पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वभर चिनाउने ‘पुतली बाजे’

दुर्गा रानामगर

पोखराको हरियोखर्क अस्पतालस्थित प्यालिएटिभ केयरको बेड नं बी २०० मा भेटिनुहुन्छ कोलिन फिलिप स्मिथ। समय हुने बित्तिकै कि पढ्ने, कि लेख्ने, कि डुल्न हिड्नु हुने कोलिन अहिले अस्पतालको बिस्तरामा पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्यूमरसँग लड्दै हुनुहुन्छ। हिडेर एक्लै नेपालका अधिकांश जिल्ला पुग्नुभएको उहाँलाई अहिले बिस्तराबाट उठ्न हिँडडुल गर्न सहाराको आवश्यकता पर्छ। उमेरले ८६ वर्ष पुग्नुभयो। शरीरले साथ दिएको समयमा अहिले अस्पतालको बिस्तराबाट चिया पिउन क्यान्टिन सम्म पनि पुग्नुहुन्छ। बिस्तरा छेउको टेबलमा रहेको बाइबल पनि पढ्नुहुन्छ। धेरै बोल्नु हुदैँन। त्यसबाहेकको अधिकांश समय निदाउनुहुन्छ। दुई महिनादेखि अस्पतालमा रहेका कोलिन स्मिथको दिनचर्या अहिले यस्तै छ।

उहाँको यथार्थ नाम कोलिन फिलिप स्मिथ भएपनि यो नामले उहाँलाई चिन्ने र बोलाउने कम छन्। किनकी उहाँलाई चिन्नेहरूले बोलाउने नाम ‘पुतली बाजे’ हो। गोरो वर्णको विदेशी, सेतो दारी पालेका, साधारण सर्ट र पाइन्ट लगाएका, नेपाली भाषा बोल्ने र बुझ्ने, पुतलीका फोटोहरू भएको पोस्टकार्ड लिएर पोखराका सडकहरूमा ओहोरदोहोर गरेका देख्नेहरूले चिन्न थालेपछि नाम राखिदिए ‘पुतली बाजे’। ‘पुतली बाजे’ नेपालमा बस्नुभएको ५६ वर्ष भइसकेको छ। यो समयमा उहाँले नेपालमा पुतलीको पहिचान, खोज, अध्ययन र सङ्कलनमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोले नै आज पुतलीको खोजमा नेपालको नाम पनि विश्वको नक्सामा चिनिएको छ।

गणितमा अब्बल स्मिथ शिक्षण गर्न जब नेपाल आउनुभयो

बेलायतमा जन्मनुभएको कोलिनको सानै उमेरदेखि नै रुचि र अध्ययनको विषय गणित थियो। विद्यालयदेखि स्नातकोत्तर तह सम्मको अध्ययनमा उहाँले गणितलाई नै आफ्नो अध्ययनको मूल विषय बनाउनुभयो। त्यसलगत्तै उहाँले एक विश्वविद्यालयमा सहायक लेक्चररको रुपमा सन् १९५९ मा गणितको अध्यापन गराउन थाल्नुभयो। सन् १९६६ मा युनाइटेड मिसन टू नेपालबाट स्मिथ शिक्षण कार्यका लागि बेलायतबाट  नेपाल आउनुभयो। पोखरा, गोरखा र काठमाडौँका विभिन्न विद्यालय र क्याम्पसमा उहाँले विज्ञान र गणित विषय पढाउनुभयो। गोरखाको विद्यालयमा पढाउँदा उहाँको विद्यार्थी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवङ्गत चिकित्सक उपेन्द्र देवकोटा पनि हुनुहुन्थ्यो।

शिक्षणको क्रममा उहाँले आफ्नो रुचिको रुपमा पुतलीको सङ्कलन गर्न थाल्नुभएको थियो। उहाँको मामाले बेलायतमा पुतलीको सङ्कलन गर्नुहुन्थ्यो। सानो उमेरमा मामाले सङ्कलन गरेको पुतली देख्दा उहाँ पनि पुतली तर्फ आकर्षित हुनुभएको थियो। नेपालमा आएपछि यहाँ थुप्रै रङ्गको पुतली उहाँले देख्नुभयो। जसले गर्दा शिक्षणबाट समय मिल्ने बित्तिकै उहाँले आफ्नो रुचिका रुपमा पुतली सङ्कलनको काम थाल्नुभयो। पुतलीको मोहले नै स्मिथलाई नेपाल छाडेर जान दिएन। शिक्षणका लागि आउनुभएको स्मिथले पढाउने काम विस्तारै छोड्दै पुतलीको अध्ययनमा समय दिन थाल्नुभयो।

बेलायतमा सन् १९८० मा कोलिनका पिता बित्नुभएपछि उहाँ बेलायत फर्कनुभएको थियो। त्यसपछि आमा बिरामी भएपछि ५ वर्ष आमाको हेरचाहमा बेलायतमा नै बस्नुभयो। सन् १९८६ मा आमा बितिसकेपछि भने ‘पुतली बाजे’ नेपाल फर्किनुभयो। त्यसपछि निरन्तर रुपमा उहाँले आफ्नो जीवन नेपालमा नै पुतलीको खोज, अनुसन्धान र सङ्कलनमा बिताउनुभयो। उहाँले काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पि.एन क्याम्पस, एक्याप, इन्टरनेसनल माउन्टेन म्युजियम, फरेस्ट्री क्याम्पस, लिर्बडलगायतमा पुतलीसँग सम्बन्धित विषयमा रहेर नै काम गर्नुभयो।

पुतली बाजे र परियार समुदाय

नेपाल आएदेखि सन् १९७२ सम्मको समयमा उहाँले विभिन्न विद्यालयमा शिक्षणसँगै पोखराको गण्डकी बोर्डिङ स्कुलको स्थापनाको लागि पनि काम गर्नुभयो। दुई वर्षसम्म सो विद्यालयमा पढाउनुभएको स्मिथ धेरै समय पोखरामा नै बस्नुभयो। पहिले पोखरा नदीपुर क्षेत्रमा भाडामा बस्नु हुने स्मिथ केही समयपछि पोखरा लामागाउँमा सानो घर बनाएर बस्नुभयो। स्मिथ बस्नुभएको सो क्षेत्रमा परियार समुदायको बाहुल्यता थियो। उहाँले परियार समुदायको बच्चाहरूलाई पनि औधि माया गर्नुहुन्थ्यो। उहाँले दशैँ तिहारको छुट्टिमा त्यहाँका १२, १३ वर्षका बालकहरूलाई रूपातालमा क्याम्पिङमा लैजानुहुन्थ्यो। सो क्याम्पिङमा उहाँ पुतली सङ्कलन गर्नुहुन्थ्यो र बालकहरूलाई पढाउनु पनि हुन्थ्यो। बालकहरू रमाइलो पनि मान्थे।

सुरेन्द्र परियार त्यही बालकहरू मध्येका एक हुनुहुन्थ्यो। कोलिनको प्रेरणा र सिकाइले उहाँ पनि पुतलीको अध्ययन र सङ्कलनमा आकर्षित हुनुभयो। उहाँ अहिले पृथ्वी नारायण क्याम्पस पोखरामा रहेको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा प्रमुखको रुपमा काम गर्दै हुनुहुन्छ। सो म्युजियम पुतली सङ्ग्रहालयको उपनामले पनि चिनिन्छ किनभने त्यहाँ पुतलीहरू सङ्कलन गरिएको छ। सुरेन्द्र भन्नुहुन्छ, “उहाँले नै मलाई पुतलीको अध्ययन र सङ्कलनका लागि प्रेरणा दिनुभयो, सिकाउनुभयो। परियार समुदायप्रति उहाँको विशेष लगाव थियो। माया गर्नुहुन्थ्यो। हामीलाई क्याम्पमा लैजाँदा उहाँले नै पुतली सङ्कलनका बारेमा सिकाउनुहुन्थ्यो। उहाँले परियार समुदायका धेरैलाई सहयोग पनि गर्नुभएको छ।”

मीन परियार

क्याम्पमा जानेमा उमेरले सबैभन्दा ठूलो हुनुहुन्थ्यो मीन परियार। मीनको क्याम्पमा खाना पकाउने जिम्मा हुन्थ्यो। आमा नभएको मीनलाई स्मिथले आफ्नो घरको काम गर्नका लागि सघाउन भन्नुभएको थियो। सोही अनुरूप स्मिथसँग मीन बस्न थाल्नुभएको थियो। र अहिलेसम्म पनि स्मिथको हेरचाहमा उहाँ हुनुहुन्छ। स्मिथ र मीनका बीचमा काममा सघाउने भनी सहमति भएपनि सम्बन्ध बाबु छोराको जस्तो भएको छ। बाहिरबाट देख्नेहरूले मीनलाई स्मिथको धर्म छोरा नै भन्ने गरेका छन्। स्मिथ पटक पटक बिरामी हुँदा अस्पताल लैजाँदा सम्बन्धमा छोरा नै भन्नुभएको छ मीनले। उहाँ भन्नुहुन्छ, “म सानो देखि सँगै बस्दै आएको अब यति वर्ष भइसक्यो। मेरो पनि छोराछोरी भइसकेको छ। अस्पताल ल्याँउदा सबै मैले गरेको छु। उहाँको बानी व्यहोरा सबै थाहा छ मलाई।” उहाँ स्मिथसँगै यतिबेला पनि अस्पतालमा हुनुहुन्छ। बिरामी स्मिथको कपडा धुने, सरसफाइ गरिदिने, खाना खुवाउने सबै जिम्मा एक्लै मीनले गर्दै हुनुहुन्छ। मीन स्मिथलाई ‘सर’ भनेर सम्बोधन गर्नुहुन्छ। उहाँको सम्झनामा स्मिथ पहिले मिजासिलो स्वभावको हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “टीभी, फिल्म हेरेको मन नपराउने। आफूचाहिँ  धेरै जसो समय पढ्नुहुन्थ्यो कि लेख्नुहुन्थ्यो। पुतलीको फोटोहरू खिच्नुहुन्थ्यो।” आफ्नो बाल्यकाल नै स्मिथसँग बितेको र स्मिथले पनि आफूलाई विश्वास गर्ने भएकाले उहाँको हेरचाह गर्नमा नै खुसी लाग्ने मीनले बताउनुभयो। लामागाउँको घरमा सानो एक कोठामा कोलिन बस्नुहुन्छ भने पछाडिको अर्को घरमा मीनको परिवार बस्दै आउनुभएको छ।

‘पुतली बाजे’ ले गर्नुभएको पुतलीको अनुसन्धान र सङ्कलन

कोलिन स्मिथले पुतलीको खोज अनुसन्धान गर्नु अघि पनि नेपालमा अध्ययन हुने गरेको थियो तर विदेशबाट आएकाहरूले नेपालको पुतली सङ्कलन गर्थे र विदेश लैजान्थे। नेपालमा मात्र पाइने कतिपय पुतलीहरूका बारेमा बुझ्न अहिले विदेश जानुपर्ने अवस्था रहेको बताउनुहुन्छ पुतली अध्ययन तथा खोजकर्ता सुरेन्द्र परियार। परियार भन्नुहुन्छ, “ कोलिनले नेपालको पुतली नेपालमा नै रहनुपर्छ भन्नुहुन्थ्यो। यी पुतली पनि नेपालको प्राकृतिक सम्पत्ति हो। यसलाई बाहिर लैजान नदिई नेपालमा नै अध्ययन अनुसन्धानका लागि काम गर्नुपर्छ भन्नुहुन्थ्यो।” त्यसैले नै उहाँको पहलमा नै पृथ्वी नारायण क्याम्पसको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियममा स्मिथले सङ्कलन गर्नुभएको पुतली र निशाचर पुतली (मोथ्स) राख्न थालियो। हाल सङग्रालयमा नेपालका ६ सय ६० प्रजातीको पुतली र निशाचर पुतलीको सङ्कलन राखिएको छ। नेपालमा पुतली र निशाचर पुतली (मोथ्स) को संकलन पोखराको पीएन क्याम्पसमा रहेको एक्यापको संग्राहलय, पोखराकै अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम र काठमाडौँ स्वयम्भुमा रहेको नेचुरल हिस्ट्री म्युजियममा रहेको छ। यी तीनै ठाँउमा पुतली सङ्कलन र अध्ययनमा कोलिनले महत्वपूर्ण योगदान दिनुभएको छ।

नेपालमा पुतलीको सङ्कलन र अध्ययनमा कोलिनसँगै अर्को महत्वपूर्ण योगदान पुर्‍याएको व्यक्तिको नाम हो महेन्द्र सिंह लिम्बु। पुतलीविज्ञ लिम्बुले कोलिन स्मिथलाई पहिलो पटक सेन्ट जेभियर्समा कक्षा १० मा पढ्दा भेटनु भएको थियो। उहाँलाई त्यतिबेला नै पुतली प्रति रुचि थियो। लिम्बुले पुतलीबारे स्वअध्ययन गर्न थाल्नुभयो। उहाँले सन् १९९२ मा एक जापानी एनटोमोलिजस्ट (किरा, पुतलीबारे अध्ययन गर्ने) टोसिरो हरुतासँग निशाचर पुतली सङ्कलनको काम सुरु गर्नुभयो। त्यसबीच हरुताले ५ वटा निशाचर पुतलीबारे किताब निकालिसकेका थियो। सन् १९९६ मा हरुताको मृत्यु भएसँगै निशाचर पुतलीको अनुसन्धानको काम केही समय रोकिएको थियो। यही समयमा स्मिथ र लिम्बु पुतली अध्ययनका क्रममा नजिकिन पुग्नुभयो। उहाँले कोलिन सधैँ पुतलीको बारेमा एकोहोरो कुरा गरिरहने बताउनुभयो। उहाँले कोलिनले गर्दा नै पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वको नक्सामा चिनिएको बताउनुभयो। उहाँले भन्नुभयो, “कोलिनले त्यतिबेला यो आवाज नराखेको भए अहिले पनि हाम्रा पुतलीहरू विदेशमा मात्र अध्ययन गरिन्थ्यो तर अहिले नेपालमा नै अध्ययन र सङ्कलन भएकाले विदेशीहरू पुतलीबारे नेपालमा अध्ययनमा आउन थालेका छन्।” उहाँको नजरमा कोलिन पुतली बाहेक एक साधारण जीवन जिउन मनपराउने मनकारी व्यक्ति हुनुहुन्छ। कोलिनलाई नजिकबाट चिन्नुभएको लिम्बुले भन्नुभयो, “कोलिन सहयोगी, दीनदुःखीलाई माया गर्ने किसिमको व्यक्ति हुनुहुन्छ। तर उहाँको सिद्धान्त एक हातले दिदाँ अर्को हातले थाहा नपाओस् भन्ने छ। जसले गर्दा उहाँले गर्नुभएको सहयोग बाहिर धेरैलाई थाहा छैन।” सन् २००९ मा कोलिन र लिम्बुले संयुक्त रुपमा बटरफ्लाई टुर्स नामको एक ट्रेकिङ कम्पनीको स्थापना गरेका थिए। जसको उद्देश्य ट्रेक गर्दै पुतलीको अध्ययन गर्ने थियो।

कोलिन स्मिथले नेपालको पुतलीबारे ११ भन्दा बढी किताब र दर्जनौँ जर्नलहरू प्रकाशित गर्नुभएको छ। उहाँको पहिलो किताब सन् १९८९ मा बर्टरफ्लाइज अफ नेपाल अर्थात् नेपालका पुतलीहरू भन्ने थियो। काठमाडौँ भित्र पाइने पुतली, चितवन राष्ट्रिय निकुञ्ज भित्र पाइने, अन्नपूर्ण संरक्षण भित्र पाइने पुतली लगायतका किताब प्रकाशित छन्।

पीएन क्याम्पसभित्रको एक्याप सङ्ग्राहालयका प्रमुख परियारलाई कोलिनले पुतलीको सङ्कलन र अध्ययन गरि नेपाल र नेपालीका लागि ठूलो सम्पत्ति दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “कोलिन पुतलीका लागि नै जन्मिएको मान्छे हुनोहुँदो रहेछ। उहाँले गर्नुभएको काम नेपाल र नेपालीको लागि ठूलो सम्पत्ति हो। उहाँले साधारण मान्छेलाई बायोडाइभर्सिटिमा पुतलीको महत्व र यसको संरक्षणको आवश्यकताबारे ज्ञान दिनुभएको छ। त्यही भएर नै पुतली सङ्ग्रहालयमा देश विदेश देखि पुतलीबारे बुझ्न आउने गरेका छन्।”

नेपाली नागरिक कोलिन स्मिथ

सन् १९९४ मा नेपाली नागरिक बन्नका लागि कोलिनले पहिलोपटक निवेदन दिनुभएको थियो। त्यसपछि पनि पटक पटक निवेदन दिदाँपनि उहाँलाई नागरिकता दिइएन। विसं २०७६ मा चौतर्फी दबाब दिएपछि भने उहाँलाई सम्मानार्थ नागरिकता प्रदान गरिएको थियो। आफ्नो देश बेलायत छाडेर नेपाललाई नै आफ्नो घर मान्नुभएको कोलिनको लागि त्यो दिन खुसीको दिन थियो। सधैँ नेपाली ढाका टोपीमा हिड्ने कोलिनलाई सरकारले नेपालमा पाइने पुतलीहरूको अनुसन्धान र अध्यापनको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भनी सम्मानार्थ नागरिकता प्रदान गरेको थियो।

“बिरामी भएँ, याद छैन”

कोलिन स्मिथले सुरुवातदेखि नेपाली भएर नेपालमा नै मर्ने इच्छा व्यक्त गर्नुभएको थियो। बेलाबखतमा आफ्ना नजिककाहरूलाई उहाँले आफ्नो लाश सेतीमा लगेर जलाइदिनु पनि भन्नुभएको छ। उहाँ पेटको समस्याका कारण यो भन्दा अघि पनि धेरैपटक अस्पतालमा भर्ना हुनुभएको छ। यसपटक भने उहाँको अस्पतालको बसाइ लम्बिएको छ। अहिले ‘पुतली बाजे’ लाई पहिलेको धेरै कुरा याद छैन। अंग्रेजी लवज भएपनि नेपाली बोल्ने उहाँको बोली लरबरिन थालेको छ। पहिलेको कुरा सोध्दा उहाँ आफूलाई याद नभएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “हिजो आजको कुरा याद छ पहिलेको याद छैन। बिरामी भएँ।” कहिलेकाँही न्युजिल्याण्डमा रहेका दाइसँग उहाँको कुरा हुने गरेको छ। अस्वस्थ भएका कारण धेरै बोल्न चाहनु हुन्न। अस्पतालको भुइँतला र ढोका छेउ नै उहाँको बिस्तरा छ। नजिकै हरियाली बगैँचा छ। बगैँचामा पुतली पनि आउने गरेका छन् तर पहिले जसरी अब ‘पुतली बाजे’ पुतली छेउ जान र तिनलाई पढ्न सक्दैनन्।

 

         

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वभर चिनाउने ‘पुतली बाजे’
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link