नेपालको संविधान जारी भएको सात वर्ष पूरा भएसँगै मनाइएको संविधान दिवसले संविधान सप्ताहकै रूप लिएको छ। यस पटक नागरिकले संविधान दिवस मनाउने खासै उत्साह राखेनन्। राज्यका अधिकारीहरूले भने धुमधाम संविधान दिवसलाई संविधान सप्ताहनै बनाउने गरी मनाए। प्रतिनिधिसभाले प्रधान न्यायाधीशउपरको महाभियोग प्रस्तावको छ महिने गर्भ असोज १ गते नै तुहाएर, सरकारले अपराधीलाई माफी, अपराधको आरोप लागेकालाई विभूषण, प्रधान न्यायाधीशलाई निलम्बन र नजरबन्दमा राखेर यो सप्ताह मनायो। आमनिर्वाचनको प्रक्रियामा सामेल भइसकेका निर्वाचन आयोगका केही सदस्यले सरकारद्वारा विभूषित भएरै मनाए। वकिलहरूले अदालतको ढोका बार तैनाथ गरेर संविधानोत्सव मनाए भने राष्ट्रपतिले संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको नागरिकतासम्बन्धी विधेयकको प्रमाणीकरण गर्ने अवधि नै टारिदिएर। …
