बुधबार पोखरा–१३ कमलपोखरीकी सरिमा घर्तीलाई कोठामै भिजेका लत्ताकपडा, सरसामान सुकाउने हतार थियो। आईतबारदेखि अबिरल परेको वर्षा बुधबार दिउँसो केही कम भएसँगै घाम लागेको थियो। घाम लागेपछि केही राहत महसुस गर्दै घर्ती र उनका छोरा बुहारी कोठाका सामान बाहिर ल्याएर सुकाउँदै हुनुहुन्थ्यो। भारी वर्षाका कारण पोखराको कमलपोखरी क्षेत्र सोमबार डुबानमा परेको थियो।
सो क्षेत्रमा रहेको झन्डै एक सय घरका प्राय: भुइँतला जलमग्न भएका थिए। सरिमाकी बुहारी एलिजा कपडा सुकाउन व्यस्त हुँदा छोरा राजकुमार घर्ती आफ्नो दुई महिनाको बच्चा समाइरहनु भएको थियो। राजकुमारले भने– ‘पानी बढ्दै गएपछि डर लाग्न थाल्यो। सानो बच्चा पनि भएकाले आत्तिएका थियौं। कोठाका सामानमाथि मिलाएर राख्यौं। अनि परिवार नै यहाँबाट निस्किएर अलि माथि आफन्तको घरमा गएर रात काट्यौं।’ आमा सरिमाले अहिले कमलपोखरी क्षेत्रमा घर धेरै बन्दै गएकाले पनि कुलोले निकासा नपाउँदा डुबानमा परेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिले यस्तो डर लाग्ने ठाउँ थियो। पछि छिमेकी थपिदै जाँदा खुसी पनि लाग्यो तर घर थपिएसँगै कुलोको पानीले समेत निकास पाएन र हाम्रो घरमा पानी पस्यो। पहिले यस्तो थिएन। पोहोर सालदेखि यहाँ घरभित्र पानी पस्न थालेको हो।”
२०३१ सालमा पोखराको भौतिक विकास योजना अन्तर्गत कमलपोखरी क्षेत्र अर्थात् बडुवा फाँटलाई कृषि क्षेत्रका रूपमा तोकेको थियो तर सो योजना कार्यान्वयन नहुँदा खेती गर्ने जमिनमा बस्ती बस्न थाल्यो। अहिले भारी वर्षा भएसँगै काहुँडाँडा, फुलबारीलगायतका ठाउँबाट पानी बगेर कमलपोखरी नै आउने गरेको छ। बस्तीले गर्दा सो पानीको निकासा हुन नसक्दा बर्सेनि कमलपोखरी डुबानमा पर्ने गरेको हो। जसले गर्दा बर्खाको मौसम आउने बित्तिकै यस क्षेत्रका बासिन्दा एउटै समस्याबाट जुध्नुपरेको अवस्था छ। कमलपोखरीलाई हेर्न आउने मान्छेहरूलाई घरको आँगनबाट हेरिरहेका मन विश्वकर्माले पनि डुबानको डरले आफ्नो भुइँको सामान माथिल्लो तलामा लगेर राख्नुभएको छ। उहाँ भन्नुहुन्छ– ‘पानीको भर छैन, कतिबेला के हुने हो, त्यसैले सामान माथि नै राखेको छु।’
पोखरा –१३ का वडा अध्यक्ष किरण बरालले काहुँबाट बग्ने पानी सबै कमलपोखरीमा नै आउने र जमेको पानीले निकासा नपाउँदा डुबानमा परेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘तत्काल पानीको निकासाका लागि काहुँ खोला र दुई कुलाको मुहानलाई सफा गरिएको थियो। पानी परिरहेको अवस्थामा फेरि ती मुहानका फोहोरलाई सरसफाइ गर्नेतर्फ लाग्नेछौ।’ उहाँले यो समस्याको दीर्घकालीन समाधानका रूपमा कुलोको उचित व्यवस्थापन गर्न नहर बनाउने गुरूयोजनामा लैजाने बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिले इन्जिनियरहरूबाट यहाँको अध्ययन गर्न सुरू गरिसकेका छौं। जहाँ जहाँ कुलो रोकिएको छ त्यसलाई सफा गरेर निकास दिने र ठूलो नहर बनाएर यसलाई व्यवस्थित बनाउने सोच बनाएका छौं।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
- अलबिदा ! पुतली बाजे।
- छोरी जोगाउनै सकस !
- जेनतेन सकियो अव्यवस्थित नवौँ राष्ट्रिय खेलकुद
- राष्ट्रिय खेलकुदको रौनकले तातिएको गण्डकी
- पुतलीको अध्ययन र सङ्कलनमा नेपालको नाम विश्वभर चिनाउने ‘पुतली बाजे’
- शहरमा पहिरोः ताल छेउ चिया बेच्न पाएन ‘ठूले’ ले
- २२ अर्ब ऋण लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य के होला ?
- फेवातालको अरु किनारमा पनि उद्धार केन्द्र स्थापना गर्नु आवश्यक
- बाल यौनदुराचारीहरू सलबलाएको पोखरा
- किशोरवय मै आमाः समस्या एकतिर, सरकारलाई विवाहको उमेर घटाउन हतार