रूस र युक्रेन बीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले विश्वमै पेट्रोलियम पदार्थको भाउमा उच्च वृद्धि भएको छ। आयातमा निर्भर नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि पटक पटकको इन्धनको सङ्कटले दीर्घकालीन समाधानका विविध उपायहरूमा सरकार तथा सिङ्गो नेपाली जनतालाई सोच्न बाध्य पारेको छ ।
नेपालमा प्राकृतिक विपत्ति पर्दा वा भारतीय नाकाबन्दी हुँदा, नेपालीहरूले मट्टितेल, खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो (इन्डक्सन कुकटप), गाउँघरमा सुधारिएको चुलो तथा गोबरग्यास प्रयोग गरेका थिए । भारतीय नाकाबन्दी भएका वेला साइकल खरिदमा समेत सरकारले भन्सार महसुल सुविधा दिएको थियो । त्यस्तै विगतमा पेट्रोल, डिजेलको अभाव टार्न कार्यालय आवत जावतका लागि काठमाडौंमा केही ‘सेयर एन्ड राइड’ गरेको पनि देखियो । यस्ता मितव्ययी विधिहरू फेसनका लागी नभएर आवस्यकताका लागी स्थायी हुनु आवस्यक देखिन्छ ।
यसै सन्दर्भमा बढ्दो इन्धनको मूल्य, उच्चरूपको वायु प्रदूषण तथा उपत्यकाको ट्राफिक जाम जस्तो वर्तमान अवस्थामा स्लगिङको सवारी प्रयोग एक उपयोगी र मितव्ययी विधि हुन सक्ने विचार यस लेख मार्फत प्रस्तुत गरेको छु ।
स्लगिङ के हो?
अमेरिकाको वाशिंगटन, डीसी महानगरीय क्षेत्रमा कार्यालय समयमा आवत जावत गर्नका लागि अत्यधिक ट्राफिक हुने हुँदा उत्तरी भर्जिनिया र वाशिंगटन डिसीका बीच कार्यालय समयमा सुगम यातायात होस् भन्ने हेतुले यस छेत्रमा HOV (High Occupancy Vehicle) लेनको स्थापना गरिएको छ । यस लेनमा गाडी चलाउन कम्तिमा तीन जना सवारी अवश्यक हुन्छ । अर्थात् आफ्नो गन्तव्यमा जान वा फर्कनका लागि तोकिएको संख्याका मान्छेहरू गाडीमा राखी सवारी लिएर HOV लेनको प्रयोग गर्नुलाई स्लगिङ भनिछ । यो विधि स्वस्फुर्तरूपमा स्थानीय जनताबाट स्थापना गरिएको हो। यो लेन एक प्रकारको एक्स्प्रेस लेन जस्तै हो । यस विधिको सवारीमा गाडी वालालाई HOV लेनमा तोकिएको सवारी चाहिएको हुनाले गाडी चढने ब्यक्ति (स्लगर ) ले गाडी वालालाई पैसा तिर्नु पर्दैन, यो नि:शुल्क हो ।
यस विधिलाई सञ्चालन गर्न स्लगरहरूले आफ्नै नियम बनाएका छन्, ती यस प्रकार छन् :
१) HOV लेन प्रयोग गर्न गाडीमा तीन जना वा सो भन्दा बढी हुनु पर्नेछ ।
२) सबै स्लगरहरू लाइन लागेर सवारी कुर्नु पर्ने, पहिला जो उभिएको छ उसैले पहिला गाडी चढ्न पाउँछ ।
३) स्लगरहरूलाई गाडी भित्र खाना खान, धूमपान गर्न निषेध गरिएको छ ।
४) गाडीको चालकबाहेक गाडीमा बस्ने स्लगरहरूले झ्याल ढोका खोल्न पाउने छैनन् ।
५) गाडीमा फोन गर्न पाइने छैन, तर अत्यन्त आवस्यक भएमा गाडी चालकलाई जानकारी दिएर फोन गर्न पाइनेछ ।
४) गाडी भित्र राजनैतिक, धार्मिक तथा यौनका बारेमा कुराकानी तथा छलफल गर्न पाइने छैन ।
६) सिट बेल्ट सबैका लागी अनिवार्य छ ।
७) गाडी भित्र फोहर गर्न र फ्याल्न पाइने छैन ।
८) गाडीमा सवार भए बापतको शुल्क वा पैसा लिन दिन पाइने छैन ।
९) गन्तव्यमा पुगेपछि एक आपसमा धन्यवादको आदान प्रदान गर्नुपर्ने छ ।
स्लगिङको सुरुवात:
१९७० को दशकताका खाडी युद्धका समयमा खाडीका पेट्रोलियम निर्यात गर्ने देशहरू (ओपेक्) ले तेल निर्यातमा अमेरिका लगायत नेदरल्याण्ड माथि प्रतिबन्ध लगाए पश्चात् अमेरिकामा इन्धनको खपतमा मितव्ययिता अपनाउन स्लगिङको अवधारणा सुरु भएको अनुमान गरिन्छ । वाशिंगटन डीसी र उत्तरी भर्जिनिया क्षेत्रमा करिब ४० वर्ष आगाडि अर्थात् सन् १९७५ तिर कारपोल र भ्यानपोलका लागि HOV लेन सुरु भए लगत्तै स्लगिङ पनि सुरु गरिएको अनुमान गरिन्छ । तथापि, सरकार सँग स्लगिङको आधिकारिक अध्ययन बारे रेकर्ड नभएको हुँदा स्थानीय जनताहरूसँगको प्रत्यक्ष अन्तर्वार्ताका आधारमा स्लगलाइन डट कमले स्लगिङको इतिहास केलाएको छ ।
विगतमा पेट्रोल, डिजेलको अभाव टार्न कार्यालय आवत जावतका लागि काठमाडौंमा केही ‘सेयर एन्ड राइड’ गरेको पनि देखियो । यस्ता मितव्ययी विधिहरू फेसनका लागी नभएर आवस्यकताका लागि स्थायी हुनु आवस्यक देखिन्छ ।
स्लगिङ र कार्पोलिङमा भिन्नता:
स्लगिङमा प्रत्येक दिन लिफ्ट लिने र दिने फरक फरक हुन्छन् भने कार्पोलिङमा प्रत्येक दिन लिफ्ट लिने र दिने व्यक्तिहरू उही हुन्छन् । स्लगिङमा गाडीवालालाई HOV लेनमा गाडी चलाउन तोकिएको सवारी चहिने हुँदा नि:शुल्क सवारी हुन्छ भने कार्पोलिङमा आपसी समझदारी अनुसार आलो पालो गाडी चलाइन्छ र खर्च पनि दामासाहीले बाँडफाँट गरिन्छ। स्लगिङ HOV लेनको प्रयोगका लागि मात्र गरिन्छ भने कार्पोलिङ कुनै पनि स्थानमा नियमित आवत जावतका लागि निश्चित व्यक्तिहरू मिलेर गरिन्छ ।
स्लगिङ गर्दा हुने मुख्य फाइदा
१) स्लगिङ्गका लागि एकजना स्लगर (गाडी वाला ) बाहेक गाडीमा बस्ने व्यक्तिहरूले इन्धन प्रयोग गर्नु नपर्ने हुँदा उनीहरूको नगद तथा इन्धन खपतमा बचत हुने ।
बचत (अनुमानित) = मासिक $४६६ र वार्षिक =$५,५८७
मानौ, ५ सिटे एउटा गाडीमा जम्मा ४ जना छन् भने ३ जनाले इन्धन खपतमा बचत गर्ने छन्, साथै सो बराबरको नगद समेत बचत हुने भयो।
उदाहरणका लागि एक व्यक्तिले आतेजाते दिनको ४० माइल गाडी चलाउँछ भने गाडीमा बसेका ३ जनाले १२० माइल/प्रतिदिन चलाउँदा ३ जनाले मासिक २,४०० माईल (हप्तामा ५ दिनका दरले ) तथा वर्षिक २८,८०० माइल चलाउने भए। एउटा गाडीले १ ग्यालेन बराबर औषत २५ माइल पेट्रोल खपत गर्छ भने, मासिक ९६ ग्यालेन र वार्षिक १,१५२ ग्यालेन पेट्रोलको बचतसँगै प्रति ग्यालेन औषत ४. ८५ डलरको हिसाब गर्ने हो भने मासिक ४६६ डलर तथा वार्षिक ५,५८७ डलरको नगद बचत हुने भयो।
२) प्रदूषण र वातावरण सन्तुलन राख्न पनि मदत पुग्ने भयो ।
३) इन्धन आयातमा बचत र खर्चमा मितव्ययिता बढ्ने भयो ।
४) समयको बचत र आवत जावतमा सुबिधा पुग्ने भयो ।
५) कार्यालय समयमा हुने अत्यधिक ट्राफिकको नियन्त्रणमा पनि योगदान पुग्ने भयो ।
काठमाडौं उपत्यकामा स्लगिङ सम्भव छ:
नेपाल जस्तो भूपरिवेष्टित मुलुकका लागि स्लगिङ विधिको सुरुवात अत्यन्त लाभकारी देखिन्छ । वर्तमान इन्धन समस्यालाई नै हेर्ने हो भने पनि नेपालका राजमार्ग तथा काठमाडौं भित्र प्रवेश गर्ने ठूला बाटाहरूमा निश्चित समय तोकी रिभर्सेवल लेन मार्फत स्लगिङको सुरुवात गर्न सकिन्छ । यसमा जनताले नै स्वस्फुर्तरूपमा स्लग लाइन स्थापना गर्न सक्छन् तर सरकारी नीति र अनुगमन पनि आवस्यक पर्दछ ।
उदाहरणका लागि सूर्यविनायक देखि कोटेश्वर, कोटेश्वर देखि माइतिघर, थानकोट देखि त्रिपुरेश्वर, बुढानीलकण्ठदेखि नारायनगोपाल चौक आदिका लागि एउटा लेनलाई कार्यालय समयमा समय तोकी HOV लेन बनाएर स्लगिङ प्रयोग गर्न सकिन्छ ।
सरकारी नीति र अनुगमन
सरकारले स्लगिङ गर्ने सवारी चालक र सवारी लिने स्लगर्सका लागि सुरक्षाको प्रत्याभूति दिनु पर्दछ । यसका लागि एउटा कार्य योजना बनाइ निम्नअनुसारको सुरक्षाको प्रत्याभूति प्रदान गर्न सके स्लगिङ विधिले सार्थकता पाउने छ:
१- स्लगिङ स्टेसन तोक्ने
२- ट्राफिक कर्मचारीलाई स्लगिङ स्टेसनमा व्यवस्थापनका लागि खटाउने
३- स्लगिङका गाडीहरूको रेकर्ड राख्ने
४- गाडीमा बस्ने स्लगरहरूको रेकर्ड राख्ने
५- गाडी रोक्न र स्लगर चढाउन पाउने स्थानहरू तोक्ने
६- स्लगिङको नियम बनाउने, लागु गराउने र अनुगमन गर्ने
निष्कर्ष
माथि वर्णन गरिएझैं अमेरिकामा सफल भएको स्लगिङ विधिको उपलब्धि र त्यसबाट हुने फाइदालाई मध्यनजर गरी काठमाडौंमा पनि स्लगिङको व्यवस्थापन गर्न छलफल एवम् अध्ययन गर्ने र योजना बनाउने काम गर्न ढिलो गर्नु हुँदैन । जसरी अमेरिकालाई खाडी युद्धताका तेल निर्यातमा अबरोध भयो र उसले त्यही समय देखि मितव्ययिताका विभिन्न उपायहरू अवलम्बन गर्यो, त्यसैगरी आज नेपालले स्लगिङ, कार्पोल्लिङ जस्ता विधि अपनाउनु आवस्यक छ । विदेशी इन्धनमा पूर्णरूपमा भर पर्ने नेपाल जस्तो सानो र सीमित स्रोत र साधन भएको देशका लागि इन्धनमा गरिने खर्चमा बचत गरी वैदेशिक ऋण भार र गरीबीले थला परेका जनतालाई मलम लगाउनु आजको आवश्यकता र सरकारको पहिलो प्राथमिकता हुनु पर्दछ ।
इन्धनको प्रयोग र अत्मनिर्भरतामा नेपालले निर्णय गर्ने बेला भएको छ । इन्धनको मितव्ययी प्रयोगका लागि यस भूपरिवेष्टित देशले अबलम्बन गर्नुपर्ने धेरै उपायहरू मध्ये माथि औंल्याइएको स्लगिङ एक भरपर्दो उपाय हुन सक्छ जसमा काठमाडौं उपत्यकाका मेयरहरू लगायत सरोकारवालाहरूले अध्ययनमा विलम्ब नगरी आफ्नो धारणा अगाडि ल्याउनु पर्दछ। निश्चित समय तोकी काठमाडौं आउने जाने बाटोमा यो विधिको प्रयोग गरिएमा अहिले देखिएको इन्धनको हाहाकार, बढ्दो प्रदूषण र अनियन्त्रित ट्राफिकलाई धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
सुनिलमणि दाहाल का अन्य पोस्टहरु:
- दसैँ स्वाद: खल्पीको अचार
- हुँदैछ अमेरिकामा सरकार बन्द: के असर पर्छ?
- नवीन काफ्ले: हिमालयदेखि अमेरिकाको ‘बिग एप्पल’ सम्म
- यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य
- बेलायतका नयाँ राजाले छोरा ह्यारीका सन्तानलाई किन दिएनन् राजकीय उपाधि ?
- दक्षिण भारतमा फैलदो ‘टमाटो फ्लू’
- टिकटकमा भाइरल हुने रहरले बढाएको हो त अश्लितता?
- विदेशमा लुटिएको नेपालको यौवन
- ओलाङ्चुङ्गोला यात्रा: वालुङ समुदायको फुटुक पर्व
- व्यावहारिक, दवावरहित र निःशुल्क अमेरिकी शिक्षा