पूर्वमा आन्दोलन भुसको आगो झै फैलिदै, छैन समाधानको गम्भीर पहल

सुरेन्द्र भण्डारी/झापा

कोशी प्रदेश नामकरणको विषयलाई लिएर पूर्वमा आन्दोलन भुसको आगो झै फैलिदै गएको छ तर त्यसलाई समाधान गर्ने तर्फ कुनै गम्भीर कदम चालिएको देखिदैन। गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतका साथ कोशी प्रदेशको नाम पारित गरेसँगै पहिचान पक्षधरले आन्दोलन चर्काएका हुन्।

प्रदेशसभामा रहेका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेपछि प्रदेशको नाम राख्न आवश्यक पर्ने दुई तिहाइ बहुमत पुगेपनि राप्रपाले समेत कोशी प्रदेशमा समर्थन गरेपछि प्रदेशको नामाकरण गरिएको थियो।

प्रदेशको नामकरणका लागि प्रदेशसभा सचिवालयमा दुई वटा प्रस्ताव पेस भएता पनि नेकपा एमालेका प्रदेशसभा सदस्य राम राना मगरले ‘कोशी’ नाम राख्ने प्रस्ताव गरेका थिए। त्यस्तै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नाम राख्ने प्रस्ताव दर्ता गरेका थिए। तर, उक्त प्रस्ताव अस्वीकृत भएपछि नेकपा एमालेको प्रस्ताव अघि बढेसँगै दुई तिहाई बहुमतले प्रदेशको नामाकरण गरिएको थियो।

कोशी प्रदेशको प्रदेश सभामा ९३ जना सांसद छन्। मतदानका बेला ८७ जना सांसद उपस्थित थिए। जनता समाजवादी पार्टी (जसपा) की सांसद तथा मन्त्री निर्मला लिम्बू र राप्रपाकी सांसद सविना बजगाईंले ढिलो भएकाले मतदानमा प्रवेश पाएका थिएनन्।  नेपाली कांग्रेसका सांसद भीम पराजुली र नेकपा माओवादीका राजन किराँतीसहित अरू अनुपस्थित थिए।

सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनुपर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत परेको घोषणा गरेका थिए। विपक्षमा भने जम्मा ४ मत परेको थियो। विपक्षमा नेकपा एकीकृत समाजवादीका चार जनाले मतदान गरेका थिए।  तीन वर्ष अघि २०७६ वैशाखमा विराटनगरलाई प्रदेशको राजधानी तोके पनि प्रदेशको नामबारे दलहरूबीच विवाद थियो।  भूगोलका आधारमा नाम राख्ने कि जातीय पहिचानलाई मान्ने भन्ने विवादले अघिल्लो पाँच वर्षे कार्यकालमा प्रदेशले नाम पाउन सकेको थिएन। तर, नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारले प्रदेशको नामाकरण गरेको हो।  यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसका राजेन्द्र कुमार राई मुख्यमन्त्री हुँदा नामकरण सम्भव भएको थिएन।

तर, प्रदेशको नामाकरणसँगै पहिचान पक्षधरले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन चर्काइरहेका छन्। विभिन्न सात राजनीतिक दल र आदिवासी जनजाति महासंघको अगुवाईमा अहिले कोशी प्रदेशको राजधानी विराटनगरदेखि १४ जिल्लामा विरोधका विभिन्न कार्यक्रम सञ्चालित छन्। सो क्रममा  गत चैत ५ गते बिराटनगरमा प्रर्दशन भएको थियो। प्रदर्शनका क्रममा प्रहरीसँग झडप समेत भएको थियो। झडपका क्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट आन्दोलनकारी पदमवहादुर लिम्बू (लाजेहाङ)को निधन भएको भन्दै पहिचान पक्षधरले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन्। घाइते लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकै क्रममा गत चैत १० गते निधन भएको थियो। उनको निधनसँगै आन्दोलनलाई थप सशक्त पारिएको संघर्ष समितिका सदस्य सञ्जुहाङ्ग पालुङ्वाले बताउनुभयो।

कतै तालबन्दी कतै झडप

पहिचान पक्षधरले कोशी प्रदेश खारेजीको माग गर्दै प्रदेशको राजधानी विराटनगरसहित पूर्वमा रहेका स्थानीय तहमा तालाबन्दी गरेका छन्। यसैक्रममा झापाको दमक नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा समेत तालाबन्दी भएको हो।

उता कोशी प्रदेशको राजधानी विराटनगरमा भने प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन्।  प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले दमक नगरपालिका सहित दुई वटा वडामा तालाबन्दी गरेको हो  भने वुद्धशान्ति गाउँपालिकामा समेत तालाबन्दी भएको छ। सो क्रममा आन्दोलित बनेका पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ।

आदिवासी जनजाति महासंघको अगुवाइमा पहिचान पक्षधरहरूले आफ्नो पूर्व निर्धारित  कार्यक्रम अनुसार पालिकामा तालवन्दी गरेसँगै तालाफुटाउने क्रममा प्रंहरीसँग झडप भएको हो।  झडपको क्रममा पहिचान पक्षधरका केही प्रदर्शनकारीहरू सामान्य घाइते भएका छन्।

झापा जिल्लाका सबै पालिकाहरूमा विरोध स्वरूप तालाबन्दी, कालोझण्डा गाड्ने, कोशी प्रदेश नाम लेखिएको लेटर प्याड नबनाउन र बनाएको भए मेट्ने जस्ता कार्यक्रम उनीहरुले गरिरहेका छन्।  पहिचान पक्षधरले आन्दोलनलाई तीब्र बनाएसँगै सबै स्थानीय तहमा सुरक्षा सर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो। पहिचान पक्षधरले जिल्लाका १५ वटै पालिका र १३१ वडा कार्यालयमा तालाबन्दी लगायतको कार्यक्रम गर्ने भएपछि सबै पालिकाहरूमा सुरक्षाकर्मी परिचालन गरिएको रिजालको भनाई छ।

झडपमा प्रहरी सहित १४ जना घाइते

कोशी प्रदेशका सांसदहरू सहभागी कार्यक्रमलाई लक्षित गर्दै  कार्यक्रमस्थल घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच बिराटनगरमा झडप  भएको छ। झडपमा ६ जना प्रहरी सहित १४ जना घाइते भएका छन्। दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भइरहेको बेला कोशी नाम खारेजीको माग गर्दै आन्दोलनकारी कार्यक्रमस्थल बिग होटल घेर्न पुगेका थिए। सो क्रममा झडप हुँदा उनीहरु घाइते भएका हुन्।

झडपमा परी  मोरङ ग्रामथानका सुरज राई, धरान १२ का अशोक राई, धरानका २२ वर्षीय उदय लिम्बू, इटहरी ५ का पदम केरुङ, धरान १६ का शिव आङदेम्बे, धरानकै ज्ञानप्रकाश राई, धरान ५ का एके दर्नाल धरान ५ का विशाल राई घाइते भएको कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्याँस प्रहार गरेको मोरङका एसपी दीपक पोखरेलले बताउनुभयो।

 बन्यो छानविन समिति

सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ। सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। सो आन्दोलनका क्रममा पदम लिम्बूको निधन भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण गरेको र सो विषयमा संवेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर संवादमा सहभागी बन्न पनि आन्दोलनरत पक्षसँग अपिल गरेका छन्।

प्रधानमन्त्री दाहालले प्रदेश नामाङ्कन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला संघ–संस्थाका प्रतिनिधिसँग गत शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।

अझैं उठेन लाजेहाङको शव

प्रदेश नामाकरणविरुद्ध गत चैत ५ गते भएको प्रदर्शन क्रममा घाइते भई मृत्यु भएका पदमबहादुर लिम्बू लाजेहाङको  शव परिवारले अझैं बुझेको छैन। लिम्बूको गत चैत १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको थियो। मोरङको बेलबारी नगरपालिका–२ लालभित्ती घर भएका ३७ वर्षीय लाजेहाङ सुनसरीको धरान बस्दै आएका थिए।

पहिचानवादी समूहले गरेको प्रदर्शनका क्रममा  सुरक्षाकर्मीको लाठी प्रहारबाट लिम्बू घाइते भएका र उनको उपचारका क्रममा  मृत्यु भएकाले आफूहरुको माग सम्बोधन नभएसम्म शब नबुझ्ने संयुक्त संघर्ष समितिका सदस्य सञ्जुहाङ पालुङ्वाले बताए।

लाजेहाङको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको पालुङ्गाको भनाई छ। यता लाजेहाङको परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।  सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लाजेहाङको परिवारलाई राहत दिने निर्णय गरेको हो। लिम्बूको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै श्रदाञ्जलि समेत व्यक्त गरिएको छ।

यसैबीच प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा लाजेहाङको निधन भएको घटनाप्रति प्रहरीले अनुसन्धान शुरु गरेको छ। घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको बताइएको छ। पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्ने मागसहित पहिचानवादी सँगठनहरु आन्दोलित छन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link