यसपाली स्थानीय सरकारमा चुनिएका ३ सय ८५ जना स्वतन्त्र उम्मेदवारहरूले धेरै भ्रमहरू चिरिदिएका छन्। पहिलोचाहिँ मनी र मसल बिना चुनाव जित्न सकिदैंन भन्ने भ्रम चिरिएको छ भने राजनीतिमा चुनाव चिह्नको स्थायी ब्राण्डबाट मात्रै भोट लिन सकिन्छ भन्ने भ्रम पनि भताभुङ्ग भएको छ। वास्तवमा स्वतन्त्र उम्मेद्वारको जित दलीय व्यवस्थाका नाममा केही नेताले चलाएको जिम्मुवाल तन्त्र प्रति नाकमा बजाइएको बलियो मुक्का हो। जनताको यो आक्रोश नेताप्रतिको वितृष्णाको रूपमा मात्रै प्रकट भएको छ।
स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भई अधिकांश परिणाम प्राप्त भइसकेको छ। आगामी ५ वर्षका लागि आफ्नो योजनासहित सबै निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो संकल्प पूरा गर्न कार्यारम्भ पनि गरिसकेका …
