काँग्रेस चितवन: चुनावमा चिरिएका मन अझै मिलेनन्, एकअर्कासँग निरन्तर प्रतिशोध

प्रतिमा सिलवाल

स्थानीय तह निर्वाचनमा विभाजित भएका चितवन कांग्रेसको मन निर्वाचन सकिएको दुई महिना बित्दा समेत मिल्न सकेको छैन।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनबाट माओवादीलाई सघाएको विरोधमा मेयरकै बागी उम्मेदवार उठेर कांग्रेसको एक पक्ष निर्वाचनमा भाग लिएको थियो। उनीहरूले वडा तहदेखि नै कांग्रेसको वडा अध्यक्षको विरुद्ध उम्मेदवार खडा नगरेपनि गठबन्धनको विरोध गरेका थिए।

एउटै दलभित्र रहेर पनि आफूलाई चुनावमा नसघाएको रिस साँध्न वडा तहको नेतृत्वमा पुगेका काँग्रेस भित्रैका व्यक्तिहरू एकअर्कोलाई असहयोग गरेर असफल बनाउने बाटोमा गएका हुन्।

वडा तहका विद्यालय, सहकारी, वन लगायतका सार्वजनिक ठाउँमा असहयोग गरेर उनीहरु चुनावी तुष निकालिरहेका छन्। यसको असर स्थानीय स्तरका सार्वजनिक स्थलको भौतिक निर्माणमा देखिन थालेको छ।

यसैको पछिल्लो उदाहरण, भरतपुर महानगरपालिका ६ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले रोकिदिएर एक प्राथमिक विद्यालयको चमेना गृहसहित इ-लाइब्रेरीको जग हाल्न आएको बजेट फिर्ता गएको छ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भरतपुरको ६ नम्बर वडामा रहेको सिद्देश्वर प्राथमिक विद्यालयमा चमेना गृहसहित तीन तले भवनको बहुवर्षीय योजनालाई अघिल्लो आर्थिक वर्षमा जग हाल्न १० लाख रुपैयाँ बिनियोजन गरेको थियो।

विद्यालय व्यवस्थापन समितिले बजेट आएपछि सर्वदलीय छलफल गरि लगत अनुमान गरि वडा कार्यालयसँग चार किल्ला समेत प्रमाणित गराएर भवनको जगको लागि टेन्डर लगाएर काम थाल्यो।

सो भवनको शिलान्यास बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गर्नुभयो। विद्यालयले पत्र नै काटेर वडाध्यक्ष श्रेष्ठलाई कार्यक्रममा निमन्त्रणा गरेको थियो। तर, औपचारिक निमन्त्रणा पाएर पनि उक्त कार्यक्रममा वडाध्यक्ष कृष्णलाल श्रेष्ठ जानु भएन।

सार्वजनिक रुपमा भने विद्यालयका अध्यक्षले आफूलाई उक्त कार्यक्रममा पनि नबोलाएको अनि वडासँग कुनै समन्वय नै नगरि भवन बनाउन थालेको आरोप लगाउनुभएको छ।

२०६९ सालमा अरुणोदय माध्यामिक विद्यालयको जमिनबाट पाँच कठ्ठा भोगचलनको अनुमति लिएर सिद्देश्वर प्राथमिक विद्यालय स्थापना भएको थियो। सोही भूभागभित्र पर्नेगरि विद्यालयले भवनको काम अघि बढाएको थियो।

दश लाख रुपैयाँ अघिल्लो आर्थिक वर्षमा पाएपछि बाँकी निर्माणको पनि रकम विनियोजन हुने आश्वासन पाएपछि जेठको अन्तिम सातादेखि विद्यालयले जग हाल्ने काम थालेको थियो।

खाल्डो खन्ने रड हाल्ने लगायतका काममा करिब सवा ६ लाख रुपैयाँ खर्च भइसकेपछि सोही वडाका वडाध्यक्षले भवन बनाउन रोक्नु भन्ने मौखिक आदेश दिए।

सिद्देश्वर प्राविका व्यवस्थापन समिति अध्यक्ष राजकुमार श्रेष्ठ वडा अध्यक्षले बिना कारण काम अघि बढ्न नदिएपछि आर्थिक वर्ष २०७८-२०७९ को असार महिना भित्र काम सकाउन नपाएको बताउनुहुन्छ।

वडाध्यक्षले नै काम रोकिदिएपछि तोकिएको काम असार अघि सम्पन्न भएन, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘समयमा नै काम नभएपछि खातामा आइसकेको रकम पनि प्रदेश सरकारले काम सम्पन्न नभएकोले फिर्ता माग्यो।’

उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठ पनि नेपाली कांग्रेसकै नेता हुनुहुन्छ। उहाँ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टी भित्रबाट वडाअध्यक्षको आकांक्षी पनि हुनुहुन्छ। तर टिकट कृष्णलालले पाउनुभयो। र, गठबन्धनको साझा उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित पनि हुनुभयो।

व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठ भने गठबन्धनका पक्षमा थिएनन्। उहाँले महानगरको मेयरमा भुँइकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गरेका काँग्रेस नेता जगन्नाथ पौडेलको पक्षमा खुलेर भोट माग्नुभयो।

एकै ठाउँका र साथीजस्ता भएपनि वडाअध्यक्ष र विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठबीचमा सोही समयदेखि मन बाझिँदै गयो। अन्ततः दुबै जना एक अर्कालाई असफल बनाउने रणनीतिमा देखिएका छन्।

यद्यपि वडाध्यक्ष कृष्णलाल श्रेष्ठ आफूसँग समन्वय नै नगरी विद्यालयले मनपरी काम अघि बढाएकोले वडाले काम रोकिदिएको दाबी गर्नुहुन्छ। उहाँले वडाकै इन्जिनियर भएपनि आफूलाई भवन निर्माणबारे जानकारी नै नदिएको बताउनुभयो। साथै, भवन पनि खेलकुद चौर मिचेर बनाउन लागेकोले आफूले रोकिदिएको उहाँको दाबी छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठ भने समन्वय नगरेको देखावटी गरेर व्यक्तिगत द्वेष साँधी विद्यालयलाई नै त्यहाँबाट हटाउने खेलमा लागेको वडाध्यक्ष लगायत केही कांग्रेसकै स्थानीय नेता लागेको आरोप लगाउनुहुन्छ।

वडाध्यक्ष श्रेष्ठले वडा भित्रको संरचनामा अध्यक्षलाई जानकारी नै नदिई काम अघि बढाएको आरोप लगाए पनि नाम नबताउने शर्तमा एक स्थानीय भन्छन्, ‘यो सबै स्थानीय चुनावमा भुँइकटहर तर्फ लागेको रिसले असफल बनाउने रणनीति हो।’

उहाँले कांग्रेसकै वडाध्यक्ष भएपनि चुनावमा भुँइकटहर तर्फ लागेका अन्य स्थानीयलाई पनि वडाध्यक्षले दुःख दिने गरेको दाबी गर्नुभयो। चितवनको स्थानीय चुनावमा पार्टी केन्द्रीय समितिको निर्देशन नमानेर बागी उम्मेदवार बनेका पौडेल सहित केही पार्टीका नेतालाई नेपाली कांग्रेसले गरेको कारबाही अझै फुकेको छैन।

बागी उम्मेदवारको सहयोगी मध्येका एक चितवनमा काँग्रेस नेता तथा अधिकारकर्मी मीना खरेल अझै पनि कांग्रेसका गठबन्धन पक्षधरले भुँइकटहर समर्थकलाई कसरी हुन्छ रिस साँध्ने काम गरिरहेको बताउनुहुन्छ।

उहाँले गीतानगरको सिद्देश्वर प्राथमिक विद्यालयको फिर्ता पठाएको बजेट थोरै भएपनि भुँइकटहर समर्थक भएकोले दुःख दिने नियत साँधेको हुनसक्ने बताउनुहुन्छ। ‘यिनीहरूलाई जसरी पनि सिध्याउन पर्छ भन्ने गठबन्धन पक्षको अझै पनि धारणा छ, खरेल भन्नुहुन्छ, ‘चुनावको तुस अझ लामो समयसम्म रहने हामीले अनुभव गरेका छौँ।’ उहाँले जिल्ला तहमै पनि पाखा लगाइएको वडा तहमा यस्ता घटना अझ धेरै भएको बताउनुभयो।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
काँग्रेस चितवन: चुनावमा चिरिएका मन अझै मिलेनन्, एकअर्कासँग निरन्तर प्रतिशोध
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link