उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

आदित्य दाहाल

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति पदका लागि आज चैत– ३ शुक्रबार भएको निर्वाचनबाट जनता सामाजवादी पार्टीले उम्मेदवार बनाएको रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे । उहाँ अष्ठलक्ष्मी शाक्य र ममता झालाई पराजित गर्दै  निर्वाचित हुनुभएको हो । निर्वाचनमा खसेको कूल मतको ५० प्रतिशत कटाएको हुनाले रामसहाय प्रसाद प्रथम चरणमै निर्वाचित हुन सफल हुनुभयो ।

शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिए भने जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाउनुभयो ।

उपराष्ट्रपतिको निर्वाचनमा जम्मा ८२९ मत खसेको थियो । जसमा संघीय सांसद ३११ र प्रदेश सभा सदस्य ५१८ ले मतदान गरेका थिए ।

उपराष्ट्रपतिमा कोको उम्मेदवार थिए ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनमा चार जना उम्मेदवारहरु हुनुहुन्थ्यो । जसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभाका सदस्य रामसहायप्रसाद यादव र राष्ट्रिय सभाकी सदस्य प्रमिला यादव उम्मेदवार हुनुभएको थियो । तर, प्रमिला यादवले आफ्नो उम्मेदवारी निष्कृय रहेको घोषणा गरेर रामसहायको समर्थन गर्नुभएको थियो । यस्तै नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो भने सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको थियो ।

जसले उपराष्ट्रपतिको चुनावमा मत दिएनन् 

शुक्रबार चैत ३ गते भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनमा ५३ जना मतदाताले मतदान गरेनन् । त्यसमा २१ संघीय सांसद र ३२ प्रदेश सभा सदस्य थिए ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दा ८८२ जनाको नाम सार्वजनिक गरेको थियो । तर, संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि कूल ८२९ जनामात्र सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेल संघीय सांसद नरहनु भएकोले उहाँले मतदान गर्नुभएन । यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बहिस्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय सांसद १४ र प्रदेश सभा सदस्य २८ गरि ४२ जनाले पनि मतदान गरेनन् । यस्तै नेपाल मजदुर किसान पार्टीका संघीय सांसद एक जना र प्रदेश सभा सदस्य तीन जनाले पनि मतदान बहिस्कार गरेका थिए ।

नेपाली काङ्ग्रेसका संघीय सांसद चन्द्र चण्डारी र मनोरमा शेरचन, नेकपा माओवादी केन्द्रका संघीय सांसद बर्षमान पुन बिरामी भएकोले मतदान गर्न आउन सक्नुभएन भने जसपाको एक संघीय सांसदको मृत्यु भएको र एक प्रदेश सभा सदस्य अनुपस्थित रहेका थिए । नेकपा एमालेका संघीय सांसद लक्ष्मी कोईरी फौजदारी अभियोगमा फरार रहेकोले मतदानमा सहभागि भएनन् ।

सत्तारुढ गठबन्धन मतदानमा विभाजित !

राष्ट्रपति चुनावमा एक भएका आठ पार्टीको गठबन्धन उपराष्ट्रपतिको चुनावमा भने एक हुन सकेनन् ।
जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार भएका रामसहायप्रसाद यादवको पक्षमा सत्तारुढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेपाली काङ्ग्रेसले समर्थन गरेका थिए । तर, सत्ता गठबन्धनकै जनमत पार्टी, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय स्वतन्त्र पार्टी भने फरक ठाउँमा उभिए । उनीहरुले जनमत पार्टीको उम्मेदवार ममता झालाई समर्थन गरेका थिए । तर, मतपरिणाम भने दलहरुकाे घाेषणा अनुसार भएन । जनमत पार्टीकी झाले पाँच दलकाे पुरै मत पाउनुभएन । यस्तै एमालेकी वरिष्ठ नेता शाक्यले आफ्नाे दलकाे भन्दा बढी मत ल्याउनुभयाे ।

को हुन् रामसहायप्रसाद ?
उपराष्ट्रपतिमा निर्वाचित यादव बारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । मधेश आन्दोलनबाट २०६३ सालमा राजनीतिको मुलधारमा जोडिनुभएका यादव यसअघि नेपाल सरकारको वन तथा वातावरण मन्त्री पनि हुनुभएको थियो । उहाँ संविधान सभाको पनि सदस्य हुनुहुन्थ्यो । मधेश आन्दोलनका नेता उपेन्द्र यादवको निकटतम विश्वास पात्र अनुयायी मानिनुहुने यादव उमेरका हिसाबले पनि युवा हुनुहुन्छ । उहाँ २०२७ साल साउन ९ गते कलैया उपमहानगरपालिका २६, सिसवा महेशपुरमा जन्मनुभएको हो । हाल उहाँ सिम्रौनगढ नगरपालिका ९, बसवरियाको बासिन्दा हुनुहुन्छ । पिता प्रसाद राय यादव र माता सिहवा देवीकाका छोरा रामसहाय २०६२÷६३ को मधेश आन्दोलनबाट राजनीतिमा आउनु अगाडि शिक्षक पेशामा आवद्ध हुनुहुन्थ्यो ।

यस अघि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपतिमा पहिलो पटक सर्वोच्च अदालतका पूर्व न्यायधिश रहेका परमानन्द झा तत्कालिन मधेशी जनअधिकार फोरमको तर्फबाट निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकालको लागि नेकपा माओवादी केन्द्रका नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति हुनुभयो । पुन तत्कालिन नेकपा माओवादीका सैन्य कमाण्डर हुनुहुन्थ्यो ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आदित्य दाहाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link