लयमा नेपाली क्रिकेट, एशिया कपको लक्ष्यमा वर्षा बाधक

वर्षाका कारण अवरुद्ध हुन पुगेको खेल आजको फाइनल खेललाई मंगलवार बिहान निर्धारित समयमा यथास्थितिबाट सञ्चालन गरिनेः क्यान

आशुतोष अधिकारी

नेपाली क्रिकेट अहिले सही दिशातर्फ अघि बढिरहेको छ। पछिल्ला केही वर्षहरूमा विभिन्न कारणले गर्दा ओरालोतर्फ लागेको नेपाली क्रिकेटका लागि वर्ष २०७९ केही शुभ संकेतहरू लिएर आएको थियो। क्रिकेटमा राजनीति, गुटबन्दी र आर्थिक अपारदर्शीता जस्ता संवेदनशील आरोप लगाउँदै २०१६ को जूनमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगाएपछि अत्यन्तै कमजोर र सुस्त बन्न पुगेको नेपाली क्रिकेटमा गएको वर्षले प्राणवायु भर्ने काम गर्‍यो। वर्ष २०७९ मा नेपाल आइसीसीले लगाएको प्रतिबन्धबाट पूर्णरूपमा मुक्त मात्र भएन, नेपाली क्रिकेटले एकपछि अर्को सफलता समेत आत्मसात गर्दै गयो।
वल्र्ड लिग डिभिजन २ मा नेपालले देखाएको अविश्वसनीय प्रदर्शनलाई नेपाली क्रिकेटको अहिलेको सफलतासँग जोडेर हेर्न सकिन्छ। एकपछि अर्को शानदार प्रदर्शन गर्दै आफ्नो एकदिवसीय मान्यता जोगाएको नेपालले यही प्रतियोगिता मार्फत एकदिवसीय विश्वकप क्रिकेटको छनौटमा समेत स्थान बनाउन सफल भयो। एक स्थितीमा विश्व लिग डिभिजन २ को शीर्ष पाँच टोलीभित्र पर्न समेत कठिन देखिएको नेपाली टोलीले प्रतियोगिताका अन्तिम १२ मध्ये ११ खेलमा जित हात पार्दै अंकतालिकाको शीर्ष तीनमा स्थान बनाउन सफल भयो। २०२३ को अक्टोवरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउनका लागि अब नेपालले जुन महिनामा जिम्बाब्वेमा सञ्चालन हुने २०२३ विश्वकप क्रिकेट क्वालिफायरमा दक्षिण अफ्रिका, वेस्टइन्डिज र श्रीलंका जस्ता टेस्ट खेल्ने राष्ट्रका साथै जिम्बाब्वे, आयरल्याण्ड र नेदरल्याण्डजस्ता अनुभवी टोलीसँग प्रतिश्पर्धा गर्नेछ।
वर्ष २०७९ कै अन्त्यमा नेपाली युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै ८ वर्षपछि नेपाललाई युवा विश्वकपको मञ्चमा पुनरागमन गराउन समेत सफल भएको छ। युवा विश्वकप छनौटको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई नाटकीय ढंगले ७ रनले हराउँदै नेपालले सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यु–१९ विश्वकपमा छनौट चरण पार गरेर स्थान बनाउने पहिलो टोली बन्यो। २०७९ को माघ महिनामा भारतका पूर्वखेलाडी मोन्टी देसाइँ नेपालको प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि नेपाली क्रिकेटमा धेरै सकारात्मक परिवर्तन आएको छन्। खेलाडीहरूको छनौटदेखि उनीहरूको व्यक्तिगत प्रदर्शनमा समेत व्यापक सुधार देखिएको छ। नेपाली खेलाडीहरूमा जीतको भोक देख्न पाइएको छ, एक हिसाबले भन्ने हो भने मोन्टीको आगमनपछि नेपालले हार्न बिर्सिएको छ। पछिल्लो समय नेपालमा क्रिकेटका गतिविधि बढ्दै जानु, यहाँ अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूको आयोजना हुनु, क्रिकेट पूर्वाधारको विकासमा विभिन्न कदमहरू अघि बढ्नुले नेपाली क्रिकेट अहिले सही दिशातर्फ बढिरहेको कुराको संकेत गर्दछ।
नेपाल एशिया कपबाट एक कदम टाढा
नेपाली क्रिकेटमा सफलताको क्रमलाई २०८० सालमा समेत निरन्तरता दिँदै अहिले नेपाली टोली एशिया कप क्रिकेट प्रतियोगितामा छनौट हुनबाट मात्र एक खुड्किला टाढा छ। काठमाडौंमा जारी २०२३ एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्ने टोलीले एशियाका शीर्ष छ टोलीबिच प्रतिश्पर्धा हुने एशिया कपमा सहभागी हुने अवसर पाउनेछ। यसै वर्षको सेप्टेम्बर महिनामा पाकिस्तानले आयोजना गर्ने एशिया कपमा शीर्ष वरियताक्रमका आधारमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनौट भइसकेका छन्। अन्तिम एक स्थानका लागि एसियन क्रिकेट काउन्सिल (एसिसि) प्रथम पटक यो संरचनाको प्रतियोगिता आयोजना गरेको हो।
काठमाडौँमा जारी एसीसी प्रिमियर कप २०२३ को फाइनल जित्दै प्रथमपटक एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्यमा वर्षा बाधक बनेको छ। त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमवार भएको फाइनल खेलमा नेपाल र युएई भिडिरहेका थिए। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै युएईलाई २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रनमा सिमित गरेको थियो। यस्तो दयनीय अवस्थामा पुगिसकेको युएईलाई तत्कालका लागि वर्षाले उद्दार गरिदिएको थियो। आफ्नो नियन्त्रणमा आइसकेको खेल वर्षाका कारण अवरुद्ध हुनु नेपालका लागि दुर्भाग्यपूर्ण रह्यो भने यसले युएईको टोलीलाई तत्कालका लागि केही राहत दिएको छ। आजको खेल पूरा हुन नसकेको खण्डमा भोलि यही अवस्थाबाट खेल अघि बढाइने जानकारी क्यानले दिएको छ।
प्रतियोगितामा सम्मिलित १० टोलीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोबिनका आधारमा समूह चरणका खेलहरू खेलाइएको थियो। नेपाल, ओमान, मलेशिया, साउदी अरेबिया र कतार सम्मिलित समूह ‘ए’ बाट नेपाल समूहविजेता र ओमान उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए भने युएई, कुबेत, हङकङ, बहराइन र सिंगापुर सम्मिलित समूह ‘बी’ बाट युएई समूह विजेता र कुबेत उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका थिए। नेपाल र कुबेतबिचको पहिलो सेमिफाइनल खेल वर्षाले पूरा हुन नसकेपछि नेपाल समूह विजेताका आधारमा फाइनलका लागि छनौट भएको थियो भने वर्षाद्वारा प्रभावित दोस्रो सेमिफाइनलमा युएईले ओमानलाई डकवर्थ लुइस पद्धतिद्धारा २ रनको झिनो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो।
समह चरणको पहिलो खेलमा नेपालले मलेशियालाई ६ विकेटले, दोस्रो खेलमा ओमानलाई ८४ रनले र चौथो खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। साउदी अरेबियाविरुद्धको समूह चरणको तेस्रो खेल वर्षाका कारण अनिर्णित भएको थियो। मलेशिया विरुद्धको खेलमा नेपालका भीम सार्कीले ७१ रनको अर्धशतकीय पारी खेलेका थिए भने कुशल मल्लले ५० बलमा आक्रामक ७० रनको अविजित पारी खेलेका थिए। ओमानविरुद्धको खेलमा कुनै रन नबनाई दुवै ओपनर गुमाएर संकटमा परेको नेपाललाई पुनः एकपटक कुशल मल्ले उद्दार गरेका थिए। मल्लले मात्र ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाएपछि नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पहिलोपटक ३०० रनको आँकडा पार गरेको थियो। कुशलको पहिलो एकदिवसिय शतकले नेपाल खेलाडीले अहिलेसम्म बनाएको सर्वाधिक छिटो शतकको किर्तिमान समेत कायम गरेको छ। पारीको अन्ततिर ४८ बलमा ६३ रन बनाउँदै सोमपाल कामीले नेपाली टोलीको योगफललाई ३१० पुर्‍याएका थिए।
वर्षाका कारण समूह चरणको तेस्रो खेल हुन नसकेपछि साउदी अरेबियासँग एक–एक अंक बाँडेको नेपालले समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराएको थियो। कतारविरुद्ध पहिले व्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुनुअघि केबल १५७ रन मात्र बनाउन सक्यो। पारीको अन्त्यतिर सन्दिप लामिछानेले संयमित हुँदै ४३ रन बनाएपछि मात्र नेपाल १५० रन कटाउन सफल भएको थियो। तर लेगस्पिनर लामिछानेले धारिलो बलिङ गरेर ५ विकेट लिएपछि कतार केवल २०.१ ओभरमा ८९ रनमा सिमित हुन पुगेको थियो।
वर्षाले अवरुद्ध सेमिफाइनलमा कप्तान रोहित पौडेलको शानदार ९४ रन र कुशल मल्लको प्रतियोगिताको दोस्रो अर्धशतक (४४ बलमा ५७ रन) को सहयोगमा नेपालले ४२ ओभरमा २८१ रनको बलियो योगफल तयार गरेको थियो। जवाफमा करन केसीले घातक बलिङ गरेर केवल ४.३ ओभरमा ५ विकेट लिएपछि कुवेत ८.३ ओभरमा ६ विकेटको नोक्सानीमा ३७ रन दयनीय अवस्थामा पुगेको थियो। यस्तो अवस्थामा वर्षाले खेल बिथोलिदिए पछि नेपाल समूह विजेताका आधारमा फाइनलमा प्रवेश गरेको थियो।
युएईका वृत्या अरविन्द ६ खेलमा दुई शतक र एक अर्धशतक सहित ४५४ रन बनाउँदै प्रतियोगिताको शीर्ष रन बनाउनेको सूचीमा पहिलो स्थानमा छन्। पाँच खेलमा एक शतक र दुई अर्धशतकसहित २३८ रन बनाएका कुशल मल्ल सो सूचीको चौथो स्थानमा छन्। त्यस्तै बलिङतर्फ ओमानका बिलाल खान ६ खेलमा १७ विकेट लिँदै बढी विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् भने ५ खेलमा १३ विकेट लिन सफल सन्दिप लामिछाने यो सूचीको दोस्रो नम्वरमा छन्।
वर्षाका कारण अवरुद्ध हुन पुगेको खेल आजको फाइनल खेललाई मंगलवार बिहान निर्धारित समयमा यथास्थितिबाट सञ्चालन गरिने क्यानले जानकारी दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link