सन्तोषले दिदी सुनितालाई विहानै उठेर ताल छेउमा चिया बेच्न जाने बताएका थिए। दिदि सुनिता, छोरी सिम्रन र भाइ सन्तोष पोखरा–६ डिहिकोपाटनस्थित टिनले छाएको सानो कोठामा तीन वर्षदेखि डेरा गरि बस्दै आएका थिए। कहिले ज्याला मजदुरी, कहिले लेकसाइडमा पानीको बोतल बेच्ने गर्थे सन्तोष। यता सुनिता भने नजिकको पार्लरमा काम गरिरहेकी थिइन्। दिदी भाइ मिलेर कमाएको पैसाले घरको खर्च चलिरहेको थियो। अघिल्लो दिन मात्र चिया बेच्छु भनेको भाइ सन्तोष भोलिपल्ट बिहान उठ्न सकेन। दिदी सुनिता सुनारलाई अहिले पनि राती के भयो भन्ने त्यति धेरै स्मरण छैन।
आइतबार साँझदेखि नै पोखरामा अविरल भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण नै आएको पहिरोले सोमबार बिहान करिब १ बजे उनीहरू बसेको कोठा पहिरोले पुरियो। त्यतिबेला सुनिता राती शौचालय जान भनि उठेकी थिइन्। सन्तोष भने गहिरो निन्द्रामा नै थिए। कोठामा पहिरो आउने बित्तिकै ढोका खोल्ने प्रयास सुनिताले गरेकी थिइन् तर सकिनन्। त्यसपछि छिमेकी र प्रहरीको टोलीले सुनिता र उनको १० वर्षकी छोरी सिम्रनलाई उद्धार गरेको थियो। सुनिताको हात खुट्टामा चोट लागेको छ भने सिम्रनको अवस्था सामान्य छ। तर सन्तोषलाई भने जीवित उद्धार गर्न सकिएन। अस्पताल लगेको केही समयमा नै सन्तोषलाई मृत घोषित गरिएको थियो।
कास्की भुर्जुङखोला घर भएका सन्तोष उमेरले २६ वर्ष पुगेका थिए। बाबाले वास्ता नगरेपछि आमा सुमित्रा, दिदी सुनिता, सन्तोष र सिम्रन घर छाडेर काठमाडौँ पुगेका थिए। सन्तोषको ठूली दिदीको भने विवाह भइसकेको थियो। एक्ली आमा सुमित्रालाई काठमाडौँमा गाह्रो भएपछि उनीहरू फेरि पोखरा फर्किए। पोखरामा आएर डिहिकोपाटनमा कोठा डेरामा लिए। छोराछोरी एउटा घरमा र आमा नजिकको अर्को घरमा कोठा लिएर बस्दै आएका थिए। आमाले लेकसाइडमा चटपट बेच्न थालिन् भने सुनिता र सन्तोष पनि आफूले पाएको काम गर्न थाले। सुनिताको श्रीमानले छाडेका कारण आफ्नी छोरी सिम्रन र भाइ सन्तोषलाई लिएर पोखरा बसेकी थिइन्। सन्तोषमा थोरै मानसिक अपाङ्गता थियो। तर उनी सबै काम गर्थे, बोल्थे र बुझ्थे पनि। सन्तोषलाई घरका सबैले ‘ठूले’ भनेर बोलाउने गरेका थिए। केही समय अघि मात्र आमा सुमित्राले सन्तोषको अपाङ्गता पत्र पनि लिएकी थिइन्।
“कहाँ गयौ बाबु ?”
पहिरोले कोठा पुरिएपछि छोरी सिम्रनलाई ढोका तिर धकेली भाइलाई उठाउन खोज्दा सुनिता झन् माटोले चेपिएकी थिइन्। खुट्टामा चेपिएका कारण उनलाई गहिरो चोट लागेको छ। उपचार गराएर फर्किएपछि आमाको कोठामा भेटिएकी सुनितालाई रातको घटनाको धेरै स्मरण छैन। भाइले चिया बेच्न जाने भनेको उनलाई याद छ। एक वर्षले मात्र ठूली सुनितासँग सन्तोषले सबै कुरा भन्ने गरेको थियो। उनले भनिन्, “ठूलेले मसँग सबै कुरा भन्थ्यो, हिजो अस्ति काम गरेको थिएन। अनि आजदेखि ताल छेउ चिया बेच्न जान्छु भनेको थियो।”
उता पोस्टमार्टम पछि सन्तोषको शवलाई बुझ्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी सन्तोषकी आमा सुमित्रा अस्पताल परिसरमा बेहोस अवस्थामा थिइन्। होसमा आउँदा ठुले भन्दै रुदै चिच्याउदै थिइन्। चिया बेच्न आमासँग जाने योजना सन्तोषको थियो। उनले अघिल्लो दिनमा पानीको बोतल बेच्दै हिँडेका थिए। आमा सुमित्रा रुदै भन्दै थिइन्, “यस्तो हुनु रहेछ र पानी बाँड्दै हिँड्यौ तिमी, मलाई छाडेर कहाँ गयौ बाबु ?”
काठमाडौँमा बस्दा सन्तोष पटक पटक हराएका थिए। त्यतिबेला सन्तोषकी ठूली दिदी काठमाडौँ गएर खोजी गरेर भेटाएकी थिइन्। पोखरामा आएपछि दिदी बेला बखतमा भाइबहिनीलाई भेट्न गइरहेकी हुन्थिन्। अस्पताल पुगेकी उनी भक्कानिदै थिइन्। उनी बारम्बर भन्थिन् “कहाँ गयौ बाबु, मलाई पनि साथै लैजाउँ”।
“राती आवाजले थाहा पायौँ”
सन्तोष र सुनिता डेरा गरि बसेका घरधनी लक्ष्मी खड्का सुत्ने तरखरमा थिइन्। कोठाको ढोका लगाउँदा आवाज सुनिन्। उनले भनिन्, “पानी परिरहेको थियो। अँध्यारोमा के भयो हेरेनौं। तल गएर हामीले ठुले ठुले भनेर बौलायौ। तर ढोका खोल्नै सकिएन। प्रहरीलाई बोलायौँ। छिमेकलाई भन्यौ। बल्ल बल्ल ढोका फुटालेर आमा छोरीलाई निकाल्यौ तर ठुलेलाई खोज्दा खोज्दै ढिला भयो।” पहिरोले पुरिएको कोठासँग जोडिएको साढे दुई तलाको घरमा घरधनीहरू बस्दै आएका छन्।
सन्तोषको कोठासँगै जोडिएका कोठामा डेरा गरि बस्नेहरू अहिले त्यहाँबाट सामान लिएर सरी सकेका छन्। इशु भित्रकोटीको कोठा पहिरो गएको कोठासँगै जोडिएको छ। पहिरो जादा उनले पनि आवाज सुनिन्। पानी निरन्तर परिरहेकाले इशुलाई अहिले पनि डर लागिरहेको छ। आफ्नो कोठाको सामान सारिसकेकी इशुले भनिन्, “डर लागेको छ। आज त यहाँ बसिन्न।”
मुस्कुराइ रहेको सन्तोषको तस्बिर
पहिरोले पुरिएको कोठा हेर्न पुग्नेहरूको भीड बाहिर छ। कोही फोटो लिदैँ छन्। कोही कोठा छेउ आफू उभिएर फोटो खिचाइरहेका पनि छन्। कोठाको छत छैन। कोठाभित्र ढुंगा, रुखका हाँगा र माटोको हिलो थुप्रिएको छ। कोठाभित्रका लत्ताकपडा, सामान सबै हिलम्मे छ। भान्साको सामान पनि माटोले पुरिएको छ। भत्किएको कोठाको एउटा भित्तामा टाँगिएको दक्षिणकाली दर्शनको फोटो चिनो भने जस्तोको तस्तै छ। पहिरोको असर फोटोलाई परेको छैन। हात बाँधेर उभिएको त्यस फोटोमा देखिएका हँसिलो युवा सन्तोष हो। पहिरोमा पुरिएर सन्तोष रहेन तर उनी मुस्कुराइरहेको तस्बीर भने अझै भित्तामा टाँगिरहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
- अलबिदा ! पुतली बाजे।
- छोरी जोगाउनै सकस !
- जेनतेन सकियो अव्यवस्थित नवौँ राष्ट्रिय खेलकुद
- राष्ट्रिय खेलकुदको रौनकले तातिएको गण्डकी
- पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वभर चिनाउने ‘पुतली बाजे’
- पानीले निकास नपाउँदा डुबानमा परेको कमलपोखरीक्षेत्र
- २२ अर्ब ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य के होला ?
- फेवातालको अरु किनारमा पनि उद्धार केन्द्र स्थापना गर्नु आवश्यक
- बाल यौनदुराचारीहरू सलबलाएको पोखरा
- किशोरवय मै आमाः समस्या एकतिर, सरकारलाई विवाहको उमेर घटाउन हतार