फेवातालको सुन्दरता नियाल्न देश विदेशबाट हजारौंको संख्यामा पर्यटक पोखरा आउँछन्। करिब ५.७२६ वर्ग किलोमिटरमा फैलिएको फेवातालमा डुंगा चढेर पर्यटकहरू तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शनसँगै फेवातालको सयर गर्न पनि मन पराउँछन्। अधिकांश पर्यटक फेवाताल पुगेपछि डुंगा चढ्छन्। कहिलेकाँही फेवातालमा डुंगा दुर्घटनामा पर्ने गरेका छन्। कहिले प्राकृतिक कारणले त कहिले मानवीय कारणले फेवातालमा डुबेर धेरैले ज्यान गुमाएका छन्। फेवातालमा डुंगामात्र होइन प्याराग्लाइडिङ गर्ने क्रममा पनि तालमा दुर्घटनामा पर्ने गरेका छन्। फेवातालमा हुने यस्तो दुर्घटनामा उद्धारको कार्यका लागि हाल सशस्त्र प्रहरी बल र नेपाली सेना दुवैले उद्धार टोली फेवातालमा खटाएको छ। सशस्त्र प्रहरीले टावरको निर्माण गरी उद्धार टोली राखेको छ भने नेपाली सेनाले पनि आफ्नो विपद् व्यवस्थापनको उद्धार टोलीलाई २४ सै घण्टा तैनाथ अवस्थामा राखेको छ।
नेपाली सेनाले यस वर्ष (२०७९) अहिलेसम्मका २ वटा घटनामा १३ जनालाई फेवातालबाट सकुशल उद्धार गरेको छ भने एक शव निकालेको छ। २०७५ सालदेखि नेपाली सेनाले गरेको उद्धारमा ३१ वटा दुर्घटनाबाट १ सय ११ जनालाई सकुशल उद्धार गरेको छ भने २४ जनाको शव सेनाले फेवातालबाट निकालिसकेको छ।
गत जेठमा बुटवलबाट माधव मिश्र आफ्नो परिवारसँगै पोखरा फेवाताल घुम्न आउनुभएको थियो। माधवसहित परिवारका ६ जना डुंगा चढेर तालबाराही मन्दिरको पछाडि भाग पुग्दा तालमा हावाहुरी र छाल आयो। उहाँहरु चढेको डुंगा हल्लिएको थियो। मिश्रलाई मनमा डर लागिसकेको थियो। डुंगामा रहेको चालकले नआत्तिन भनिरहेका थिए तर डुंगामा रहेका सबैको मनमा डुंगा डुब्ने भयो भन्ने लागिरहेको थियो। यता फेवाताल पारीबाट डुंगालाई धेरैबेरसम्म नचलेको देखेपछि नेपाली सेना उद्धारका लागि टोली अघि बढ्यो। तालमा हावाहुरी र छाल आएको समयमा डुंगा पल्टने सम्भावना बढी हुन्छ। तत्काल तालमा सेना पुगेर उनीहरूलाई उद्धार गर्यो। डुंगाबाट उद्धार गरिएका मिश्र भन्नुहुन्छ– “करिब आधा घण्टा भइसकेको थियो। त्यतिबेला सेना उद्धारका लागि आएपछि ल अब बाँचिने भयो भन्ने लाग्यो।”
विपद् व्यवस्थापनका लागि नेपाली सेनाको महावीर गण रेञ्जरको डार्ट टोली (डिजास्टर एसेस्मेन्ट एण्ड रेस्क्यु टिम) २४ सै घण्टा तयारी अवस्थामा रहेका हुन्छन्। यस्तै उद्धारका लागि फेवाताल नजिक रहेको रणचण्डी गणको रत्नमन्दिर परिसरमा हाल विपद् व्यवस्थापन टोली खटिएका छन्। उद्धार कार्यलाई अझै व्यवस्थित तरिकाले लैजानका लागि सोही ठाउँमा हाल नेपाली सेनाले फेवाताल उद्धार केन्द्र स्थापना गरेको छ। यसअघि सानो त्रिपाल राखेर नेपाली सेनाले उद्धारको काम गरिरहेको थियो। हाल प्रदेश सरकारसँगको समन्वयमा करिब ४० लाखको लागतमा नेपाली सेनाले उद्धार भवन निर्माण सम्पन्न गरिसकेको छ। उक्त उद्धार केन्द्रको स्थापनाले फेवाताल घुम्न आउनेका लागि सुरक्षाको अनुभूति दिने बताउनुहुन्छ नेपाली सेना मध्य कमाण्ड हेडक्वार्टर प्रमुख उपरथि बाबुराम श्रेष्ठ। उपरथि श्रेष्ठ मध्य कमाण्डमा गत वर्ष आउनु भएपछि फेवातालको दर्शनका लागि पुग्नुभएको थियो। त्यतिबेला उद्धार व्यवस्थापनमा खटिएका सेना सानो त्रिपालको टहरा राखेर उद्धार गरेको देखेपछि व्यवस्थित बनाएर उद्धार केन्द्र निर्माण गर्नुपर्छ भन्ने उहाँलाई लाग्यो। उहाँको नेतृत्वमा यही वैशाखदेखि केन्द्र निर्माणको काम सुरु भएको थियो। उपरथी श्रेष्ठले व्यवस्थित उद्धार केन्द्रको स्थापनाले नागरिक र सेनाको सम्बन्ध बलियो बनाउन र उद्धारमा खटिने टोलीको मनोबल बढाउन सहयोग गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– “समाजका लागि नै सेना यहाँ छ। तालमा दुर्घटना भएको अवस्थामा तुरुन्त उद्धार टोली पुगेर सकुशल उद्धार गर्नुपर्ने हुन्छ। फेवाताल उद्धार केन्द्र निर्माण गर्दा यी सबै कुरालाई ध्यान दिएर सोही अनुसारको पूर्वाधार बनाएका छौं।” यससँगै उहाँले फेवाताल सबैको भएकाले प्रदेश सरकार, स्थानीय, नगरपालिका, वडा, पर्यटन व्यवसायीले फेवातालमा भइरहेको र्दुघटनालाई न्यूनीकरण गर्नका लागि ध्यान दिनुपर्ने बताउनुभयो। हाल नेपाली सेना फेवातालमा उद्धारका लागि टोल फ्री नम्बरको व्यवस्था गर्ने तयारीमा जुटेको छ।
जनसम्पर्क अधिकृत प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले फेवातालमा दुर्घटना हुनेबित्तिकै एक मिनेट पनि ढिला गर्न नहुने बताउनुभयो। यसका लागि उद्धार टोली सर्तक रहेर घटना हुने बित्तिकै तत्काल उद्धारमा खटिनुपर्ने बताउँदै उहाँले फेवातालको अरु किनारमा पनि उद्धार केन्द्र स्थापना गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
जनसम्पर्क अधिकृत प्रमुख सेनानी प्रेमप्रसाद पौडेलले फेवातालमा दुर्घटना हुनेबित्तिकै एक मिनेट पनि ढिला गर्न नहुने बताउनुभयो। यसका लागि उद्धार टोली सर्तक रहेर घटना हुने बित्तिकै तत्काल उद्धारमा खटिनुपर्ने बताउँदै उहाँले फेवातालको अरु किनारमा पनि उद्धार केन्द्र स्थापना गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो– “हाल सशस्त्र र सेनाको उद्धार टोली ताल बाराही मन्दिर नजिक छ। आँखाले देखिन सक्ने ठाउँमा दुर्घटना भए दुवै टोली समन्वय गरेर त्यहाँ पुग्छ तर आँखाले देख्न नसक्ने फेवातालको अर्को किनार अथवा अरु ठाउँमा पनि उद्धार टोली हुनुपर्छ। यसले कतै दुर्घटना भइहाले तत्काल उद्धारका लागि जान सकिन्छ।”
विपद् व्यवस्थापनमा उद्धारका लागि सेनाको उद्धार टोलीलाई निरन्तर तालिम, प्रशिक्षण र अभ्यास गर्दै आएको छ। गत बिहीबार पनि उद्धार टोलीले फेवातालमा हेलिकप्टरबाट उद्धार कार्यको अभ्यास गरेको थियो।
यता नेपाली सेनाको विपद् व्यवस्थापन टोलीमा रहनुभएको हवल्दार कुमार लामा तामाङ अहिले फेवातालमा रहेको उद्धार टोलीमा हुनुहुन्छ। हवल्दार तामाङले फेवातालमा प्राकृतिक कारणले भन्दा पनि मानवीय कारणले डुंगा दुर्घटना बढी हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो– “डुंगामा होहल्ला गरेर उफ्रँदा, सेल्फी खिच्दा आफैं तालमा खसेर बढी क्षति भएको छ। गाउँघर अथवा स्वीमिङ पुलमा पौडी खेलेको जस्तो हुँदैन– तालमा। यहाँ जोखिम हुन्छ। यसकारणले पनि डुंगा चढ्दा ध्यान दिनुपर्छ। लाइफ ज्याकेट लगाउनुपर्छ।” उहाँले डुंगा चढेपछि संयमित, अनुशासित भएर बस्नुपर्ने र ध्यान दिनुपर्ने बताउनुभयो। १२ वर्षदेखि विपद् उद्धार टोलीमा रहनुभएको हवल्दार तामाङले दुर्घटनामा परेकालाई सकुशल उद्धार गर्नुभएको छ। उहाँले भन्नुभयो– “हामी सेनाको टोली पुगेर जोखिम भएको ठाउँमा सकुशल उद्धार गर्न पाउँदा निकै गर्व महसुस हुन्छ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
- अलबिदा ! पुतली बाजे।
- छोरी जोगाउनै सकस !
- जेनतेन सकियो अव्यवस्थित नवौँ राष्ट्रिय खेलकुद
- राष्ट्रिय खेलकुदको रौनकले तातिएको गण्डकी
- पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वभर चिनाउने ‘पुतली बाजे’
- पानीले निकास नपाउँदा डुबानमा परेको कमलपोखरीक्षेत्र
- शहरमा पहिरोः ताल छेउ चिया बेच्न पाएन ‘ठूले’ ले
- २२ अर्ब ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य के होला ?
- बाल यौनदुराचारीहरू सलबलाएको पोखरा
- किशोरवय मै आमाः समस्या एकतिर, सरकारलाई विवाहको उमेर घटाउन हतार