किशोरवय मै आमाः समस्या एकतिर, सरकारलाई विवाहको उमेर घटाउन हतार

दुर्गा रानामगर

पोखरामा डेरा गरी बस्ने सुनिता शर्मा (नाम परिवर्तन) अहिले १९ वर्षको हुनुभयो। एकै उमेरको श्रीमानसँग प्रेम विवाह गर्नुभएकी सुनिता अहिले गर्भवती हुनुहुन्छ। कलिलो उमेर त्यसैमाथि घरपरिवारबाट टाढा र बेरोजगारको अवस्था रहदा उहाँको गर्भ बस्यो। उहाँलाई आफू आमा बन्न लागेकोमा खुसी भन्दा बढी अन्यौल छ। सुनिता जस्तै कास्कीमा यस वर्ष मात्र १ हजार ३ सय १७ जना २० वर्षभन्दा मुनिका किशोरी पहिलो पटक गर्भवती जाँचका लागि स्वास्थ्य संस्था पुग्नुभयो। देशभरको अन्य ठाउँको अवस्था जस्तै कास्कीमा पनि २० वर्ष मुनि आमा बन्नेहरूको संख्या घट्न सकेको छैन।

सामान्य भन्दा २० वर्ष मुनि आमा बन्नेहरूलाई दुई गुणा बढी जटिलता आउने बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यलय कास्कीको पब्लिक हेल्थ नर्स अधिकृत सम्झना ढुंगाना। उहाँ भन्नुहुन्छ– “उनीहरू आफैं बच्चा हुन्छन् अनि एउटा बच्चाले अर्को बच्चा जन्माउन कसरी तयार हुन सक्छन् त ? आमा बन्नका लागि एक महिला शारीरिक, मानसिक रूपमा तयार हुनुपर्छ।” कास्कीको एक गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत अनमीले सानो उमेर भएकाहरूले उमेर बढाएर गर्भवती जाँच गराउने गरेको बताउनुभयो। उहाँले कसैले केही भन्लान् कि भन्ने डरले उमेर बढाएर आमा बन्नेहरूको संख्या गाउँमा प्रशस्त रहेको दाबी गनुभयो। सरकारी तथ्याङ्कमा नआए पनि शहरमा भन्दा गाउँमा किशोरीहरूको विवाह गर्ने चलन यथावत रहेको र यससँगै १५, १६ वर्षमै आमा बन्ने गरेकोे उहाँले बताउनुभयो।

सरकारको सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत कास्कीमा २० वर्ष मुनिका महिला पहिलो पटक गर्भ जाँच गराउनेमा गत आर्थिक वर्ष ७७/७८ मा १ हजार ३ सय ५ जना र यस आर्थिक वर्षको जेठसम्म १ हजार ३ सय १७ जना पुगेका हुन्। जसमा प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गरेकाहरू ८ सय ९९ जना रहेका छन्। यस वर्ष २० वर्ष भन्दा कम उमेरका गर्भवती जाँच गराउने महिला पोखरा महानगरपालिकामा १ हजार २ सय १८ जना, मादी गाउँपालिकामा १० जना, माछापुच्छ«े गाउँपालिकामा १२ जना, अन्नपूर्ण गाउँपालिकामा १३ जना र रुपा गाउँपालिकामा ३ जना रहेका छन्। कास्कीमा २० वर्ष उमेर समूहभन्दा माथिका गर्भवती महिला पहिलो पटक परीक्षण गराउनेहरूको संख्या भने १४ हजार ७ सय ८१ रहेको छ।

यस्तै कास्कीमा २० वर्षभन्दा मुनिका महिलाले गर्भपतन सेवा लिइएकाहरू ३ सय ६६ जना रहेका छन्। जसमा अधिकांश महिला गाउँघरमा थाहा पाउने डरले गाउँपालिकाको स्वास्थ्य चौकीमा नगई पोखरा महानगरमा आएर गराउने गरेको तथ्य पनि छ। माछापुच्छ्रेमा २ जना र रुपामा १ जना बाहेक अन्य गाउँपालिकामा गर्भपतन गराउने २० वर्षमुनिका महिला तथा किशोरीको संख्या शून्य छ।

सानो उमेरमा आमा बन्दा महिला स्वास्थ्यमा जटिल असर

प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. महेन्द्र पाण्डेले सानो उमेरमा गर्भवती हुदाँ आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने बताउनुभयो। उहाँले सानो उमेरमा गर्भवती हुनेहरूलाई अस्थायी साधन बारे ज्ञान नहुने र असुरक्षित गर्भपतन गराउनेको संख्या बढी हुने बताउनुभयो। डा. पाण्डेले भन्नुभयो– “सानो उमेरमा गर्भवती हुदाँ धेरै किशोरी असुरक्षित गर्भपतनतर्फ लाग्छन् जसले गर्दा पाठेघरको संक्रमण भएका घटना पनि धेरै छन्।”

बच्चा राखिहालेको सन्दर्भमा भने समय नपुग्दै आमालाई व्यथा लाग्ने, कम तौलको बच्चा जन्मने, कलिलो उमेर भएकाले गर्भ अवस्थामा आमाको प्रेसर बढ्ने जसले गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा पुग्ने उहाँले बताउनुभयो। यससँगै डा. पाण्डेले बच्चा जन्माउने अवस्थामा २० वर्षभन्दा कम उमेर भएका किशोरीहरूमा अत्याधिक रक्तस्राव हुने, यौनांग बढी च्यातिने र आमा मानसिक रूपमा तयार नहुँदा लेबरको डरले अपरेशन (सी सेक्शन) गर्नुपर्ने अवस्था आउने बताउनुभयो।

दिगो विकासको लक्ष्य र सरकारको विवाहको उमेर घटाउने तयारी

नेपालमा हाल महिला र पुरुष विवाहका लागि २० वर्ष पुग्नुपर्ने व्यवस्था छ तर गोप्य रूपमा अथवा उमेर बढाएर भए पनि समाजमा २० वर्षमुनि विवाह गर्नेहरूको संख्या घटेको छैन। २० वर्षमुनिका किशोरी र २० वर्षभन्दा माथिका पुरुषले विवाह गर्ने तथा दुवै २० वर्ष मुनि विवाह गर्नेको संख्या पनि उत्तिकै छ। संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र नेपालले पनि दिगो विकासको लक्ष्य अन्तरगत सन् २०३० सम्ममा बालविवाह, कलिलो उमेरमा गरिने विवाह, जबर्जस्ती विवाह तथा अन्य घातक प्रचलनहरूको उन्मूलन गर्ने लक्ष्य लिएको छ तर नेपालमा भने बाल विवाह घट्न सकेको छैन। यसँंगै बाल विवाह गरेपछि निम्तिने किशोर अवस्थामा आमा बन्नेको संख्या पनि घट्न सक्दैन।

केन्द्रीय तथ्याङ्क विभागले सन् २०१९ मा गरेको मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेको प्रतिवेदनमा १५ देखि १९ वर्ष समूहका विवाहित किशोरी १९.३ प्रतिशत रहेको देखाएको थियो। नेपाल प्रहरीको रिपोर्टले यसवर्ष मात्र बालविवाह गरेको मुद्दामा ८४ जनालाई पक्रिएको छ।

यता नेपाल सरकारको नारा नै थियो विहेबारी बीस वर्षपारि तर अहिले सरकारले नै महिला र पुरुष दुवैको विवाहको उमेर घटाउने तयारी थालेको छ। हालैमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी)ले ससंद्‌मा नै २० वर्ष पुगेर मात्र विवाह गर्ने कानुन अव्यवहारिक भएकाले संशोधन गर्ने बताउनुभएको थियो। नागरिकता १६ वर्षमा, १८ वर्षमा भोट गर्न पाइने तर विहेका लागि २० वर्ष कुर्नुपर्ने व्यवस्थाले अपराध बढेको उहाँको तर्क थियो। यस विषयलाई लिएर महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरू घटाउन नहुने बताँउछन्। नर्स अधिकृत ढुंगाना भन्नुहुन्छ– “२० वर्ष कायम गर्दा त बाल विवाह रोकिएको छैन अब झन् घटायो भने कति बढ्लान्। अनि यसको असर आमा बन्ने किशोरीलाई पर्छ। हामीले विवाह गरिसकेका नानीहरूलाई परिवार नियोजनका अस्थायी साधनबारे पनि भन्छौं। आमा बन्नलाई अहिले तयार भएका छैनौ पनि भनिरहेका छौ तर पनि यसलाई नसुनिएको अवस्था छ।”

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले बच्चा जन्माउने विषय योजना बनाएर मात्र जन्माउनुपर्ने बताउँदै यसका लागि शारीरिक र मानसिक रूपमा आमा नै पहिले तयार रहनुपर्ने बताउनुभयो। उहाँले किशोरी आमाहरूको संख्या घटाउनका लागि विवाह नै ढिला गराउनुपर्ने, पढाइलाई निरन्तरता गराउनुपर्ने, रोजगारको सिर्जना हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो– “स्वास्थ्यका हिसाबले विवाह गर्ने उमेर घटाएर स्वीकृति दिनुभन्दा बरु विवाह ढिला भएर नै फाइदा हुन्छ। यसले किशोरी आमा बन्नबाट पनि रोक्छ।” पौडेलले पोखरा शहर भन्दैमा सबैजना शिक्षित नरहेको र अहिले शिक्षासँगै सामाजिक सञ्जालका कारण पनि किशोर अवस्थामा विवाह हुनेहरूको संख्या बढेको बताउनुभयो।

यता अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बालबालिका अपरिपक्व रहेको अवस्थामा गरिने विवाहले नकरात्मक परिणामहरू निस्कने बताउँदै प्रेम विवाहबाहेक हालको व्यवस्थाले गर्दा परिवारले नै २० वर्षपछि सन्तानको विवाह गराउने गरेको दाबी गर्नुभयो। यदि विवाह गर्ने उमेर परिमार्जन भयो भने बाल विवाहको संख्या बढ्ने तर्क गर्दै खकुरेलले बालबालिकाको चौतर्फी विकासका लागि यस्तो कानुन परिमार्जन गर्न नहुने बताउनुभयो।

आवरण तस्बिर सौजन्यः नरेश नेवार/आइपीएस्

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

दुर्गा रानामगर/पोखरा का अन्य पोस्टहरु:
किशोरवय मै आमाः समस्या एकतिर, सरकारलाई विवाहको उमेर घटाउन हतार
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link