पोखराको मात्र नभएर देशभरिको समस्या रहेको बताउँदै यसलाई हुन नदिनका लागि महानगरले सचेतनाको कार्यक्रम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो– “स्वास्थ्य, शिक्षाको डाटा हेर्ने भने पोखरा राम्रो अवस्थामा छ तर बेलाबेला घटिरहेका घटनाले फेरि झन् बढेको सकेंत गर्छ। लैङ्गिक सचेतना भनेर हामीले महिलालाई मात्र प्राथमिकता राख्यौं अब भने पुरुषलाई पनि प्राथमिकता राखेर कार्यक्रम ल्याउने सोचेका छौं।बाल शोषणको घटना भइहाले पोखरा महानगरसँग रेस्क्यु, काउन्सिलिङका लागि केही संयन्त्र छ कि छैन भन्ने प्रश्नमा शर्माले त्यस्तो संयन्त्र अहिले नरहेको जवाफ दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link