साठी वर्ष बूढो कृषि औजार कारखानाका दिन फर्काउने प्रयास

सरकारसँग कृषि औजार कारखाना सञ्चालनको सम्झौता गरेपछि राष्ट्रिय आविष्कार केन्द्रबाट आएको टोलीले सरसफाइको काम थालिसकेको छ।

उक्त टोलीले वीरगञ्ज स्थित कृषि औजार कारखानामा भित्र रहेको सामाग्रीको लगत सङ्कलनको काम पनि थालेको छ। कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो। केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार,  उपकरणको अवस्था हेरिरहेका छन्। कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समितिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हो।

कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, भएका पूर्वाधार, मेसिन औजार मर्मत सम्भार गर्ने,  मेसिनको अवस्था बुझ्न टोली खटाउने र व्यवस्थापनका लागि कति रकम आवश्यक लागत अनुमान गरेर अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। 

राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर प्रज्ज्वल कोजुले औजार उपकरणको अवस्था परीक्षण गरिरहेको बताउनु भयो।  काम गर्न यता उता हिँडडुल गर्न मिल्ने गरि सरसफाइ गरेका छौं। मेकानिकल सेक्सनमा पहिलाका मेसिन उपकरणलाई सफा गर्दै, परीक्षण गर्दै, बनाउन मिल्ने छ कि छैन ? या कामै नलाग्ने छन् कि ? भनेर छुट्याउँदै छौं,प्रज्ज्वलले भन्नुभयो ‘ लेथ मेसिन, सेपर, ग्रेन्डरहरू ठिकै छ। मोटरहरू राम्रै कन्डिसनमा छ। पछि चालु अवस्थामा ल्याउन मर्मत नै गर्नुपर्ने हुन्छ। परीक्षण गर्दा धेरैजसो मेसिनहरू बनाएर काम गर्न मिल्ने अवस्थामा छ।’ ६० वर्ष पुरानो प्रविधि भएकोले केही मेसिन औजारको अद्यावधिक गर्नु आवश्यक देखिएको बताउँदै प्रज्ज्वलले कतिपय यत्तिकै पनि चलाउन सकिने जानकारी दिनुभयो।

बन्द रहेका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखानाको सुरक्षाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालयलाई दिइएको छ।  कारखाना सञ्चालक समितिका सदस्य एवं कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्र बहादुर कार्कीले अनुसार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले प्राविधिक मूल्यांकन गरिरहेको बताउनुभयो।

कति मेसिन, औजार, उपकरण छ। काम लाग्ने कति छ, कति मर्मत गरेर चलाउन सकिन्छ, कति कामै नलाग्ने छ। भवनको अवस्था के छ ? रङ्गरोगन र मर्मत सम्भारका लागि के कति खर्च लाग्छ ?’ कार्कीले भन्नुभयो ‘ प्राविधिक मूल्यांकन गर्नुहुन्छ, रेकर्ड राख्नुहुन्छ। लागत इस्टमेट सहित प्रतिवेदन समितिलाई बुझाउनुहुन्छ। ’ सोही प्रतिवेदन अर्थमन्त्रालयमा बुझाएर रकम निकासा गरी कारखाना सञ्चालन गर्ने गरि तयारी भईरहेको छ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कारखानालाई आधुनिकीकरण गर्दै लैजाने बताउनुभयो। पहिला पुरानो मेशिनलाई खोलेर सरसफाइ गर्नुपर्छ। ईलेक्ट्रिकल, सिभिल काम मर्मत गर्नुपर्छ। भईरहेको कुरालाई मर्मत सम्भार गराउँछौं। सबै उत्पादन गर्न नसकेपनि एक वर्ष भित्र १०/१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य राखेका छौं। जो पहिला उत्पादन भईरहेको थियो।’ अध्यक्ष महावीर पुनले भन्नुभयो ‘ पुरानो जमानाको ६० वर्ष अगाडिको कारखाना हो। यसलाई आधुनिकीकरण गर्नु नै पर्छ।  यहाँका मेसिन सबै हातले चलाउने छ। अटोमेटिक मेसिन राखेर क्षमता अभिवृद्धि गर्नुपर्छ।’

२/३ वर्ष भित्रमा कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्टस नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको अध्यक्ष महावीर पुनले बताउनुभयो।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रणय साह/वीरगञ्ज का अन्य पोस्टहरु:
साठी वर्ष बूढो कृषि औजार कारखानाका दिन फर्काउने प्रयास
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link