क्रिकेटमा अर्को ऐतिहासिक सफलता, नेपाल एसिया कपमा छनौट

आशुतोष अधिकारी

मंगलवार नेपाली क्रिकेट एउटा अर्को ऐतिहासिक सफलतालाई आत्मसात् गर्न सफल भएको छ । एसिसि मेन्स प्रिमियर कप २०२३ को फाइनलमा युएईलाई आठ विकेटले हराउँदै नेपालले पहिलोपटक एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ । यसै वर्षको सेप्टेम्वर महिनामा पाकिस्तानमा हुने एसिया कप क्रिकेटमा नेपालले अब भारत र पाकिस्तानजस्ता दिग्गज प्रतिद्वन्द्वीको सामना गर्नेछ ।
काठमाडौंमा जारी एसिसि मेन्स प्रिमियर कप २०२३ को फाइनलमा युएईले दिएको ११८ रनको चुनौति नेपालले सजिलै पार लगाउने धेरैको अनुमान थियो । ५० ओभर खेलमा २.२ रन प्रतिओभरको लक्ष्यलाई औसतभन्दा पनि न्युन मान्ने गरिन्छ । तर दुई दिनसम्म चलेको रोमाञ्चक फाइनलमा युएईलाई पराजित गर्न भने नेपाललाई कडा संघर्ष गर्नुप¥यो । मंगलबार १०६–९ को स्थितिबाट २७.३ ओभरबाट खेल शुरू गरेको युएईलाई नेपालले ३३.१ ओभरमा ११७ रनमा रोक्न सफल भएको थियो । हिजो तीन विकेट लिइसकेका ललित राजवंशीले युएईको अन्तिम खेलाडीलाई समेत आउट गर्दै आफ्नो विकेटसंख्या ४ पु¥याए । प्रतियोगितामा यो उनको आठौँ विकेट हो । त्यस्तै नेपालका लागि करन केसी र सन्दिप लामिछानेले २–२ र सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिन सफल भए ।
नेपाली समर्थकले खचाखच भरिएको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, लगातारको जीतले उच्च मनोबल बोकेको नेपाली टोली अनि ११८ रनको झिनो लक्ष्य— सरसर्ती हेर्दा सबै कुराहरू नेपालको पक्षमा ढल्किरहेझैँ लाग्थ्यो । तर त्यो झिनो लक्ष्यसम्म पुग्न नेपालले ठूलै कसरत गर्नुप¥यो । केही दिनयता मौसममा आएको बदली र वर्षाले घामको मुख देख्न नपाएर ओसिलो बनेको पिचले बलरहरूलाई साथ दिइरहेको थियो । स्लो पिचमा युएईले दुई स्पिनरहरू आयान खान र रोहन मुस्तफाबाट बलिङकोे ओपनिङ गराएको थियो । बल टर्न भइरहेको पिचमा नेपालका माथिल्लो क्रममा ब्याट्स्म्यानहरूले खुलेर खेल्न सकिरहेका थिएनन् । यस्तोमा ओपनर कुशल भुर्तेल जम्माजम्मी ८ बलको सामना गर्दै केवल १ रनमा आयान खानको बलमा एलबीडब्ल्यु आउट भए भने अर्का ओपनर आशिफ शेख पनि १० बलमा ८ रन बनाउँदै रोहन मुस्तफाको बलमा आउट भए । ९ बल खेलेर १ रन बनाएका कप्तान रोहित पौडेललाई पनि मुस्तफाले बोल्ड गरेपछि नेपाल गम्भीर संकटमा पर्न सक्ने सम्भावना बढेको थियो ।
खेलको आठौँ ओभरभित्रै केवल २२ रनको स्थितिमा ३ विकेट गुमाएर धर्मराउन लागेको नेपाली इनिङलाई गुलशन झाले सम्हालेर पार लगाएका थिए । पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई सस्तैमा गुमाएपछि प्रशिक्षक मोन्टी देसाइँले ‘पिन्च हिटर’ को भूमिकामा गुलशन झालाई दोस्रो नम्वरमा ब्याटिङ गर्न पिचमा उतारेका थिए । लामो र बलियो कदकाँटीका यी १७ वर्षे युवासँग ठूला–ठूला सट प्रहार गर्न सक्ने क्षमता रहेको कुरा मोन्टीले राम्रैसँग बुझेका थिए । प्रशिक्षकले आफूमाथि गरेको विश्वास र सुम्पिएको जिम्मेवारीमाथि पूरा न्याय गर्दै गुलशनले ८४ बलमा ६३ रन बनाए र नेपाललाई जितैसम्म डो¥याए । अर्का युवा खेलाडी भीम सार्कीले ७२ बलमा ३ चौकासहित ३६ रन बनाउँदै गुलसन झासँग मिलेर चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी पूरा गरे । केवल २ रनको स्थितिमा जीवनदान पाएका गुलसनले शुरूमा संयमित भएर खेल्दै पारी अघि बढाएका थिए भने आफ्नो इनिङको उत्तरार्धमा उनले आक्रामक खेल खेल्दै ३ चौका र ६ छक्का प्रहार गरेका थिए । फाइनल खेलको म्यान अफ दी म्याच पुरस्कार गुलसन झालाई नै प्रदान गरियो ।
प्रतियोगितामा दुई शतक र एक अर्धशतकसहित ९० भन्दा माथिको औसतमा ४५४ रन बनाएका युएईका वृत्या अरविन्दलाई प्रतियोगिताको सर्वोत्कृष्ट व्याट्स्म्यानको पुरस्कार प्रदान गरियो भने सर्वोत्कृष्ट बलरको पुरस्कार प्रतियोगितामा १७ विकेट लिएका ओमानका बिलाल खानले पाए । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार नेपालका सन्दिप लामिछानेको पोल्टामा गयो । उनले यस प्रतियोगितामा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगितामा कुल १३ विकेट लिँदै लामिछाने बढी विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहन सफल भए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

आशुतोष अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link