राष्ट्रिय खेलकुदको रौनकले तातिएको गण्डकी  

दुर्गा रानामगर

गण्डकी प्रदेशमा आयोजनामा सुरु भएको नवौँ राष्ट्रिय खेलकुदले पोखरा र समग्र गण्डकी प्रदेश यतिबेला तातिएको छ। खेलको उद्घाटन आज शुक्रबार अपरान्ह  पोखरा रङ्गशालामा गरिएको हो । राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले भन्नुभएको छ,  ‘‘देशकै सुन्दर नगरी पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गर्व लागेको छ।यही कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुन लागेको नेपाली खेलाडी र खेलप्रेमीको यो महान् उत्सव खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्छु।”

‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ  नवौँ राष्ट्रिय खेलकुद भव्य समारोहका बीच सुरु भएको हो। औपचारिक उद्घाटनलाई भव्य बनाउनका लागि राष्ट्रिय खेलकुद परिषदले ३ सय जना स्वयंसेवकलाई खटाएको छ।  १६ हजार ५ सय सिट क्षमताको प्याराफिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति छ।

उद्घाटन समारोहमा सात वटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ। मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी थियो। यस क्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ।  

७ हजार खेलाडीको सहभागिता

औपचारिक उद्घाटन नभएपनि राष्ट्रिय खेलकुद अन्तर्गत असोज २३ गतेदेखि नै विभिन्न विधाका खेलहरू सुरु भएका थिए। प्रतियोगितामा विभिन्न ३८ विधाका खेलमा ४ सय ४ खेलहरू आयोजना भइरहेको थियो। प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम र एनआरएनए गरि कुल ११ टिमको सहभागी छन् भने ७ हजार ७ सय ९९  खेलाडीको सहभागी छन्। खेल गण्डकी प्रदेशका तीन जिल्ला मनाङ, मुस्ताङ र लमजुङ बाहेक अरु सबै जिल्लामा सञ्चालन भइरहेका छन्। महिला क्रिकेट, बुद्धिचाल, फेन्सिङ, भलिबल, बास्केटबल, हक्की, ह्याण्डबल, गल्फ, फुटबललगायतका खेलहरू अहिले सञ्चालन भइरहेका छन्।

३९ वर्षपछि राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा

नेपाल खेलकुद जगतमा सबैभन्दा बृहत् प्रतियोगिताको रुपमा हेरिने राष्ट्रिय खेलकुद प्रतियोगिता वि.सं २०३८ सालदेखि सुरु भएको हो। प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौंको दशरथ रङ्गशालामा भएको हो। दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४० साल चैत १२ देखि २० गते सम्म पोखरामा भएको थियो। त्यसको ३९ वर्षपछि यस वर्ष गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुदको आयोजना भएको हो। त्यस्तै तेस्रो राष्ट्रिय खेलकुद २०४२, चौथौ २०५५, पाँचौ २०६५, छैट्टौँ  २०६८, सातौँ २०७३, आठौं २०७७ मा भएको थियो। नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना हुने जानकारी गराइएको थियो। तर कोरोना महामारीका राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन। गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका कारण पनि खेलको मिति पछाडि सारिएको थियो।

राष्ट्रिय रनिङ ट्रफी

नवौँमा पहिलोपल्ट ‘राष्ट्रिय रनिङ ट्रफी’ बनाइएको छ। गण्डकी प्रदेशमा दोस्रो पटक हुन लागेको नवौँ राष्ट्रिय खेलकुददेखि च्याम्पियन टिमले रनिङ ट्रफी प्राप्त गर्नेछ। लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले रनिङ ट्रफी सधैँका लागि प्राप्त गर्नेछ। ट्रफीमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ। च्याम्पियन रनिङ ट्रफीको नामांकन स्वर्ण अक्षरबाट गरिएको छ। ट्रफीमा राष्ट्रिय फुल लालीगुराँसको चिन्ह अंकित गरिएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link